मृत्युको प्रतीक्षा
आज.... धेरै दिनपछि आज कागज पाएको छु । कलम केही दिन पहिले नै पाएको थिएँ । कलम मात्रले तर केही गर्न सक्तोरहेनछ । कलमसित कागज नभइनहुने रहेछ । यो सबैलाई थाहा भएकै कुरा हो । तर कलम मात्र भएर कागज नभएको स्थितिलाई धेरै दिनसम्म झेलिरहनुपरेकाले यसलाई मैले बेग्लै रूपमा महसुस गरेँ । कलम र कागज यी दुवैको निमित्त मैले ती... प्रति कृतज्ञ हुनुपर्छ । ती... तिनको नाउँ मलाई थाहा छैन । तर उनको अनुहार, जिउ–डाल, लवाइ, हिँडाइ आदि कुनैलाई पनि म कदापि बिर्सन सक्तिनँ । यहाँ गोलघरमा राखिएपछि मैले देखेको मान्छे केवल उनी मात्र हुन् । हरेक दिन सधैँ उनी मेरो ढोकामा लगाइएको ठूलो ताल्चा खोल्न आउँछन् । ताल्चा खोल्दा सायद उनलाई केही समय लाग्छ । त्यसैले ढोकामा केही समयसम्म एउटा आवाज आइरहन्छ । त्यो आवाजसँगै मलाई लाग्छ, अब केहीबेरमै ढोका खोलि नै लागेको छ ।