मधुपर्क सम्मानको यात्रा दुई दशक पुगेको छ । पहिलो पटक यो सम्मान २०५९ मा प्रदान गरिएको थियो, मधुपर्क प्रकाशनको ३५ वर्षपछि । आज २०७९ सम्म आइपुग्दा मधुपर्कको प्रकाशन यात्रा ५५ वर्ष पुगेको छ । एउटा प्रकाशनका लागि ५५ वर्ष धेरै लामो अवधि हो । यस अवधिमा मधुपर्कले नेपाली साहित्यको श्रीवृद्धिमा पु-याएको योगदानको समीक्षा भएका छन् र निरन्तर यस्तो समीक्षा हुनुपर्छ । समीक्षा यात्राको सिंहावलोकन भएकाले पनि वस्तुगत समीक्षाले मधुपर्कको आगामी यात्रालाई दिशा प्रदान गर्दछ ।
नेपाली साहित्यको गद्य तथा पद्य विधामा उल्लेखनीय योगदान पु-याइसकेका दुई जना साहित्यकारलाई पाँच पाँच हजारको नगद राशिसहित मधुपर्क सम्मान–२०५९ चयन गर्न गठन भएको उपसमितिको पहिलो बैठक २०५९ वैशाख ९ गते बसेको थियो । वरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापाको संयोजकत्वमा गठित समितिमा प्राज्ञ तोया गुरुङ र मधुपर्कका सम्पादक कपिल घिमिरे सदस्य तथा सहसम्पादक श्रीओम श्रेष्ठ सदस्य सचिव हुनुहुन्थ्यो । यो समितिले पुरस्कारका लागि केही मापदण्ड बनाएको थियो ।
उपसमितिले पहिलो वर्षका लागि सम्मान चयन गर्न तयार गरेको आधार आजपर्यन्त निर्देशक मापदण्ड बनिरहेका छन् । सम्मानलाई निर्विवाद बनाउन पारदर्शी मापदण्ड बनाइएको छ, जसअनुसार मधुपर्कको पहिलो अङ्कदेखि आजसम्म निरन्तर रचना उपलब्ध गराएर योगदान दिने वरिष्ठ सर्जकलाई सम्मान गरिने छ । सिर्जनामा विशिष्टता हासिल गरी विधागत विकासका लागि उल्लेख्य योगदान पु-याउनुभएका स्रष्टा, जो कुनै साहित्यिक विवादमा नपरेको होस् उहाँहरूलाई सम्मानको दायरामा ल्याइने छ । ज्येष्ठतासहित विधागत विकास र निरन्तरता जस्ता मापदण्डलाई व्यवस्थित गर्न मधुपर्कको पहिलो अङ्कदेखिकै सर्जक तथा विधाको अभिलेख राखिएको छ । हालसम्म विशिष्टता, वरिष्ठता तथा योगदानको निरन्तरताका आधारमा मधुपर्क सम्मान अर्पण गरिँदै आएको छ । दुःखका साथ भन्नुपर्दा २०७६ को सम्मानबारे केही तीखा टीप्पणी आए जबकि अन्य वर्षका मधुपर्क सम्मान गरिमामय रहेका भनी सार्वजनिक प्रतिक्रिया आएका अनुभव गरिएको हो । पहिलो वर्षदेखि नै एक जना वरिष्ठ सजर्कको संयोजकत्वमा मधुपर्कका सम्पादनकर्मी रहने गरी सम्मान चयन समिति बनाइने प्रचलन थियो र छ तर २०६५ र २०७६ मा मधुपर्क सम्पादन समूहभन्दा बाहिरका व्यक्तिलाई पनि सदस्यमा तोकिएको थियो । मधुपर्क सम्मान, २०७९ चयन उपसमितिले स्थापित मापदण्डमा आधारित विवेकपूर्ण निर्णय गरेकाले प्रदान गरिएका सम्मान निर्विवाद भएको पुष्टि भएको छ । यद्यपि कुनै पनि निर्णयका बारेमा विभिन्न कोणबाट बहस चल्नु, चलाइनुलाई अन्यथा भन्न मिल्दैन तर निर्णय गर्दा अपनाइने प्रक्रिया सद्भावपूर्ण, न्यायपूर्ण र तटस्थ हुनैपर्छ । कुनै पनि निर्णायक यस्ता संहिताले बाँधिनुपर्छ । सार्वजनिक टीकाटिप्णीप्रति जवाफदेही हुने साहस गर्नुपर्छ । मधुपर्कजस्तो नेपाली आमसाहित्यकारको साझा मञ्चले प्रदान गर्ने सम्मानमा सार्वजनिक मर्यादा र परम्पराको ख्याल गरिनै पर्छ । यो कुनै निजी गुठीद्वारा प्रदान गरिने सम्मान मात्र होइन ।
