• ३० वैशाख २०८१, आइतबार

आयोगको कल सेन्टरमा नागरिकको जिज्ञासामा बृद्धि

blog

लक्की चौधरी

काठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सम्बन्धमा आम नागरिकबाट आउने जिज्ञासा र गुनासो सम्बोधनका लागि शुरु गरेको कल सेन्टरमा नागरिकको जिज्ञासा आउनेक्रम बृद्धि भएको छ । जिज्ञासाको सहज समाधान हुने भएपछि नागरिकबाट आयोगको कल सेन्टरमा जिज्ञासा आउनेक्रmममा बृद्धि भएको हो ।

कल सेन्टर सुपरभाइजर मधुसुदन पुडासैनीकाअनुसार अहिलेसम्म ३ हजार ३२३ जिज्ञासा आएका छन्, जसमध्ये अधिकांश जिज्ञासाको सम्बोधन भएको आयोगले जनाएको छ । उहाँकाअनुसार चैत १५ गतेदेखि शुरु भएको कल सेन्टरको शुरुवाती दिनमा जिज्ञासा आउनेक्रम बढी भएपनि बीचमा कम भएको थियो । तर पछिल्लो समय पुनः कल सेन्टरमा नागरिकको जिज्ञासाको रफ्तार बढेको उहाँले बताउनुभयो । 

कल सेन्टरबाट आएको जानकारीअनुसार गत चैत १५ गते ३१२ जिज्ञासा आएका थिए । अहिलेसम्मको सबैभन्दा बढी जिज्ञासा आएको दिन पनि त्यही भएको पुडासैनीको भनाई छ । त्यस्तै बढी जिज्ञासा चैत १६ गते ३०५, चैत १७ गते २५२ वैशाख ८ गते २१६ जिज्ञासा आएका छन् । सोहीअनुसार पछिल्लो समय वैशाख ७ गते १३४, वैशाख ६ गते ११६, वैशाख ५ गते १०६, वैशाख ४ गते ८५, वैशाख ३ गते ६५, वैशाख २ गते ८८ र वैशाख १ गते ५३ जिज्ञासा आएका थिए । 

कल सेन्टरमा आएको नागरिकको जिज्ञासा सकेसम्म तत्काल सम्बोधन गर्ने गरिएको र केही जिज्ञासा क्रमशः सम्बोधन गर्नेगरिएको पुडासैनीले बताउनुभयो । कल सेन्टरमा आउने जिज्ञासा र त्यसको सम्बोधनले निर्वाचनबारे विभिन्न जानकारी सहजरुपमा प्राप्त गर्नेगरेको नागरिकको भनाई रहेको उहाँले जानकारी दिनुभयो । 

कल सेन्टरमा आउने जिज्ञासामा निर्वाचन प्रचार प्रसारमा गाडीमा साउण्ड सिष्टम प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? वाल पोष्टर टास्न पाईने नपाईने ?, निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह खुलाएर वाल पोष्टर कति साईजसम्मको टाँस गर्न पाउने ? संविधानमा मेयर–अध्यक्ष र उपमेयर–उपाध्यक्षको राजीनामा मात्रै उल्लेख भएको देखियो । वडा सदस्यको हकमा निजले को समक्ष राजीनामा दिने ? लगायतका जिज्ञासा आउने गरेका छन् । 

सोहीअनुसार अध्यक्ष र उपाध्यक्ष दुवैले राजीनामा दिंदा कसलाई सम्बोधन गरेर कहाँ राजीनामा बुझाउने ?, वडाध्यक्ष र वडा सदस्यले कसलाई राजीनामा बुझाउने ? उम्मेदवारले चुनाव चिन्ह कहिले पाउँछ ? उम्मेदवारले मनोनयन फिर्ता गर्दा दलको पत्र आवश्यक पर्छ कि पर्दैन ? स्थानीय तहमा कर्मचारी खटाउँदा सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट राख्नुपर्नेमा बाहिरबाट ल्याएको पाईयो । यसमा कार्यविधिको व्यवस्था के हो ?, मेयर र उपमेयर पदमा दुवै पुरुष उठाउन मिल्छ कि मिल्दैन ? कतिसम्म भोट ल्याउनेको धरौटी जफत हुन्छ ? लगायतका जिज्ञासा आउनेगरेको कल सेन्टरका प्रतिनिधिहरुले बताउनुभयो ।

त्यस्तै, एक जनालाई मात्र मतदान गर्दा मत बदर हुन्छ कि हुँदैन ? वैशाख १७ गते हुने नासुको परीक्षा रोकिन्छ कि रोकिन्न ? उम्मेदवार बन्न के के योग्यता आवश्यक पर्छ ? लागुऔषधको कारोबारमा सजाय भुक्तान भैसकेको व्यक्तिले उम्मेदवार हुन पाउने कि नपाउने ? मतदाता परिचयपत्रको आधारको रुपमा रहने नागरिकता वा राष्ट्रिय परिचयपत्र भएको मतदाताले यसैको आधारमा मत हाल्न पाईने हो कि होईन ? कुनै पनि उम्मेदवार र पार्टी मन नपरेको अवस्थामा मतदाताले कसरी मतदान गर्ने ? लगायतका जिज्ञासा आउने गरेको पुडासैनीले जानकारी दिनुभयो ।  निर्वाचन आयोगमा ११०२ मा निःशुल्क कल गर्ने व्यवस्था गरिएको छ ।