(पात्रहरूः १. सिद्धार्थ, २. देवदत्त, ३. शुद्धोदन, ४. मायादेवी, ५. गुरुआमा, ६. राजपुरोहित, ७. सेवक, ९. छन्दक, १०. घोडा, ११. मान्छेहरू, १२. बिरामी मान्छे, १३. वृद्ध मान्छे, १४. सिकारी, १५. शिष्यहरू, १६. मूर्ख मान्छे, १७. आमा, १८. अङ्गुलीमाल, २०. हाँस,
२१. कोरसहरू, २२. सेनाहरू, २३. मार, २४. तीन छोरी, २५. सुजाता, २७. राज, २८. धज, २९. कौण्डन्य
आवाज ः (कुनै आध्यात्मिक धुनसँगै यो आवाज गुन्जिरहँदा कोरसहरू हातमा दियो लिएर चारैतिरबाट दर्शकमा घुमिरहेका छन् । उनीहरूले सबै दर्शकलाई केही कुरा दिन्छन् ।) सबैको जय होस् । सबैको कल्याण होस् । सबैले सही बाटो समाउन सकून् । क्षमा, प्रेम र करुणा जीवनको गहना बनोस् । यस पावन भूमिमा करुणा सदैव फैलिरहोस् ।
आजभन्दा करिब २५ सय वर्षअघिको कुरा हो । नेपालको तौलिहवामा कपिलवस्तु भन्ने एक रम्य राज्य थियो । जातक कथा अनुसार पहिलेका र आगामी बुद्धहरूले यही क्षेत्रमा जन्म लिएका थिए, लिनेछन् । त्यसैले सिद्धार्थ गौतमले पनि यसै क्षेत्रको कपिलवस्तु नगरमा जन्म लिने निर्णय गरेका थिए । त्यसबेला कपिलवस्तुमा शाक्यवंशका राजा शुद्धोदन थिए । उनका मायादेवी र प्रजापति नामका दुइटी रानी थिए । यसरी शाक्यमुनि बुद्धको जन्म यस पुण्य भूमिमा हुनुले हामी आज संसारभर शान्ति क्षेत्रका बासिन्दा कहलिन पाएका छौँ । क्षमा, प्रेम, करुणा र शान्ति हाम्रा गहना हुन् । (कोरस मञ्चको आआफ्नो स्थानमा पुगिसकेका छन् ।) (राजा शुद्धोधनको दरबार । राजारानी कार्यव्रmम अवलोकन गर्न तयार भएका छन् । रानीले कार्यव्रmम सुरु गर्न अनुरोध गर्छिन् । कोरसले हाउभाउका साथ गायन सुरु गर्छन् ।)
१. सपना (गीत)
६२४ बिसीको पवित्र त्यो दिन
संसारले सम्झिन्छन् हरक्षण
राज्य थियो हिमालयले घेरेको
सुख, शान्ति र समृद्धिले बेरेको ।
कपिलवस्तु एक थियो है ठाउँ
शुद्धोदन प्यारा राजाको नाउँ ।
मायादेवी सबैकी प्यारी रानी
करुणा अनि ममताकी खानी ।
श्रद्धाले झुक्दछ अहिले सारा संसार,
त्यो पवित्र स्थान आहा ! सुन्दर नेपाल ।
नृत्य÷मुभमेन्ट एक– (राजा शुद्धोदन र रानी मायादेवी) ः सपना
सपनामा हराइन् मायादेवी एक रात,
एक्लीएक्ली उनी कोही थिएन साथ,
एउटा सेतो हात्ती लमक्क लम्कियो,
सुँढको सेतो गुलाब चमक्क चम्कियो ।
घना जङ्गल हात्तीको सवारी,
हात्ती पुग्यो रानीकै अगाडि ।
पस्यो अनि मायादेवीको गर्भमा,
छलफल सुरु भोलिपल्ट दरबारमा ।
(रानीले राजालाई केही कुरा भन्छिन् ।)
मायादेवी ः म किन किन आज निकै हर्षित छु महाराज ! मलाई लाग्छ, म उडिरहेकी छु बिनापङ्ख । त्यही सपनामा म रमाइरहेकी छु ।
शुद्धोदन ः म पनि हर्षित भएँ महारानी । (उनी पनि झ्यालमै पुगेर हात समाउँछन् ।) ...यो सपनाले पक्कै पनि राम्रो सन्देश ल्याएको हुनु पर्छ । ....सेवक ।
सेवक ः सेवक सेवामा हाजिर छ, महाराज महारानी !
शुद्धोदन ः जाऊ र तुरुन्तै हाम्रा राजपुरोहितलाई डाकेर ल्याऊ । (बाहिर आदेश, मुभमेन्ट निरन्तर)
सेवक ः आज्ञा शिरोपर छ महाराज ! (सेवक बाहिर निस्किन्छ । राजा र रानीको भुममेन्ट निरन्तर छ ।)
मायादेवी ः कुलगुरु वाचस्पतिले, बालक जन्मिएपछि मेरो मृत्यु हुने घोषणा गरे पनि म दुःखी छैन । मैले मेरो बालकलाई जन्म दिनुभन्दा ठुलो कुरा अरू केही होइन ।
शुद्धोदन ः कुलगुरुको उद्घोषले निराश नबन्नु महारानी, त्यो खड्गो पार लगाउने उपाय पनि पक्कै होला ।
पुरोहित ः पूजापाठ गर्दै थिएँ, आदेश पाएर हतारहतार गरी आएँ महाराज, महारानी । ...महाराज महारानीका प्रार्थनाले सबै कुशलमङ्गल छ ।
शुद्धोदन ः गुरुदेव ! (एक छेउमा लगेर सपनाको बारेमा सङ्केतमा भन्दछन् ।)
राजपुरोहित ः (किताबमा हेर्छन् । हाँस्छन् ।) .... महाराज ! ...महारानी ! (दुवैले इसाराले आदेश दिन्छन् ।) ...यसको अर्थ जन्मसँग जोडिएको छ महाराज ...सन्तान वृद्धिको योग हो यो महारानी । महारानी देवी गर्भवती हुनुहुनेछ । त्यसपश्चात जन्म लिने शिशु संसारभर प्रख्यात हुनेछन् । महान चव्रmवर्ती राजा वा साधु बन्नेछन् ।
(मायादेवीको नृत्य । अगाडिकै नृत्यको निरन्तरता ।)
२. यात्रा
शुद्धोदन ः देवी तिम्रै इच्छा अनुसारको शान्त, एकान्त, सुन्दर स्थानको व्यवस्था मिलाइसकेको छु । जहिले चाहन्छौ तिमी ...तिम्रो सवारी उता चलाउन सक्छ्यौ ।
मायादेवी ः म जान्न सक्छु, त्यो ठाउँ कुन दिशामा पर्छ महाराज ?
