• ११ फागुन २०८२, सोमबार

निर्वाचनमा शिष्टताको खोजी

blog

प्रतिनिधि सभाको चुनाव नजिकिएको सन्दर्भमा जनताले आफूले चाहेको विकासप्रेमी जनसहयोगी उम्मेदवारलाई रोजेर भोट दिँदा सकभर मत बदर नहोस् भनेरै निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेका खबर सुनिन्छ । साँझबिहान टिभी, रेडियो र अन्य समाचारका साधन खोल्यो कि चुनावी भाषणमा प्रयोग गरिने भाषामा कर्कस गाली गलौज र चटकी दृश्य देखिन्छन् । सुन्नै नसकिने अशिस्ट भाषाका चुनावी गफ सुन्न र हेर्न मन नलाग्ने तामझाम र दृश्यले मन अमिलो हुन्छ । मतदाता शिक्षाभन्दा पहिला त ढिलै भए पनि राजनीतिक दललाई राजनीतिक तथा चुनावी भाषा शिक्षा दिनु जरुरी छ । किनकि सुन्न नसकिने, बोल्न नमिल्ने, आपसमा घृणाजन्य र हेर्न नसकिने तामझामले सहरबजार कुरूप नबनोस् । नेपाली मौलिक शिष्टता, बोलीवचन, भाषाशैली, सभ्यता, मर्यादा र आपसी सद्भाव, सहिष्णुता नखलबलियोस् । राजनीतिक कुराकानी र चुनावी भाषण सुन्दा यथार्थवादी विश्वासिलो तर्क र भाषामा सभ्यताको खडेरी परेको देखिन्छ । समाजका अगुवाले भनेका राजनीतिक र चुनावी भाषण मजस्ता नागरिकले बुझ्दैनन् किनकि ती भाषण सुन्नलायक र देखिने दृश्य हेर्नलायक हुँदैनन् । तसर्थ सर्वप्रथम दल र राजनीति गर्ने पात्रलाई राजनीतिक तथा चुनावी भाषा शिक्षा दिएर सभ्य समाजको विकास गर्नु पर्छ । यसमा सबै जनसमुदायको सहयोग जरुरी हुन्छ ।

राजनीतिको अन्तर्वस्तु

ग्रिक दार्शनिक अरस्तुका अनुसार मानिस एउटा सामाजिक राजनीतिक प्राणी हो, ऊ समाज र राजनीतिमै संलग्न भएर आफ्नो उच्चतम क्षमतामा पुग्छ । राजनीति अनुशासित शिक्षाको रूपमा हुनु पर्छ, जसले मानिसलाई उच्चतम स्थानमा पु¥याओस् । त्यस्तै अरू सिद्धान्तकार र दार्शनिकका पनि सकारात्मक कुरालाई मनन गर्दा मलाई सामान्य अर्थमा राजनीतिलाई यसरी बुझ्नु पर्छ । समाजको समुउन्नत विकासका लागि गरिने दिगो आर्थिक विकास, शिक्षा, स्वास्थ्य, रोजगार, प्रविधि तथा पूर्वाधार र जनतामा अधिकारसहितको समानता कायम गर्ने मुख्य लक्ष्य राखेर गरिने उच्च कोटीको नीति निर्माण र कार्यान्वयन गर्ने अनुशासित विधि पद्धति र उच्चस्तरको सभ्यता नै राजनीति हो । हाम्रो देशको राजनीतिका विविध पाटोलाई बुझ्दा समग्रमा समाजमा त्यस्तो स्थिति देखिँदैन । नेपालमा रहेको सनातनी परम्पराले भने झैँ वसुधैव कुटुम्बकमको अर्थले पनि मित्रता, आपसी सद्भाव र सभ्यताकै उच्चता दर्साउँछ । राजनीति र चुनावी भाषाशैली र प्रदर्शनमा पनि त्यो मान्यता सभ्य समाजका लागि स्थापित गर्नु पर्छ । राष्ट्रको ‘परराष्ट्र तथा अन्तर्राष्ट्रिय नीति’ मा सबै दल, पार्टी, नेता, कार्यकर्ता र समग्र नेपाली नागरिक एक हुनु पर्छ । राष्ट्रिय मामलामा कुनै दल वा पार्टी र जनता पक्ष विपक्षमा बाँडिनु हुँदैन ।

