• १९ वैशाख २०८१, बुधबार

‘आठ दिन, नौ रातसम्म चल्ने बिस्काः’

blog

भक्तपुर, चैत २० गते । ऐतिहासिक महत्व बोकेको भक्तपुरमा बिस्काः जात्राको रथ निर्माण गर्ने काम द्रुत गतिमा भइरहेको छ । तान्त्रिक विधि अनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो भैरव र भद्रकालीको रथ निर्माण कार्यमा स्थानीय बासिन्दाको सहभागिता जुटेको छ ।

भक्तपुरको टौमढीस्थित ङातापोल्हँ अर्थात् पाँचतल्ले मन्दिरअगाडि बिस्काः जात्राका लागि भैरवनाथको रथ निर्माणमा जुटिरहेका छन् । तीनतले प्यागोडा शैलीमा रथ निर्माण गरिने नाइके प्रेमलाल शिल्पकारले जानकारी दिनुभयो । उहाँले करिब १० फिट अग्लो रथमा चार वटा पाङ्ग्रा निर्माण गरिने बताउनुभयो । आठ दिन, नौ रातसम्म चल्ने बिस्काः जात्राको महत्वपूर्ण अङ्गका रूपमा भैरवनाथको रथलाई लिने गरिन्छ । नाइके शिल्पकारका अनुसार भैरवको बाहिरी ढाँचा तयार भइसकेको छ । जात्रा यही चैत २८ गते आयोजना हुने छ । 

परम्परागत शैलीमा बनाइने भैरवनाथको रथमा आधुनिक किलाको प्रयोग गरिँदैन । स्थानीय मोहित ख्वाखःका अनुसार रथलाई दुवैतिर डोरी राखेर तान्ने प्रचलन छ । रथलाई आआफ्नो टोलतिर लैजान प्रतिस्पर्धा चल्ने भएकाले जतिसक्दो बलियो र परम्परागत शैलीमा निर्माण गरिन्छ । रथ निर्माणमा सहभागी शिल्पकारले परम्परागत शैलीमा निर्माण गरिएको रथका किला जति तान्यो त्यति नै बलियो हुने जानकारी दिँदै आधुनिक शैलीका किला चाँडै फुस्किने डर हुने गरेको बताएका छन् । 

उहाँका अनुसार रथमा दुवैतिर डोरी राख्नुको अर्थ गाडीमा ब्रेक राख्नु जस्तै हो । भैरवनाथको रथलाई मोटो डोरीको सहायताले दुवैतिर प्रतिस्पर्धात्मक रूपमा युवाले तान्ने गर्छन्, जसलाई हेर्न सयौँ मानिसको भिड लाग्ने गर्छ । 

लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । यो जात्रा नयाँ वर्षको चार दिनअगाडि र चार दिनपछाडि गरेर आठ दिन, नौ रातसम्म मनाउने प्रचलन छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ । 

जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिस्काः जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गोे उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ । जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भिœयाइएपछि तान्त्रिक विधि अनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ । 

यो वर्ष भैरवनाथको रथ चैत २८ गते तानिने भएको छ । जात्राको पहिलो दिनलाई ‘द्यो क्वबिज्याइगु’ अर्थात् देउता तल सवारी हुने हो । भक्तपुर नगरको बिच भागमा रहेको टौमढी ङातापोल्हँ मन्दिरअगाडि राखेर बनाइएको रथलाई तल्लो भागतिर लैजाने भएकाले जात्राको पहिलो दिनलाई देवता तल सवारी हुने भनिएको हो । 

यस दिन रथमा तलपट्टिको भागमा छ वटा डोरी राखिएका हुन्छन् । माथिल्लोतिर चार वटा मात्र डोरी राखेर स्थानीयले तान्ने परम्परा रहेको संस्कृतविद् धौभडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन रथलाई तलपट्टि लग्नुपर्ने भएकाले पूर्वी भागमा बढी डोरी राखिएको हुन्छ । रथलाई मिलाएर तान्नुपर्ने भएकाले दुवैतिर डोरी राखिएको हुन्छ । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्काको प्रमुख पक्ष हो धौभडेलले भन्नुभयो, “मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म मनाउने प्रचलन थालिएको हो ।” जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, बनेपा र सिन्धुपाल्चोकदेखि बासिन्दा भक्तपुर आइपुग्छन् ।