• ८ मंसिर २०८१, शनिबार

मोमिला : समकालीन काव्यचेतनाकी प्रतिमान

blog

२०२४ साउन २६ गते आमा सनकादेवी र बुवा सिद्धिप्रसाद जोशीको कान्छो सन्तानको रूपमा धनकुटामा जन्मिएकी मोमिला समकालीन नेपाली कविता र निबन्धको क्षेत्रमा आफैँ एउटा प्रतिमान बनेकी स्रष्टा हुन् । मौलिक सिर्जनाका रूपमा उनका चारवटा कविता सङ्ग्रह– पैँयुँ फुल्न थालेपछि (२०५३), जूनकीरीहरू ओर्लिरहेछन् (२०५५), दुर्गम उचाइमा फूलको आँधी (२०६०), भीमसेन थापाको सुसाइड नोट (२०७०) र एउटा निबन्ध सङ्ग्रह ईश्वरको अदालतमा आउटसाइडरको बयान (२०६३) प्रकाशित छन् । 

मोमिलाका लेखनमा विषयवस्तु र शैली दुवै हिसाबले स्वतन्त्र पहिचान निर्माण गरेकी छन् । उनको लेखनलाई दुरुह भएको मान्ने पाठक/समालोचकहरू पनि नभएका होइनन् । उनका विषयवस्तु दैन्दिनीका उहापोहबाट आउँछन् र पनि तिनले वैचारिकीको उपल्लो तहमा संवाद गरिरहेका हुन्छन् । तिनले स्थान र समयको सीमालाई भञ्जन गर्छन् । दैैहिक एवम् लौकिक जीवनको पुटमा अङ्कुरण भएर पनि सत्यको अन्वेषण गर्ने हेतुले पराभौतिक चिन्तनमा निमग्न हुन्छन् । उनको विश्वदृष्टि र त्यसको आयामको व्याप्ती र विस्तारका कारणले उनको शैलीमा त्यो विषयलाई बोक्न सक्ने भाषिक सघनताको माग गर्छ । यदि उनको लेखन दुरुह छ भन्ने हो भने पनि त्यो इमान्युल कान्तको सब्लाइम जस्तो हो । जीवनको सौन्दर्यप्रतिको तीव्रतर आकर्षण र सँगसँगै त्यसले उत्पन्न गर्ने भय चेतना । यो जटिल विशिष्टतालाई दैन्दिनीको भाषाले सम्प्रेषण गर्न कविलाई सम्भव भएको छैन । उपल्लो स्तरको चेतना बोक्नलाई उनलो भाषाको मौलिक प्रयोगमा उनले जोड दिएको देखिन्छ । वास्तवमा त्यही दुरुह लाग्ने भाषाशिल्पको प्रयोगबाट उनले आफ्नो लेखकीय सत्ता निर्माण गरेकी छन् ।

साहित्य सृजनका बारेमा मोमिलाको दृष्टिकोण अमेरिकी कवि वालेस स्टेभेन्ससँग नजिक देखिन्छ । आफ्ना निबन्ध र लेखकीय मन्तव्यहरूमा मोमिला भन्छिन्– साहित्य प्रकृतिको परिष्कृत पुनः सृजन हो । ‘एनेक्डोट अफ द जार’ शीर्षकको कवितामा स्टेभेन्सले ठ्याक्कै यही भाव उतारेका छन् । टेनिसी हिमालको जङ्गली अराजकतालाई कलात्मक सिर्जनाको विम्बका रूपमा रहेको  ‘जार’ले नियन्त्रण गरेर त्यसलाई सभ्य र आकर्षक तुल्याएको भाव त्यो कवितामा छ । मोमिलाले पनि लेखकलाई देवताको सिर्जनालाई निखार्ने दायित्व बोकेको सर्जक मानेकी छन् । मोमिलालाई लाग्छ सिर्जनाको समयमा लेखकभित्र देवत्व प्रवेश गरेको हुन्छ । त्यसैले सत्य नै लेखकको सत्ता हो । कविता उनको भाषामा देवत्वको अनुभूति हो । 