शुद्धोदन ः त्यो ठाउँ लुम्बिनी हो देवी, तिमी त्यहाँ आनन्दले रहन सक्छ्यौ । तिम्रो पङ्खले अझै गति लिनेछन्, यो कुरामा म निर्धक्क छु । ...सेवक !
सेवक ः सेवक सेवामा हाजिर छ महाराज महारानी !
शुद्धोदन ः महारानीसँग लुम्बिनीमा गएर बस्नका लागि केही सैनिकको प्रबन्ध गर्नुप¥यो । ....जानूस्, गुरुआमालाई पठाइदिनूस् ।
सेवक ः आज्ञा शिरोपर छ महाराज ।
मायादेवी ः महाराज मलाई त्यहाँ पक्कै शान्ति मिल्ने छ । म एकान्तमा रमाएर बस्न चाहन्छु मेरो बालकका लागि ।
शुद्धोदन ः महारानीले त्यसमा सन्देह नलिनु । केही कुराको कमी रहने छैन ।
सेवक ः महाराज गुरुआमा आउनुभएको छ ।
शुद्धोदन ः भित्र पठाइदेऊ ।
गुरुआमा ः खबर पाएर हाजिर छु महाराज ।
शुद्धोदन ः गुरुआमा, महारानी लुम्बिनी गएर बस्न चाहन्छिन् । उनलाई चाहिने सेविका, सुसारेहरूको प्रबन्ध गर्नूस् । धाईआमालाई पनि पठाइदिनूस् ।
गुरुआमा ः जो आज्ञा महाराज ।
मायादेवी ः आमा म भोलि नै उता प्रस्थान गर्ने छु । आवश्यक बन्दोबस्त मिलाउनुहोला ।
गुरुआमा ः हुन्छ महारानी । (कोरसको गायन र हाउभाउका साथ यात्रा सुरु हुन्छ । लुम्बिनी पुगेपछि रानीलाई आराम गर्न मन लाग्यो । त्यहीँ सालको रुखमुनि सिद्धार्थको जन्म भयो । जन्मनेबित्तिकै बालकले सात पाइला हिँडे ।)
जन्मिए बालक माइती जाँदा बाटोमा,
आनन्द भयो पीडाको साटोमा ।
प्रकाश झैँ चम्किलो बालकको शरीर,
सोही स्थानमा छ अहिले मन्दिर ।
सिपाहीले खबर पठाए राजालाई,
खुसी बाँडे जनता सारालाई ।
(सिन्दुर जात्रा गरी कपिलवस्तु नै फर्किए ।)
सुत्केरी रानी फर्किइन् दरबारमा, (शोक)
सिद्धार्थ नाम रह्यो नित्य कर्ममा ।
खुसी उल्लास धेरै दिन रहेन,
मायादेवीको बास धर्तीमा भएन ।
शोकमा डुब्यो राज्य सारासंसार,
गौतमीको जिम्मामा सिद्धार्थको स्याहार ।
(सिद्धार्थको भविष्यको बारेमा विभिन्न विद्वान्ले घोषणा गरे ।)
राजधज ः राजन् ! यदि यी बालक राजपाट समाली गृहस्थाश्रममै रहे भने अद्वितीय चव्रmवर्ती सम्राट हुनेछन् । संसार त्यागेर सन्न्यासी बने भने पनि त्रिलोकाचार्य सर्वज्ञ बन्नेछन् । यसमा कुनै सन्देह छैन ।
कौण्डन्य ः महारज यी बालक अवश्य पनि सर्वअर्थ सिद्ध गरेर बुद्ध नै हुनेछन् । यिनले गृहस्थ भएर जीवन बिताउने छैनन् । यो म निश्चयपूर्वक भनिरहेको छु ।
शुद्धोदन ः मेरो एक्लो राजकुमारलाई बुद्धत्वको कुनै खाँचो छैन । जे गरेर भए पनि हजारौँ द्वीपको अधिपति बनाएर चव्रmवर्ती सम्राट् बनाउन पाए पुग्छ । (सबै कोरसहरूले योगाभ्यास, ध्यान गर्छन् । गुरुहरूले सिकाए अनुसार सिद्धार्थ ध्यानमा बसिरहेका छन् ।)
३. हाँसको जीवन रक्षा
सिद्धार्थ दयालु, मृदुभाषी थिए सहयोगी,
देवदत्त भतिजा निर्दयी, हिंस्रक, घमण्डी ।
पशुपन्छी सिकार गरी रमाउने देवदत्त,
अरूको दःुखमा हराउने देवदत्त ।
एउटा हाँसलाई ताकेर वाण हाने, (हेऽऽऽऽ.... हा) (हाँस सिद्धार्थको अगाडि खस्यो ।)
सिद्धार्थले उपचार गर्नु उचित ठाने ।
छट्पटियो हाँस बगैँचामा खसी,
ओखती लगाए एकछेउमा बसी ।
हाँस माग्नलाई देवदत्त आए,
करुणाको पक्षमा जवाफ पाए ।
सजिलै विवाद साम्य भएन,
कुरा उनीहरूबिच मात्रै रहेन ।
देवदत्त ः मैले भर्खरै सिकार गरी खसालेको त्यो हाँस मलाई दिनूस् सिद्धार्थ । सिकार गर्नु एउटा क्षत्रीय योद्धाको अधिकार हो । हामीले यही कलामा गर्व गर्नु पर्छ ।
सिद्धार्थ ः के तपाईंलाई यी बिचरा पन्छीको माया लाग्दैन ? यसले तपाईंको केही बिगार गरेको छैन ।
