हिँड्दाहिँड्दै पैतालाले बाटोसँग सोध्यो
म हिँड्दा त दुख्छ भने टेकिनेलाई कति दुख्यो
गणेश रसिकलाई हामीले चिनेको धेरै भयो । र, यो परिचय अभेद्य उचाइमा छ ।
रसिकले लेखेझैं लेख्न अक्सर लेखकहरूलाई हम्मे पर्छ । किनकि उनले जस्तो जीवन बाँच्न, र बाँचिरहन हामी प्रत्येकलाई असम्भव जस्तै छ । भोजपुरदेखि काठमाडौं, अनि काठमाडौंदेखि इलामसम्मको सिर्जना यात्रामा रसिकको सिर्जनात्मक जीवनका विभिन्न चरण छन् । तिनले रसिकलाई भिन्न भिन्न क्यानभासमा कोरिएको चित्रकलाजसरी परिभाषित गरिदिएका छन् । तर होइन, होइन । यो सत्यको बाँकी पाटो पनि छ । किनभने रसिक आफैंले पनि तत् तत् ठाउँहरूलाई आफ्नो योगदानले पल्लवित पारेका छन् ।
रसिकले जीवनमा जति ठक्कर, चोट र वियोगहरू झेलेका छन्, त्यसको चर्चा गरेर साध्य छैन । छोरा, भाइ, अनि गत वर्षमात्रै पत्नी निरा रसिक शेरचनलाई गुमाउँदाको चोट त्यसको उत्कर्ष हो । रसिकको पीडा शमन गर्ने एउटै उपाय छ, कला । उनको कला रचना, संगीत र स्वर तीनै विधामा छ । अब उनको परिवारका सदस्य भन्नु नै शब्द, सुर र धुन ।
तर यो रसिकको छनोट थिएन । भवितव्य मानिसको रोजाइ यसै पनि हुँदैन । ३० को दशकमा भरपुर चल्तीका कलाकार थिए रसिक । उनको लोकप्रियता साहित्यका विधाहरूमा सीमित छैन । रेडियो नेपालले हाँकेको युगमा सम्भवतः उनी सर्वाधिक खोजिने, सुनिनेमध्येका एक स्वर हुन् । राल्फाकालदेखि लेकालीसम्मको कला स्कुलमा रसिक एक अगुवा हुन् । त्यसैले रसिकले लेख्दा एउटा निबन्ध कविता बन्छ । रसिकले गाउँदा त्यो कविता गीत बन्छ । रसिकका कविता ती हुन्, जसलाई उनले संगीत भर्न भ्याएनन् । उनको हार्मोनियमले नफिटेका, फिट्न नभ्याएका शब्दहरू कस्ता होलान्, गम्भीर स्रोताले सहजै अनुमान गर्न सक्छ ।
ओ यांग्जी नाना
तिम्रो रिन्जी हिमाल चढ्दा
मर्यो भने नसम्झ
ऊ त तिम्रो चौरी गोठमा
कुहिरोसँग उड्दै उड्दै आइरहेछ
ऊ त तिम्रो सल्लेरीगाउँमा
घामसँग उड्दै उड्दै आइरहेछ
त्यसैले उनलाई राम्रोगरी सुन्ने हरकोहीले निर्धक्क भन्न सक्छ, रसिक एउटा स्वाद र शैली हुन् । उनी आफैंमा एउटा विधा हुन् । तब त एउटै व्यक्तिले घरबेटी नानीजस्तो ठेट लोककवितादेखि कति दिन बाँच्नु यो हुस्सुले छोपेको शहरमा जस्ता दुई भिन्न किसिमका रचना सिर्जना गर्न सक्छ । मेरो अतीतलाई कहाँ भेटुँ जस्तो सर्वकालीन शक्तिशाली कवितादेखि आज भेडाबाख्रा कता लाने भनी भेडीगोठालासँग सोध्न एउटै कविलाई सामान्यतयाः कठिन नै हुन्छ । रसिकले बाँचेको, भोगेको अनि अनुभूत गरेको यथार्थ यस्तै खालको छ ।
