प्रतिनिधि सभाको चुनाव नजिकिएको सन्दर्भमा जनताले आफूले चाहेको विकासप्रेमी जनसहयोगी उम्मेदवारलाई रोजेर भोट दिँदा सकभर मत बदर नहोस् भनेरै निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेका खबर सुनिन्छ । साँझबिहान टिभी, रेडियो र अन्य समाचारका साधन खोल्यो कि चुनावी भाषणमा प्रयोग गरिने भाषामा कर्कस गाली गलौज र चटकी दृश्य देखिन्छन् । सुन्नै नसकिने अशिस्ट भाषाका चुनावी गफ सुन्न र हेर्न मन नलाग्ने तामझाम र दृश्यले मन अमिलो हुन्छ । मतदाता शिक्षाभन्दा पहिला त ढिलै भए पनि राजनीतिक दललाई राजनीतिक तथा चुनावी भाषा शिक्षा दिनु जरुरी छ । किनकि सुन्न नसकिने, बोल्न नमिल्ने, आपसमा घृणाजन्य र हेर्न नसकिने तामझामले सहरबजार कुरूप नबनोस् । नेपाली मौलिक शिष्टता, बोलीवचन, भाषाशैली, सभ्यता, मर्यादा र आपसी सद्भाव, सहिष्णुता नखलबलियोस् । राजनीतिक कुराकानी र चुनावी भाषण सुन्दा यथार्थवादी विश्वासिलो तर्क र भाषामा सभ्यताको खडेरी परेको देखिन्छ । समाजका अगुवाले भनेका राजनीतिक र चुनावी भाषण मजस्ता नागरिकले बुझ्दैनन् किनकि ती भाषण सुन्नलायक र देखिने दृश्य हेर्नलायक हुँदैनन् । तसर्थ सर्वप्रथम दल र राजनीति गर्ने पात्रलाई राजनीतिक तथा चुनावी भाषा शिक्षा दिएर सभ्य समाजको विकास गर्नु पर्छ । यसमा सबै जनसमुदायको सहयोग जरुरी हुन्छ ।
राजनीतिको अन्तर्वस्तु
ग्रिक दार्शनिक अरस्तुका अनुसार मानिस एउटा सामाजिक राजनीतिक प्राणी हो, ऊ समाज र राजनीतिमै संलग्न भएर आफ्नो उच्चतम क्षमतामा पुग्छ । राजनीति अनुशासित शिक्षाको रूपमा हुनु पर्छ, जसले मानिसलाई उच्चतम स्थानमा पु¥याओस् । त्यस्तै अरू सिद्धान्तकार र दार्शनिकका पनि सकारात्मक कुरालाई मनन गर्दा मलाई सामान्य अर्थमा राजनीतिलाई यसरी बुझ्नु पर्छ । समाजको समुउन्नत विकासका लागि गरिने दिगो आर्थिक विकास, शिक्षा, स्वास्थ्य, रोजगार, प्रविधि तथा पूर्वाधार र जनतामा अधिकारसहितको समानता कायम गर्ने मुख्य लक्ष्य राखेर गरिने उच्च कोटीको नीति निर्माण र कार्यान्वयन गर्ने अनुशासित विधि पद्धति र उच्चस्तरको सभ्यता नै राजनीति हो । हाम्रो देशको राजनीतिका विविध पाटोलाई बुझ्दा समग्रमा समाजमा त्यस्तो स्थिति देखिँदैन । नेपालमा रहेको सनातनी परम्पराले भने झैँ वसुधैव कुटुम्बकमको अर्थले पनि मित्रता, आपसी सद्भाव र सभ्यताकै उच्चता दर्साउँछ । राजनीति र चुनावी भाषाशैली र प्रदर्शनमा पनि त्यो मान्यता सभ्य समाजका लागि स्थापित गर्नु पर्छ । राष्ट्रको ‘परराष्ट्र तथा अन्तर्राष्ट्रिय नीति’ मा सबै दल, पार्टी, नेता, कार्यकर्ता र समग्र नेपाली नागरिक एक हुनु पर्छ । राष्ट्रिय मामलामा कुनै दल वा पार्टी र जनता पक्ष विपक्षमा बाँडिनु हुँदैन ।
हाम्रो भोगाइ