देवदत्त ः तपाईं मेरो निसानाको अपहेलना गर्दै हुनुहुन्छ सिद्धार्थ ! मैले सिकार गरेको हाँस मलाई दिनूस् ।
सिद्धार्थ ः यो हाँस घाइते भएर मेरो बगैँचामा खस्यो । कसरी तपाईंको हुन सक्छ ? यसलाई बचाएँ, जुन मेरो कर्तव्य हो ।
देवदत्त ः यो हाम्रो बहस मेरो निसानाले खसालेको हाँसको विषयमा हो, मलाई तपाईंविरुद्ध दरबारमा पुग्नुपर्ने हुन्छ ।
सिद्धार्थ ः यदि न्यायले तपाईंलाई विजयी गराउँछ र हाँस सुम्पिनुभन्छ भने म तयार हुनेछु ।
हिंसा अनि करुणा विवादको कारण,
देवदत्त अनि सिद्धार्थ विवादको कारण ।
न्यायका लागि शुद्धोदनको शरण,
हुनु हुँदैन कसैको पनि मरण ।
(दुई जना हाँससहित राजाको सामुन्ने हुन्छन् ।)
शुद्धोदन ः घटनाबारे थाहा पाइसकेपछि मैले जरुरै यति भन्नुपर्दछ । कसैको जीवनलाई पीडा दिनेलाई भन्दा सुरक्षा दिनेलाई बढी अधिकार हुन्छ । मलाई सिद्धार्थको कुरा चित्त बुझ्यो ।
.... तिम्रो करुणाको सर्वत्र चर्चा हुने छ ।
देवदत्त ः महाराज ! एउटा क्षेत्रीय योद्धाको अपमान भयो । (रिसाएर जान्छन् । दुवै जना मुस्कुराउँछन् मात्रै ।)
४. सिद्धार्थ र नैराश्य
नृत्य÷मुभमेन्ट दुई ः सिद्धार्थ यशोधरा विवाह ।
उत्तीर्ण भए सिद्धार्थ परीक्षामा,
बिहे भयो यशोधरासँग धुमधाम ।
समय बित्यो परिवारमा खुसी छायो,
जन्मिए पुत्र दरबारमा उल्लास भयो ।
(सुन्दरीहरूको लाइन । नृत्य ।) (यशोधराले बालक बोकेकी छिन् । सिद्धार्थ र यशोधरा विपरीततिर उभिएका छन् ।)
यशोधरा ः तपाईं किन यसरी विचलित हुनुभएको ? मबाट केही कमीकमजोरी भयो । वैराग्य छाड्नूस् स्वामी । यो राज्यलाई तपाईंको आवश्यकता छ । मातापिता, म अनि यी बालकलाई तपाईंको आवश्यकता छ ।
संसारकै अमनचैन थियो दरबारमा,
खुसी भर्न चाहन्थे शुद्धोदन परिवारमा ।
दुःखबाट टाढा राख्ने थियो उपदेश,
सिद्धार्थलाई देख्नु थियो बाहिरी परिवेश ।
शुद्धोदन ः (राजाको हातमा चव्रmवर्ती राजाहरूले लगाउने किसिमको माला छ । राजा त्यही मालासँग खेलिरहेका छन् ।) सिद्धार्थ ! तिमीलाई राम्रोसँग थाहा छ, आफ्नो परिवार र राज्यमा शान्ति बनाइराख्नका लागि व्यक्तिले केही कुरा सहनुपर्ने हुन्छ । मेरो आफ्नो सत्ता सीमित छ । यदि स्वयम्लाई राजा बनाउनका लागि तयार गर्न सक्यौ भने तिमीले मेरोभन्दा राम्रो शासन गर्न सक्नेछौ भन्ने मलाई विश्वास छ । तिमीमा भ्रष्टाचार समाप्त गर्न सक्ने र आफ्नो देशमा अराजकता फैलनबाट रोक्न सक्ने प्रतिभा छ । (माला लगाइदिन्छन् ।) सिद्धार्थ यो राज्यलाई तिम्रो आवश्यकता छ ।
सिद्धार्थ ः बुवा, मलाई लाग्दैन यसमा कुनै प्रकारको प्रतिभाको आवश्यकता पर्छ । मूलभूत समस्या भनेको व्यक्तिले आफ्नो चित्त र हृदयलाई मुक्त गर्नुपर्छ । म स्वयम् पनि व्रmोध, भय, ईष्र्या र इच्छाका भावनाबाट ग्रसित छु ।
५. सिद्धार्थको भ्रमण
रथ आयो सिद्धार्थलाई लिन,
जयजयकार गर्दै उभिएका जन ।
सिद्धार्थले बुझेनन् सजिलै कुरा,
कहिले हुने मानिसको मनोकाङ्क्षा पूरा ।
भिडमा थिए अनेक मानिस,
सिद्धार्थले नियाले सबै ती मानिस ।
सबै ः राजकुमार सिद्धार्थ कि !
सबै ः जय (पृष्ठभूमिमा जय जयकारको नारा लागिरहेको छ ।)
सिद्धार्थ ः मित्र छन्दक !
छन्दक ः अचम्म नमान्नूस् राजकुमार ! यी सबै मानिस आफ्ना प्यारा राजकुमारको दर्शनका लागि आएका हुन् । ...यहाँ यस्तै चलन छ, दरबारलाई मन्दिर, राजपरिवारलाई देवता मान्छन् । पूजा गर्छन् जनता ।
सिद्धार्थ ः मित्र केही समयलाई रथ रोक्ने प्रयत्न
गर्नुहुन्छ ?
छन्दक ः हस् राजकुमार ।
सिद्धार्थ ः तिनीहरू सबै यहाँ किन जम्मा भएका हुन् ?