कति दिन बाँच्नु यो हुस्सु... गीतलाई संगीतबाट छुटाएर शब्दमा पढिहेर्नुहोस् त, त्यो कति बलियो कविता बन्छ । धेरै लामो आयु भएको एउटा कविता । मूर्तिकार र मूर्तिको संवादमा उनी कला र कलाकारबीचको फासला अन्त्य गर्छन् । उनी पलान्चोक भगवती, शोभाभगवती, नक्साल भगवतीका मन्दिरहरूमा कुँदिएका विशाल कलाहरूको जुन भव्यताका साथ परख गर्छन्, तर तिनको निर्माण क्रममा कलाकारले उत्सर्ग गर्न बाध्य हुनुपरेको कारुणिक बयान एउटै गीतमा गरिभ्याउँछन् । सामान्यतयाः कुनै एउटा गीतमा यस्तो हुन सम्भव नै छैन ।
काठमाडौंको घन्चमन्च, या इलामका एकाकी दिनहरू, हामीले रसिकलाई उनका काव्यहरूमै सुनिरह्यौं, पढिरह्यौं । सरकार संरक्षित साँस्कृतिक साहित्यिक प्रतिष्ठानहरूको नेतृत्व गर्दाका वर्षहरूमा रसिकको कलम कसरी, कस्तो गतिमा चलेको थियो, यो लेखकलाई ठ्याक्कै थाहा छैन । तर उनीभित्रको कवि कहिले पछ्यौरीभित्रको सुनाखरी चिनो लेख्ने, लाहुरेको कहानी सुनाउने, घरकाहरूको वेदना बोल्ने, मायामा हारेको तिर्खालु तन्नेरीको आकुलता प्रकट गर्ने प्रवृत्तिको मानिस हो ।
पिखुवा खोलाको किनारमा ढाकरमा जिन्दगी बोक्ने भरिया रसिकको गीतको पात्र हो । उनको कविताले देशको धेरैपल्ट कुरा गरेको छ, तर नागरिकको असुरक्षा, चित्कार र अभावलाई हटाएर रसिकले कोरा भूगोलको मात्रै कुरा गरेका छैनन् । स्वाधीनताका पीडा, ताराभन्दा सपना धेरै जस्ता संग्रह पढ्दा होस् या उनका एल्बमहरू सुन्दा, अनि रसिकलाई कन्सर्टहरूमा सुन्दा हामी यस्तो निष्कर्षमा पुग्छौं ।
हट्ने होइन डटी लड्ने जस्ता केही लोकप्रिय गीतहरू सुनेको आधारमा रसिक यस्ता कवि होलान् भनी धारणा बनाउनु एकांगी हुन्छ । मेरो लागि रसिक जहिले पनि शब्दहरूमा गहिरा अर्थहरू खोज्ने, तर त्यसलाई जनसाधारणले बुझ्ने गरी लोकबोलीमा कथ्ने मानिस हुन् । सरलताभित्रको गाम्भीर्य, यही नै रसिकको चिनारी हो । त्यसभन्दा बढ्ता उनलाई चिन्न खोज्दा बढ्ता भूल भइजाला ।
क्लिशे लेख्नु रसिकलाई फिटिक्कै मन पर्दैन । तर उनको अनुभूतिको अभिव्यक्ति कस्तो वास्तविक । तब त एउटा गीतमा उनी लेख्छन् ः
तिमीले साँच्चै बिर्सेर हो कि
सपनीमा देख्दिनँ
देख्दिनँ मायालु, सपनीमा देख्दिनँ ।
कति सजिलो गरी, तर कस्तो दुख्नेगरी भन्दिएका रसिकले । अर्को इन्टरल्युडमा भन्छन्,
तिमीले साँच्चै भुलेर हो कि
बाडुली लाग्दैन
लाग्दैन मायालु, बाडुली लाग्दैन
