• ३ कात्तिक २०८२, सोमबार

धौलागिरि आरोहणबाट ७६ लाख राजस्व संकलन

blog

धौलागिरि हिमाल । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक २ गते । धौलागिरि हिमाल आरोहणबाट चालु शरदयाममा ७६ लाख भन्दा बढी राजस्व संकलन भएको छ ।धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका ३६ जनाबाट हालसम्म ५४ हजार अमेरिकी डलर अर्थात ७६ लाख २० हजार एकसय पचास रुपियाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ । 

म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोणका लागि अक्टुबर १५ सम्म ५ समुहका ३६ जनाले अनुमति लिएको पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिनुभयो । 

अनुमति लिएकामध्ये २६ पुरुष र १० महिला छन् । अनुमति लिएकामध्ये कतिले हिमाल आरोहण गरेको एकिन तथ्याङ्क तिहारपछि मात्र उपलब्ध हुने पर्यटन विभागका सूचना अधिकारी अवस्थीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘पर्यटन विभागले ३६ जनालाई अनुमति जारी गरेको छं । आरोहणका लागि अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने कुरा तिहार पछि आरोहण प्रमाणपत्र प्रदान गर्दा थाहा हुन्छ । अहिलेसम्म विभागमा कुनै पनि आरोहीहरु प्रमाणपत्र लिनका लागि पुगेका छैनन् ।’’ 

हिमालको सफल आरोहण गरेका आरोहीहरुलाई विभागले तिहारपछि प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षको शरद र वसन्तयाम गरेर ४ समुहका ३० जनाले धौलागिरि आरोहणको अनुमति लिएकोबाट ५६ लाख २२ हजार सातसय ५० रुपियाँ राजस्व संकलन भएको थियो । 

धौलागिरिमा मौसम परिवर्तन भइरहने भएकाले आरोहणका लागि निकै चुनौती मानिन्छ । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ । 

पर्यटन विभागले निकालेको पर्वतारोहण सम्बन्धी तथ्य र चित्र नामक किताबमा उल्लेख भएअनुसार सन् २०२४ को अक्टुबर ४ सम्म ६ सय ८८ जनाले धौलागिरिको सफल आरोहण गरिसकेका छन् । 

सन् १९६० मे १३ मा चार जना स्विस आरोही, एक अस्ट्रिया, एकजना जर्मनी र दुईजना नेपाली पर्वतारोहीको टोलीले धौलागिरिको सफल आरोहण गरेका थिए । स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा धौलागिरि हिमालको सफल आरोहण गरिएको थियो ।