छन्दक ः ती वृद्ध मानव हुन् राजकुमार । अनि अलि पर ती रोगी मानिस हुन् । अनौठो संयोग भनौँ, तिनीहरू शव बोकेर घाटतिर गइरहेका छन् । अरू आफ्ना राजकुमारलाई हेर्न आएका हुन् ।
सिद्धार्थ ः मानव ! वृद्ध ! रोगी ! शव !! ... मानव ! वृद्ध ! रोगी ! शव !! किन आज एकै पटक देख्नु परेको होला ?
छन्दक ः राजकुमार संसारका सबै जीवित प्राणी एकदिन वृद्ध हुन्छन् । रोग जसलाई पनि लाग्न सक्छ । तपाईं पनि वृद्ध हुनुहुन्छ । रोग लाग्न सक्छ । हामी सबै एक दिन मर्नु पर्छ ।
सिद्धार्थ ः मलाई थाहा छ मित्र, तैपनि आज किन किन अनौठो अनुभव गरिरहेको छु । मित्र आजको भ्रमणलाई छोट्याउनूस् । मलाई छिटोभन्दा छिटो दरबारमा पु¥याउनूस् ।
सिद्धार्थ ः (आफैँसँग) ...यति सुन्दर मानव जीवन वृद्ध हुँदा अर्कै देखिएको छ । मानव किन वृद्ध हुन्छ ? त्यस्तो कुन तìव हो, जसले गर्दा मान्छे वृद्ध हुन्छ । ...मानवले किन रोगी हुनुपर्छ ? ...प्राणीलाई पीडादायक रोग किन लाग्छ ? ...के यो जगतलाई रोगमुक्त पार्ने कुनै मार्ग छैन ? ....ओहो !
कति भयानक मृत्यु ? मानिसलाई किन मर्नु पर्दछ ? कहाँबाट प्राप्त होला यसको
उत्तर ? ...यसबाट मुक्तिको कुनै मार्ग
छैन ? यसको उत्तर कहाँ छ ? कसले दिन सक्छ उत्तर ? कसले ? कसले ? कसले ....म आफैँले खोज्नु पर्छ यसको उत्तर !
६. जङ्गल
(ध्यान गरिरहेको सन्त देखिन्छ बाटोमा । उनीहरू रोकिएर हेर्छन् । बुद्धको मुहारमा केही परिवर्तन आउँछ ।)
छन्दक ः त्यो मान्छे सन्त हो । ऊ ध्यानमुद्रामा छ । ऊ जीवनको अर्थ खोज्ने प्रयत्नमा छ । उसले सारा संसार खुसीसाथ त्यागेर जीवनको मार्ग खोजिरहेको छ । उज्यालोतिर प्रस्थान
गर्दै छ ।
७. गृहस्थी त्याग
नृत्य÷मुभमेन्ट तीन ः (मध्यरात । करुण धुन बजिरहेको छ । सिद्धार्थ सोचमग्न हिँडिरहेका छन् । बारम्बार यही कुरा दोहो¥याउँछन् ।)
सिद्धार्थ ः मानव किन वृद्ध हुन्छ ? ...मानवले किन रोगी हुनु पर्छ ? ....ओहो ! कति भयानक मृत्यु ? ....म आफैँले खोज्नु पर्छ यसको उत्तर ! (बालक बोकेकी यशोधरा दुःखी भएर बसेकी छिन् । सिद्धार्थले बालक लिन्छन् । धुनमा परिवर्तन आउँछ, केही समयपछि यशोधरामा आँट आएको महसुस गर्न सकिन्छ । सिद्धार्थले लिएको बालक आफूले लिन्छिन् । खुसीसाथ सिद्धार्थलाई अघि बढ्न बाटो देखाउँछिन् । सिद्धार्थ घरबाट निस्किन्छन् ।)
यशोधरा ः तपाईंले आफ्नो खुसीको मार्ग देखिसक्नुभएको हो भने यी बालक अनि म बाधा बन्न चाहन्नँ ।
गीत (जङ्गल । चराचुरुङ्गीको चिरबिर ।)
मोह त्यागी सिद्धार्थ शान्ति पथमा लागे,
रुँदै रुँदै छन्दक पनि पछि पछि आए ।
सिकारी थियो जङ्गलमा सन्तको भेषमा,
सिद्धार्थको निर्णयले शोक फैलियो देशमा । (सिद्धार्थ स्याउ खाँदै छन् ।)
सिकारी ः म सिकारी हुँ । जङ्गली जनावरहरू मार्छु । मैले यो सन्तको कपडा यस कारण लगाएको हुँ कि जनावरले मलाई सन्त ठानेर भ्रममा परेर मेरो नजिक आउँछन् । म जनावरको सिकार गरेर धन कमाउँछु । यही मेरो
पेसा हो ।
सिद्धार्थ ः ...यी मैले पहिरिएका वस्त्र एकदम महँगा छन् । बहुमूल्य धातु पनि छन् । तिम्रा र मेरा वस्त्र साटौँ । ...तिम्रो वस्त्र देऊ, म सन्त बन्न चाहन्छु ।
सिकारी ः यो मेरो लागि एकदमै खुसीको कुरा हो
सन्त ! ...सन्त भनौँ कि राजा भनौँ ? हेर्दा राजा जस्तै देखिन्छौ । ...छिटो गर, लौ फुकाली हाल । ...देऊ, देऊ, देऊ छिटो देऊ । आहा ! अब मलाई जनावर मारिरहनु पर्दैन । ...म गएँ सन्त । ...एउटा कुरा भनँु सन्त ? तिमीलाई यो पहिरन खुब सुहाएको छ । ...अनि ती घोडा पनि लिएर जाउँ कि !
