• ३ कात्तिक २०८२, सोमबार

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादव

काठमाडौँ, कात्तिक ३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सोमबार आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यकँ लागि शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “शुभ दीपावलीले हाम्रो मन, वचन र कर्मप्रतिको पवित्र भावनाहरू आत्मसात गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस् ।” तिहार पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता र द्वेषलाई बिर्सिएर मेलमिलाप र खुशीयालीको वातावरण सिर्जना हुने उहाँको भनाइ छ ।

समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ । रासस