• १४ वैशाख २०८३, सोमबार

स्मृतिको माला रहेछ जीवन (निबन्ध)

blog

यसपालिको मङ्सिर १५ गतेका दिन अञ्जना र म झापातर्फ झर्‍यौँ । हामीलाई रोक्ने माया त काठमाडौँमा पनि पर्याप्त थियो तर उताकाले धेरै तान्यो । त्यसमाथि मङ्सिरको तिखो न तिखो सिरेटाले बिहानबेलुकै मुटु छेड्न थालेपछि नबसौँ नबसौँ भयो र उतातर्फ लाग्यौँ । 

त्यसो त अघि २०३० सालदेखि काठमाडौँ पसेको हो यो शरीर । त्यसपालि बिएड सकेर घर फर्केको थिएँ तर दुःख गर्ने रहर शान्त भएन र २०३६ सालमा एमएड गर्न फेरि काठमाडौँ फर्किएँ र कीर्तिपुरको नयाँबजारमा डेरा जमाइयो । हिउँदे छुट्टीमा बस चढेर मधेश आइजाई गर्ने खर्चले एक महिना खान पुग्छ भनेर यतै बसियो । परीक्षा नजिक थिए, विशाल त्रिवि पुस्तकालय आँगनमै थियो । गोजीमा दाम नभए पनि पीर थिएन । अढाई रुपियाँमा एक थाल दालभात खिलाउने हाम्रो क्यान्टिन थियो । कुनै साथी त भान्सेलाई चाराना/आठाना बकस दिएर दुई, तीन बटुका थप दाल माग्थे, पिउँथे । त्यसरी भुँडीमा दिउँसोको खाजासमेत बोकेर कक्षाकोठा छिर्ने चलन थियो । मुसुरीको पातलो दालमा पनि त्यत्रो भिटामिन हुन्थ्यो– ती अभावका दिनमा ।

पुस माघका रात र बिहानबेलुका खपिनसक्नु हुन्थ्यो । अहिले जस्ता सिरकडस्ना थिएनन्, टेबलकुर्सी, खाट थिएनन् । राति गुन्द्री–गजरामाथि राडी ओछ्याएर कुङ्लिङ परेर सुत्थ्यौँ, स्याङ्जा पुतलीबजारका मित्र जयप्रसाद पौडेल र म । धेरै जसो त स्टोभ सल्काएर खाना आफैँ पकाउँथ्यौँ । मेरा मित्र चाहिँ दाल, तरकारी, भुटुवा झोल जेमा पनि अलिकति गुन्द्रुकको मसला हाल्थे । मलाई हाँस उठ्थ्यो । जाडोले परान तान्ला जस्ता ती दिनमा एउटा कविता रचेथेँ; 

कीर्तिपुरे महाठन्डी शून्य डिग्री वरिपरि

जिन्दगी जम्न लागेको कस्ट देख्ने यहाँ छ को !

दुःखको भुमरी नाचे जस्तो रमाइलो त्यो जीवन आज छैन । त्यसो त आज पनि दुःखसुख साथैमा छन् । कुनै अलिक बुढा भएका, कतिको रङ खुइलेका, कतिले राप्रपाबाट कांग्रेस भए झैँ पार्टी फेरेका स्थितिमा छन् । पछि घर फर्किंदा तीन, चार महिनाको चियाखाजा कटौती गरेर बुवाआमालाई घडी किन्दिएँ । बजार जाँदा मात्रै घडी लाउने आमा भन्नुहुन्थ्यो, “आज आकाशमा डम्मै बादल लागेर क्यै थाहा पाइएन, बाख्रा हुल्नेबेला भए जस्तो लाग्छ, मेरा घडीमा कति बजो ? हेर्दे त कान्छी ।”