छन्दक ः हैन, घोडा दरबारमै फर्किने छन् । ...यस्तो काम नगर्नूस् राजकुमार ! यो पहिरन तपाईंलाई सुहाएको छैन । हेर्नुस्, आफैँलाई एक पटक कस्तो फिक्का देखिएको । ...म दुःखी छु । म बाध्य छु ।
सिद्धार्थ ः फर्किनुस् मित्र ! (बुवाले लगाइदिएको माला फिर्ता दिन्छन् ।) ...भिक्षुलाई यो माला चाहिँदैन भनिदिनुहोला ।
छन्दक ः राजकुमार म बाध्य छु ! सुरक्षित रहनुहोला । (रुँदै) ...यस्तो घना जङ्गल, खानपिन के हुन्छ, डरलाग्दा जङ्गली जनावर छन् । तपाईं दुःखको मार्ग रोज्दै हुनुहुन्छ
राजकुमार !
सिद्धार्थ ः सुखको मार्ग यही हो मित्र । म आफ्नो मात्र होइन, सम्पूर्ण प्राणी जगत्को हित चाहन्छु । सम्पूर्ण प्राणी जगत्को मोक्षको मार्ग यही हो । जानूस्, म लागेँ । मलाई खोज्ने कष्ट नगर्नुहोला ।
(चिन्ताको धुन । दरबारमा छन्दक र राजाबिच भेट हुन्छ । छन्दकले सिद्धार्थले लगाएको माला फिर्ता ल्याएर दिन्छन् ।)
शुद्धोदन ः खोज, सिद्धार्थलाई राज्यको चारैतिर खोज । (राजाले सैनिकलाई बोलाएर सिद्धार्थलाई सबैतिर खोज्ने आदेश दिन्छन् । यशोधरा, राजपुरोहितलगायत सबै कर्मचारी चिन्तित देखिन्छन् । मञ्चको बिचभागबाट खोज्नेहरू चारै दिशातिर फैलिन्छन् ।)
बुद्धः (बुद्ध एक्लै हाउभाउका साथ बोलिरहेका छन् ।)
अतीतको परीक्षा नगर ।
भविष्यको भ्रमजालमा नफँस
अतीत व्यतीत भयो ।
भविष्य अझै अनागत छ ।
यहाँ अहिले यस क्षण जीवन
जस्तो छ, त्यसैलाई धारण गर
साधनाभ्यासी स्थिरता
र भुक्तभावमा बाँच्छ ।
भोलिको प्रतीक्षा ग¥यौँ भने विलम्ब हुने छ ।
मृत्युले अचानक थिच्ने छ ।
मृत्युसँग हामीले के सम्झौता गर्न सक्छौँ ?
८. मार–देवको तीन परीक्षाः
(डर उत्पन्न गर्ने (सेना आव्रmमण) मारले भयानक सेना पठाएर आँधी, वाण, आगो, युद्ध–शक्तिले सिद्धार्थलाई डराउन खोज्यो । सिद्धार्थ अचल रहे, वाण फूलमा परिणत भए । मोह÷वासना (मारका छोरीहरू) मारका छोरी– तनहा, रति, अरतिले प्रलोभनद्वारा ध्यान भङ्ग गर्न खोजे । सिद्धार्थ कत्ति पनि डगेनन् ।
मार ः ज्ञान प्राप्त गर्ने योग्यतासहित तिमी कसरी दाबी गर्छौ ?
सिद्धार्थ ः (धरती स्पर्श (भू–स्पर्श मुद्रा) धरती नै मेरो साक्षी हो । (पृथ्वी कम्पन भयो– सिद्धार्थ योग्य ठहरिए ।)
(सुजाता–दुध–पेय (खिर) तपस्याले शरीर अत्यन्त कमजोर थियो । सुजाता नामकी युवतीले सिद्धार्थलाई खिर (पायस) दिएर बल पक्का गर्न मद्दत गरिन् । सिद्धार्थले भोजन ग्रहण गर्नुभयो र ऊर्जा पाउनुभयो । सुजाताद्वारा दिएको भोजनपछि सिद्धार्थले निरञ्जना नदीमा स्नान गरे ।
(नदी, स्नान, बिहानको घाम, मोक्ष प्राप्ति ।)
९. मोक्ष प्राप्ति
सिद्धार्थ ः १) दुःख छ, मानिस दुःखी छन् । २) मानिसको दुःख उसको दुःखी हुनाको कारण हो । दुःख अकारण हुँदैन । ३) दुःखको निदान छ, दुःखको कारणलाई हटाउन सकिन्छ । दुःख हटाउने साधन छन् । त्यो नै आनन्द पाउने साधन हो । ४) दुःख निवारणको अवस्था छ । एउटा यस्तो अवस्था छ, जब दुःख रहन सक्दैन । दुःखबाट मुक्त हुने पूरै सम्भावना छ ।
९.१ बुद्ध र बालकहरू
(केही बालबालिका एउटा भ्यागुतोसँग खेलिरहेका थिए ।) बच्चाले भ्यागुताको खुट्टा चुँड्दै, फ्याँक्दै गरिरहेका थिए ।)
सबै ः भाग्न नदे यसलाई, भाग्न नदे । ओई भाग्न नदे । छेकौँ, छेकौँ यसको बाटो छेकौँ ।
बच्चा ७ ः यो भ्यागुतो समाउन सक्ने को छ ?
बच्चा ६ ः म त सक्दिनँ, मलाई डर लाग्छ ।
बच्चा २, ३ ः मलाई पनि डर लाग्छ ।
बच्चा १ ः म सक्छु ।
बच्चा ६ ः लु हेरौँ त, कत्तिको समाउन सक्छौ ।
बच्चा १ ः यी हेर, मैले यसको खुट्टा चुँडिदिएँ ।
बच्चा २ ः पख, म अर्काे खुट्टा चुँडिदिन्छु ।
बच्चा ३ ः पख, मलाई देऊ, मलाई देऊ ।
बच्चा ४ ः यो भ्यागुतो भाग्न खोज्दै छ ।
बच्चा ५ ः भाग्न नदे है, बेस्सरी समात् । (बुद्ध उभिएर हेरिरहेका छन् ।)
बच्चा ७ ः खुट्टा त त्यसले निकालिसक्यो अब कसरी भाग्छ ?
बुद्ध ः (बुद्ध आएको देखेर बालबालिकाले नमस्कार गरे ।) बालबालिकाहरू ! यदि कसैले तिमीहरूको हातखुट्टा यसै गरी निकालिदियो भने तिमीहरूलाई पीडा हुने छ या छैन ?