हाम्रा अग्रजले राणा शासन भोगे, हामीले पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र गणतन्त्र भोग्दै छौँ भने अहिलेको पुस्ता बहुदल र गणतन्त्रमा पारङ्गत बन्दै छन् । हरेकजसो व्यवस्थामा शासक र तिनीहरूको अघिपछि हिँड्नेबाहेक र त्यसको प्रत्यक्ष फाइदा लिनेबाहेक धेरै सन्तुष्ट भएको देखिँदैन । यद्यपि उत्पीडनमा परेको वर्गले सुधार होला कि भनेर सहिरहे । बेथितिको बारेमा समय समयमा बोलेर, लेखेर सजग बनाउन खोजिरहेका छन् । परिस्थिति जहाँको त्यहीँ छ । हामीले सानोमा सुनेको एउटा कहावत याद आयो–कुनै राजाको पालामा जनताले सरकार हामीले एकछाक पेटभरि खान पनि पाएनौँ भन्दा राजाले हो र ! दुध र भात पनि खान पाएनौँ ? भनेर जनतालाई सोधेका थिए रे । किनकि शासनसत्ताको वरिपरि घुम्नेले जनतालाई सबै भरिपूर्ण छ दुधभात मजाले खाइरहेका छन् भनेर राजालाई गुमराहमा राखिरहेका थिए भन्ने देखिन्छ । अहिले त्यस्तो नभए हुन्थ्यो भन्ने जनताको चाहना छ ।
सामान्य दृष्टिमा देशमा जसको सरकार छ, त्यसै खेमाका टाठाबाठा र सत्ताको वरिपरि गर्ने मानिसहरू मन्त्रालय, अड्डा र विभिन्न निकायमा रजगज गर्ने प्रवृत्ति मौलाइरहेको अनुभूति हुन्छ । सर्वसाधारण र पिछडिएका जनताको लागि छुट्याइएको कोटा वा आरक्षणका सेवा सुविधामा समेत सर्वसाधारणको पहुँच पुग्न सकेको देखिँदैन । यसको एउटा प्रतिनिधिमूलक ज्वलन्त उदाहरण राष्ट्रिय सभा र प्रतिनिधि सभाको चुनावका लागि छुट्याइएको समानुपातिकको सूची हेरे प्रस्ट हुन्छ । बुढापाका र पुरानो पुस्ताले भन्ने गरेको सुनिन्थ्यो, “बरु दैव लागोस् राज्य वा सरकार नलागोस् ।” जनता दैवी प्रकोप सहन सक्ने तर राज्य तथा सरकारको व्यवहार खप्न नसक्ने भन्ने अनुमान लगाउन सकिन्छ । त्यसैले सरकार जनमुखी बन्नु पर्छ । यसरी नेपाली जनता विगतदेखि नै पिल्सिएको र जनताले विभिन्न ज्यादती सहन नसकेर ठुला ठुला बलिदान गरेका धेरै ऐतिहासिक तथ्य छन् । संविधान वा नीतिनियम बनाउँदा पनि जसको हातमा बागडोर छ, उसैको बाहुल्यता र दबदबा हुने गरी बनाउने गरेको देखिन्छ । नीतिगत भ्रष्टाचारको जालो फैलिएर जनता आक्रान्त छन् । निर्वाचनपछि बन्ने सरकारले भ्रष्टाचारको जालो तोडेर सुशासन कायम गर्ने छ ।
वर्तमान सोचाइ
पुरानै खालको वातावरण पछाडि आएका शासनव्यवस्थामा पनि शासकको वरिपरि गर्ने र सत्ताको रस्वादन गर्ने, सारा विकास निर्माण, ठेक्कापट्टा, पद, मान र प्रतिष्ठामा एकलौटी दोहन गर्ने परम्परा बदल्नु पर्छ । जनता र सर्वसाधारण, महिला र तल पारिएका विभिन्न समुदाय र सोझासाधा पछि पारिइरहे, जनप्रतिनिधिका रूपमा चुनिने र छनोट हुनेमा पनि आधा आकाश ढाक्ने महिलालाई उपाध्यक्ष, उपप्रमुख र एकाध पदबाहेक दिन नचाहेका प्रशस्तै उदाहरण पाइन्छन् । तथापि महिला तथा सज्जनवृन्द र सर्वसाधारणले सहिरहेकै छन् भने राजनीतिमा युवाको प्रवेश केवल सर्वसाधारण जनतालाई सम्पर्कमा आउन नदिने पर्खालका रूपमा मात्र प्रयोग भएको महसुस हुन्छ । केही मानिस सत्ताको वरिपरि मात्र रहे र जनताको अधिकार र भ्रष्टचारको विरोधमा उत्रन बोल्न सकेनन् । फलस्वरूप उनीहरू पनि सुविधाभोगी त बने तर राजनीतिमा पछि परे । राजनीतिमा स्थान पाउन पनि नसक्ने स्थिति बन्यो । राजनीति भनेको सुशासन र समाज व्यवस्थापनको असल माध्यम हो तर यहाँ कमाई गर्ने पेसाको रूपमा दुरुपयोग गर्न खोजेको देखियो । जेनजी पुस्ताभन्दा अगाडिका पुस्ता बढी सहनशील भएको महसुस हुन्छ । आशा गरौँ, अब सबै पुस्ता मिलेर देशमा सुधार होला !
