मानव इतिहासको एक निर्णायक पलमा नयाँदिल्लीमा आयोजित ‘एआई इम्प्याक्ट समिट २०२६’ मा विश्व एकत्रित भयो । हाम्रा लागि भारतमा विश्वभरका राष्ट्राध्यक्ष, सरकार प्रमुख, प्रतिनिधि तथा नवप्रवर्तकलाई स्वागत गर्न पाउनु अत्यन्त गर्व र खुसीको क्षण थियो ।
भारतले आफूले गर्ने हरेक विषयमा व्यापकता र ऊर्जा ल्याउँछ र यो शिखर सम्मेलन पनि अपवाद रहेन । एक सयभन्दा बढी राष्ट्रका प्रतिनिधि एकै ठाउँमा भेला भए । नवप्रवर्तकले अत्याधुनिक एआई उत्पादन र सेवा प्रदर्शन गरे । प्रदर्शनी हलहरूमा हजारौँ युवा प्रश्न सोधिरहेका र सम्भावनाको कल्पना गरिरहेका देखिन्थे । तिनीहरूको जिज्ञासाले यसलाई विश्वकै सबैभन्दा ठुलो र लोकतान्त्रिक एआई शिखर सम्मेलन बनायो । म यसलाई भारतको विकास यात्रामा एक महत्वपूर्ण क्षणका रूपमा हेर्छु किनकि एआई नवप्रवर्तन र प्रयोगका लागि एउटा जनआन्दोलन साँच्चै नै सुरु भएको छ ।
मानव इतिहासले सभ्यताको मार्ग नै परिवर्तन गरिदिने धेरै प्राविधिक परिवर्तन देखेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई आगो, लेखन, बिजुली र इन्टरनेटकै श्रेणीमा राख्न सकिन्छ । एआईको हकमा पहिले दशकौँ लाग्ने परिवर्तन अब केही हप्तामै देखा पर्न सक्छन् । यसले सम्पूर्ण ग्रहलाई नै प्रभाव पार्न सक्छ ।
एआईले मेसिनलाई बुद्धिमान बनाउँदै छ तर यो मानवीय इच्छाशक्तिलाई कैयौँ गुणा वृद्धि गर्ने शक्ति पनि हो । एआईलाई मेसिनकेन्द्रित बनाउनुको सट्टा मानवकेन्द्रित बनाउनु अत्यावश्यक छ । यस शिखर सम्मेलनमा हामीले ‘सर्वजन हिताय, सर्वजन सुखाय’ (सबैको कल्याण, सबैको सुख) को सिद्धान्तका साथ मानव कल्याणलाई विश्वव्यापी एआई बहसको केन्द्रमा राख्यौँ ।
म सधैँ विश्वास गर्छु कि प्रविधिले मानिसको सेवा गर्नु पर्छ न कि मानिसले प्रविधिको । चाहे त्यो युपिआईमार्फत गरिने डिजिटल भुक्तानी होस् वा कोभिड खोप हामीले ‘डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’ (डिपिआई) ले कसैलाई पनि पछि नछोडी सबैसम्म पुगोस् भन्ने सुनिश्चित गरेका छौँ । त्यही भावना मैले हाम्रा नवप्रवर्तकको कृषि, सुरक्षा, दिव्याङ्गजनका लागि सहायता र बहुभाषिक जनसङ्ख्याका लागि उपयोगी उपकरण जस्ता क्षेत्रमा गरेका कार्यमा देख्न सकेँ ।