बालबालिका ः हुने छ, गुरुदेव !
बुद्ध ः के यो भ्यागुतोलाई पनि तिमीहरूलाई जस्तै पीडा हुन्छ भन्ने कुरा तिमीहरूलाई थाहा छ ? यसले पनि तिमीहरूले झैँ खान्छ, पिउँछ । उसका पनि आमाबुवा, भाइबहिनी र बालबच्चा हुन्छन् । जब तिमीहरूले यसलाई पीडा दिन्छौ, उसको पूरै परिवारलाई पीडा दिइरहेका हुन्छौ । अब सोच तिमीहरूले के गरिरहेका छौ ?
(बालबालिका दुःखी भए ।) प्रत्येक सजीव प्राणीलाई सुरक्षा र आत्मकल्याणको लाभ उठाउने अधिकार छ । हामीले आफ्नो जीवन रक्षा गर्नु पर्छ र अन्य प्राणीलाई सुख दिनु पर्छ । सबै प्राणीको बाँच्ने अधिकार छ । जसरी एउटी आमाले आफ्नो सन्तानको रक्षा गर्छिन्, त्यसै गरेर उदार भएर हरेक प्राणीको रक्षा गर्नु पर्छ । सबै प्राणीमा प्रेम र करुणा भाव राख्नुपर्छ । दिनमा या रातमा, उभिँदा या हिँड्दा, बस्दा या सुत्दा यस भावलाई सधैँ हृदयमा राख्नु पर्छ । तिमीहरूले खुट्टा चुँडिदिएको त्यो भ्यागुतो अब चल्न सक्दैन । त्यसलाई आफू भएर सोच ।
बालबालिका ः क्षमा पाउँ गुरुदेव ! हामीबाट भुल भयो । अबदेखि हामी प्रेम र करुणाको मार्ग अपनाउने छौँ ।
बच्चा ३ ः गुरुले हामीलाई क्षमा त दिनुहोला तर हामीले भ्यागुताको खुट्टा पहिलेकै अवस्थामा पु¥याउन सक्दैनौँ । बालकहरू ! अहिंसा हामी सबैले अवलम्बन गर्नु पर्छ । चोरी नगर्नु कसैले पनि । सदैव निष्ठावान् रहनु । असत्य नबोल्नु । मादक पदार्थ वा उत्तेजक पदार्थ सेवन नगर्नु ।
एक स्वरले सबै ः हुन्छ गुरुदेव !
बुद्ध ः तिमीहरू सबै समझदार बालक हौ । मलाई विश्वास छ, मैले बताएका कुरा तिमीहरू बुझ्ने छौ । त्यस अनुसार बाँच्ने प्रयास गर्नेछौ । मैले आज खोजेको सत्धर्मको मार्ग एकदमै गुढ र सूक्ष्म छ । यसतर्फ आफ्नो चित्त लगाउनेले मात्रै यसलाई बुझ्न सक्छ । ऊ यस मार्गमा चल्न सक्ने छ । सुन्तलाको बोव्रmा छोडाएर खाँदा तिमीहरूले सचेत हुँदै खान सक्छौ । सचेत हुनुको अर्थ हो फल खाइरहँदा आफूले फल खाइरहेको छु भन्ने याद गर्नु पर्छ । त्यस फलको गन्ध र स्वाद पूरै तरिकाबाट आत्मसात् गर्नु पर्छ । बोव्रmा छोडाउँदा पूरै ध्यान त्यसमै जाओस् । सचेत भएर फल खानुको अर्थ यही हो । सचेत भएनौ भने आफूले के कर्म गरिरहेको छु भन्ने थाहा नै हुँदैन ।
(बालबालिका दुःखी भएर रुन्छन् । अरू भिक्षुक थपिन्छन् । बुद्धको देशना सुरु हुन्छ ।)
१०. मूर्ख बन्यो चेला
जीवनमा दुःख छ । जीवन नै दुःख हो । जन्म दुःख हो । जवानी दुःख हो । मित्रता दुःख हो । प्रेम दुःख हो । रोग दुःख हो । सम्बन्ध दुःख हो । असफलता त दुःख हो तर सफलता पनि दुःख हो । यसरी पनि भन्न सकिन्छ जीवन आनन्द हो । आनन्दको उपाय छ । आनन्द प्राप्त गर्न सकिन्छ । आनन्दको एउटा स्थिति छ । यो पूर्णताको स्थिति हो । यो दुःख निवारणको स्थिति हो । दुःखको बारेमा त सबैलाई थाहा छ । आनन्द कसलाई थाहा छ र ! जसलाई साक्षात्कार नै गरेको छैन, जसलाई जानेकै छैन ।
मूर्ख मान्छे ः ए जोगी, तेरो केही काम छैन ? दिनभर गफ लडाएर बस्यो । गाउँलेलाई
भाँड्यो । तेरो जस्तो गफ अरूलाई
आउँदैन ? गाउँलेलाई बाँच्न तैँले सिकाउनु पर्छ ! ...मागेर खाने माग्नेले हामीलाई सिकाउने ! यसरी गाउँलेलाई किन भाँड्छस् ?
एक्लै हिँड् न बरु ! मागेर खानुको सट्टा काम गरेर खानु । लाज लाग्दैन तँलाई ? ...के नबोलेर टार्छस् ? के ङिच्च हास्छस् ? सक्छस् भने जवाफ दे न !
