भाउपन्थी
घटना–दुर्घटना केही त हुन सक्थ्यो त्यहाँ । मानिसहरू गुरुप्प उभिएका थिए । चुरोटको पातलोपातलो धुवाँ पनि उडिरहेको थियो । गन्ध यहाँसम्म आइरहेको थिएन । चुरोट नखाएर खैनी माड्नेहरू पनि देखिए टाढैबाट, हात चलाइराखेका । नजिक पुगेपछि खार पनि लाग्यो । बिहानबिहानै यसरी जमघट हुनुको कारण के होला ? जिज्ञासा जाग्नु थियो । ऊ त्यहाँ पुग्यो र देख्यो, एउटा मानिस मन्द स्वरमा गीत गाइरहेको थियो । मानिस यस्तो जाडोको बिहानीमा भुइँमा बसेर गीत गाइरहेको थियो भन्नाले ऊ निकै मानसिक अवस्था बिग्रेको एक भावुक व्यक्ति थियो जसलाई जाडोको परवाह थिएन न मानिसहरूको भीडको । गीत त गाइरहेको थियो मन्द स्वरमा तर उसले गीतको बोल बुझेन । व्यक्ति यो चाहन्थ्यो होला, गीत अरूले नबुझुन् ।
‘मानिसले जिन्दगीमा चोट खाएपछि गीत फुर्छ । शोकगीत ।’ खैनी मल्दै गरेको व्यक्तिको टिप्पणी थियो ।
अर्को चुरोट तानिरहेकाले थप्दै भन्यो– ‘मैले यो मानिसलाई कताकता देखेजस्तो लाग्छ । तर यै हो भन्ने पक्का छैन । मानिस जसालाई काटे पनि रातै रगत आउँछ भने पनि अनुहार त मिल्दैन । अप्ठ्यारो त्यही छ । अर्को यसले गाएको गीत बुझिएन है । यो केका लागि दुःखी छ ?’
उसले मनमनै भन्यो– ‘केका लागि दुःखी छ ? के थाहा ? मानिससँग सुखदुःख दुवै छ ।’ उसले आफ्ना दुःख सम्झ्यो । ऊसँग सम्झिन लायक सुख थिएन । उसले आफ्नो उपनाम ‘दुःखी’ राख्न सक्थ्यो । उसले राखेको थिएन । अब राख्ने मौका र समय गइसकेको थियो । मौका यो, जन्मेपछि न्वारनमा त्यो दुःखी नाम राखिएन र अब ऊ अधबैँसे भइसकेको छ र दुःखी नाम उसका लागि उपयुक्त हुँदैनथ्यो । यति उमेर सुखै काट्यो कि भन्ने शङ्का उब्जिन सक्थ्यो । अब यो अधबैँसै उमेरमा आएर के दुःखी उपनाम भिर्नु ? यस्तो मान्यता थियो उसको ।
त्यो व्यक्ति जो भुइँमा बसेको थियो, उसले लामो कपाल पालेको थियो र दारी पनि लामै पालेको देखियो । यस्तो भएको थिएन, लामो दारी भएको होस् र दारी छोटो वा छोटो कपाल पालेर लामो दारी पालेको । एक किसिमले यो भन्न सकिन्नथ्यो, ऊ सन्तुलन नमिलेको व्यक्ति थियो । कपाल र दारी दुवै बाक्लै मयलले कटकटिएका थिएनन् । तैपनि ऊ मनमनै केही गुनगुनाइरहेको थियो । मनमनै हैन, टाठो सुनिने गरी । ओठ चलिरहेका थिए, केही चपाइरहेझैँ । शब्दशब्द चपाएर बोलेको थिएन, गीतमा त्यो सम्भव थिएन । भजन पनि हुन सक्थ्यो । बिहानीपख भजन गाउने चलन छ । केही गाइरहेको होला, प्रार्थनामा भगवान् सम्झँदै ।
‘हैन यसले के गाइरहेछ ? केही बुझ्न सकेको होइन ।’ अनि त्यसो भन्ने ग्याँचे मानिसले दारीवालतिर फर्केर भन्यो, ‘ए के गाएको हो यो ? अलि बुझ्ने गरी गा न ।’ दारीवाल वा कपालवाल जे भने पनि उसले त्यो सुनेर बुझेझैँ ग्याँचेतिर पुलुक्क हे-यो मात्र, केही भनेन । मन्त्र मनमनै जपेझैँ ओँठ चलिरहे उसका ।
ऊ घरबाट निस्केर यहाँ आइपुग्दा सँगै एक दुई काम सम्पन्न गर्ने हिसाबले आएको थियो । पहिलो त एकाध दर्जन केरा किन्नु थियो । देउतालाई चढाउनलाई त होइन तर दैनिक एउटा केरा ऊ खान्थ्यो । एक दर्जन केरा घर लगेर राख्दा दिनदिनै किन्ने झमेलाबाट मुक्त रहिन्थ्यो तर केराको जात दुई चार दिनमै गल्न सुरु भइहाल्थ्यो । त्यसैले ऊ कहिलेकाहीँ एउटा सग्लो केरा र अर्को आधा सडेको काटेर फालेपछि बाँकी आधा गरी डेढवटा खान बाध्य हुन्थ्यो । घरमा केरा मन पराइँदैनथ्यो । दोस्रोमा उसले मासु् किन्नु थियो । काम सम्झेर ऊ हिँड्यो, र्फोर आउज्नेल यो दारीवाल यहीँ भेटिन्छ भन्ने सुनिश्चितता लिएर ।
