• १० फागुन २०८२, आइतबार

धनुषा–४ मा आजपाका उम्मेदवार महतो रास्वपा प्रवेश

blog

आजपाका उम्मेदवार सम्पत महतोलाई पार्टीमा स्वागत गर्दै रास्वपाका उम्मेदवार महतो । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केवर, माघ १० गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सम्पत महतो आम जनता पार्टी (आजपा) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । आइतबार ढल्केवरमा आयोजित एक कार्यक्रममा उहाँ औपचारिक रूपमा रास्वपामा प्रवेश गर्नुभएको हो ।

उहाँलाई रास्वपाका तर्फबाट सोही क्षेत्रका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा आजपाका केन्द्रीय सदस्य सुनितादेवी महतो र फूलपस महतो, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष भरोसा महरा र क्षेत्रीय सचिव रामविनोद पासवानसहितका नेता–कार्यकर्ताले पनि रास्वपा प्रवेश गर्नुभएको छ ।

रास्वपा प्रवेश गरेपछि सम्बोधन गर्दै सम्पत महतोले देशमा इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले उठाएको परिवर्तनको एजेन्डाबाट प्रभावित भएर आफू रास्वपामा आएको बताउनुभयो । उहाँले एक्लैले परिवर्तन सम्भव नहुने महसुस गरी पार्टी प्रवेश गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा रास्वपा उम्मेदवार राजकिशोर महतोले प्रगतिशील पथमा अघि बढिरहेको रास्वपामा आजपाका नेतृत्वकर्ता तथा उम्मेदवारको आगमनले पार्टी थप सुदृढ भएको बताउनुभयो ।