• १० फागुन २०८२, आइतबार

गोरखापत्रको निर्वाचन समाचार अभिमुखीकरण

निर्वाचन भयरहित सम्पन्न गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ : सचिव बस्नेत

blog

गोरखापत्रको निर्वाचन समाचार अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत। तस्बिरः सागर बस्नेत

काठमाडौँ, फागुन १० गते ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ।

गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘‘निर्वाचन भयरहित वातावरणमा सञ्चालन गर्ने सवालमा सञ्चारमाध्यम र सञ्चरकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘निर्वाचन अगाडि सम्पन्न भएका यस्ता अभिमुखीकरण कार्यक्रमले समाचार सम्प्रेषणमा मिडियालाई सहयोग पुग्ने विश्वास लागेको छ ।’’ 

उहाँले निर्वाचन सफल बनाउन सरकार र आयोग सक्रिय रहेको भन्दै सञ्चारमाध्यमले थप साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सचिव बस्नेतले भन्नुभयो, ‘‘निर्वाचन वातावरण बनाउन तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्दै निर्वाचन आचारसंहिता पालनाको विषयलाई मिडियाले उठाउने विश्वास छ ।’’ 


अभिमुखीकरण कार्यक्रमको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्नेतको उपस्थितिमा सम्पन्न भएको हो । गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, दी राइजिङ नेपाल डेलीका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम, गोरखापत्र एकेडेमीका निर्देशक केदार भट्टराईलगायतको उपस्थिति थियो । 

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गर्नुभएको ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा आचारसंहिता र चुनावी समाचारको विषयमा आयोगका सचिव र विज्ञले विभिन्न विषयमा प्रस्तुतीकरण दिनुभयो । 


आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अबको एक साता मतदाता शिक्षालाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रलाई संस्थागत गर्न गोरखापत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै निर्वाचन सफल पार्नसमेत गोरखापत्रले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कसरी कम सङ्ख्यामा बदर मतलाई झार्न सकिन्छ भनेर रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गोरखापत्रले बहुभाषिक पृष्ठ प्रकाशित गर्ने भएकाले बदर मत घटाउन यसको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले केही निजी मिडियाले मत सर्वेक्षण गरेकोप्रति आपत्ति जनाउँदै यो आचारसंहिता र कानुनविरुद्ध भएको बताउनुभयो । 

‘‘कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा समाचार दिनु आचारसंहिता विरुद्ध हो’’, उहाँले भन्नुभयो, ‘‘सामाजिक सञ्जालको गलत समाचार प्रवाहलाई रोक्न गोरखापत्रको भूमिका महत्त्वपूर्ण हुन्छ ।’’ 


निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले निर्वाचन आयोगले गरेको काम, निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षासम्बन्धी प्रस्तुतीकरण दिनुभयो । स्वतन्त्र निर्वाचन आयोगको प्राथमिकता भएकाले निष्पक्ष समाचारका लागि सञ्चारमाध्यमको भूमिका विशेष हुने उहाँको भनाइ छ । उहाँले आयोगले अगाडि बढाएको विद्युतीय मतदाता शिक्षा प्रभावकारी बनेकोसमेत जानकारी गराउनुभएको छ । 

कार्यक्रममा टेकपानाका सिइओ विजय तिमल्सिनाले निर्वाचनको समयमा समाचार कक्षमा तथ्य समाचार कसरी दिने भन्ने विषयमा प्रस्तुति दिनुभयो । सबै प्रयोगकर्ताले फेसबुक र टिकटकमा आएका सामग्रीमध्ये कुन सत्य र कुन असत्य भन्ने बुझ्न नसक्ने भएकाले मिडियाले मिथ्या सूचनाबाट जोगिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । 


तिमल्सिनाले सामाजिक सञ्जालमा प्राप्त भएका विवरण सत्य हुन वा होइनन् भनेर तथ्य जाँच गर्ने विभिन्न प्रविधिको बारे जानकारीसमेत गराउनुभयो । मिडिया साक्षरता कमजोर हुँदा मिथ्या सूचनामा विश्वास बढेको उहाँको भनाइ छ । 


समापन सत्रमा गोरखापत्र डिजिटल प्रमुख नारदमुनि गौतमले निर्वाचन समाचार संकलन र सम्पादनको विषयमा प्रस्तुतिकरण दिनुभयो । 

कार्यक्रमको समापन सत्रमा अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

तस्बिरः मनोजरत्न शाही, सागर बस्नेत र केशब गुरुङ