मासु पसलअगाडि उभिन पुगेपछि उसले साहुनीलाई भन्यो– ‘दुई पाउ ।’ एउटा कुखुरा जुन बिकेर छातीको भाग बाँकी थियो, त्यसलाई औँल्याएर भन्यो । साहुनी परिचित थिई । ‘दुई पाउ पुग्दैन ।’ उसले भनी । ‘नपुगे पनि ठीक छ ।’ आज यत्ति लैजाऊँ । भोलि आउँला । भोलि पनि काट्ने त होला ?’ साहुनीले उसको ठट्ट्यौली पाराको भनाइ बुझिन । मासु बेच्नेले ग्राहकको ठट्टामा लहसिनु हुन्न । फसिन्छ । साहुनी हुनाले फसिने मामिला ठीकै थियो तर त्यसबाहेक ग्राहकले आज उधारो भोलि उधारो गर्दै धेरै उधारो खाइदिन सक्थ्यो । नभए राम्रो मासु मात्रै दिन बाध्य गराउन सक्थ्यो, ठट्टै गरेर ।
यता टोलमा मासु पसल सडकवारिपारि थिए । सडकवारिको पसलबाट ऊ लिँदैनथ्यो । त्यहाँको साहू कडा खालको थियो । ऊसित फ्रिक्वेन्सी नमिल्ने । किलो दुई किलो लैजाने ग्राहकलाई पहिले मासु तौलिएर दिन्थ्यो र ऊजस्तो पाउ दुई पाऊ लिनेलाई हाडखोरमा अलिकति मासु मिसाएर पोको पारिदिन्थ्यो । तर दुवैतिर बोइलरकै मासु बेचिन्थ्यो । बोइलरको मासुका लागि पनि जीहजुरी गर्न उसको चित्तले मानेन र त्यो साहूको पसल छाडेर यताको साहुनीको पसलतिर सरेको थियो । बीचमा सडक थियो र यातायात बाक्लै चल्थ्यो । कहिले हातमा मासुको पोको लिएको लियै एक्सिडेन्टमा परेर ऊ सडकको बीचमा लम्पसार पर्न सक्थ्यो । ठाउँका ठाउँ मृत । तर रिस्क नलिई इज्जत कमाउन सकिन्नथ्यो । इज्जतको सवाल नि । मासु पनि त थियो ।
पसलको दुवैतिर प्रचारका लागि लोकल कुखुरा, सलामी, ससेज र खसीको फोटो छापेको लामो फ्ल्याक्स झुन्ड्याइएको थियो । साहुनीलाई उसले अस्तिन एक पटक लोकल कुखुरा कति पर्छ भनेर सोधेको थियो । दाम सुनेर ऊ त्यताबाट विरक्त भयो । खसी त महँगै थियो । सलामी केलाई भन्छन् उसलाई थाहा थिएन । थाहा नभएकै राम्रो भनेर चित्त बुझाउँथ्यो । खसीको मासु किन नराखेको भन्दा साहुनीले बडो अनिच्छापूर्वक भनी– ‘एक्लैले कतातिर भ्याउने । यसैमा भ्याईनभ्याई छ ।’ एक्ली छु भन्नलाई ऊ अनि च्छुक देखिई । एक्ली भनेपछि केके न भइहाल्छ भन्ने सोचेकी हुँदी हो । शारीरिक हातपात ? उसले त्यतातिर सोच्नु थिएन, ऊ सोझो र सज्जन गृहस्थीवाल थियो ।
पैसा तिरेपछि ऊ पसलबाट निस्क्यो । पसलभित्रै उभिएर यताउताको गफ झिक्नु थिएन । साहुनी अर्को ग्राहकको प्रतीक्षामा थिई । ऊतिर एक पटक बिर्सेर पनि हेरिन । छोटो समय उभिएको थियो तर साहुनीले आँखा घुमाइन । साहुनीलाई आकर्षित गर्नु थिएन, ऊ पसलबाट निस्क्यो ।
अघिको ठाउँमा आइपुग्दा त्यो दारीवाल अभैm त्यही ठाउँमा साबिक पारामा बसेको थियो । केही नभए पनि उसले किनमेलमा आधा वा पौने घण्टा बिताएको थियो । त्यति बेलासम्म यो दारीवाल कतै नगएको देखेर उसले अचम्म मान्यो । यहीँ अखडा जमाउने विचार गरेको छ कि भन्ने लाग्यो । उसरी ऊ जोगी वा संन्यासीको भेषमा थिएन । चिम्टा पनि थिएन । जिउमा एउटा लामो जामा जस्तो कमेज थियो, जसले तल भुइँसम्म छोपेको थियो । लुगा सफा थियो तर पटक पटक धाइरहनाले धुस्सिएको थियो । व्यक्ति