हाम्रो भोगाइ

हाम्रा अग्रजले राणा शासन भोगे, हामीले पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र गणतन्त्र भोग्दै छौँ भने अहिलेको पुस्ता बहुदल र गणतन्त्रमा पारङ्गत बन्दै छन् । हरेकजसो व्यवस्थामा शासक र तिनीहरूको अघिपछि हिँड्नेबाहेक र त्यसको प्रत्यक्ष फाइदा लिनेबाहेक धेरै सन्तुष्ट भएको देखिँदैन । यद्यपि उत्पीडनमा परेको वर्गले सुधार होला कि भनेर सहिरहे । बेथितिको बारेमा समय समयमा बोलेर, लेखेर सजग बनाउन खोजिरहेका छन् । परिस्थिति जहाँको त्यहीँ छ । हामीले सानोमा सुनेको एउटा कहावत याद आयो–कुनै राजाको पालामा जनताले सरकार हामीले एकछाक पेटभरि खान पनि पाएनौँ भन्दा राजाले हो र ! दुध र भात पनि खान पाएनौँ ? भनेर जनतालाई सोधेका थिए रे । किनकि शासनसत्ताको वरिपरि घुम्नेले जनतालाई सबै भरिपूर्ण छ दुधभात मजाले खाइरहेका छन् भनेर राजालाई गुमराहमा राखिरहेका थिए भन्ने देखिन्छ । अहिले त्यस्तो नभए हुन्थ्यो भन्ने जनताको चाहना छ ।

सामान्य दृष्टिमा देशमा जसको सरकार छ, त्यसै खेमाका टाठाबाठा र सत्ताको वरिपरि गर्ने मानिसहरू मन्त्रालय, अड्डा र विभिन्न निकायमा रजगज गर्ने प्रवृत्ति मौलाइरहेको अनुभूति हुन्छ । सर्वसाधारण र पिछडिएका जनताको लागि छुट्याइएको कोटा वा आरक्षणका सेवा सुविधामा समेत सर्वसाधारणको पहुँच पुग्न सकेको देखिँदैन । यसको एउटा प्रतिनिधिमूलक ज्वलन्त उदाहरण राष्ट्रिय सभा र प्रतिनिधि सभाको चुनावका लागि छुट्याइएको समानुपातिकको सूची हेरे प्रस्ट हुन्छ । बुढापाका र पुरानो पुस्ताले भन्ने गरेको सुनिन्थ्यो, “बरु दैव लागोस् राज्य वा सरकार नलागोस् ।” जनता दैवी प्रकोप सहन सक्ने तर राज्य तथा सरकारको व्यवहार खप्न नसक्ने भन्ने अनुमान लगाउन सकिन्छ । त्यसैले सरकार जनमुखी बन्नु पर्छ । यसरी नेपाली जनता विगतदेखि नै पिल्सिएको र जनताले विभिन्न ज्यादती सहन नसकेर ठुला ठुला बलिदान गरेका धेरै ऐतिहासिक तथ्य छन् । संविधान वा नीतिनियम बनाउँदा पनि जसको हातमा बागडोर छ, उसैको बाहुल्यता र दबदबा हुने गरी बनाउने गरेको देखिन्छ । नीतिगत भ्रष्टाचारको जालो फैलिएर जनता आक्रान्त छन् । निर्वाचनपछि बन्ने सरकारले भ्रष्टाचारको जालो तोडेर सुशासन कायम गर्ने छ ।

वर्तमान सोचाइ 

पुरानै खालको वातावरण पछाडि आएका शासनव्यवस्थामा पनि शासकको वरिपरि गर्ने र सत्ताको रस्वादन गर्ने, सारा विकास निर्माण, ठेक्कापट्टा, पद, मान र प्रतिष्ठामा एकलौटी दोहन गर्ने परम्परा बदल्नु पर्छ । जनता र सर्वसाधारण, महिला र तल पारिएका विभिन्न समुदाय र सोझासाधा पछि पारिइरहे, जनप्रतिनिधिका रूपमा चुनिने र छनोट हुनेमा पनि आधा आकाश ढाक्ने महिलालाई उपाध्यक्ष, उपप्रमुख र एकाध पदबाहेक दिन नचाहेका प्रशस्तै उदाहरण पाइन्छन् । तथापि महिला तथा सज्जनवृन्द र सर्वसाधारणले सहिरहेकै छन् भने राजनीतिमा युवाको प्रवेश केवल सर्वसाधारण जनतालाई सम्पर्कमा आउन नदिने पर्खालका रूपमा मात्र प्रयोग भएको महसुस हुन्छ । केही मानिस सत्ताको वरिपरि मात्र रहे र जनताको अधिकार र भ्रष्टचारको विरोधमा उत्रन बोल्न सकेनन् । फलस्वरूप उनीहरू पनि सुविधाभोगी त बने तर राजनीतिमा पछि परे । राजनीतिमा स्थान पाउन पनि नसक्ने स्थिति बन्यो । राजनीति भनेको सुशासन र समाज व्यवस्थापनको असल माध्यम हो तर यहाँ कमाई गर्ने पेसाको रूपमा दुरुपयोग गर्न खोजेको देखियो । जेनजी पुस्ताभन्दा अगाडिका पुस्ता बढी सहनशील भएको महसुस हुन्छ । आशा गरौँ, अब सबै पुस्ता मिलेर देशमा सुधार होला !

