सलिम मियाँ
बिजुवार, फागुन ११ गते । प्रतिनिधिसभा निर्वाचन फागुन २१ नजिकिँदै जाँदा एक निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी माहोल तातिएको छ । एक लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यस पटक अनुभव, संगठन र नयाँ अनुहारबिच प्रतिस्पर्धा देखिएको छ ।
मुख्य प्रतिस्पर्धा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाबिच केन्द्रित छ । राष्ट्रिय स्वतन्त्र पार्टी परम्परागत दललाई धक्का दिनेगरी चुनाबी अभियानमा छ । अहिले सबै पार्टी घरदैलो, टोलसभा र सामाजिक सञ्जालमार्फत उम्मेदवारहरू मतदाता भेटघाटमा व्यस्त छन् ।
नेकपा (एमाले) बाट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रहनुभएका उम्मेदवार सूर्यबहादुर थापा दोस्रो कार्यकालको लक्ष्यसहित मैदानमा हुनुहुन्छ । २०७९ मा ४१ हजार ११८ मतसहित पाँचदलीय गठबन्धनलाई किनारा लगाएर यसअघि विजयी हुनुभएको थियो ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएका थापा संगठनात्मक रूपमा प्युठानमा एमाले बलियो मानिन्छ । एमालेभित्र आन्तरिक एकता मजबुत रहेको दाबी नेताहरूको छ । यद्यपि सहकारी प्रकरणको संसदीय छानबिन समितिको नेतृत्व गरेका कारण उहाँ रास्वपा समर्थकको आलोचनाको घेरामा पनि हुनुहुन्छ ।
नेपाली कांग्रेसले डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ । प्रशासनिक र नीतिगत क्षेत्रमा अनुभव बटुलेका पोखरेल वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसक्नुभएको छ ।
२०७४ को निर्वाचनमा पराजित भएका पोखरेल यसपटक पार्टी एकताबद्ध रहेको दाबी गर्दै मैदानमा हुनुहुन्छ।उहाँ आफ्नो ब्याक्तिगत लोकप्रीयता संगठन र कांग्रेसभित्रको एकतालाई जीतको आधार बनाएर जनतामाझ पुगिरहनुभएको छ।
नेकपाका उम्मेद्वार कृष्णध्वज खड्का पूर्व प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थ तथा सहकारी मन्त्री हुन्। लामो राजनीतिक पृष्ठभूमि भएका खड्का शालीन र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ। वाम एकताको आधारमा यसपटक परिणाम फरक हुन सक्ने नेकपाको दाबी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ३१ बर्षिय युवक सुशान्त वैदिकलाई अघि सारेको छ । अर्थशास्त्र पृष्ठभूमिका वैदिक प्रदेश सरकारका अर्थ सल्लाहकार रहिसक्नुभएको छ । उहाँ उम्मेदवारीअघि मात्रै रास्वपामा प्रवेश गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चाले तिलकबहादुर जिसीलाई उम्मेदवार बनाएको छ । कुनै समय प्युठानमा प्रभावशाली रहेको जनमोर्चा यसपटक पुनः उपस्थिति बलियो बनाउने लक्ष्यमा छ ।
प्युठानमा यसपटक प्रत्यक्षतर्फ १४ जना उम्मेदवार छन् । राप्रपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेकपा (संयुक्त), नेशनल रिपब्लिक नेपाल, नेपाली जनता दल, नेकपा (माओवादी) र आम जनता पार्टीका उम्मेदवार पनि मैदानमा हुनुहुन्छ ।
२०७९ को समानुपातिक मत परिणामअनुसार एमालेले ३३ हजार ८०४ मत प्राप्त गरेको थियो । कांग्रेसले १७ हजार ८५१, माओवादी केन्द्रले १३ हजार ३०३, राष्ट्रिय जनमोर्चाले ९ हजार ९५९ र रास्वपाले ५ हजार ८५१ मत पाएको थियो ।
यद्यपि स्थानीय विश्लेषकहरू पुरानो मत परिणाम मात्र निर्णायक नहुने बताउँछन् । उम्मेदवारको व्यक्तिगत प्रभाव, पार्टी एकता र मतदाताको बदलिँदो धारणा निर्णायक बन्न सक्ने देखिन्छ ।