काठमाडौँ, कात्तिक ३ गते । तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी एवं समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित हुनुभएको छ।
वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न सुरु गर्नुभएका गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पदक हासिल गर्नुभएको छ।यसअघि गिरी संघको केन्द्रीय सदस्य एवं तेक्वान्दो राष्ट्रिय टिमका संयोजक हुनुभयो।
उपाध्यक्ष गिरीले लामो समय तेक्वान्दो डोजाङ चलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्रशिक्षित गर्नुभयो।उहाँले सञ्चालन गरेको तेक्वान्दो डोजाङबाट पाँच सयभन्दा धेरै ब्लक बेल्ट उपाधि हसिल गरेका खेलाडी उत्पादन गर्नुभएको छ।उपाध्यक्ष गिरीले प्रशिक्षित गरेका दोस्रो, तेस्रो, चौथो, पाचौँ डानसम्मका थुप्रै खेलाडी रहेका छन्।
उपाध्यक्ष गिरी आफ्नो खेल करिअरका अतिरिक्त व्यवसायिक र समाज सेवाका क्षेत्रमा सफल व्यक्तिका रूपमा चिरपरिचित छन्।तेक्वान्दो संघ तथा खेलाडीहरूका लागि उनले निरन्तर सहयोग उपलब्ध गराउँदै गराउँदै आउनुभएको छ।
संघको चितवनको सौराहमा भएको पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्ष नियुक्त गर्नुभएको हो ।
तेक्वान्दो खेल आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उपाध्यक्ष गिरीले अध्यक्षको भिजन र निर्देशनमा आफूले अहिलेसम्म हासिल गरेका अनुभवका आधारमा संघका गतिविधिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको खेलकुद क्षेत्रमा तेक्वान्दो विशिष्ट पहिचान भएको बताउँदै यो खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउन अथक परिश्रम गर्ने उपाध्यक्ष गिरीले बताउनुभयो।