• १० असार २०८२, मङ्गलबार

समयको पदचाप (कथा)

blog

बिहानीको चिसो हावाले जिस्किँदै काउकुती लगाएपछि उषाको आँखा खुल्यो । रातलाई धपाई धर्तीलाई बिहानीले भर्खरै स्पर्श गरेको थियो । झिसमिसे उज्यालोमा पृथ्वी भर्खरै आङ तान्दै बिउँँझेकी हुनु पर्छ । आकाशमा एक दुई तारा अझै बादलभित्र लुकामारी खेल्दै थिए । चराको चिरिबिरी गानाले वातावरणमा मधुर सङ्गीतको ध्वनि गुन्जिरहेको प्रतित हुन्थ्यो । 

बिछ्यौनामा लुटपुटिएर झ्यालबाहिरको अम्बाको बोटमा एकजोडी भँगेरा चिरिबिरी गर्दै थिए । बिहानीको मिर्मिरे उज्यालोको सौन्दर्य र अनुभूतिले उषा अभिभूत भइरहिन् । केहीबेर आनन्द मानी आँखा चिम्लिरहिन् । 

“नानी, चिया खान्छौ ?” आमाको कोठामा प्रवेश र सोधनीले उषाले आँखा खोलिन् । तब उनीले कोठाको चारैतिर हेरी मनमनै दङ्ग भइन् ।

“ओहो, म त नेपालमा छु, आफ्नै कोठमा उनको मनोकाशमा सुखको लहर उर्लियो ।

“खान्छु, आमा !”

दस वर्षपछि आमाको हातबाट चिया पिउन पाउनु कम सुखद् क्षण हो र उषाका लागि... ।

रातभरि हवाईजहाजको सफर अनि अठार घण्टाको सफरले उषालाई थकावट अनुभव भइरहेको थियो तर रातभरिको मिठो निन्द्राले उनीलाई आराम मिलेको थियो । चिया खाएर उनी बिछ्यौनामा पसारिरहिन् । उनलाई उठ्नै मन लागेन । 

अमेरिकामा भए उनी यतिखेर काममा हिँडिसकेकी हुन्थिन् । बिस्तारै उनी घरभित्र, घरबाहिर, कौशी र बगैँचा सबै चहारिन् । आफ्नो देश र आफ्नो घर भनेको अरू कुनै देश र त्यहाँको भव्य अपार्टमेन्टसित दाँज्न सकिन्न । नेपाल त भूगोलको स्वर्ग नै हो । उनको मनमा आफ्नो देशप्रति गर्व उम्लेर आयो । 

बस्न त नेपालमा बस्न सुखद हुन्थ्यो तर यहाँको भद्रगोल राजनीतिले यो देशलाई कुरूप बनाइदिएको छ । यसरी सोच्नासाथ उषालाई यहाँको राजनीति सम्झँदा पनि वाक्क ! लाग्ने । आमासित सँगै खाना, खाजा खाई पुराना रमाइला कुरा गरी दिन बितेको चालै पाइनन् । 

रातको खाना छिट्टै खाएर उनी आमासित केहीबेर बात गरी सुत्न ओछ्यानमा ढल्किन् । हिजो राति त थकाइले छिट्टै निदाएकी थिइन् । आज भने उनी निदाउन सकिनन् । विगतका हजार हजार बातहरू र सम्झनाहरू उनको मनमा परेड खेल्न आइपुगे । अतीत आएर उनको अगाडि मुख बाएर उनीलाई गिज्याउन आइपुग्यो । 

दस वर्ष अगाडि उनी विचरण गर्न पुगिन् । झ्याइँ झ्याइँ बाज्छै बाजा बजिरहेको थियो । टोलै घन्काएर बजिरहेको बाजा सुनेपछि उषाको मनमा दुःखको लहर उर्लिन थाल्यो । आँखाबाट धरधरी आँशु चुहिन थाल्यो । उनलाई सही नसक्नुभयो । कोठामा बसिरहेका उनका साथीहरू जन्ती हेर्न गएका मौका छोपी विवाहका लुगा, गहना बिछ्यौनामा फुकालेर राखी सबैको आँखा छली पछिल्लो ढोकाबाट उनी भागेर टोलकै मिल्ने साथीको घरमा लुक्न पुगेकी थिइन् । 

