पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख २९ गते । “भ्रष्टाचार नियन्त्रण एकल प्रयासले मात्र सम्भव नभई घर, परिवार, विद्यालय र नागरिक समाजको सामूहिक सहकार्यबाट मात्र सुशासन सम्भव हुन्छ” भन्ने निष्कर्षसहित पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा सोमबार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलद्वारा सुस्ता गाउँपालिकामा आयोजित “भ्रष्टाचार विरुद्धको सहकार्य : सुशासनका लागि अपरिहार्य” भन्ने मूल नारासहितको कार्यक्रममा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले कानुनले दिएको अधिकारको सीमाभित्र रहेर कार्य गरेमा मात्र भ्रष्टाचार न्युनीकरण गर्न सकिने सन्देश दिइएको छ ।
कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले कानुनले दिएको अधिकारभन्दा बढी काम गर्नु गैरकानुनी हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक पदमा रहेकाहरूले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारप्रति पनि उत्तिकै सचेत हुनुपर्छ ।”
अख्तियार बुटवलकी प्रमुख बिनिता भट्टराईले भ्रष्टाचार हुने क्षेत्रको पहिचान गरी रोकथामका प्रयास घर र विद्यालयबाटै सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिक समाज र तीनै तहका सरकारसँग समन्वय गरेर मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने स्पष्ट पार्दै भन्नुभयो, “भ्रष्टाचार र भ्रष्टाचारीको पहिचान गरी कानुनसम्मत ढङ्गले अनुसन्धान गरेर निष्कर्षमा पुर्याइने छ ।”
सो अवसरमा सुस्ता गाउँपालिकामा भ्रष्टाचारसम्बन्धी उजुरीको अवस्थाबारे पनि जानकारी दिइएको थियो । पालिकामा दर्ता भएका १६ उजुरीमध्ये १३ वटा फर्छ्यौट भइसकेका छन् भने ३ वटा उजुरी अनुसन्धान प्रक्रियामा रहेका छन् ।
उक्त कार्यक्रममा सुस्ता गाउँपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।