कुनै दुःख म्यादी हुँदा रहेछन्, चुनावका लागि नियुक्त म्यादी प्रहरी जस्ता । कुनै दुःख आपूmलाई अजरअमर ठान्ने खालका हुन्छन्– हाम्रा देशका नेता जस्ता । उता आफ्नो जिन्दगीमा धमिरा लागेर ढल्ने दिन गन्तीमा छन्, सत्ताबाट मन हट्दैन । कुनै दुःख आफैँ मरेर गए, कति सुखहरू पनि शिशिरका पात जस्तै झरेर गए । पूmल झैँ फुलिसकेर ओइलेर गए । फेरि भुइँबाट टिपेर हाँगामा टाँस्न मन लाग्छ, नहुँदो रहेछ । ती विगतका रमाइला उदात्त नागीमा घाम लागेका बेला नाचेका जस्ता दिन आज कहाँ पुगे ! अलिक पर्तिर खोल्सीमा गाउने सङ्लो छाँगो, त्यही पानी भर्ने निहुँले झर्ने डाँडागाउँकी सुनाखरी यो मनमा सधैँ फुलिरहेकी छिन् तर केवल पूर्वस्मृतिमा, झल्कोमा, स्वप्नमन्दिरमा ।

प्रत्येक दिन उनी बाटुलीसित लागेर बाख्रा हेर्न जङ्गलतिर लाग्थिन्, म झोला भिरेर चाउने जेठासित लाग्थेँ स्कुलतिर । एकमन अग्फुट स्वरमा बोल्थ्यो– यिनलाई पनि इस्कुल पढाएदेखि ता हामी दिनभरि सँगै हुन्थ्यौँ होला तर पढाएनन्, त्यसैले सुनाखरीसित शनिबारको दिन मात्रै भेट हुन्थ्यो । गाईबस्तु चराउँदै, पाङ्ग्रा खेल्दै अमले वनको पाखामा रमइलो गथ्र्याैं । अझै कहिलेकहीँ त्यतै पुग्छु तन्द्रामा । कस्तो भ्रान्तिको कोरस बजिरहेको जीवनभरि ! साँच्चै अनेक थरी स्मृतिको एक माला पो रहेछ यो जीवन ! दमक पुगेपछि आँगनीमा आमा भेटौँला; बारीमा बा भन्ने सत्य अरूलाई सुनाउन मन लाग्दैन तर उहाँहरूले खनेको बारीमा टेक्ता, छोएका ढोका झ्याल खोलेर भित्र पस्ता, यतै कतै हुनुहुन्छ कि भन्ने भ्रान्ति उत्पन्न हुने गर्छ । यसपालि पनि त्यसैले यो मनलाई फकाएँ तर रातोदिन ठुलो सुनसान पसेर घरमा बस्छ । बाटा कराउँछन् मर्ने गरी काला रोडमाथि भयङ्कर गाडी चिप्लेको दृश्य जीवन्त छन्; सुन्दर सपनामाथि समयको हस्तक्षेप लाग्दछ प्रत्येक कुरा । 

म यसरी आफ्नै गीत बजाउँदै भित्रबाहिर गर्छु, तलामाथि चढ्छु, काठका पटाई छापेका पुराना फलेकमा दुई÷चार पाइला हिँड्दै आवाज निकाल्दै धुमिल अतीततिर हेर्छु तर सँगै भारी बिसाएकी अञ्जनाको उपस्थिति थाहा नपाए झैँ गरी । उनको पनि २२ बर्से उमेरसम्म बसेको घर, पितामाता, भाइबहिनी, त्यो राखन–धरन, ती गाग्रा र लोहोटा मलाईभन्दा उनलाई झन् सारा बिर्सिनसक्नु होलान् । ती पहाडमा कहीँ छुटे र समयले पु-यो । यो दमकमा त म उनको उपस्थितिको कल्पना गर्नुभन्दा पहिलेको समयमा डुबेको हुन्छु । उनको पनि यस्तै काल र वयबारे म केही सोच्दिनँ । हाम्रो भेट हुनुभन्दा अघिको सम्झनाले व्याकुल भएर म आफ्ना बाआमाको दैलोअँगेनो खोज्दै कहाँ पुग्छु; उनको पनि पूर्वस्मृतिमा विचरण गर्ने हृदय मेरो जस्तो होला भन्ने कुरा सोच्न सक्तिनँ । नारीका पनि आफ्ना आमा, हजुरआमा, पत्नी, दिदीबहिनीको पूर्वस्मृतिको भण्डार हुन्छ । त्यसबाट उनीहरू वञ्चित गरिएका हुन्छन् भन्ने कुरा पुरुषले कल्पना गर्दैन रहेछ । मनमा एकछिन यस्तो दोषभाव भरियो र म अलिक दुःखी भएँ ।