उनले भाग्न निक्कै प्रयास गरे पनि सम्भव भएको थिएन । आफ्नो इज्जत बचाउन उनका बाबुआमाले उनकी बहिनी मिखालाई अन्माएर पठाए । बाबु आमाको इज्जतलाई लिलाम गरेर यसरी भाग्नुमा उनकै आमाबाबुको दोष थियो । 

कारण, उनले लाख बिन्ती गरेकी थिइन्– विवाह गर्दिनँ भनेर । आमाले तैँले विवाह गर्न मानिनस् भने झुन्डिएर मर्छु भनी धम्की दिएपछि उनी चुप 

लागेकी थिइन् । 

उनले आमालाई चेतावनी पनि दिएकी थिइन्, “आमा, तपाईंले मलाई मेरो इच्छाविरुद्ध विवाह गर्न लाग्नुभयो, मैले त्यस्तै कदम चालेँ भने तपाईंको चेत खुल्ने छ ।”

उषाको कुनै प्रेमी थिएन, विवाह नगर्नुको कारण उनी पढ्न चाहन्थिन्, पढेर सक्षम भई आफ्नो खुट्टामा उभिएर आफ्नो व्यक्तित्व विकास गर्न चाहन्थिन् । त्यसैले उनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न यस्तो दुस्साहस गरेकी थिइन् । समाजको आँखामा उनी दोषी देखिए पनि उनले आफूलाई दोषी ठानिनन् । उनले आफ्नै आमा र बालाई दोषी ठानेकी छिन् । 

उनले पहिले नै आफ्नो मिल्ने साथीको सहयोगले अमेरिकाको भिसा लिएकी थिइन् । पढ्नमा अब्बल भएकीले उनले स्कलरसिपमा साथीको घरमा लुकेर अमेरिका उडेकी थिइन् ।

उनलाई आज जस्तै लाग्छ, अमेरिका उड्दा कति रोएकी थिइन् । आमाबाबुलाई छलेर यसरी एक्लै विदेशतर्फ लाग्दा उनको मनमा कति वियोगका छालहरू उर्लेका थिए । अमेरिकाको धर्तीमा नटेकेसम्म उनको मनमा पीडाको लहर उर्लेर उनीलाई पीडाको सागरमा चुलुम्म डुबाइदिएको थियो । 

त्यस बेलाको कुरा सम्झेर उनी एकछिन् दुःखित भइरहिन् । समयले मान्छेलाई के के गर्न बाध्य बनाउँदोरहेछ भनी उनले मनलाई थपथपाइरहिन् । 

समय कति बलवान्...! जे गरिन्छ सबै समयले नै गराउँदोरहेछ । 

अमेरिका पुगेपछि उनको जीवनले अर्कै मोड लियो । दस वर्ष अध्ययन गरी उनी उतैतिर जागिर खाएर दस वर्षपछि पिताको बर्खीमा आमाको बिन्तीभावले स्वदेश फर्केकी थिइन् । उनले दस वर्षको अन्तरालमा आफ्नो देश, घर र आफन्तहरूलाई धेरै सम्झेकी थिइन् तर पढाइको र आमाबाबुका कारण आउन सकेकी थिइनन् । उनको बाबुले त मेरो छोरी मरिसकिन् । त्यस कुलाच्छिनीलाई घरभित्र हुल्दिनँ, त्यसको मुखै हेर्दिनँ भनेका थिए । उनको पिता मरेको सुन्दा उनी कम्ती रोएकी थिइनन्... । 

अझै उनको काममा झ्याइँ झ्याइँ बाच्छै बाजाको आवाज आइरहे झैँ अनुभूति भइरहेको छ । 

अतीतका त्यो तितो क्षणलाई मनबाट धपाएर उनी वर्तमानमा ओर्लिन् । मन भारी थियो । परेली भिजोको थियो । मुटु चर्किएको थियो । 

केही दिनसम्म उनी सामान्य हुन् सकिनन् । अतीतले उनीलाई चिथरिरह्यो । उषा घर फर्केपछि टोलमा अनेकौँ नकारात्मक टिप्पणीहरू कानेखुसी हुन थाले । सबैको आँखामा उनी अपराधी थिए । नगिचका छिमेकीहरू उनीलाई भेट्न आए । उनका बारे खोजीनीति गर्न दिनहुँ झैँ कोही न कोही भेट्न आउथेँ ।

सबैको यही प्रश्न र जिज्ञासा थियो, “नानीले उतै बिहे गर्नु भयो कि ?” 