निष्कर्ष
नेपाल प्राकृतिक सम्पदामा निकै धनी छ । धेरै उद्योगधन्दा, कलकारखाना र रोजगारका योजना र कार्यक्रम चलाउन सकिन्छ । विभिन्न दीर्घकालीन र अल्पकालीन योजना र कलकारखाना नेपालमा नचलेका पनि होइनन् तर नाफाखोर र कमिसनको लोभमा ती चकनाचुर भएर समाप्त हुँदै गएका छन् । यद्यपि नेपालमा विक्रम संवत् २०१३ मै प्रथम पञ्चवर्षीय योजना लागु भयो । विभिन्न कालखण्डमा धेरै पटक योजना बने, सरकार र व्यवस्था परिवर्तन भए । नयाँ संविधान बने तर जनताका मुख्य एजेन्डा र आवश्यकता अनुसार शासनसत्ताको नीति निर्माण योजनामा पर्न नसकेको स्थिति रहिरह्यो । पटकौँ शासन व्यवस्था र शासक परिवर्तन भइरहे । शासकले आफू सत्तामा कसरी टिक्ने भन्ने सोच र आफ्ना वरपरकालाई मात्र रिझाउने काम गरिरहे । त्यसले समाजमा विग्रह ल्यायो । राजनीति गर्ने अगुवाको काम गराइ र बोलाइ भाषाशैली पटक्कै मिलेको पाइएन ।
नेपाली समाज अनुसार सामाजिक अगुवाले बोलेको भन्दा सामान्य नागरिकले बोलेको भाषाशैली र बोलीवचनको मिठास, शिष्टता मन पर्छ । सामान्य नागरिकले बोलेका भाषा, बोलीवचन, सुन्दर वाणी र प्रदर्शन गरेका मौलिक दृश्य हेर्न मन लाग्छ । चुनावी बोली, भाषाशैली, प्रदर्शन र सभासम्मेलन त सुन्न र हेर्नै सकिँदैन अनि बुझ्न पनि सकिँदैन । राजनीतिक चर्चामा त शिष्टता, इमानदारिता, सभ्यता, माया, आपसी सद्भाव र सरसहयोगका काम कुरा हुनुपर्ने होइन ? ! सामाजिक अगुवाले बोलेको भाषा, शैलीबाटै समाज र सभ्यताको बढोत्तरी हुनुपर्ने होइन र ? जनताका काम गरेर रिझाउने, मिठो मसिनो बोले के बिग्रन्छ र ? राजनीति र चुनावी भाषा यति विधि असहिष्णु किन बन्दै छ ? हाम्रो मानव सभ्यताको विकासक्रमको सिद्धान्तले घरमा अभिभावक, बाआमा, दाजु, दिदी र परिवारका अग्रजले गरेका व्यवहारबाटै छोराछोरी, नातिनातिना, पनातिपनातिनाले सिक्ने हो नि त्यसैले देश हाक्ने भनेर अगाडि सरेका अगुवा र विभिन्न पार्टीका नेतृत्वले गरेका भाषाशैली, प्रदर्शनबाटै समाजले र भावी पुस्ताले पनि त सिक्ने होलान् नि ! त्यसैले राजनीति र चुनावी भाषिक शैलीमा सद्भाव, मित्रता, स्तरीयता र उच्च सभ्यता दर्साउनु पर्छ भने शासकले सुशासन, भ्रष्टाचाररहित समाजको स्थापना गर्न सक्नु पर्छ ।
प्रविधिले निकै फड्को मारिसकेको अवस्थामा अहिलेको पारङ्गत पुस्ताको सहयोग, सरसल्लाह र अगाडिका पुस्ताको सकारात्मक अनुभवलाई उपयोग गर्दै प्रविधिको उचित प्रयोगसहित बोलीवचनमा सभ्य, शिष्ट भाषाशैलीसँगै विकासमा लम्किनुपर्ने छ । छिमेकी देशले गरेको चरम विकासलाई कूटनीतिक सहकार्यमार्फत पहल गरी नेपाल र नेपालीको हितमा प्रयोग गर्न हाम्रो देशको स्रोतसाधनलाई सिप र प्रविधिको प्रयोग गरी अधिकतम उपलब्धि हासिल गर्न सक्नु पर्छ ।