मानिसको रूपमा एउटा लेखकका थुप्रै सीमाहरू छन् । चेतनाको उडान र यथार्थको घर्षणबीचको द्वन्द्वले उत्पन्न गर्ने दुःख पनि छन् । तर ती दुःखहरूलाई उनले उत्सवमय तुल्याउन खोजेकी छन् । आफ्नो निबन्धमा उनले अमेरिकी कवि वाल्ट ह्वाइटम्यानको सङ्ग अफ माइसेल्फ पढेपछिको प्रभावलाई मुखर रूपमा अभिव्यक्त गरेकी छन् । सारांशमा ह्वाइटम्यानको ‘आई सेलिब्रेट माइसेल्फ’ अर्थात् म आफैँलाई उत्सवमय बनाउँछु भन्ने जीवनबोधी दर्शनलाई उनले आफ्नो सिर्जनाको मार्गदर्शन मात्र बनाइनन्, दैहिक जीवन बाँच्ने सूत्र पनि बनाइन् । त्यसैले उनको लेखनका सामलहरू दुःखलोकबाट आउँछन् र आनन्दलोकमा बाँच्छन् । दुःखलाई उत्सव बनाउनु उनको सिर्जनाको शक्ति हो । त्यसैले पनि उनको लेखनले भावनाको उच्चतम उडान लिन्छ । पृथ्वीबाट स्पेसमा जान हिँडेको रकेट जस्तो हुन्छ त्यो प्रक्रिया । दुःखहरूबाटै उठ्नु छ जसरी रकेटले झेल्नुपर्छ पृथ्वीको गुरुत्वाकर्षण । त्यसपछि चिन्तनको आफ्नै लय समात्नु छ । संवेगतात्मक उडानको तीव्रता र नयाँ सत्यको बोध गर्न पुरानै शब्द, शैली र संरचनाहरू सधैँ सहयोगी भइरहँदैनन् । त्यही असमर्थतामा मोमिलाको शैली जन्मिन्छ एउटा अनिवार्यताको उपज बनेर ।

मोमिलाका विचारमा कविता अनुभूत गर्ने विषय हो । तर कविता हृदयविलासमा मात्र सीमित हुँदैन भन्ने उनको मान्यता छ । चेतनातìवलाई उनले उत्तिकै महìव दिएकी छन् । त्यसलै उनका धेरै कविताहरू समसामयिक विषयहरूबाट जन्मन्छन् र सत्यको सत्ता नजिक पुगेर शाश्वत बन्छन् । मोमिलाको कविता यात्रामा पनि यो विकास प्रष्टै देखिन्छ । पैँयुँ फुल्न थालेपछि कविता सङ्ग्रहमा उनी जीवनका अफ्ठ्यारा सफ्ठ्याराहरूको आत्ममूल्याङ्कनमा बढी अल्झेकी छन् । समाजसगँको संवाद असहज बनेपछि उनी कलामार्फत्, शब्दमार्फत् एकालापतर्फ मोडिएकी छन् । भौतिक प्रेमका सीमाहरू, मानसिक द्वन्द्व, आकाङ्क्षा र तिनका दुर्घटनाहरू, यिनको कविताका विषय बन्छन् । उनी त्यसलाई जीवनको गीत बनाउँछिन् र एकान्तको सङ्गीत भर्छिन् । यही काव्यिक एकालापसँगै दोस्रो कृतिसम्म पुग्दा उनी अलि बढी उन्मुक्त भएको देखिन्छिन् । पीडाका ‘घाम, जून र ताराहरूलाई’ तमोरमा बगाउँछिन् र ‘सिमानामा नबाँधिने/अन्त्यहीन यात्रा’तिर लाग्छिन् । पीडाको महोत्सवबाट उनले चेतनाको तहमा ठूलै फड्को मार्छिन् । उनी समाजसँग हराएको संवादलाई आफैँसँगको संवादको रूपबाट जोड्न खोज्छिन् । पहिलो कृतिमा त्यो स्वयम्सँगको एकालाप बढी थियो । दोस्रो कृतिमा उनी स्वयम्सँगको संवादमा उत्रिएकी छन् । आफू भएर मात्र समाज अर्थपूर्ण हुन्छ भन्ने बुझाइमा पुग्न सक्नु कविको रूपमा उनको यो चरणको महत्त्वपूर्ण उपलब्धि हो । ह्वाइटम्यानको आई सेलिब्रेट माइसेल्फ भन्ने जीवनबोधी धारलाई उनले कवितामा पछ्याउन थालेको स्पष्ट देखिन्छ । 

