• १२ पुस २०८१, शुक्रबार

परिवर्तनको पहरेदार नेविसङ्घ

blog

मदनराज उपाध्याय

विद्यार्थी राजनीतिमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को गौरवशाली इतिहास छ । २०२७ सालयताका हरेक राजनीतिक परिवर्तनमा सङ्घले परिवर्तन र क्रान्तिको सेतुका रूपमा काम गर्दै आएको छ । प्रजातन्त्र प्राप्तिपछि पनि सङ्घ अग्रमोर्चाको सिपाही नै बनेर उभियो ।

नेविसङ्घ स्थापनाको आफ्नै इतिहास छ । वि.सं. १९९० तिर नेपालमा राणाशासकको चरम दमन थियो । जनता राणाको थिचोमिचो सहन विवश थिए । दमनविरुद्ध भारतको बनारसमा अध्ययनरत विद्यार्थी गोलबद्ध भए । विद्यार्थी भेलापछि वि.सं. १९९१ मा नेपाली छात्र सङ्घ स्थापना गरियो । निरकुङ्श राणाशासनको विकृति, विसङ्गति, अन्याय र अत्याचारविरुद्ध लड्दै प्रजातान्त्र प्राप्तिको आन्दोलनमा टेवा पु¥याउने उद्देश्यका साथ नेपाली छात्रा सङ्घ स्थापना गरिएको थियो । नेपाली राजनीतिमा विद्यार्थी आन्दोलनको सूत्रपात पनि त्यहीँबाट भएको हो ।

सङ्घमा आबद्ध विद्यार्थीले भारतमा रहेका आफ्ना गतिविधि सशक्त पार्दै गएका थिए । वि.सं. १९९७ माघ १६ गते त्रिचन्द्र कलेजका विद्यार्थी नेता गङ्गालाल श्रेष्ठलाई राणाले फाँसी दिएपछि विद्यार्थी थप आक्रोशित बने । विद्यार्थी आन्दोलन सशक्त बन्दै गयो । देश–विदेशमा विद्यार्थीले राणाविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउँदै लगे । राणाहरूको दमनले सीमा नाघेपछि त्यसको अन्त्यका लागि प्रजातन्त्रवादी गोलबद्ध भए । फलस्वरूप वि.सं. २००६ सालमा नेपाली काँग्रेसको स्थापना भयो । जननायक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरूले राणाविरोधी गतिविधि तीव्र पार्न थाले ।

काँग्रेसको नेतृत्वमा २००७ सालमा राणा शासन ढल्यो । त्यसपछि पनि प्रजातन्त्र अपेक्षित रूपमा अघि बढ्न सकेन । राजाहरूले प्रजातन्त्रमाथि कुदृष्टि लगाइरहे । फलस्वरूप २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको घाँटी नै निमोठे । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गर्दै पञ्चायती व्यवस्था लागू गरे । जुन घटनालाई नेपाली राजनीतिमा राजाको दुस्साहसका रूपमा लिइन्छ । राजाको उक्त गतिविधिविरुद्ध पनि विद्यार्थीले अग्रणी भूमिका निर्वाह गरेर आन्दोलन गरेका थिए ।

महेन्द्रले जनताको अधिकार कुण्ठित तुल्याएका थिए । शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता मानव जीवनका महìवपूर्ण अधिकार कटौती गरिएको थियो । शान्तिपूर्ण आन्दोलन, भेला, सम्मेलन र सङ्गठित हुन प्रतिबन्ध लगाइएको थियो । राजनीतिक दल खोल्न बन्देज गरिएको थियो । काँग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतलाई नजरबन्दमा राखिएको थियो । बीपी कोइरालालाई नेपालमा जसरी पनि प्रजातन्त्र पुनर्बहाली गर्नु थियो । त्यसका लागि काँग्रेसको सिद्धान्त गाउँ टोलमा पु¥याउनु ठूलो चुनौती थियो । प्रजातन्त्रको मर्म जनतालाई नबुझाई आन्दोलन कुनै हालतमा सफल हुने थिएन । बीपीले आन्दोलन सफल तुल्याउन नेपालमा पनि प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको आवश्यकता महसुस गरे । र, जेलभित्र नै कलम र मसालअङ्कित झन्डाको परिकल्पना । वि.सं. २०२७ वैशाख ६ गते बीपी र किसुनजीकै सक्रियतामा विपिन कोइरालाको नेतृत्वमा नेविसङ्घको जन्म भयो ।

विपिन कोइरालापछि नेविसङ्घको पहिलो निर्वाचित अध्यक्ष वर्तमान प्रधानमन्त्री एवं कांँग्रेस सभापति शेरबहादुर देउवा हुनुभयो । त्यसपछि नेविसङ्घ नेपाली राजनीतिमा सधैँ क्रान्तिको अग्रमोर्चामा रह्यो । नेपाली प्रजातान्त्रिक आन्दोलनमा नेविसङ्घले नै थुप्रै नेता जन्मायो । अहिले काँग्रेसको पालिका स्तरदेखि केन्द्रसम्म नेविसङ्घमा कुनै न कुनै समयमा रहेर काम गरेका व्यक्तिको नै वर्चस्व छ ।

