• १० फागुन २०८२, आइतबार

चुनावी एजेन्डामा छाडा चौपाया र फोहर व्यवस्थापन

blog

घरदैलोका क्रममा उम्मेदवार विश्वदीपसहितको टोली । तस्बिर : भुवन कार्की

भुवन कार्की

रुपन्देही, फागुन १० गते । रुपन्देहीको तिलोत्तमा नगरका मतदाताले रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या समाधान गर्न माग गरेका छन् । आइतबार घरदैलोका क्रममा तिलोत्तमा–१ पुग्नुभएका उम्मेदवार पाण्डेलाई स्थानीयले छाडा चौपायाका कारण बालीनाली र सडक सुरक्षामा गम्भीर चुनौती थपिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट 'तारा' चुनाव चिह्न लिएर चुनावी मैदानमा रहनुभएका पाण्डेसमक्ष स्थानीय व्यवसायी टीकाराम भण्डारीले १२ बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभयो । भण्डारीले तिलोत्तमा–१ मा रहेको गौशाला अन्यत्र सार्नुपर्ने र भैरहवा क्षेत्रका चौपाया समेत यहाँ ल्याएर छाडिने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो । छाडा चौपायाका कारण सडक दुर्घटना बढ्नुका साथै सहरमा फोहरसमेत बढेको स्थानीयको गुनासो छ ।

मतदाताका समस्या सुनेपछि उम्मेदवार पाण्डेले सरोकारवाला निकायसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म यही क्षेत्रमा जन्मे-हुर्किएको व्यक्ति भएकाले आश्वासन बाँडेर भोट बटुल्न आएको होइन, जनताका समस्या समाधान गर्न म प्रतिबद्ध छु ।”

त्यस्तै, मतदाताले तिनाउ नदीबाट आउने तपाह खोलामा मिसाइने केमिकल र प्लास्टिकजन्य फोहरका कारण कृषि क्षेत्र प्रभावित भएको भन्दै बुटवल क्षेत्रबाटै फोहरको वैज्ञानिक व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

निर्वाचन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ का अनुसार आइतबार तिलोत्तमाका बुद्ध टोल, नयाँ चपरहट्टी, शिवचोक, प्यारामाउण्ट, मिलन, प्रगति र सरस्वती टोललगायत वडा नम्बर ४ र ५ का विभिन्न क्षेत्रमा घरदैलो गरिएको थियो ।