“गरेकी छैन ।” उनको उत्तर हुन्थ्यो । 

“उहिले विवाह किन नगरेको ? नानीको प्रेमी 

थियो कि ?”

“प्रेमीसित म भागेकी हुँ र ...? आफ्नो जीवनलाई उन्नत गर्न म भागेकी हुँ ।”

“अब विवाह नगर्ने ?”

“बिहे गर्ने भए मैले खुरुक्क विवाह गर्थें, भागेर किन जान्थेँ ?” “विवाहप्रति यस्तो नकरात्मक सोच 

किन ?” टोलको थकाली भनाउँदीले सोधिन् । 

“विवाह गर्नु नगर्नु मेरो इच्छा..., तपाईंलाई मेरो विवाहप्रति किन त्यति विघ्न चासो ?” उनले दिक्क हुँदै झर्केर भनिन् । “बुढेसकालमा त कुनै साथी चाहिन्छ नि ।” 

अहिले नचाहिएको बुढेसकालमा किन ? उनले ओठे जवाफ दिएपछि तीन चुप लागिन् । उनी सधैँ यसो 

भन्ने गर्थिन् । 

“हैन, महिलाले विवाह गरेर अरूको घरमा बुहार्तन सहन किन जाने ? लोग्ने भनाउँदोको गुलामी सहन किन विवाह 

गर्ने ?” उनको यस भनाइ सुनेर सब जिल्ल पर्थें । 

सानैदेखि उनी विद्रोही स्वभावको थिइन् ।

“म त घरको अंश लिएर आजीवन विवाह नगरी स्वतन्त्र भएर आफ्नो व्यक्तित्व विकास गरेर जीवन बिताउने ।” उनको यही सोचले उनले आमाबाबुले समयमा विवाह नगरिदिए यिनले विवाह गर्ने छैन भनी विवाह गर्न अघि सरेका हुने । जो आउँछन् उनीलाई छेडछाड गरी जान थालेकाले अब उनले कसैलाई भेट्ने मौका नै दिइनन् । 

अर्काको निजी मामिलामा कति चासो राख्छन् ! यहाँका मान्छेका मानसिकताप्रति उषालाई हुनसम्म रिस उठ्यो । समयले काँचुली फेरे पनि मानसिकता जहाँ थियो आज पनि उहीँ छ । विदेशमा कसैले कसैको निजी मामिलामा हस्तक्षेप गर्दैैनन् । एसियनहरूको मानसिकता अर्काको चियोचर्चा गर्नु अरूको निन्दा गर्नु र सके अपमान गर्नु...  कस्तो घटियापन... ! उनी यहाँ आएपछि दिक्क भइन् । 

उनलाई पोखरा घुम्न साह्रै मन भएकाले अमेरिकादेखि नै योजना बनाएर आएकी थिइन् । उतैबाट होटेल बुक गरेर आएकी हुनाले दस दिन भरमा बसी पोखरा घुम्न गइन् । लेकसाइडको होटेलमा बसी फेवातालमा एक्लै नौका बिहार गरिन् ।

बिहान उठ्दा सुनौला रङ शरीरभरि पोतेर मुस्काराइरहेको हिमशृङ्खला देखी उनी हुनसम्म आनन्दित हुन्छिन् । जता हेरे पनि हिमाल मुस्कुराएर अभिवादन गरे झैँ देखिन्थे ।

“वाह ! पोखरा त सौन्दर्यको खानी नै हो । फेवातालमा हिमालले चुम्बन गरे झैँ देखिने छायाले उनी रोमाञ्चित हुन्छिन् । प्रकृतिको सौन्दर्यता र आनन्दमय वातावरणले उनीलाई पोखराले मोहनी लाए झैँ छोड्नै मन लाग्दैन । उनी घले गाउँतिर ट्रेकिङ गर्न गइन् । एक हप्ताको ट्रिप सकी उनी काठमाडौँको पोलुसनले भरिएको कङ्व्रिmटले ठडिएका घरहरूको सहरमा फर्किन् । उनको पोखरा भ्रमण चिर स्मरणीय लाग्यो उषालाई । 