भारतमा एआईको सशक्तीकरण क्षमताका उदाहरण पहिले नै देखिसकिएका छन् । हालै भारतीय दुग्ध सहकारी संस्था अमूलद्वारा सुरु गरिएको एआई–आधारित डिजिटल सहायक ‘सरलाबेन’ ले ३६ लाख दुग्ध किसानलाई उनीहरूकै भाषामा पशु स्वास्थ्य र उत्पादकत्वका बारेमा रियल टाइम गाइडेन्स दिइरहेको छ, जसमा अधिकांश महिला छन् । त्यसै गरी ‘भारत विस्तार’ नामक एआई–आधारित प्लेटफर्मले किसानलाई बहुभाषिक जानकारी प्रदान गर्छ, जसले उनीहरूलाई मौसमदेखि बजार भाउसम्मका हरेक कुराको सूचना दिएर सशक्त बनाउँदै छ ।
मानिस कहिल्यै पनि मेसिनका लागि केवल तथ्याङ्क विन्दु वा कच्चा पदार्थ मात्र बन्नु हुँदैन । बरु एआई विश्वव्यापी हितका लागि एक साधन बन्नु पर्छ र ग्लोबल साउथका लागि प्रगतिका नयाँ ढोका खोल्नु पर्छ । यो दृष्टिकोणलाई कार्यमा उतार्नका लागि भारतले मानवकेन्द्रित एआई शासनका लागि ‘मानव’ (एमएएनएभी) ढाँचा प्रस्तुत ग¥यो ।
एम–नैतिक र आचरणगत प्रणाली : एआई नैतिक दिशानिर्देशमा आधारित हुनु पर्छ ।
ए–जवाफदेही शासन : पारदर्शी नियम र बलियो निरीक्षण ।
एन–राष्ट्रिय सार्वभौमसत्ता : तथ्याङ्कभन्दा माथि राष्ट्रिय अधिकारको सम्मान ।
ए–पहुँचयोग्य र समावेशी : एआई एकाधिकार हुनु हुँदैन ।
भी–वैध र विधिसम्मत : एआईले कानुनको पालना गर्नु पर्छ र यो प्रमाणीकरण योग्य हुनु पर्छ ।
मानव, जसको अर्थ मान्छे हुन्छ, यसले २१ औँ शताब्दीमा एआईलाई मानवीय मूल्यमान्यतामा आधारित बनाउन आवश्यक सिद्धान्त प्रदान गर्छ ।
विश्वास नै त्यो आधार हो, जसमा एआईको भविष्य अडिएको छ । जेनेरेटिभ प्रणालीले विश्वलाई कन्टेन्टले भरिरहँदा लोकतान्त्रिक समाजले डिपफेक र भ्रामक सूचनाका जोखिमको सामना गरिरहेका छन् । जसरी खाद्य पदार्थमा पोषणसम्बन्धी विवरण हुन्छ, त्यसै गरी डिजिटल सामग्रीमा पनि आधिकारिकताको लेबल हुनु पर्छ । म विश्व समुदायलाई वाटरमार्किङ र स्रोत प्रमाणीकरणका लागि साझा मापदण्ड बनाउन एकजुट हुन आग्रह गर्दछु । भारतले कृत्रिम रूपमा निर्मित सामग्रीको स्पष्ट लेबलिङ अनिवार्य गर्ने कानुनी व्यवस्था गरेर यस दिशामा कदम चालिसकेको छ ।
हाम्रा बालबालिकाको कल्याणको विषय हाम्रो हृदयको निकै नजिक छ । एआई प्रणाली जिम्मेवार, परिवार–मार्गदर्शित संलग्नतालाई प्रोत्साहित गर्ने सुरक्षा उपायसहित निर्माण गरिनु पर्छ, जसले विश्वभरका शिक्षा प्रणालीमा हामीले अपनाउने जस्तै हेरचाहलाई प्रतिविम्बित गरोस् ।
प्रविधि तब मात्र सबैभन्दा बढी लाभदायक हुन्छ, जब यसलाई रणनीतिक सम्पत्तिका रूपमा सुरक्षित राख्नुको सट्टा सबैमाझ साझा गरिन्छ । ओपन प्लेटफर्मले लाखौँ युवालाई प्रविधिलाई अझ सुरक्षित र मानवकेन्द्रित बनाउन योगदान पु¥याउनका लागि मद्दत गर्न सक्छन् । यो सामूहिक बुद्धिमत्ता नै मानवताको सबैभन्दा ठुलो शक्ति हो । एआईलाई एक विश्वव्यापी साझा हितका रूपमा विकसित गरिनु पर्छ ।