बाडुली लाग्नु शरीर विज्ञानभित्रको अर्कै प्रक्रिया हो, जससँग पर्याप्त पानी पिउनु, निद्रा आहारजस्ता कुरा जोडिन्छन् । तर रसिकको कवि तर्कशास्त्रलाई जितेर मानिसको संवेदनाभित्र पस्छ । मायालुसँगको भेट पातलिँदै गएपछि त्यसले स्वभाविक चिन्ता मनमा ल्याउँछ । खाना रुच्दैन, पानी पिउँदैन, राम्रोसँग सुत्दैन । बाडुली त त्यसै लाग्छ । सपनी बिग्रँदा सोचेको र भोगेको अर्कै भइजान्छ । रसिकले खेल्ने भनेको कल्पना र यथार्थको दसगजामै हो । उनको निबन्धहरू पढ्दा, संस्मरण पढ्दा त्यो काव्यात्मकता र गेयात्मकताको प्रष्ट झल्को आउँछ ।
मायाले मलाई विषै देऊ
म नीलकन्ठ भई पिइदिन्छु
जलनहरू बोकी छातीभित्र
म तिम्रै निम्ति जिइदिन्छु ।
माया गरेर तिमीलाई पिँजडामा राख्न सक्दिनँ
पखेटा लागेको यो मनलाई उड्नबाट रोक्न सक्दिनँ
बरु मलाई आँधी देऊ हिमपहिरो सबै सहिदिन्छु
माथिको काव्यलाई दुई भागमा हेरौं । स्थायीले लोकबोली जनाउँछ, अन्तराले गहिरो साहित्यिक भाव । रसिकका जुनसुकै रचनाहरूमा पाइने साझा गुण नै यही हो । सयौं गीतकारहरूको बीचमा उनलाई यही चेतनाले अरुभन्दा भिन्न देखाएको छ । त्यो भाव विस्तारित भएर उनका निबन्ध र आख्यानसम्मै छरिएको छ । सांग्रिला बुक्सले हालैका वर्षमा छपाएको पेरुंगो नामक रसिकको समस्त संकलनमा त्यसलाई पढ्न पाइन्छ ।
यी बाहेक पनि रसिकले लेखेका कविता र गीतहरूको संख्या गन्दा सयौं संख्या नाघ्छ । अझ त्यसले नपुगेर हिजोआज उनी नयाँ पुस्ताका सुन्दर कुरुप, सरस्वती राई, स्वप्निल स्मृतिलगायतका कवितालाई धुनमा रच्न लागिपरेको पनि बुझिन्छ । मलाई कहिलेकाहिँ लाग्छ, साहित्य, खासगरी कविता हुन्थेन भने रसिकलाई यो जीवन बाँच्न कति कठिन पथ्र्यो होला । उनको त नामैमात्र रसिक । उनले बाँचेको जिन्दगीको आयाममा साहित्यको अनुपस्थितिले ल्याउने रिक्तताबोध कल्पनामात्रै गर्न सकिन्छ । उनले अभागी कर्म शीर्षक कवितामा लेखेका छन्, ः मर्न मन लाग्छ मलाई काल आउँदैन । सपनीको लौरो टेकी हिँड्न सकिएन । चिताएको कर्म धेरै गर्न सकिएन ।
तर त्यस्तो नहोस्, हामी उनलाई जीवनको चरम उत्तरार्धसम्मै एकदम हँसमुख र आशावादी देख्न पाइराखौं । उनले यांग्जी नानालाई जीवनको यथार्थसँग साक्षात्कार गराउँदै आउने पुस्तालाई बाटो देखाउन आग्रह गरेजस्तै ।
अनि इलामे चियाको बोट भएर समग्र नेपाली जाति र संस्कृतिको लागै अझै अजर अमर कृतिहरू दिन सकुन् भनेर अनुरोध र शुभकामना पनि । उनी आफैं लेख्छन् ः
मेरो वर्कतले भ्याएसम्म
यो देशको सेवा गरिरहन्छु म
मेरो सामथ्र्यले केही नलागे
बरु देशकै गीत गाइरहन्छु म
तर अस्तित्व मेटेर
पराइसामु कहिले घुँडा टेक्दिनँ म ।