उनी फर्केको भोलि पल्टै एक जना टाढाको आफन्त घरमा टुप्लिए ।

आउने कुनै खबर नगरी उनीहरू टुप्लुक्क देखा परेका थिए ।

आमाले शिष्टाचारपूर्वक सोधिन्, “हजुरहरूले खाना खानुभयो ?”“यतै खाने भनी बिहानै हिँडेको... ।”उनीहरूको कुरा सुनी छक्क परेर उषाले भनिन्, “हैन, खाना खाने गरी आउने भए खबर गर्नु पथ्र्यो नि ।” “आफन्तका आउँदा पनि खबर गर्नु पर्छ र ?” घरमुलीले भने । 

“भान्सा उठिसक्यो, खबर गर्नुभएको भए खाना पकाएर राख्थ्यौँ नि ।”

“एक गाँस खाना पकाउन के गाह्रो छ र नानी... । बरु सम्भव भए यसो मासुको बन्दोबस्त गरे हुन्छ । अहिले यसो चियासिया खान्छौँ नि ।”

कुरा सुनेर उषाको कन्सरी तातेर आयो । 

आमाले भनिन्, “हुन्छ नि त्यति टाढादेखि आउनुभएको म भान्सा ठिक पार्छु ।”

आमा भान्सातिर लागेपछि उषा पनि आमाको 

पछि लागिन् ।

“के ताल हो आमाको, बेला न कुबेला बजिनयला भने झैँ यस्तो कुटाइममा  खबरै नगरी आउनेलाई खाना बनाएर खुवाउने ? एउटा हद हुन्छ नि यसरी सपरिवार खाना खान अर्काको घरमा आउन ।

“भो चुप लाग् सुन्ला... मेरो सामुको मावलीका सन्तान हुन् ।”

उषाले पुर्पुरो समाएर व्यङ्ग्य गर्दै भनिन्, “कति नगिचको नाता हगि ?” 

भात खाएर दिउँसोभरि बसेर बल्ल उनीहरू फर्के । 

अमेरिकामा त कसैलाई भेट्न एक हप्ता अगाडिदेखि समय मिलाउनु पर्छ । यहाँ त जतिबेला मन लाग्यो उतिबेला अरूको घरमा निस्फिव्रmी जाने कस्तो हास्यास्पद चलन । उषाले नेपालको यस चलनलाई समय अनुसार अब बदल्नु पर्छ भन्ने मममनै सोचिन् । 

मोबाइलको जमाना एक कल दिन किन गाह्रो यहाँको चलन रीतिरिवाज त अपम्पार छ उनी मनमनै हाँसिन् । समय परिवर्तन भइसक्यो, चालचलन र व्यवहार जहाँको त्यहीँ छ ।

अब अमेरिका फर्किन उषाको एक हप्ता मात्र बाँकी रह्यो । 

खासै उनले कुनै नातेदारलाई भेट्न गइनन् । भेट्न जानु भनेको टीकाटिप्पणी सुन्नु न हो । सबैले भलाकुसारी गर्नु त कहाँ हो कहाँ अनेकौँ निजी प्रश्नहरू सोधी हैरान पार्छन् । कस्तो उदेकलाग्दो चलन र व्यवहार... । 

सानीमा सञ्चो नभएकोले जानुअघि सानीमालाई भेट्न गइन् ।

एउटा सपिङ ब्याग र अलिकति फलफूल लिई उनी सानीमालाई भेट्न गइन् ।

सानीमाले खुसी भई स्वागत गरिन् । 

सानीमाको हातमा फलफूलको पोका र सपिङ ब्याग हातमा राख्दै भनिन्, “सानीमा खासै केही ल्याएकी छैन, यो सानो कोसेली... ।”

सानीमाले ब्यागलाई ओल्टाई पल्टाई हेरेर अमेरिकादेखि यस्तो जाबो ब्याग ल्याएकी ? एउटा गतिलो पार्टी जाने ब्याग ल्याइदिए हुन्थ्यो नि... ।”