बुद्ध ः तपाईंले भनेको केही कुरा पनि मैले लिएको छैन मित्र । मेरो (लागि त यो कुरो नै हो । तिम्रो लागि गाली होला । यदि तिमी १० वर्षपहिले आएको भए यो मेरो लागि गाली हुन्थ्यो । ...तिमी जान, तिम्रो काम जान । दुःखी हुन चाहन्छौ भने त यो घटना पर्याप्त छ तर यदि यसमा पनि खुसी हुन चाह्यौँ भने, दुःखी नहुन चाह्यौँ भने त कोही अरूले बाधा गर्न सक्दैन । सिधा अर्थ छ कि अरूले न त दुःख दिन सक्दछ, न सुख । हामी आपैmँ आफ्नो मालिक बन्यौँ भने त अरूले दुःख दिनै सक्दैन । (रिसाएर जान्छ । अलि पर पुगेर फर्की आउँछ ।)
मूर्ख ः मलाई माफ गर्नुस्, म लज्जित छु । मलाई आफ्नो शरणमा लिनुस् महाज्ञानी ! बुद्धम् शरणम् गच्छामी ! धम्मम् शरणम् गच्छामी ! सङ्घम् शरणम् गच्छामी !
सबै ः बुद्धम् शरणम् गच्छामी ! धम्मम् शरणम् गच्छामी ! सङ्घम् शरणम् गच्छामी !
(दरबारमा राजा, रानी, देवदत्त, यशोधरा, राहुल छन् । यशोधराले असाध्यै खुसी भएर सुनाउँछिन् ।)
यशोधरा ः मोक्ष प्राप्तिपछि सिद्धार्थ बुद्ध कहलिएर धेरै राज्यको भ्रमणपछि कपिलवस्तु आउनुभएको छ । राज्यका सारा मानिस उहाँको दर्शन गर्न गइरहेका छन् । (सबैजना खुसी देखिन्छन् ।)
११. बुद्ध र भिखारी
भिखारी ः बुद्ध, म किन यति गरिब छु । म किन यति दुःखी छु ।
बुद्ध ः यो तिम्रो सोच हो । तिमी अरूलाई सहयोग गर । तिम्रो गरिबी, दुःख बिस्तारै हट्ने छ ।
भिखारी ः मसँग अरूलाई सहयोग गर्ने केही कुरा छैनन् । म आफैँ त मागेर गुजारा चलाइरहेको छु ।
बुद्ध ः तिमीसँग यी दुई हात छन् । अरूको काममा सहयोग गर्न सक्छौ । तिमीसँग मिठो बोल्ने मुख छ, मिठो बोलेर अरूलाई सहयोग गर्न सक्छौ । यसबाट प्राप्त हुने आनन्दले तिम्रो दुःख बिस्तारै नास हुने छ । (भिखारी त्यहीँ बस्छ ।)
भिखारी ः बुद्धम् शरणम् गच्छामी ! धम्मम् शरणम् गच्छामी ! सङ्घम् शरणम् गच्छामी !
सबै ः बुद्धम् शरणम् गच्छामी ! धम्मम् शरणम् गच्छामी ! सङ्घम् शरणम् गच्छामी !
१२. अङ्गुलीमाल
(अङ्गुलीमालाकी आमा रुँदै आउँछिन् ।)
आमा ः बालख हुँदा ऊ त्यस्तो थिएन । ज्योतिषहरूले अहिंसक भविष्यमा हत्यारा बन्न सक्छ भने । हामीले उसलाई त्यही भयमा हुर्कायौँ । अहिंसक गुरुकुलमा अत्यन्त बुद्धिमान् थियो । ईष्र्याले जले उसका साथीहरू अनि गुरु । उसलाई अहिंसकबाट हत्यारा बनाउने उसका साथीहरू हुन्, उसको गुरु हो । अहिंसक जस्तो पापी मैले आजसम्म देखेकी र सुनेकी थिइनँ । त्यसको पापको भार मैले पनि लिनु पर्छ । ...म आफैँ त्यसको अगाडि जान्छु ...मैलाई मारोस् । त्यस्तो राक्षसको आमा भएर बाँच्नुभन्दा मर्नै आनन्द छ । ...अब त्यसले कसलाई मार्ने हो भन्ने भय त रहँदैन । त्यस्तो पापीको आमा भएर बाँचिरहनु त पर्दैन ।
गाउँले एक ः तपाईं नजानुस् आमा ।
आमा ः ... मलाई बाँच्नु र मर्नु उस्तै भइसक्यो ।
बुद्ध ः म जान्छु, अङ्गुलीमालको अगाडि ।
गाउँले दुई ः उसले तपाईंलाई पनि मार्छ सन्त ।
चेला एक ः तपाईं त्यो राक्षसको अगाडि नजानूस् सन्त । त्यो मूर्ख राक्षस हो । त्यसले तपाईंलाई पनि मार्ने छ ।
नृत्य÷मुभमेन्ट चार ः बीभत्स । (मुभमेन्ट सकिएपछि सँगसँगै अङ्गुलीमाल । अङ्गुलीमालाको मुभमेन्ट ।)
अङ्गुलीमाल ः म मेरै गुरुको आज्ञा पालन गर्दै छु । उत्कृष्ट विद्यार्थी थिएँ गुरुकुलमा । ईष्र्यालु साथीहरूले चुक्ली लगाए गुरुलाई । गुरुले दिए सय जना मानिसको औँला काटेर माला लगाउने आदेश...!! ....हाहाहाहा ....!! मैले ९९ जना मान्छेको औँला काटेर माला लगाएको छु । अब एक जना मान्छेको औँला काटेर माला लगाउन पाएँ भने मेरो इच्छा पूरा हुन्छ । यो जोगी आयो । ...यसैलाई मार्छु । ...जोगीलाई मारेर मेरो इच्छा पूरा हुन्छ । ...यो जोगी त मतिर नै आइरहेको छ । ...यसलाई मर्नदेखि डर लाग्दैन ? ...हाहाहाहा ...ओई जोगी ! तँ मेरोअगाडि नआइज । ...मैले सय जनाको औँला काटेर माला लगाउने प्रतीज्ञा गरेको छु । अब एक जना मात्रै बाँकी छ । ...तँ अघि बढिस् भने ...तँलाई मार्छु । ...तेरै औँला काटेर माला लगाउने छु । ...सुन्दैनस् अगाडि नआइज, त्यहीँ रोकिई । (हतियार उचालेर हिँडिरहेको छ ।)
बुद्ध ः अङ्गुलीमाल... नरोकिएको त तिमी हौ ! म त धेरै पहिला स्थिर भइसकेको छु । तिमी पनि स्थिर हुनु पर्छ । ...मेरो हत्या गर्नुअघि तीन वटा निमको पात टिपेर ल्याऊ ।
अङ्गुलीमालः ला, ला, कति वटा चाहिन्छ । (पात टिप्दै फ्याँक्दै गर्छ ।)
बुद्ध ः अब यी पात त्यही हाँगोमा जोडेर देखाऊ
अङ्गुलीमाल (पात टिपेर जोड्न खोज्छ । पटक पटक, दुःख अनुभव गर्छ ।)
अङ्गुलीमाल ः भिक्षु, तिमीले मलाई स्थिर हुनका लागि भन्यौ । यसको अर्थ के हो ?
