बर्दीबास समाचारदाता
बर्दीबास, फागुन ११ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा महोत्तरीमा मतदान स्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण मानिँदै आएको यस जिल्लामा सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
भारतको विहार राज्य अन्तर्गत सीतामढी र मधुवनी जिल्लासँग करिब ३९ किलोमिटर खुला सीमा जोडिएको महोत्तरीमा सीमापारिबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणलाई मुख्य चुनौतीका रूपमा लिइएको छ । जिल्लामा कायम २५८ मतदान स्थलमध्ये १६३ अति संवेदनशील, ८९ स्थल संवेदनशील र छ स्थल मात्र सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सोही आधारमा सुरक्षाकर्मी परिचालन, निगरानी तथा गस्ती व्यवस्थापन गरिएको समितिको भनाइ छ ।
महोत्तरीका १५ वटै स्थानीय तहका मतदान स्थलको भौतिक संरचना, भौगोलिक अवस्थिति, सुरक्षा संवेदनशीलता, विद्युत्, खानेपानी, शौचालयलगायत आधारभूत सुविधाबारे सूक्ष्म अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गराउने लक्ष्यसहित सबै मतदान स्थल तयारी अवस्थामा राखिएको छ । प्रजिअ यादवले भन्नुभयो, “२५८ वटै मतदान स्थल तयारी अवस्थामा छन् । सबै ठाउँमा सुरक्षा निगरानी बढाइएको छ । सडकमार्ग सुरक्षित पाइएकाले फागुनको तेस्रो सातादेखि मतपेटिका र मतदान सामग्री ढुवानी गर्ने तालिका मिलाइएको छ ।”
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन भारतीय काउन्टर पाटर््ससँग बैठक भइरहेका छन् । पुस २४ गते रौतहटको चन्द्रनिगाहपुरमा सीतामढी जिल्लाका समकक्षीसँग सुरक्षा बैठक सम्पन्न भइसकेको छ । मधुवनी जिल्लासँग जनकपुरमा सीमा सुरक्षा बैठक गर्ने तयारी गरिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवसहित मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी, सशस्त्र र नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) द्वय शेरबहादुर अधिकारी र हेरम्ब शर्माले अनुगमन गर्नुभएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा, इलाका प्रहरी बर्दीबासका प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास बमलगायत सहभागी अनुगमन टोलीले दक्षिणी सीमादेखि खयरमाराको विकट डाँडा छोड्केसम्मका मतदान स्थलको अनुगमन गरेको हो ।
यसअघि निर्वाचनको वातावरण निर्माण गर्न जिल्लाका चारै निर्वाचन क्षेत्रमा राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि तथा नागरिक समाजसँग समन्वयात्मक अन्तव्र्रिmया गोष्ठी आयोजना गरी निर्वाचनलक्षित विविध विषयमा छलफल भएको थियो । प्रजिअ यादवले संयुक्त सुरक्षा परिचालन र सीमा समन्वयमार्फत निर्वाचन सुरक्षालाई थप सशक्त र भरपर्दो बनाइएको दाबी गर्नुभयो ।