• १० मंसिर २०८१, सोमबार

दूषित सूचनाको परिणाम

blog

‘सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट जस्तो सूचना पायो त्यसैका आधारमा भोट हालेर मतदाताले आफैँलाई थप कमजोर बनाएका छन् । मतदाता प्रभावित पार्ने त्यस्ता सूचना कहाँबाट, कुन उद्देश्यले पठाइएका छन् र ती सूचनामा कसको नियन्त्रण छ भन्ने आममतदातालाई पत्तै हुँदैन ।’ 

आमसञ्चारका माध्यम कसरी सङ्कटमा परेका छन् भनेर अङ्ग्रेजी भाषाकी प्रसिद्ध भारतीय लेखिका अरुन्धती रायले गरेको टिप्पणीको सानो अंश हो यो । यो लेख भारतको केरला राज्यको त्रिवेन्द्रम्मा १३ डिसेम्बर २०२३ मा उनले दिएको प्रवचनमा केन्द्रित रहेर हिन्दी भाषाको म्यागेजिन समयान्तरमा प्रकाशित छ । 

राजनीतिक दलनिकटका व्यक्तिका प्रत्यक्ष वा परोक्ष लगानी रहेका सञ्चार माध्यम अनि सामाजिक सञ्जालमा प्रायोजित सामग्री पस्केर आफ्ना एजेन्डा स्थापित गर्ने छिमेकी भारतको देखासिकी नेपालमा पनि हुन थालेको छ । एकातिर सामाजिक सञ्जालमा त्यस्तो देखासिकी अनि अर्कातिर मूलधारका मिडियाले पस्केका कमजोर विषय वस्तुका कारण नेपाली पत्रकारिता व्यावसायिक रूपमा सङ्कटमा पर्न थालेको अनुभव स्वयम् सम्पादकहरूले नै गरेका छन् । खोज पत्रकारिता केन्द्र नेपालले गत शुक्रबार धुलिखेलमा गरेको मिडिया र पत्रकारिता माथिका प्रश्नसम्बन्धी चिन्तनमा सम्पादकहरूले पाठकका रुचि अनुसारका सामग्री पस्कन नसकेको स्वीकारेका छन् । खास गरी कोरोना भाइरसको सङ्क्रमणपछि ‘कन्टेन्ट’ को गुणस्तर खस्कने क्रम सुरु भएको हो । यसका अरू धेरै कारण हुन सक्छन् तर प्रमुख कारण भनेको कोरोनाका कारण विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दी नै हो । जसको असर र प्रभावबाट नेपाली पत्रकारिता अछुत रहन सक्ने अवस्था थिएन, छैन । राम्रो ‘कन्टेन्ट’ का लागि लगानी आवश्यक हुन्छ । जसोतसो गरी चलेका मिडियाले आजको दिनमा ‘कन्टेन्ट’ मा लगानी गर्न सकेका छैनन् । ‘कन्टेन्ट’ मा लगानी नगरेसम्म ‘एजेन्डा सेटिङ’ हुनै सक्दैन । 

आर्थिक मन्दीका कारण मिडियामा विज्ञापनको बजार खस्केको छ । जसको सिधा असर पत्रकारितामा पनि परेको छ । हिजो जतिबेला मिडिया सञ्चालक आर्थिक हिसाबले सम्पन्न थिए, त्यतिबेला उनीहरूको कमाई पनि राम्रो थियो । हिजोका दिनमा मिडियाबाट कमाएको नाफा उनीहरूले अन्यत्र लगानी गरेका छन् । आजको आर्थिक सङ्कटका बेला उनीहरू हिजोको कमाइ खर्चिन तयार छैनन् । यसले पत्रकारिताप्रतिको लगानीकर्ताको प्रतिबद्धता धर्मराएको बुझ्न सकिन्छ । 

यसका बाबजुद पनि ‘एजेन्डा सेटिङ’ गर्ने मुख्य भूमिका भने मिडियाकै रहेको बताउँछन् नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित । भुटानी शरणार्थी प्रकरणलाई उदाहरण दिँदै सम्पादक दीक्षितले आक्कलझुक्कल नै भए पनि ‘एजेन्डा सेटिङ’ गर्ने यस्ता ‘कन्टेन्ट’ पस्कन सक्नु नेपाली पत्रकारिताका लागि सुखद पक्ष नै मान्नु पर्छ । पत्रकारिताको निष्पक्षतामाथि कहीँ कतै प्रश्न उठिरहेका बेला यस्ता ‘कन्टेन्ट’ ले पक्कै पनि विश्वसनीयताको जगमा इटा थप्ने काम गरेका छन् । 