हामी एउटा यस्तो युगमा प्रवेश गर्दै छौँ, जहाँ मानव र बौद्धिक प्रणालीले मिलेर सहसिर्जना गर्ने छन्, सहकार्य गर्ने छन् र सँगसँगै विकसित हुने छन् । पूर्णतया नयाँ पेसाको उदय हुने छ । जब इन्टरनेटको सुरुवात भएको थियो, तब कसैले पनि यसका सम्भावनाको कल्पना गर्न सकेका थिएनन् । अन्ततः यसले धेरै सङ्ख्यामा नयाँ अवसर सिर्जना ग¥यो र एआईले पनि त्यस्तै गर्ने छ ।
म विश्वस्त छु कि हाम्रा सशक्त युवा नै एआई युगका वास्तविक संवाहक हुने छन् । हामी विश्वकै केही सबैभन्दा ठुला र सबैभन्दा विविध सिप विकास कार्यक्रम सञ्चालन गरेर सिप विकास, पुनः सिप विकास र आजीवन सिकाइलाई प्रोत्साहन गरिरहेका छौँ ।
भारत विश्वकै सबैभन्दा ठुलो युवा जनसङ्ख्या र प्राविधिक प्रतिभाको केन्द्र हो । हाम्रो ऊर्जा क्षमता र स्पष्ट नीतिका साथ हामी एआईको पूर्ण क्षमता उपयोग गर्नका लागि एक अद्वितीय स्थितिमा रहेका छौँ । भारतीय कम्पनीहरूले स्वदेशी एआई मोडेल र एप्लिकेसन यस शिखर सम्मेलनमा शुभारम्भ गरेको देख्दा मलाई गर्व महसुस भएको छ । यसले हाम्रा युवा नवप्रवर्तनकारी समुदायको प्राविधिक गहिराइलाई प्रतिविम्बित गर्दछ ।
हाम्रो एआई इकोसिस्टमको विकासलाई थप ऊर्जा प्रदान गर्न हामी एक सुदृढ पूर्वाधारको आधार निर्माण गर्दै छौँ । ‘इन्डिया एआई मिसन’ अन्तर्गत, हामीले हजारौँ सिपियुएस परिचालन गरिसकेका छौँ र चाँडै नै अरू थप परिचालन गर्ने तयारीमा छौँ । सुलभ दरमा विश्वस्तरीय कम्प्युटिङ पावरमा पहुँच प्राप्त गरी साना भनिएका स्टार्टअपसमेत विश्वव्यापी प्रतिस्पर्धी बन्न सक्छन् । यसका साथै डाटासेट र एआई मोडेलको पहुँचलाई लोकतान्त्रिकीकरण गरी हामीले एक ‘नेसनल एआई रिपोजिटरी’ स्थापना गरेका छौँ । ‘सेमिकन्डक्टर’ र ‘डेटा इन्फ्रास्ट्रक्चर’ देखि जीवन्त स्टार्टअप र व्यावहारिक अनुसन्धानसम्म, हामी कम्प्लिट भ्यालु चेनमा केन्द्रित रहेका छौँ ।
समावेशी नवप्रवर्तनका लागि भारतको विविधता, लोकतन्त्र र जनसाङ्ख्यिकीय गतिशीलताले उपयुक्त वातावरण प्रदान गर्छ । भारतमा सफल हुने समाधानका उपायले विश्वको मानवताको सेवा गर्न सक्छन् । त्यसैले विश्वलाई हाम्रो निमन्त्रणा छ : ‘डिजाइन एन्ड डेभलप इन इन्डिया । डेलिभर टु द वल्र्ड । डेलिभर टु ह्युम्यानिटी ।’
(मोदी भारतका प्रधानमन्त्री हुनुहुन्छ ।)