पुराना रुख पाउलिँदै गर्छन्, फल लाग्दै, पाक्तै, झर्दै गर्छन् । गाउँमा सृष्टिलाई सुचारु राख्नेहरू नित्य व्यस्त छन् । माईमेलाको दिन मादल ठोकेर, च्याब्रुङ, ढोलक बजाउँदै नाच्नेलाई भ्याइ नभ्याइ छ । अर्को दिन पल्लो गाउँबाट मलामी जानेसँग, फेरि शनिबार थापा दाजुभाउजूका छोराको बिहे, फेरि साँझमा काफ्लेका घरमा भव्य पूजा, रातको कीर्तन । यो जीवन डरलाग्दो आँधी बतासमा परेको छ सधैँ । भुमरीले उडाएको सुकेको पात भएको छ जीवन । अस्पताल पुग्नु छ रगत जाँचमा, पानी अड्डा पानीको बिल तिर्न । दिउँसोपख नेताको भाषण छ बिचबजारमा । त्यता नगए पार्टीबाट 

नाम कटाइदिन्छन् ।

जीवन उही छ, यसले हिँड्ने बाटोहरू छिन छिनमा बदलिएका छन् । उहिले बोरा ओढेर स्कुल जान्थ्यौँ, घुम ओढेर मावल, अलिकपछि छाता ओढेर खेतमा पस्ने दिन आए । आज गाउँमा देख्छु खेतबारी मेटिएका छन् । गोरुगाडा, रिक्सा, साइकलमा होइन, मोटरसाइकल, सिटी र कारमा मान्छे बत्तिएका छन् तर यो मन भने बेलाबेलै माथि माथिको प्राचीन डाँडामा पुग्छ । धेरै टाढा तल बेँसीमा खोलो सुसाउने, धेरैमाथि लेकमा मन्द पवनमा सल्लेरी हल्लिने । ती चिसा पातल, अल्गा थुम्का, ओरालाका बारी, घाँसका रुखले रक्षित, पारिका भिरमा बताससित नाच्ने खरघारीमा आँखा डुलाउँछु । स्मृतिका आँखा मात्रै, यथार्थमा म त्यहाँ पुग्न सकेको होइन । आज हेर्छु, परिवेश भिन्न छ । सपना जस्तो एक अङ्ग्रेजी उक्तिको अनुवाद गर्दछु– “अतीत भनेको एउटा भूत हो, बतासमा फुस्फुसाएको एक कानेखुसी । हामी कहाँ पुगेका थियौँ भन्ने कुरा यसले स्मरण गराउँछ तर वर्तमानमा कहाँ छौँ भन्दैन ।” जे होस्, अतीतदेखि सुकाएको यो जीवनरूपी बिस्कुन मान्द्रो सारी सारी घाम लाग्ने ठाउँतिर सेकाउँदै छु । घाम डाँडामा ओर्लिन निकै छ । साँझ पर्ने बेलामा चिसो बतास चल्न थालेपछि, गौँथलीले आकाश ढाकेपछि, धुलो र तुवाँलोले दृष्टि धुमिल भएपछि बल्ल भित्र पसेर दाउरा सल्काऔँला । सारा अन्धकारले नढाकुन्जेल निज कर्ममा निहुरी रहौँ । जीवनभरि खनेको कर्मको कुलो छ, त्यसैमा बगिरहौँ ।

अझै एक महिना दमकमै बस्ने योजना थियो तर डा. सुमाया राई एउटा मूल्यवान् कृति लिएर बेलायतबाट नेपाल आइन् र फागुन २ गते त्यसको लोकार्पण साइत जुरेको सुसमाचार सुनाइन् । एक समर्पित विदूषीको सुकार्यमा साक्षी बस्न मैले आउनुपर्ने भयो । फेरि फागुन ४ गते नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको वार्षिक कार्यक्रमबारे साहित्यकार मोमिलाद्वारा पूर्वप्रसारित सूचनाले आह्वान गरिरहेको थियो । फागुन १० गतेका दिन अञ्जनालाई पनि साहित्यसुधा नेपालले सम्मान गर्ने सुसमाचार आयो र हामी दुवै फर्केर आयौँ । काठमाडौँमा जोरसिरक खोज्ने रातहरू अझै सव्रिmय रहेछन् !