राजनीतिसँग सम्बन्धित सामग्रीलाई उदाहरणका रूपमा लिँदा मूलधारका मिडियाले त्यसलाई मुख्य ‘कन्टेन्ट’ त बनाएको भए पनि अधिकांश औपचारिकतामा सीमित छन् । शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल भन्छन्, ‘राजनीतिका समाचार पनि व्यक्तिमा केन्द्रित भयो, विषयवस्तु नै छैन ।’ सम्पादक दाहाल आजको दिनमा नेपाली पत्रकारिता ‘भन्नुभयो, बताउनु भयो र उल्लेख गर्नुभयो’ मा सीमित भएको अनुभव सुनाउँछन् । राजनीतिक दलका नेताका उपलब्धिहीन बैठकका विषयलाई मूलधारका मिडियाले प्रमुख ‘कन्टेन्ट’ का रूपमा पस्किरहेका छन् । सेतोपाटी अनलाइनका सम्पादक अमित ढकाल आजको दिनमा मिडियामा प्रकाशित यस्ता राजनीतिक समाचारमध्ये ८० प्रतिशत ‘कभर’ नगर्दा पनि कुनै फरक नपर्ने बताउँछन् । 

मूलधारका मिडियाले बलियो ‘कन्टेन्ट’ पस्कन नसक्दा पछिल्लो समय पाठक, श्रोता, दर्शक पत्रकारिताबाट पलायन हुन थालेका छन् । तिनलाई कसरी जोगाएर राख्ने भन्ने नै मूलधारका मिडियाका लागि प्रमुख चुनौती भएको बताउँछन् खोज पत्रकारिता नेपालका सम्पादक किरण नेपाल । मूलधारबाट पलायन भइरहेका ‘अडियन्स’ लाई सोसल मिडियाले ‘इन्गेज’ गराएको देखिन्छ । सोसल मिडियाले तथ्य र प्रमाणबाट निकै टाढा रहेर पस्केका ‘कन्टेन्ट’ ले पाठकलाई कतिदिनसम्म प्रभावित पार्न सक्छ भन्न सकिँदैन । प्रविधिको विकाससँगै मूलधारका मिडिया र तिनको भूमिकामा पनि परिवर्तन आएको छ । 

२०४६ को राजनीतिक परिवर्तन लगत्तै साप्ताहिक पत्रिका मूलधारको पत्रकारिताको हिस्सेदार थियो । केही समयपछि नै निजी क्षेत्रबाट प्रकाशित कान्तिपुरलगायतका केही दैनिक पत्रिका मूलधारका रूपमा स्थापित भए । त्यसपछि रेडियो, टेलिभिजन हुँदै पछिल्लो समय अनलाइन पत्रकारिताको विकास भएको छ । न्यु मिडिया भनिने अनलाइन पत्रकारिताले आजको दिनमा सबैखाले परम्परागत पत्रकारितालाई डो¥याउने मात्र होइन समाहित गर्दै लगेको छ । यसो हुँदा अखबारको पाठकको अपेक्षा र प्रविधिमा पनि बदलाव आएको छ । सँगै विकास भएको सामाजिक सञ्जालले ‘अडियन्स’ को व्यवहार नै परिवर्तन गरिरहेको छ । पत्रकारले त्यसको वास्तविक भेउ पाउन र प्रविधि अनुसार गति समात्न नसक्दा आजको दिनमा पत्रकारिता कमजोर हुन पुगेको हो । पुराना पाठकलाई ‘इन्गेज’ गराउन नसक्दा सङ्ख्या गुमाउँदै जाने अनि नयाँलाई आकर्षित गर्न पनि नसकिएपछि पत्रकारिता कसरी जोगाउन सकिन्छ ? कान्तिपुर दैनिकका पूर्वप्रधान सम्पादक सुधिर शर्मा भन्छन्, ‘त्यो नै नेपाली पत्रकारितामा सङ्कटको सङ्केत हो ।’ 