राजनीतिक परिवर्तन मात्र नभएर शैक्षिक परिवर्तनमा पनि नेविसङ्घको ठूलो भूमिका छ । सङ्घको नेतृत्वमा थुप्रै शैक्षिक आन्दोलन सफल भएका छन् । जुन सधैँ विद्यार्थीको हितमा रहे । २००४ सालमा तीनधारा संस्कृत पाठशालामा भएको ‘जयतु संस्कृतम्’ आन्दोलन नै नेपालको पहिलो शैक्षिक आन्दोलन हो । पढ्न पाउने अधिकार नै नभएको बेला पाठ्यक्रममा आधुनिक र वैज्ञानिक विषय थप गर्नुपर्ने भनेर विद्यार्थी आन्दोलित बनेका थिए । नेपाली प्रजातान्त्रिक विद्यार्थी सङ्गठन र काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०१६ सालसम्म त्रिभुवन विश्वविद्यालयदेखि देशभर विभिन्न विद्यालय खोल्ने काम भए । जसले शिक्षा क्षेत्रमा  ठूलो क्रान्ति ल्यायो ।

देशका विभिन्न स्थानमा शिक्षाको पहुँच पुग्यो । २०२८ सालमा नयाँ शिक्षा नीतिका नाममा पञ्चायतले लागू गरेको राजारानी र पञ्चायतको स्तुति गाउने शिक्षा नीतिविरुद्धको आन्दोलन, २०३२ सालको स्ववियु पुनस्र्थापनाको आन्दोलन, २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन नेविसङ्घले गरेका प्रमुख शैक्षिक आन्दोलन हुन् । २०५८ साल भदौ २४ गते नेविसङ्घले देशका आठ विद्यार्थी सङ्गठनलाई आफ्नो कार्यालयमा बोलायो । विद्यार्थीका मुद्दामा सबै विद्यार्थी सङ्गठनको एउटै आवाज बनाउनु थियो । जुन राजनीतिक संस्कार अहिले पनि विद्यार्थी आन्दोलनमा निरन्तर छ । राजनीतिक विचार जेसुकै भए पनि विद्यार्थीको हकहितका सवालमा सबै विद्यार्थी सङ्गठनले अहिले पनि एक भएर आवाज उठाउने गरेका छन् । यस संस्कारको जग नेविसङ्घले नै हालेको हो ।

सरकारले जबरजस्ती लाद्न खोजेको पाँच प्रतिशत शैक्षिक कर खारेज, विद्यार्थीलाई त्रिवि शिक्षण अस्पतालको उपचार खर्चमा ५० प्रतिशत छुट गराउनेदेखि सार्वजनिक सवारीमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिलाउने कार्य नेविसङ्घकै पहलमा भएको हो । २०७२ सालबाट विश्व मान्यताप्राप्त सेमेस्टर प्रणाली सुचारु गर्नेदेखि विश्वविद्यालय जान नसक्ने तर अध्ययन गरेर आफ्नो भविष्य उज्ज्वल बनाउन चाहने विद्यार्थीलाई घरमै बसेर भर्चुअल माध्यमबाट पढ्न पाउने व्यवस्था पनि सङ्घकै पहलमा सफल भएको हो । जसले गर्दा नेपालमा खुला विश्वविद्यालयको नीतिसमेत अवलम्बन भएको छ । ११ वटा विश्वविद्यालय स्थापना गर्न, मेडिकल शिक्षामा भर्ना प्रक्रियालाई मितव्ययी र सुलभ बनाउन सङ्घले नेतृत्वदायी भूमिका  निर्वाह गरेको छ ।

सङ्घको गर्विलो इतिहासले मात्र पुग्दैन, त्यसको गरिमालाई बचाइराख्न सधैँ सजग र सचेत भइरहनुपर्छ । समाज परिवर्तनशील छ । परिवर्तनशील समाजलाई अध्ययन गर्दै राजनीतिक नेतृत्वले पनि सोहीअनुरूप आफूलाई ढाल्न सक्नुपर्छ । अब नेविसङ्घमा परिवर्तित नेतृत्वको आवश्यकता छ । विभिन्न राजनीतिक घटनाक्रमले १३ वर्षयता थुप्रै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन । पार्टीभित्रको गुटगत राजनीतिले नेतृत्व परिवर्तन हुन सकेको छैन । 

सम्पूर्ण विद्यार्थी सङ्गठनका नेता विद्यार्थीमुखीभन्दा पनि नेतामुखी भएका छन् । विद्यार्थी नेता पार्टीका नेताको वरिपरि नै घुमिरहने प्रवृत्तिले विद्यार्थी आन्दोलन कमजोर हुँदै गएको छ । यसको मुख्य दोषी विद्यार्थी नेता नै हुन् । सङ्गठनको साख जोगाउन उनीहरूले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा नेविसङ्घलाई विश्वको सगरमाथामा चढाउने हो भने अवश्य पनि सङ्गठनप्रति विद्यार्थीको आकर्षण बढ्दै जानेछ । विद्यार्थीको माझमा रहेर उनीहरूका समस्या सम्बोधनका लागि पहल गर्न आवश्यक छ । नेविसङ्घ ढुङ्गा बोकेर सडकमा जाने होइन, विचार र विमर्शका माध्यमबाट बौद्धिक बाटो अवलम्बन गर्दै समस्या समाधानका लागि पहल गर्नुपर्छ । आफ्नै पार्टीको सरकार किन नहोस्, जनताको हितमा खबरदारी गर्न नेविसङ्घ चुक्नु हुँदैन । 

आशा गरौँ, यो नेतृत्वले बागबजार, पुतलीसडक, रत्नपार्कमा सडक तताउने होइन, देशभर विद्यार्थीको विवेक भर्ने गरी वैचारिक अभियान चलाउनेछ र विद्यार्थीको शैक्षिक मुद्दामा बुलन्द आवाज उठाउनेछ । नेविसङ्घको नेतृत्वको ध्यान यसतर्फ 

केन्द्रित होस् । ५३औँ नेविसङ्घ स्थापना दिवसको हार्दिक शुभकामना ।



Author

मदनराज उपाध्याय