एक सप्ताहभित्र साहित्यिक वृत्तका तीन मूल्यवान् कार्यक्रममा सहभागी हुन पाउनु ठुलो कुरा हो । गाउँठाउँमा यो स्तरका कार्यव्रmम देख्न पाइन्न । डा. सुमाया राईको ‘जिन्दगी पूmल सम्झे पूmलै हो’ शीर्षक लामो जीवनयात्रा र कलाश्रीको १३ औँ अङ्कको लोकार्पण अवसर अविस्मरणीय, पूर्ण साहित्यिक कर्म थिए । मुख्य कुरा त यही फागुन तेस्रो हप्तामा हुने भनिएको राष्ट्रिय चुनाव थियो । यतिबेला बोल्ने नबोल्ने प्रत्येकको मनोजगत्मा आँधीहुरी तरङ्गित छ । चुनावमा हामी सम्बद्ध छैनौँ, न समर्थक न विरोधी । यो त एउटा अभूतपूर्व राष्ट्रिय महोत्सव हो, राष्ट्रको आत्मामा प्रजातन्त्रको अक्सिजन भर्ने स्टेसन तर जीवनभर धेरै भारी ओसारेर थाकिसक्यौँ । अब निष्पृह भावले आफ्नै आनन्दको थकाई मार्ने योजना छ । चुनावी परिवेशले उत्पन्न उत्तेजनालाई हेर्दा राजनीति सर्वाधिक घृणित र निन्दनीय क्षेत्र बनेको छ । मानिसहरू यति तल ओर्ले कि त्यहाँभन्दा तल झर्ने ठाउँ छैन । मानिस झर्न सक्दैनन्; हाम्रा नेताहरू मात्रै । यसले उत्पन्न गरेको भय, सन्देह, उत्तेजना, निन्दा, घृणा र अपमान सोच्दै डरलाग्दो छ । यस्तो खेलमा पसी साम–दाम–दण्ड–भेदको प्रयोगले जित्ने चेष्टा गर्नु निन्दनीय कुरा हो । अघि पनि यस्तो कुरा हुन्थ्यो तर यसपालिको स्थितिले चाहिँ चरमोत्कर्ष विन्दु छोएको जस्तो लाग्दै छ । मुख्य सत्ताधारी पात्रका विवेकहीन कर्मले चुनावमा लगेर देश अवरुद्ध गरायो । फेरि दलहरू मैदानमा उत्रे तर जनाधार गुमाएका, विश्वास गुमाएका, ठगठाग धुत्र्याइँले बाँचेका पार्टी र अरू केही परजीवीहरूले ठुलो जालझेल गर्न सकेनन् भने माटोमा मिल्ने देखिन्छ । जनाधार गुमेपछि यस्तो हुने रहेछ ।

सत्ताधारीको मुलीले आपूmलाई आउने आलोचनाको अन्त्य गर्न देशमा सामाजिक सञ्चालको प्रयोग निषेध गर्नाले यो स्थिति आयो । आज यही सञ्जालले उनीहरूका अन्तिम दिन ल्यायो । इज्जत छैन, आदर छैन । रातोदिनको अपशब्द र आव्रmमण छ । शब्दवाण चलेका छन् निन्दा, श्राप र गाली छन् । समय अति संवेदनशील र पारदर्शी बनेको छ । एउटा वैकल्पिक शक्ति उर्लेर आएको छ । यसलाई प्रजातन्त्रको सदुपयोग भन्नु पर्छ । यसले सडेगलेको तìव मिल्काएर नयाँ बिरुवा रोप्न पाउने अधिकार र शक्ति प्राप्त गरेको हुन्छ । अधिनायकवादीहरूले धेरै वर्ष छलछाम गरे, देश र जनता दुवै निमोठे तर अबको परिस्थिति भिन्न हुँदै आएको छ । 