उषाको मन सानीमाको कुरा सुनी दुःखित भयो । उतिखेरी सानीमाले काम गर्ने केटीलाई बोलाई 

“ला यो ब्याग तँलाई ।” भनी अगाडि नै दिइन् । 

अब चाहिँ उषालाई सही नसक्नुभयो, “सानीमा अरूको मान गरी श्रद्धाले ल्याइदिएको सामानलाई यसरी अपमान गर्नु हुँदैन ।”

“के के अपमान नि...?” मलाई त यो ब्याग देखेर रनक्क रिस उठ्यो । उल्टै सानीमाले भनेको सुनेर उषा अवाक् भइन् । उषालाई एकछिन् पनि त्यहाँ बस्न मन लागेन ।

“ल म गएँ है सानीमा” भनी फरक्क घरतिर फर्किन् । 

“कस्तो अशिष्टता ? उनी सानीमादेखि एकदम व्रmोधित भइन् । उनीलाई साह्रै अपमान बोध भयो । 

अब जाने एक हप्ता मात्र बाँकी रह्यो । 

मामाले उनीलाई बिदाइ भोज खान बोलाए ।

आमासँग उनी मामा माइजूलाई भेट्ने सुखद् कल्पना लिई रातिको खाना खान गइन् ।

खाना खाइसकेपछि माइजूले प्वाक्क भनिन्, “भान्जी नानी कस्तो पहिरन हो यो ? अनि चहकिलो लुगा लाउनु नि... ।”

“माइजू मलाई चहकिलो भड्किलो लुगा लाउन मन लाग्दैन, फिक्का कलर नै मन पर्छ ।” उषाले भनिन् ।

“लुगा लाउनु भनेको अरूको खुसीका लागि हो, खाना खानु चाहिँ आफ्नो रुचिको हो ।” माइजूले व्यङ्ग्यात्मक स्वरमा भनिन् । 

“ओहो ! लुगा पनि अरूलाई रिझाउन लाउनु पर्ने ? कस्तो घटिया सोच माइजूको ? हाम्रो समाजमा अरूको प्रशंसा गर्नै जान्दैनन् । सबैले उनलाई घोचपेचबाहेक केही गरेनन् ।” 

“कस्तो नकरात्मक सोच र व्यवहार ? आफन्त भनाउँदा त यस्ता छन् भने अरू पराइ कस्ता होलान् ?”

उषाको मन तिक्तताले भरिएर आयो । उनी किंकर्तव्यविमुढ भई चुप लागिन् । आखिर भनेर पनि के साध्य र ?

नेपालका लागि हवाई जहाजभित्र पस्दा उनले कस्ता स्वर्णिम कल्पनाहरू बोकेर स्वदेश प्रस्थान गरेकी थिइन् । 

तर दुई महिनाको बसाइमा तिक्तता र मनभरि नकारात्मक काँढा बोकी परदेश फर्किन् । 

जहाजमा बसेपछि झ्यालबाट स्वदेशतिर फर्की अब नेपाल आउँदा मान्छेहरूको मनमा सद्भाव, सद्व्यवहार र शिष्टाचार अनि मैत्रीभावले स्थान ओगोटोस् र त्यसै अनुभव बोकेर फर्किन पाऊँँ भनी मनमनै प्रार्थना गरिन् । समयको पदचाप अनुसार समाजमा परिवर्तन आओस् भनी मनमनै सोचिरहिन् । 

हवाईजहाजले उडान भरेपछि आमासितको वियोगको पीडाले उनको परेली भिजेर आयो । “आमा फर्केर आउँदा तपाईंको काखमा फेरि लुटपुटिन पाऊँ ।” उषाको परेली भिज्यो । 

अरू जे जति अनुभव भए ती तपसिलका कुरा हुन् । ती त मेटेर जान्छन् मनबाट समयको अन्तरालमा  तर आमासित बिताएका सुखदक्षण मनबाट कहिल्यै मेटिँदैन । यही नै नेपाल बसाइको सुखद् उपलब्धि हो भनी सोच आएपछि उनको मनमा असिम सुख र शान्तिले प्रवेश ग-यो । 

“आमा, म फेरि आउँला ।” उनले आमालाई सम्झेर तुरुक्क आँशु चुहाइन् ।