प्राडा. हरि शर्मा
शब्द ओकल्न कविलाई
आज सखारै समयले ओकली दिएछ ।
एक्लो कवि, आफ्नै श-यामा छटपटिँदै अहोरात्र
बिहानीपख एक्कासि कविता बनेर
कहिल्यै नब्युँतने निद्रा सुतेछ
चिर निद्रा !
पिर्काको सिरानीमा टाउको उसको
सुकुलमा उत्तानो जिउ
नगिचै कुनै रक्सीको बतलमा आधा भरिएको
पानी, वरिपरि चुरोटका ठुटाहरु र
छेवैमा निभेको टुकी
मेरो कवि टुक्रै टुक्रा भएर निदाएछ !
जिन्दगीको दौडमा उ कहिले प्रेमी पनि थियो
सुकोमल सुन्दर सन्ततिको जन्मदाता पनि
कवितामा नै उसको घर थियो
उन्मत्त थियो ऊ मदान्ध थियो
प्रत्येक सूर्योदय र सूर्यास्तमा मैले देखेको थिएँ
उसको भक्कानोबाट निस्केका
उसका करुण आर्त निःशब्द कविताहरु !
तिनै निःशब्द कविताहरु गीत बनेर नपोखिएका
पनि होइनन्
तिनै गीतका कहानीमा, शीशमहलमा सुत्नेहरु पनि
नरोएका हाइनन्
तर के कवि कहिल्यै भावनाको सौदागर हुन्छ र ?
हाम्रा मुटुका हर मन्थनलाई छिचोल्दै ऊ आत्मकथा बोल्थ्यो ।
कविता ओकल्ने कविलाई
आज सखारै समयले ओकली दिएछ ....।
मण्डिखाटार– ९