एआईले मानिसको हृदय खोल्न सजिलो पारेको हेर्नू नि । त्यो सिधै बोल्दैन, प्रतीकात्मक भाषा बोल्छ । बोलीले व्यक्त गर्न नसक्ने कुरालाई कर्मले देखाउन थाले । मलाई दुई कुरा बिलकुल नवीन लाग्दै छन्– यसपालि जेनजी पूर्ण शक्तिमा उभियो । यसपालि नारीस्वर अभूतपूर्व शक्ति र साहससँग अघि बढ्दै छ । एउटा कुनामा बसेर १० हजार श्रोतालाई सम्बोधन गरेको भाव र प्रभाव दिँदै छन् । जेनजी आन्दोलनपश्चात् जागेको नारी जगत्मा त्यो शक्ति असाधारण हुँदै छ । आफ्ना भाव र संवेगलाई सहज सञ्चार गर्न न श्रोता ओसार्नुप¥यो, न टुँडिखेलमा झन्डा गाड्नु प¥यो । त्यसै गरी नवकिशोर–किशोरी, घरका आमाहरू, वृद्धवृद्धा सबै वाचाल भएर आफ्नो अभिमत निर्भीकतापूर्वक प्रकट गरे । यो एक अभूतपूर्व घटना हो । यो डिजिटल विश्व अभूतपूर्व प्रकृतिको पारदर्शी शक्ति लिएर आएको छ । मिसिनको सामुन्ने जे पनि बोल्ने आँट आउँदोरहेछ । जनताको मुखमा हेरेर भए नेता पनि यति निर्लज्ज बन्न सक्ने थिएनन् होला ।

कति कति घटना र कर्महरू यथारूप विश्वास गर्न नसकिने पनि छन् । अघि साहित्यशास्त्रले निर्माण गरेको अतिशयोक्ति (हाइपरबोल) नामक अलङ्कार आज अत्यधिक मात्रामा लागु हुन थाल्यो । त्यसो त यो सबै क्लासिकल भाषाबाट सर्दै आयो । ‘जनसागर उर्लियो’ भन्ने अर्थका तस्बिर र वर्णन जुधाएर पढ्ने गथ्र्यौं, पत्रकारिताले विश्वास दिलाउने प्रयत्न गथ्र्यो तर अब त मरेको जागेर हिँड्न थाल्यो । अतीतका उठेर बोल्न थाले; जीवितहरू मृत देखाउन थाल्यो । जुन यथार्थ छ; त्यसको विपरीत भ्रान्तिहरू छन् । यथार्थ बढ्दै गएर अति यथार्थ बन्यो । त्यो साहित्यमा मात्र होइन, जीवनमा पनि थियो तर अब उत्तरआधुनिक ज्ञानले अर्को शब्द निर्माण गर्न कर लाग्यो– हाइपरटेक्स्स, हाइपररियालिटी, हाइपर रियालिजम् । यो पाश्चात्य कला आन्दोलनबाट साहित्यमा पस्यो । हामीले एमए अङ्ग्रेजी पाठ्यव्रmममा पढ्न÷पढाउन पायौँ र मैले अनुकूलन गरी ‘अतियथार्थवाद’ नै अनुवाद गरेँ । अनि आफ्ना दुवै कृति उत्तरआधुनिक ऐना (२०६२) र उत्तरआधुनिक विमर्श (२०६४) मा राम्ररी चिनाएँ । त्यसबेला त दिने प्रमाण आइसकेको थिएन । यसपालि प्रत्येक दिन छिनछिनमा आधाभन्दा बढी श्रव्य, दृश्य, ध्वन्यात्मक र चित्रात्मक घटना नक्कल, छायाङ्कन, अनुकरण, प्रतिकृति हुन्छन् । यसपालिको जेनजी आन्दोलनपश्चात् नेताहरूले आआफ्ना कुकर्मलाई एआईका भनेर जोगिने प्रयत्न गर्दै छन् तर स्थिति हास्यास्पद छ । स्वदेशमा अझ विदेशमा एआईका पाठ्यव्रmम पढेर नयाँ पुस्ताले जस्तो गर्दै छ, पुरानाहरू केही जान्दैनन् । त्यसैले सत्यको एक पत्रलाई अवास्तविकले ढाक्तै छ । हरेक वस्तु क्षणिक र तात्कालिक बन्दै छ । हरेक कर्म तत्काल परिवर्तनीय नक्कल वा प्रतिकृति मात्रै हो । 