तेस्रो कविताकृति दुर्गम उचाइमा फूलको आँधीमा पुग्दा उनी रङ्ग यात्राको निर्बन्ध यात्री भइसकेकी हुन्छिन् । त्यसपछि उनी आफ्नै स्थूल र भौतिक आकाङ्क्षाहरूको प्रतिवाद गर्न सक्ने भएकी छन् । आफू भएरै समाज अर्थपूर्ण हुन्छ भन्ने बोध भएपछि अब उनका गुनासाहरू स्वयम् लक्षित छन् । उनका खुसीहरू स्वयम् सिर्जित छन् । त्यसपछि उनलाई लाग्न थाल्छ–‘चेतनाको साँघुरो गल्लीमा/ एउटा अजिब सङ्गीत बजिरहेछ...।’ बस् अनि के चाहियो ? चेतनाको विस्तारले ‘साँघुरो गल्ली फाटिएर/ जताततै/ उज्यालो निरर्थक पोखिएका छन् ।’ अब उनी चेतनाको त्यो दुर्गम उचाइ चढिसकिन् जहाँ उनलाई उज्यालोको समेत लोभ छैन । अब उनका लागि ‘मान्छे नै मान्छे बन्छ. . ./ मान्छेकै भगवान् बन्छ ।’ प्रकृतिको एउटा सृष्टि आफैँ स्रष्टा हुन्छ । कविता लेखिरहेको कवि अब भगवान् हुन्छ । आफैँलाई उत्सव तुल्याउने उनको यत्नमा उनी यो सङ्ग्रहमा सफल हुन्छिन् । यस चरणमा उनको यो अर्को महत्त्वपूर्ण काव्यिक सफलता हो । 

उनको पछिल्लो कविता सङ्ग्रह भीमसेन थापाको सुसाइड नोट उनको कविता यात्राको झन् ठूलो सफलता हो । त्यो कुन अर्थमा भने पहिलो कृतिमा समाजसँग संवाद गर्न नसकिरहेकी कवि आफ्नो स्वत्वको निर्माण गर्दै गर्दै आत्मसंवादको चरण पार गरेर फेरि समाजसँगको संवादमा आइपुग्छिन् । तर यसपालि उनलाई संसारिक कमजोरीहरूले लघारेको छैन । आकाङ्क्षाहरूको दास हुनुपरेको छैन । कवि मुक्त पनि छ तर जीवनसँग उक्तिकै मुग्ध पनि छ । उज्यालो र छायाँको एक उत्सवमय साँझको कल्पना गरेर कवि अघि अघि लाग्छिन्, उज्यालो उनको पछि लाग्छ । बुझ्ने कुरा यही हो, पछ्याइरहेको त्यो उज्यालोको मूल त उनी स्वयम् रहिछन् । चेतनाको दुर्गम उचाइ छोएर कवि जुनकिरीझैँ आफ्नै परिवेशमा ओर्लिएकी छन् यो सङ्ग्रहमा । जुन अँध्यारोमा निसास्सिएर उनी बाहिर निस्किन लाख यत्न गरिरहेकी हुन्थिन्, त्यही अँध्यारोलाई प्रकाशित गरिरहेकी छन् अहिले । काव्यचेतनाको यो रूपान्तरण सानो उपलब्धि होइन ।

अब उनी शून्य राजमार्गको चियापसलकी मनमायाहरूसँग संवाद थाल्छिन् । जीवनको लय उनले भन्दा बढी कसले बुझेको होला । लाग्थ्यो पानीको वहाव सत्य हो । हावाको वहाव सत्य हो । तर मनमायाको छोराको लास छुँदै बगेको हावा अब मनमायासम्म आइपुगेर स्थगित हुन्छ । मृत्यु छोएको हावा त्यस पर जाने छैन । चालीसको दशकबाट सत्तरीमा आइपुग्दा कविले आर्जन गरेको शक्ति यही हो । जीवनको शक्ति । उनका कविताहरू हावाको वहावलाई स्थगन गर्ने क्षमता राख्छन् । उनका कवितामा मनमायाहरू अब पुतलीको घर भत्काएर बाहिर निस्कछन् । पुतलीको घर आफ्ना लोग्नेलाई उपहार दिएर उनीहरू स्वच्छन्दताको यात्रामा निस्कन्छन् । आफैँलाई चिन्न सकेकाले, आफैँलाई उत्सव मानेकाले कवि मनमायाहरूलाई यो निर्णय लिन सघाउने सामथ्र्य राख्छिन् । समाजसँगको शक्ति संवादमा यो दुर्लभ प्राप्ति हो । उनले त्यो संवादको दायरालाई बढाउँदै लगेकी छन् । उनी वर्तमानसँग संवाद गर्छिन् । भीमसेनलाई विम्ब बनाएर इतिहासको पुनमूल्र्याङ्कन गर्छिन् । समाजसँगको यो संवादमा उनी फेरि संरचना र शैलीमा सरलता ल्याउँछिन् । अब विस्तारै उनी निहारिकाको सत्तासँगको विद्रोह लेख्छिन् । अब धर्तीले आकाश ताक्दैन । आकाश धर्तीतिर निहुरिन्छ । अब बारुदहरू पड्किनु पर्दैन । न्याय दिन नसक्ने तथाकथित न्यायमूर्तिहरू कविताको शक्तिले आफैँ सालिक बन्छन् । कवि अब समाजसँगको संवादमार्फत् जीवनको पक्षमा सत्तामाथि धावा बोल्न थाल्छिन् । कविका रूपमा उनको यो महत्त्वपूर्ण प्राप्ति हो ।  