गरिब त देखियोदेखियो तर सफासुग्घर प्रवृृत्तिको मानिस हो भन्ने पनि साबित भयो । बिहान बिहान यसरी कता निस्केको भनेर उसलाई सोध्न मन लाग्यो । सोधेर पनि हुने के हो र ? उसले के नयाँ लुगा सिइदिने हो ? व्यक्तिले म भिखारी हुँ भनिरहेको छैन भनेपछाडि ‘हिँड् मसित, एक दुई जोर म पुराना लुगा दिउँला’ भन्न पनि सकेन । तर ऊसित दिन लायकको पुराना लुगा पनि त छैनन् । जति लुगा छन् ती पुरानै छन् र तिनैलाई पालैपालो धोइवरि उसले लगाउने गरेको छ ।
भीड यताउता छरिन सकिरहेको थिएन । जाडोले डल्लो पारिरहेको छ । चुरोट तान्नेले अन्तिम सर्को तानेर छेउमा फाल्दै भन्यो, ‘यो यहाँ टिक्नै भनेर आएको हो कि ?’ तर प्रश्न यो थियो, आएको हो भने कताबाट आएको हो ? त्यो मानिसले फालेको ठुटो चुरोट भुइँमा खस्नेबित्तिकै दारीवालले ट्याप्प टिपेर फोक्सो फुल्ने गरी एकदुई सर्को तानिहाल्यो र तृप्तिसाथ पाको चुरोटेभैmँ फुरुर्र धुवाँ छाड्यो । उसको अनुहारमा धेरै प्रतीक्षापछि सघन तृष्णा तृप्त भएको भाव स्पष्ट देखियो । वरिपरि भीड ठूलो थिएन । चारछ जना हुँदा हुन् । त्यसलाई भीड भनेर ऊ सम्बोधन गरिरहेको थियो । त्यसमा ऊ पनि मिसिएको थियो । तर त्यही भीडमा आश्चर्यको भाव देखियो । ठुटो चुरोट टिपेर सर्कोमाथि सर्को तान्दै गएको देखेर ।
‘हैन, मान्छे त रहेनछ ।’ एउटाले गाली गर्न नसकेको विवशतामा भन्यो ।
धेरै बेर भीडमा यो कहाँको र किन यहाँ छ भन्ने प्रश्नको अन्यमनस्कता रहेन । उता कताबाट एउटी महिला प्रकट भई । पुरानो धोतीमा बेरिएकी । आङमा चोलो पनि थिएन तर पचासतिरकी हुनाले झुत्रै धोतीले उसका स्तन राम्ररी छोपिएका थिए । उसले हेरेको हो र त्यही देख्यो । उसको हातमा एउटा पुरानो खबर कागतले छोपेको ठिक्कको सिलेबरको थाल थियो । त्यसमा केही थियो । थियो भन्नाले रातिको बासी भात थियो । त्यसमाथि बेसारले पहेँलो भएको दाल खन्याइएको थियो । पुरानो पेपर हटाएपछि ती बासी खाद्य देखिए ।
महिलाले थाल दारीवालको अगाडि राखेर भनी, ‘लु खा । आज राम्रै पाइयो । खोर्सानी भए अझ राम्रो हुने थियो ।... खाँदै गर् । म पानी लिएर आउँछु ।’ महिलाले पानी लिएरआउँछु भनी र दारीवालको छेउको थोत्रो झोलाबाट एउटा सिलेबरको कुच्चिएको गिलास झिकी र जताबाट आएकी थिई उतै फुर्तिसाथ दौडिई । अनुमान यो थियो, भात जसले दिएको हो उसैको घरबाट मागेर वा त्यतैकतैको चापाकलबाट पानी ल्याउने अठोट हुनुपर्छ महिलाको ।
जानुअघि उसले भीडलाई हेरेर हात जोड्दै भनी– ‘हजुर उसका दुवै खुट्टा चल्दैनन्, जन्मैदेखि । संसार यस्तै छ । आमा भएपछि बेहोर्नै प¥यो । यसरी यसलाई पाल्दै छु ।’ महिलाले संसार यस्तै छ भनेर भनिसकेपछि रुनु व्यर्थ देखी । रोइसकी पनि होला । रोएर मात्र पेट भरिँदैनथ्यो ।
यता दारीवाल बासी दालभात मुछेर ठूलाठूला गाँस हालिरहेको थियो मुखमा । एक किसिमले कोचेकै भन्नुपर्छ । उसले भीडतिर हेरेन । भोक नै प्रमुख थियो । एउटा भोक सबैमा देखियो । कसैले भन्यो, ‘त्यसरी खान सके पो ।... कति दिनको भोको होला यो । कि सधैँ यस्तै हो यो भोकाइरहने ?’ भीडमध्ये कसैले भनेको थियो ।
ऊ हातको झोला झुन्ड्याएर घरतिर लाग्यो । मन शून्य थियो । यति नभने पनि हुन्थ्यो तर उसले शून्यता अनुभव गरेपछि के भन्ने– सोच्यो ।