बुद्ध ः अङ्गुलीमाल, मैले अरूलाई पीडा दिन धेरै पहिले नै बन्द गरिसकेँ । मैले मनुष्य मात्रै होइन, सम्पूर्ण प्राणी मात्रको रक्षा गर्न सिकेको छु । अङ्गुलीमाल ! सबै प्राणी जीवित रहन चाहन्छन् । सबैलाई मृत्युदेखि डर लाग्छ । हामीले करुणापूर्ण हृदय र प्राणी मात्रको रक्षा गर्ने भावना जगाउनु पर्छ ।
अङ्गुलीमाल ः जब मानवले मानवको साथमा प्रेम गर्दैन भने म अन्य मानिससँग किन प्रेम गरुँ ? अनुष्य निर्दयी र धोकेबाज हुन्छ । म सबैलाई नमारेसम्म चैनसँग बस्ने छैन ।
बुद्ध ः अङ्गुलीमाल ! तिमीले मानिसको हातबाट धेरै पीडा सहनुपरेको छ । कहिलेकाहीँ त मानव एकदमै व्रmूर हुन्छ । यस्तो व्रूmरता अज्ञान, घृणा र द्वेषको कारण हुन्छ तर मानिसहरू बुज्झकी र करुणाले पूर्ण हुन्छन् । तिमीले कहिल्यै कुनै भिक्षुलाई भेटेका छौ ? भिक्षुले अन्य सबै प्राणीको रक्षा गर्ने प्रतीज्ञा लिएका हुन्छन् । उनीहरूले इच्छा, घृणा र अज्ञानमाथि विजय प्राप्त गर्ने वचन दिएका हुन्छन् । भिक्षु मात्रै हैन, अन्य मानिसको जीवन पनि समझदार र प्रेमपूर्ण हुन सक्छ । अङ्गुलीमाल ! यदि संसारमा व्रmूर मानिस हुन्छन् भने अन्य मानिस पनि हुन्छन् । तिमी घृणाको मार्गमा चलिरहेका छौ । यसको सट्टा तिमीले क्षमा, ज्ञान र प्रेमको मार्ग छान्नु पर्छ ।
अङ्गुलीमाल ः के तपाईं गौतम बुद्ध हुनुहुन्छ ? ...कति दुर्भाग्यको कुरा हो ! मेरो तपाईंसँग पहिला कहिल्यै भेट भएन । म विनाशको मार्गमा धेरै अगाडि बढिसकेको छु । अब मेरो लागि त्यस स्थानमा फर्कन सम्भव छैन ।
बुद्ध ः होइन, अङ्गुलीमाल ! राम्रो काम गर्न कुनै समय विलम्ब हुँदैन । घृणा र हिंसाको मार्गमा चल्न बन्द गर । यही नै ठुलो काम हुनेछ । अङ्गुलीमाल ! दुःखको सागर हे¥यौ भने एकदम फराकिलो छ तर त्यसको पछाडि हे¥यौ भने किनारा देखिन्छ ।
अङ्गुलीमाल ः ...यस्तो मिठो वचन आजसम्म कसैले बोलेको थिएन मसँग । सबैले गाली मात्रै गरे ...सबैले हेँला मात्रै गरे ...सबैले घृणा मात्रै गरे । (घाँटीमा लगाएको औँलाको माला निकालेर फ्याँक्छ ।) तपाईंको बारेमा मैले सानैदेखि सुनेको थिएँ । ...आज दर्शनको मौका मिल्यो । मलाई माफ गर्नूस् बुद्ध ! ...म पापी हुँ । मलाई पापको तलाउबाट बाहिर निकाल्नुस् । बुद्धम् शरणम्
गच्छामी ! धम्मम् शरणम् गच्छामी ! सङ्घम् शरणम् गच्छामी !
सबै ः बुद्धम् शरणम् गच्छामी !
धम्मम् शरणम् गच्छामी !
सङ्घम् शरणम् गच्छामी !
(दरबारमा राजा, रानी, देवदत्त, यशोधरा, राहुल छन् । यशोधरा खुसीले आउँछिन् ।)
यशोधरा ः बुद्धले खतरनाक हत्यारा अङ्गुलीमालालाई समेत प्रव्रज्या दिनुभयो । हत्यारा पनि भिक्षु बन्यो । (राजा, रानी, यशोधरा, राहुल,
देवदत्त सबैले भिक्षुको रूप धारण गर्छन् ।) ....आदरणीय दर्शक, आँखा बन्द गर्नुहोस्, मन्दमन्द श्वास लिनुहोस् । यो नाटकको सन्देशलाई हृदयमा राख्नुहोस् ।
सबै ः बुद्धम् शरणम् गच्छामी !
धम्मम् शरणम् गच्छामी !
सङ्घम् शरणम् गच्छामी !
(मञ्चभरि धुवाँ फैलिन्छ । सबै भिक्षु त्यही धुवाँभित्रैबाट ध्यानमा बस्छन् ।)
१. सम्यक दृष्टि (हेराइ) २. सम्यक सङ्कल्प (सोचाइ) ३. सम्यक वाणी (बोली) ४. सम्यक कर्मात (काम) ५. सम्यक आजीव (दैनिकी) ६. सम्यक व्यायाम (प्रयत्न) ७. सम्यक स्मृति र ८. सम्यक समाधि
सबै ः भवतु सब्ब मङ्गलम् !!