कविताका अतिरिक्त ईश्वरको अदालतमा आउटसाइडरको बयान निबन्ध सङ्ग्रहमार्फत् उनले आफूलाई शक्तिशाली निबन्धकारका रूपमा स्थापित गर्न सकेकी छन् । उनका ललित निबन्धहरू कवितात्मक छन् । ध्रुवचन्द्र गौतमले मोमिलाका निबन्धहरूलाई सम्यक विद्रोहको कलात्मक अभिव्यक्ति भनेका छन् । दुर्गाप्रसाद भण्डारीले निबन्धमा उनलाई रिबेल अर्थात् विधायक विद्रोही मानेका छन् । उनी निबन्धमा प्रश्नहरू गरिरहेकी छन् । आफैँसँग प्रश्न । समाजसँग प्रश्न । उनलाई थाहा छ प्रश्न गर्नु संवादमा रहनु हो । आफैँसँग जोडिनु हो । समाजसँग जोडिनु हो । तर उनले निबन्धमा आफूलाई आउटसाइडर भन्न रुचाएकी छन् । आउटसाइडर हुनु चेतना र विश्वदृष्टिको उपल्लो सोपानमा उक्लनु हो । भित्र बसेर भित्रै हेर्दाका आफ्ना सीमाहरू छन् । उही विश्वदृष्टि, उही आकाङ्क्षाहरू, उही डिकोडिङ्ग फ्रेम । ठेस नलागुन्जेल छेउकै ढुङ्गो नदेखिने । आउटसाइडर हुनु बहिष्कृत हुनु होइन । व्यापक दृष्टिबाट समाजलाई हेर्ने सामथ्र्य प्राप्त गर्नु पनि हो । आफ्ना कवितामा जस्तै निबन्धमा पनि उनी अँध्यारो भित्री चोटाबाट बाहिर निस्किएकी हुन् । भित्रको उकुसमुकुस उनलाई थाहा छ । उज्यालोको मोह उनलाई थाहा छ । र बाहिरबाट देखिने समाज पनि उनको अगाडि छ । तर आउटसाइडरको रूपमा अब उनलाई द्रष्टाको शक्ति पनि थाहा छ । त्यसैले उनको आउटसाइडर स्टाटस शक्तिहीन साक्षीको द्योतक होइन । शीर्षक निबन्धमा उनले समाजमाथि प्रश्न गर्नुको साटो सामाजिक मान्यताहरूप्रति आफू गम्भीर नभएको आत्मारोप गर्छिन् । कसैले गम्भीर मानेको कुरामा आफू गम्भीर छैन भन्नु पनि उसको सत्ताको मानकलाई भत्काउनु हो । भित्रै बसेर मानक भत्काउन सकिन्न पनि । नैतिकताको बारेमा इमान्युल कान्तले भनेका छन्, भित्र हुँदा भित्रकै नियम मान । नमान्नु छ भने त्यो घेराबाट बाहिर जाऊ । यो आउटसाइडर स्टाटस लेखकको रणनीतिक अवस्थिति हो । किनकि निबन्धहरूमा उनी उत्तरहरू अघि लगाउँछिन् र प्रश्नहरूले त्यसलाई पछ्याउँछन् जसरी कवितामा अँध्यारो अघि लाग्थ्यो र उज्यालोले त्यसलाई पछ्याउँथ्यो । 