निष्कर्ष

नेपाल प्राकृतिक सम्पदामा निकै धनी छ । धेरै उद्योगधन्दा, कलकारखाना र रोजगारका योजना र कार्यक्रम चलाउन सकिन्छ । विभिन्न दीर्घकालीन र अल्पकालीन योजना र कलकारखाना नेपालमा नचलेका पनि होइनन् तर नाफाखोर र कमिसनको लोभमा ती चकनाचुर भएर समाप्त हुँदै गएका छन् । यद्यपि नेपालमा विक्रम संवत् २०१३ मै प्रथम पञ्चवर्षीय योजना लागु भयो । विभिन्न कालखण्डमा धेरै पटक योजना बने, सरकार र व्यवस्था परिवर्तन भए । नयाँ संविधान बने तर जनताका मुख्य एजेन्डा र आवश्यकता अनुसार शासनसत्ताको नीति निर्माण योजनामा पर्न नसकेको स्थिति रहिरह्यो । पटकौँ शासन व्यवस्था र शासक परिवर्तन भइरहे । शासकले आफू सत्तामा कसरी टिक्ने भन्ने सोच र आफ्ना वरपरकालाई मात्र रिझाउने काम गरिरहे । त्यसले समाजमा विग्रह ल्यायो । राजनीति गर्ने अगुवाको काम गराइ र बोलाइ भाषाशैली पटक्कै मिलेको पाइएन । 

नेपाली समाज अनुसार सामाजिक अगुवाले बोलेको भन्दा सामान्य नागरिकले बोलेको भाषाशैली र बोलीवचनको मिठास, शिष्टता मन पर्छ । सामान्य नागरिकले बोलेका भाषा, बोलीवचन, सुन्दर वाणी र प्रदर्शन गरेका मौलिक दृश्य हेर्न मन लाग्छ । चुनावी बोली, भाषाशैली, प्रदर्शन र सभासम्मेलन त सुन्न र हेर्नै सकिँदैन अनि बुझ्न पनि सकिँदैन । राजनीतिक चर्चामा त शिष्टता, इमानदारिता, सभ्यता, माया, आपसी सद्भाव र सरसहयोगका काम कुरा हुनुपर्ने होइन ? ! सामाजिक अगुवाले बोलेको भाषा, शैलीबाटै समाज र सभ्यताको बढोत्तरी हुनुपर्ने होइन र ? जनताका काम गरेर रिझाउने, मिठो मसिनो बोले के बिग्रन्छ र ? राजनीति र चुनावी भाषा यति विधि असहिष्णु किन बन्दै छ ? हाम्रो मानव सभ्यताको विकासक्रमको सिद्धान्तले घरमा अभिभावक, बाआमा, दाजु, दिदी र परिवारका अग्रजले गरेका व्यवहारबाटै छोराछोरी, नातिनातिना, पनातिपनातिनाले सिक्ने हो नि त्यसैले देश हाक्ने भनेर अगाडि सरेका अगुवा र विभिन्न पार्टीका नेतृत्वले गरेका भाषाशैली, प्रदर्शनबाटै समाजले र भावी पुस्ताले पनि त सिक्ने होलान् नि ! त्यसैले राजनीति र चुनावी भाषिक शैलीमा सद्भाव, मित्रता, स्तरीयता र उच्च सभ्यता दर्साउनु पर्छ भने शासकले सुशासन, भ्रष्टाचाररहित समाजको स्थापना गर्न सक्नु पर्छ ।

प्रविधिले निकै फड्को मारिसकेको अवस्थामा अहिलेको पारङ्गत पुस्ताको सहयोग, सरसल्लाह र अगाडिका पुस्ताको सकारात्मक अनुभवलाई उपयोग गर्दै प्रविधिको उचित प्रयोगसहित बोलीवचनमा सभ्य, शिष्ट भाषाशैलीसँगै विकासमा लम्किनुपर्ने छ । छिमेकी देशले गरेको चरम विकासलाई कूटनीतिक सहकार्यमार्फत पहल गरी नेपाल र नेपालीको हितमा प्रयोग गर्न हाम्रो देशको स्रोतसाधनलाई सिप र प्रविधिको प्रयोग गरी अधिकतम उपलब्धि हासिल गर्न सक्नु पर्छ ।