यस्तो कालमा छौँ हामी अघिल्लो पुस्ताका । नयाँसित प्रत्येक दिन विच्छेदको भाव बढ्दै छ, अलगाव र दूरत्वको भाव बढ्दै छ । यतिखेर प्रत्येक पात्र गुगलको माध्यमले आफ्नै जगत्मा विचरण गर्छ, बोल्छ, घुम्छ, हेर्छ, आफ्नो ज्ञानका आधारमा आफ्नो संसार पत्ता लाएर त्यहीँ भुल्छ । तथापि मनमा एक आदिमकालदेखिको प्रेम, सद्भाव, सामीप्य र सहभावका जुइना चट चट गर्दै चुडिँदै गएको स्थिति प्रस्ट अनुभव हुन्छ । अब ससाना दुधे बालबालिकादेखि दूर प्रदेशका अशक्त वृद्धवृद्धासमेत यिनै निर्जीव यन्त्रका प्रकार्य वरिपरि झुकेर बसेका, लुकेर सुतेका छन्, उठेका छन्, जागेका, हाँसेका रोएका छन् । चुनावको प्रचारमा, हल्लामा जहाँ दुष्प्रचार, कुप्रचार सबै थोक मिसिन्छन् । दुधमा पानी मिसिए झैँ सत्य र असत्यको सालखोल भएको छ । 

चित्रमै धानखेती हे¥यौँ, त्यसैमा गाई फारम, त्यसैमा अलैँची र अम्लिसो खेती । मानिसको मनमा एकाकीपन र असङ्गतताको भारी थपिँदै छ । सामूहिकता समाप्त हुँदै गएको छ । यस्तो कालमा जसले आफूलाई एक समर्पित लेखक ठान्छ, उसको भाव कस्तो भएको होला ? त्यसो त उसले एकान्तको प्रार्थनामै अगणित दिनहरू व्यतीत ग¥यो । अगणित रातहरूलाई आफूसँग सुतायो । अब प्रत्यक्ष मानव स्वर, दृष्टि र स्पर्शहरू कल्पनाका कुरा पो हुँदै जान्छन् कि ! आधुनिक सभ्यताले एक निर्जनता सृष्टि गर्न चाहेको रहेछ । मानवको एकाकीपन खोजेको रहेछ । किनभने यन्त्रले मानव मानव बोलेको मन पराउँदैन, मानवले त यन्त्रसितै बिताउनुप¥यो रातोदिन । त्यो सफल हुँदै आएको छ । यान्त्रिक वा कृत्रिम बजारमा लगेर उसैले हाम्रो आत्मा बेच्दै छ । त्यसैको परिणामस्वरूप हार्दिकता, सहभाव, मानव मानवबिचको आदानप्रदानको सुन्दर वाग बिस्तारै फुस्रो भयो, सुक्यो र त्यसमा आगो लाग्यो । डढेको वनका काला ठुटामा बसेर काग कराइरहेका छन् । सहमिलनको, सङ्गमको, भेटघाटको, सहकार्यको सभ्यता समाप्त भएपछि के बाँकी रहला ? 