पत्रपत्रिका जस्ता परम्परागत मिडियामा पाठकको रुचि कम हुनुको मुख्य कारण के हो त ? माथि नै चर्चा गरियो कि बलियो ‘कन्टेन्ट’ को अभाव । यसबाहेकका कारण केलाउँदा अनलाइन मिडियाको बजार बलियो हुँदै गएको छ । त्यसैले पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता परम्परागत मिडियाहरू पनि बाध्य भएर अनलाइनमा गएका छन् । प्रविधिले फड्को मारे अनुसार त्यस्ता मिडिया प्रविधिमैत्री बन्न नसकिरहेको आजको यथार्थ अवस्था हो । मिडियालाई प्रविधिमैत्री बनाउन पत्रकारमा त्यस्तो प्रविधिको यथेष्ट ज्ञान नभई हुँदैन । पत्रकारलाई प्रविधिमैत्री बनाउनका लागि त्यससँग सम्बन्धित तालिम र प्रशिक्षण दिनु पर्छ । जसले पत्रकारको क्षमता बलियो बनाउँछ । पत्रकार क्षमतावान् हुना साथ त्यसको सकारात्मक असर ‘कन्टेन्ट’ मा नदेखिने कुरै हुँदैन । आजको दिनमा नेपालका न्यु मिडियामा अभ्यास्त पत्रकारका लागि तालिमको खाँचो छ । पत्रकारलाई तालिमका माध्यमबाट ‘न्यु मिडिया’ सम्बन्धी सिप नसिएकासम्म फेरि पनि पत्रकारितामा गुणस्तर पाउन गाह्रो हुन्छ । 

पछिल्लो समय आमनागरिकमा नेताका प्रति आक्रोश बढेको छ । प्रमुख रूपमा नेताहरूको कार्यशैलीका कारण देश र लोकतन्त्रकाप्रति पनि निराशा बढ्दो छ । यो निराशालाई चिर्दै अन्धकारमा बत्ती बालेर आशाको किरण जगाउनु मिडियाको मुख्य दायित्व हुन्छ नै । त्यसैले त पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको हो । आजको दिनमा पत्रकार र पत्रकारिताको ‘पब्लिक इमेज’ खस्कँदो छ जसको झझल्को सामाजिक सञ्जालमा देखिन्छ । मिडिया र सोसल मिडिया एउटै हुन् भन्ने कतिपय पाठकमा भ्रम छ । उनीहरूले यी दुईका बिचमा रहेको भिन्नता छुट्याउन सकेका छैनन् । पत्रकारितामा पस्किएका सत्यतथ्य र सन्तुलनले नै समाचारको विश्वसनीयता कायम गर्छ । कुनै पनि सूचना लामो सम्पादनको प्रक्रिया पूरा गरेर समाचारका रूपमा प्रशोधित भएर पाठकबिच पुगेको हुन्छ । सम्पादनको यही क्रमले पत्रकारितालाई विशिष्ट बनाएको हुन्छ । 

सोसल मिडियाका कन्टेन्टमा पत्रकारिताको यसखाले अभ्यास लागु हुँदैन । सोसल मिडिया चलाउनेको अर्जुनदृष्टि भनेकै आफूले पस्केका ‘कन्टेन्ट’ को कसरी ‘लाइक’ र ‘भ्यु’ बढाउने भन्ने हुन्छ । कतिपय अनलाइन ‘क्लिकबेट’ का लागि नै भए नभएका सामग्री अपलोडमा सक्रिय छन् । क्लिक बढाउन जस्तोसुकै ‘कन्टेन्ट’ पस्कन पनि उनीहरू तयार हुन्छन् । राजनीतिक दल वा तिनका नेता निकट रहेर सञ्चालित सोसल मिडियाका सन्देशले पत्रकारिता र सोसल मिडियाबिचको भिन्नता छुट्याउन नसक्ने ठुलो वर्गलाई भ्रममा पारेर आफ्ना ‘एजेन्डा’ स्थापित गराउने प्रयास गर्दै आएका छन् । यस्ता दूषित सूचनाले खराब पक्षलाई पनि सही हो भन्ने आममानिसमा भ्रम सिर्जना भइरहेको छ । त्यसैबाट निर्देशित भएर खराब व्यक्तिलाई मत दिँदा आफूलाई थप कमजोर बनाएको कुरा भारतीय लेखक अरुन्धती रायले भारतको उदाहरण दिँदै जे भनेकी छिन् त्यो नेपालका सन्दर्भमा पनि लागु हुन्छ । त्यस कारण कुनै पनि सूचना कहाँबाट, कुन उद्देश्यले पठाइएका छन् र ती सूचनामा कसको नियन्त्रण छ भन्ने आम नागरिकलाई थाहा नदिएसम्म दूषित सूचनाको बोलवाला कायमै रहन्छ । दूषित सूचनाले दिने दुष्परिणामबाट सकारात्मक परिणामको अपेक्षा गर्न सकिँदैन ।