आफ्नो निबन्धमा मोमिला लेख्छिन्, ‘आखिर जिन्दगी एउटा यस्तो असाध्य वीणा बनिदियो, धुन आफैँसँग छ तर बजाउन सकिएन ।’ उनको निबन्धमा आउने मूल प्रश्न यही हो । आफैँभित्रको धुन चिन्न नसक्नु नै समस्या बन्यो । त्यो धुनलाई बजाउन सक्नुमै जीवनको सार्थकता छ भन्ने थाहा पाउन उनले धेरै कठिन र लामो यात्रा गर्नु प-यो । त्यसैले पटकपटक उनी ह्वाइटम्यानप्रति अनुग्रहित भइरहन्छिन् । लौकिक दुनियाँको उहापोहबाट उक्लिएपछि उनले आफैँभित्र स्वर्ग भेट्टाइन् । अहिले स्वर्गका सुखहरू उनैसँग छन्, स्वर्गका दुःख झन् कति कति । इन्द्रबहादुर राईले यसलाई ‘एग्जिस्टेन्सअल नोइङ’को प्रक्रिया मानेका छन् । मोमिलाका निबन्धमा जगत्लाई बुझ्ने संवेगात्मक हुटहुटीको तीव्रता बढी छ भन्ने उनको मत छ । तर आफूलाई बिलग्गाएर संसारलाई हेर्न खोज्नु केवल संवेगले मात्र पुग्ने कुरा होइन । त्यसका लागि बौद्धिक चेतनाको बलियो पुट चाहिन्छ नै । जुन उनका निबन्धहरूमा पर्याप्त पाउन सकिन्छ ।    

मौलिक सिर्जनाका अतिरिक्त मोमिलाकै सम्पादनमा प्रकाशित प्रतिनिधि नेपाली कविताहरूको सँगालो सगरमाथाको नृत्यमग्न आत्मा (२०६५) आधुनिक नेपाली कविताको मानक ग्रन्थ हो । विगत दस वर्षदेखि मोमिलाकै सम्पादनमा प्रकाशित हुने वार्षिक छपाइपत्रिका कलाश्री र नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित हुने अनलाइन पत्रिका समकालीन नेपाली साहित्यको सग्लो चित्र देखाउने उल्लेख्य प्रकाशनहरू हुन् । एन आउटसाइडर इन द कोर्ट अफ गड (सन् २०११) अङ्ग्रेजीमा अनुवाद गरिएका उनका ललित निबन्धहरूको सङ्ग्रह हो भने सेलेक्टेड पोयट्री (सन् २०१३) उनका अङ्ग्रेजीमा अनुवाद गरिएका कविताहरूको सङ्ग्रह हो । यसका अलावा उनका फुटकर कविताहरू हिन्दी, जापानी, चिनियाँ, कोरियन, रुसी एवं अन्य भाषाहरूमा अनुदित भई प्रकाशित छन् । थुप्रै साहित्यिक संस्थाहरूमा आबद्धतापछि पछिल्लो समय मोमिलाकै नेतृत्वमा गठन भएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानबाट उनले कला साहित्यको विकासका लागि साहित्यिक गोष्ठी आयोजना गर्ने, साहित्यिक पत्रिकाको सम्पादन एवं प्रकाशन गर्ने तथा कला साहित्यका क्षेत्रका उत्कृष्ट सर्जकलाई सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने काम पनि गर्दै आएकी छन् । संस्थागत रूपमा उनले देशका विभिन्न भागमा साधनारत नयाँपुराना स्रष्टाहरूलाई मूलधारमा जोड्ने अभियानका रूपमा प्रत्येक वर्ष कलासाहित्य यात्राको आयोजना गर्ने र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्न विभिन्न देशहरूमा साहित्यिक भ्रमणहरूको आयोजना गरेर कुशल साहित्यिक सङ्गठक र अभियन्ताका रूपमा पनि उत्तिकै योगदान गरेकी छन् । आफ्नो बहुआयामिक योगदानले उनी आफैँ एउटा संस्था बनेकी छन् । 

उनले आफ्ना सिर्जनाका लागि राष्ट्रिय कविता महोत्सव, प्रज्ञा पदक (२०५५), गुञ्जन प्रतिभा पुरस्कार (२०६२), युवा वर्ष मोति पुरस्कार (२०६३), राष्ट्रिय प्रतिभा पुरस्कार (पूर्वाञ्चल, २०६८), भूपी स्मृति सम्मान (२०७१), सेलिब्रेटिङ वुमनहुड भगवती सम्मान (२०७३), शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार (२०७५), बासुशशी साहित्य पुरस्कार (२०७८) र मधुपर्क प्रतिभा सम्मान (२०७९) लगायतका सम्मान र पुरस्कार प्राप्त गरेकी छन् ।