यतिखेर एउटा पाटो मन यसरी औँसीको अँध्यारोले ढाकिँदै छ तर अर्कोतिर सोच्तछु– म एक प्राध्यापक हुँ । एक जिम्मेदार नागरिक, सकारात्मक उज्यालो सल्काएर सबैको जीवन उज्यालो पार्न अहोरात्र खटिरहेको म । आफ्नो जीवनका दुःखसुख मेरा आफ्ना पेवा हुन्, निजी आर्जन । म तिनैको रस पिएर बाँचेको छु । मेरा हजारौँ विद्यार्थी छन्, हजारौँ पाठक, त्यति नै श्रोता । म एक सार्वजनिक वृक्ष हुँ । यस बोटमा लागेको फल खान म भ्याउँदिन, अरूले खान्छन् । समयले यो बाह्रमासे बोटमा फूल फूलाइरहन्छ, फल लगाइरहन्छ । म खान पाउँदिनँ तर अरू हजारौँ थपिएलान्, लाखौँ थपिएलान् । यो कर्णालीको बेगवान् चिसो पानी अर्थात् साहित्य नित्य निरन्तर बगिरहेछ । म नभए पनि बगिरहन्छ । 

त्यसैले यो मनलाई फकाउँछु, यसलाई सम्झाउँदै भन्छु– तिमी मात्र होइनौ साइँला यो एकाकीपनले ढाकेको जङ्गलको यात्री । विश्वका खर्बौं सहयात्री छन् । जोगी, साधु, सन्न्यासीहरू पनि मानव बस्ती खोज्दै हिँड्छन् । उनीहरूका पनि निर्जीव यन्त्र मात्रै साथी हुन् सक्छन् । अहिले सबैलाई अलिक सजिलो भएको छ, सबै कुरा हृदयले देख्ने गरी उसैले ओसारिदिन्छ, नजिक ल्याइदिन्छ । स्थान र कालका दूरत्व सबै मेटिएका छन् । अतीतका ठुला ठुला अध्याय मेटिँदै गए । हरेक तìवको नवीकरण नै सभ्यता रहेछ । परिवर्तनले जे ल्याउँछ त्यसैमा रम्न सिक । छ वटा भिन्न भिन्न ऋतुहरू पालैपालो भोग्दै आएको यो मानव देह छ । यसले सधैँ वसन्त खोज्नु हुन्न, सधैँ शिशिर रहने पनि होइन । 

केही दिनअघि काठमाडौँमा ‘आजका स्रष्टाले के लेख्ने’ भन्ने विषयमा गोष्ठी भएको थियो । वर्तमानकालमा परिवर्तनको गति अति तीव्र छ । यो स्थिर हुइन्जेल पर्खौं भन्न मिल्दैन । त्यस कारण स्रष्टाले यही वर्तमान परिस्थिति लेख्ने, त्यसले उत्पन्न गरेका आशा, भरोसा, स्थिति र भय लेख्ने हो । पछि हेर्दा हामी कुन समयमा कहाँ थियौँ भन्ने देखाउन साहित्यिक सिर्जना आवश्यक हुने छन् । 

साहित्य भनेको स्रष्टा व्यक्तिको आफ्नै अंश पनि हो । त्यसमा जडित हाम्रो इतिहास, आफ्नो संस्कृति गाँसिएको भाषिक, आर्थिक, शैक्षिक जीवन परिवेश र प्रणाली अनि ती तìवले निर्मित कथा, कविता, नाटक, तिनको विश्लेषण समीक्षा सबै उनिएर आउँछ साहित्यमा । साहित्य हामी व्यक्ति र हाम्रो समाजको दर्पण हो, ती हेर्ने झ्याल हो । यसैमा अन्तर्निहित हुन्छन्– हाम्रा दृष्टिकोण, भावना, संवेग र आकाङ्क्षा । सबै लेखन भोगिएको कुरा नै हो, अतीत हो, समसामयिक वर्तमान हो । खासमा यो जीवन नै स्मृतिहरूको एक माला रहेछ । अक्षरको माला रच्नेको वाणी यो सृष्टिको अन्त्य नहुन्जेल प्रतिध्वनित भइरहन्छ । यी संवेग र अनुभूतिलाई अक्षरमा चढाइएन भने जीवन बाँचेको अर्थ वा परिणाम ठुलो बतासमा फुसफुसाएको कानेखुसी मात्र हुन्छ । हाम्रा दुःखसुख र अनुभूतिलाई अक्षरमा सजाऔँ ताकि पश्चात्तापको भुङ्ग्रोमा जलेर खरानी हुनु नपरोस् ।