“हैन यो निद्रा पनि किन नलागेको आधा रात बितिसक्यो,” अनामिका आफ्नो मोबाइलमा विगतका तस्बिर हेर्दै आफैँसँग प्रश्न गर्छिन् । यसै गरी हिजोआज उनका कैयौँ रात बित्ने गरेका छन् । उनलाई रातमा निद्रा र दिनमा चैन छैन । जसका कारण विगतलाई नै सम्झने बानी परेको छ उनलाई । थुपैै्र तस्बिर, सम्मानपत्र र प्रमाणपत्र विगतका सुनौला पलको साक्षी बनेर कोठाको भित्तामा झुन्डिएका छन् । यिनैले उनलाई प्रत्येक पल मनमा सोला दिने गर्दछन् ।
विगतका पल प्याजका पत्र झैँ उप्किँदा उनलाई असह्य हुन्छ, मानौँ कुनै दीर्घरोगीलाई रोगको पीडा बढे झैँ । विगतका अविस्मरणीय क्षण नै उनलाई चिमोट्न आउँछन् । कैयौँ घटना बिर्सन खोज्दा पनि उनले बिर्सन सकेकी छैनन् । दिनरात, घामपानी, जाडोगर्मी उनका लागि सबै एकै समान लाग्न थालेका छन् ।
विगतमा उनको शिरमा जुन ताज थियो, त्यो आज त्यो छैन । सौन्दर्यको संसारमा उनको गतिविधिको चर्चा पनि ह्वात्तै घटेको छ, सेयर बजारमा सेयर एकैछिनमा ह्वात्तै ओरालो लागे झैँ । किन हो उनलाई यो मानव बस्ती नै सुनसान र निर्जन जस्तो लाग्छ । जीवनको यात्रामा उनले आफूलाई फगत् एक क्लान्त पथिक मात्र ठानेकी छिन् ।
समयको दौरानमा उनको कोठाको भित्तामा झुन्डिएको क्यालेन्डरका थुप्रै पाना पल्टिसकेका छन् । समयको नियति ज्यादै निष्ठुर हुँदोरहेछ भन्ने कुरा बल्ल अनामिकालाई बोध हुन लागेको छ । अतीतको तितो सम्झना मानसपटलमा खेलिरहेको छ । “अनामिका, आई लभ यु, आई रियल्ली लभ यु,” प्रभातले कैयौँ पटक उनीसामु विनयसाथ प्रेम प्रस्ताव राखेको थियो । उनले त्यो प्रस्तावको बेवास्ता गरेकी थिइन् । अहिले उनलाई त्यही कुराको पश्चात्ताप लागिरहेको छ, “मैले त्यो प्रस्ताव अस्वीकार गरँेँ, किन गरेँ ?”
प्रभातले बारम्बार भनेको थियो, “म तिमीसँग विवाह गर्छु ।” कस्तो समर्पण थियो उसको प्रेमका लागि अनि मप्रति । पटक पटक मैले उसको प्रस्ताव अस्वीकार गरेँ । त्यो सबै मलाई सपना झैँ लागिरहेछ । अहिले किन उसको जीवनशैलीप्रति मलाई लोभ बढेको छ । लाग्छ, उसलाई फेरि फोन गरूँ, माफी मागूँ र प्रस्ताव राखूँ । मेरो मनभित्र अतीतका घटना ज्वारभाटा बनेर उठेका छन् । यसरी पश्चात्तापमा विगततिर फर्कनु अहिले अनामिकाको नियति नै बनेको छ ।
अब त प्रेम र विवाह प्रस्तावका कुरा सुन्न पाए पनि कस्तो होला भने झँै भएको छ अनामिकालाई । हिजोआज उनको मन रत्तिभर पनि स्थिर छैन । त्यसबेलाको विवाह र प्रेम प्रस्तावको मन्द समीर आज उनको जीवनमा आँधी बनेर आएको छ । त्यसले उनको जीवनवागलाई पतझड बनाउला भन्ने सोचाइ कति पनि भएन सौन्दर्यको उन्मादमा । उनले नसोचेको कुरा नै भयो आखिर उनको जीवनमा । उनको मन कसैसँग अझै सम्बन्ध बढाउन चाहन्छ र बारम्बार प्रश्न गर्दछ, “कोसँग सम्बन्ध बढाऔँ ? हिजोका दिनमा मलाई रिक्तता महसुस भएन । त्यतिबेला साथ दिने थुप्रै हात थिए तर आज म रित्तो भएकी छु । प्रेमको नगरमा निर्जन जीवन भोगिरहेकी छु, म सहारा र प्रेमको खोजीमा मरुभूमिको यात्री झैँ मृगतृष्णा जीवन बाँचेकी छु ।”
मोबाइलको ग्यालरीमा विगतका सुन्दर तस्बिर हेर्दाहेर्दै आँखा लोलाउँछन् ‘क्या सुन्दर पल थियो । वाह ! त्यो पल साँच्चैै अविस्मरणीय थियो ।’ खुसीको कुनै स्ीामा नै थिएन । सहरभरि उनकै चर्चा हुन्थ्यो । सानादेखि ठुलासम्म सबैका मुखमा उनकै नाम थियो । ‘अनामिकाजी गिभ मी योर अटोग्राफ’ भन्नेको बाढी नै थियो । फोटो खिच्नेको ताँती त कति हो कति ? अहिले समयले कोल्टे फेरिसकेको छ ।
