• २४ असार २०८१, सोमबार

कारागार कारखानाबाट उत्पादित सामाग्रीले बजार माग धान्न धौ धौ

blog

काठमाडौं, बैशाख ६ गते । केन्द्रीय कारागार सुन्धाराको कारागार कारखानामा हातले बनाइएका बस्तुहरुको माग दैनिक जसो बढ्दै गएको छ । विगत ६२ वर्ष देखि हास्तनिर्मित उत्पादित बस्तुहरु बेच्न बजारमा माग बढ्दो रहेको कारागार कारखाना प्रमुख रामहरि ढुंगेलले बताउनुभयो । 

२०१६ साल देखि सदर जेल कारखानाको नामले स्थापना भएको कारागारमा २०१७ साल असार ३० गते देखि कारखानाको स्थापना भई विभिन्न सामाग्रीहरु उत्पादन हुँदै आएको छ । यहाँबाट उत्पादित बस्तुले बजारको माग धान्न धौ धौ परेको कारागार प्रसासनको भनाई छ । 

यस अघि कारखाना सञ्चालनका लागि स्थान र कामदार गृह मन्त्रालयले दिने र कारखानाबाट उत्पादन भएको वस्तु देशैभरका कैदीबन्दीहरुलाई वितरण गर्ने गरिएको जनाएको छ । 

डेढ करोडको कपडा बनाउने लक्ष्य लिएको कारखानामा हाल ७४ वटा मेसिन जडान गरिएको छ । जसमा ६४ वटा मेसिनले काम गर्दै आएको र  १४ वटा मर्मत गर्नुपर्ने अवस्थामा रहेको प्रमुख ढुंगेलले जानकारी दिनुभयो । १९ जना कर्मचारीको दरबन्दी रहेपनि कारागार कारखानामा चार जना मात्र कर्मचारीले काम गर्दै आएका छन् । 

पर्याप्त कर्मचारी नहुँदा लक्ष्य अनुसारको काम गर्न नसकिएको उहाँले बताउनुभयो । यस अघि कारखाना सञ्चालनका लागि स्थान र कामदार गृह मन्त्रालयले दिने र कारखानाबाट उत्पादन भएको वस्तु देशैभरका कैदीबन्दीहरुलाई वितरण गर्ने गरिएको जनाएको छ । कारखानाका लागि उद्योग मन्त्रालयले कर्मचारी र मेसिनरी सामानको व्यवस्था गरिदिने गर्दथे ।  

उल्लेखित पूँजी कोषलाई नै परिचालन गरि आफ्नै आयस्रोतबाट सञ्चालन गर्न २०२२ फागुन १७ गतेको निर्णयअनुसार घरेलु विभागको निर्देशन र नियन्त्रणमा सञ्चालक समिति गठन भई आर्थिक वर्ष २०२३-०२४ देखि २०२८-०२९ सम्म संचालक समिति अन्तर्गत स्वायत्त संस्थाको रुपमा कारखाना सञ्चालन भएको थियो । त्यसपछि २०२८ चैत २९ गतेको निर्णयअनुसार कारखानाको कर्मचारी दरबन्दीलगायत सबै व्यवस्थापन गरेर सञ्चालन हुँदै आएको छ । 

कारखानामा १९३ जना कैदीबन्दी कर्मचारी कार्यरत छन् । चेक तन्ना, गंजी, कोरा कपडा, चेक कपडा, डोरे कपडा, पकेट रुमाल, तौलिया रुमाल, दौरा सुरुवाल कपडा, जिन कपडा, खेस कपडा, मर्दना धोती, महिला धोति, डाईमण्ड डिजाईन कपडा, माछाकाँडे डिजाईन कपडा, चोलोको कपडा, पटुका कपडा लगायतका कपडाहरु कारखानाबाट उत्पादन हुँदै आएको छ । 

६ रोपनी जग्गा ओगटेको कारखानाले सुन्धारा र त्रिपुरेश्वरको विक्री कक्षबाट उत्पादित सामाग्री विक्री वितरण गर्दै आएको छ । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।