उनी अतीतको सुन्दर पल सम्झिन पुग्छिन्, “के विचार छ अनामिका ? मेरो कुरालाई गम्भीर रूपमा सोचेर निर्णय गर ।” उनको मिल्ने साथी रीताले त्यसबेला ल्याएको विवाह प्रस्तावको कुरा सम्झँदा अनामिकालाई अहिले ज्यादै पीडा हुन्छ । रीताको सुझावलाई अनामिकाले बेवास्ता गर्दै भनेकी थिइन्, “रीता अझै मैले त्यसबारे सोचेकी नै छैन ?” अन्त्यमा रीताले भनेकी थिइन्, “अनामिका एक पटक गहिरिएर सोच । यो तिम्रो व्यक्तिगत इच्छा हो । तिमीलाई जे मनपर्छ, त्यही गर तर तिमीलाई म कर गर्दिनँ । यो मेरो एउटा सुझाव मात्र हो । कर जोडेर भन्दछु बेलामा निर्णय नगरे पछुताउनु पर्ला । समय आउँछ तर पर्खँदैन ।”
रीताको कुरा सम्झिँदा आज उनका आँखाबाट साउनका भेल बग्न थाल्छन् । उनका कुरा सम्झँदा अनामिकाको मुटु केले भित्रदेखि नै च्वास्स च्वास्स घोच्छ । “अनामिका जवाफ दिन ढिला गर्नु हुँदैन है ? जवाफ तत्कालै दिनु राम्रो हुन्छ । ऊ उद्योगपतिको छोरा हो, राम्रै छ” भन्ने रीताको जवाफलाई मैले बेवास्ता गरेँ र उल्टै जवाफ फर्काएकी थिएँ, “उद्योगपतिको छोरा भन्दैमा हुन्छ र ?”
यसरी उनले विवाह र प्रेमका थुपै्र प्रस्ताव तिरस्कार गर्दा हिजो र आजकी अनामिकाबिच ठुलो अन्तर देखा परेको छ । अनुत्तरित प्रश्नहरू उकुसमुकुस भएर उठेका छन् उनको मनभित्र । उनी यसलाई नै समयको खेल हो भन्ने गर्दछिन् । अतीतका सुन्दर पल पनि काँच झैँ एकैछिनमा चकनाचुर हुँदा रहेछन् । कतै यो मेरो सौन्दर्यले ममाथि गरेको छल त होइन ? उनी आफैँलाई थुप्रै प्रश्न गर्छिन् तर ती प्रश्नका जवाफ बाफ झैँ हावामा बिनाउत्तर बिलाएर जान्छन् । हिजोआज उनी सोचाइमा निक्कै डुब्न थालेकी छन् । खाँदा, सुत्दा, एकान्तमा बस्दा अतीतका स्वर्णिम पल उनको स्मृतिमा छाल बनेर उठ्ने गर्छन् । स्मृतिका छाल बढ्दै जाँदा उनको शरीर पसिनाले निथ्रुक्क भिज्छ ।
विगतका यादको चोटले थिलथिलिएको र पसिनाले निथु्रक्क भएको भारी जिउलाई ऐनाअगाडि उभ्याउनु उनको दैनिकी बनेको छ । अनुसन्धानबेत्ताले आफ्नो अनुसन्धानमा गहन दृष्टि दिए झैँ उनी आफ्नो अनुहारलाई निक्कै सूक्ष्म तवरले नियाल्छिन् । उनको मनमा विभिन्न तर्कविर्तक पैदा हुन्छन् । अनुहारमा विषादका रेखा मडारिन्छन् । उनलाई कता कता आफ्नो रूप र सौन्दर्यले व्रmमशः बिदा दिएको अनुभव हुन्छ । मन निकै गह्रौँ हुन्छ, त्यति नै अमिलो पनि । कता कता मुटु चसक्क दुखेको जस्तो हुन्छ । ओठ लरबराउँछन् । आँखा तलाउ झैँ टलपल हुन्छन् । ओठ थरथराउँछन् । जिउमा रक्तसञ्चार बन्द भए झैँ हुन्छ । उनलाई भित्रभित्रै मनमा पीडा बढ्छ । थरथराएका ओठबाट बिस्तारै केही शब्द निस्कन्छन्, “के यी केस पाकेकै हुन् त ? होइन, कति हुन् अनुहारभरि यी रेखाहरू ? अनि यी काला काला थोप्ला नि .....?” यसरी आफूलाई ऐनाअगाडि राखेर सर्वेक्षण गरिहरन्छिन् अनामिका ।
सूर्योदयको सुरम्य दृश्यलाई आँखामा सजाउँदै उमङ्गका साथ चियाको चुस्की लिँदै अनामिका कौसीछेउमा रहेका गमलालाई हेर्छिन् । त्यसमा रहेका फूल जो चिसो र शीतले खङ्ग्रङ्ग भएका छन् । ती फूल वसन्त ऋतुको प्रतीक्षामा छन् । केही समयअगाडिसम्म ती गमलाका फूलमाथि पुतली र भवराँहरू भmुम्मिएका देखिन्थे । “खोइ त ती आज ?” उनी घरि फूललाई अनि घरि आफूलाई हेर्दै आफैँभित्र प्रश्न गर्छिन् । पुनः ठुलो ऐनामा आफूलाई निकैबेर सूक्ष्म तबरले अवलोकन गर्छिन्– आखिर ती फूल र ममा के नै अन्तर भयो त ? उनी गमलाको फूललाई निर्निमेष हेरिरहन्छिन् ।