दुई दशकको इतिहासमा २०७७ र २०७८ को सम्मान कोभिड–१९ (कोरोना महामारी) का कारण रोकिए । यस वर्ष वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमको संयोजकत्वमा मधुपर्कका सम्पादक जयदेव भट्टराई सदस्य र नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले सदस्य सचिव रहने गरी सम्मान चयन उपसमिति गठन गरिएको थियो । संस्थानको वर्तमान व्यवस्थापन नेतृत्वले यस कार्यका लागि मधुपर्क सम्पादन चयन उपसमितिलाई पूर्ण अधिकार प्रदान गरेको थियो । कुनै वर्ष यस्तो अधिकार कुण्ठित भएका घटना मधुपर्कसँग जोडिएको इतिहास भएको छ, यहाँ विगतलाई धेरै खोतल्नु आवश्यक छैन तर यस्ता घटना नेपाली साहित्य तथा सम्मानका इतिहासमा कुनै न कुनै स्वरूपमा लेखिन सक्छ । लेखिनुपर्छ ।
सम्मानका लागि अग्रज सर्जकहरूको छोटो नामावली (सर्ट लिस्ट) उतार्दै गर्दा लागेको थियो–उहाँहरू सबैलाई सम्मान दिनुपर्छ । उहाँहरू सम्मानका लागि सुयोग्य हुनुहुन्छ । यही सुयोग्यहरूको सूचीबाट यस पटक वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतलाई मधुपर्क सम्मान (गद्य), २०७९, वरिष्ठ साहित्यकार गणेश रसिक मधुपर्क सम्मान (पद्य), २०७९ र सशक्त कवि तथा निबन्धकार मोमिला जोशीलाई मधुपर्क प्रतिभा सम्मान, २०७९ प्रदान गरिएको हो । उहाँहरूले नेपाली साहित्यको श्रीवृद्धिमा पु-याउनुभएको योगदान खुला किताबकै रूपमा नेपाली पाठकसामु छँदैछ ।
वि.सं. २०२४ साउन २६ गते धनकुटामा जन्मनुभएका सम्मानित वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको २०२६ अङ्क १२ मा कथा छापिएको छ भने २०२७ अङ्क ११ मा कविता प्रकाशित छ । त्यसपछि समय समयमा मधुपर्कलगायत गोरखापत्र संस्थानका अन्य प्रकाशनमा उहाँका रचनाहरू प्रकाशन हुँदै आएका छन् । उहाँ मुकुट, सिउँडीजस्ता चर्चित साहित्यिक प्रकाशनको सम्पादन समूहमा सम्बद्ध हुनुहुन्थ्यो । ती प्रकाशनमार्फत अभिव्यक्ति स्वतन्त्रता तथा खुला समाजका लागि साहित्यिक लयमा आवाज उठाएका थियो । कथा र कवितामा सशक्त मानिनु हुने बस्नेतका कलम निबन्धमा पनि चलेका छन् । राजनीतिक विश्लेषक, इतिहास अन्वेषक बस्नेतका नेपाली काँग्रेसको इतिहास (दुई खण्ड) प्रकाशित छन्, साथै नेपाली जनक्रान्तिका अन्वेषक बस्नेतका दर्जनौँ फुटकर रचना प्रकाशित छन् ।
उहाँले नेपाल पुकार, राष्ट्र पुकार, राजधानीजस्ता पत्रिकाको सम्पादन गर्नुभएको छ । उहाँ गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष पनि हुनुहुन्छ ।
सम्मानित वरिष्ठ साहित्यकार गणेश रसिक २००४ असोज ४ गते भोजपुरमा जन्मनुभएको हो । उहाँका दसगजामा उभिएर (कविता सङ्ग्रह), क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह), एउटा सारङ्गीभित्र (कथा सङ्ग्रह), रसिकका गीत (गीतसङ्ग्रह) आकाश गङ्गामुनि (उपन्यास) जस्ता कृति चर्चित छन् ।
मधुपर्कमा २०२५ अङ्क ९ मा उहाँको कविता प्रकाशित भएदेखि निरन्तर उहाँले मधुपर्कलगायत विभिन्न रचना प्रकाशित गर्दै आउनु भएको छ । उहाँले दर्जनौँ कृतिको सम्पादन गर्नुभएको छ । यसैगरी साहित्यकार मोमिला जोशीका पैयुँ फुल्न थालेपछि, जूनकीरीहरू ओर्लिरहेछन्, भीमसेन थापाको सुसाइड नोट, दुर्गम उचाइमा फूलको आँधी (कविता सङ्ग्रह), २०२४ साउनमा ईश्वरको अदालतमा आउटसाइडरको बयानजस्ता निबन्ध सङ्ग्रह प्रकाशित छन् । उहाँहरूले नेपाली साहित्यको श्रीवृद्धिमा पु-याउनु भएको योगदान खुला किताबकै रूपमा नेपाली पाठकसामु छँदैछ । उहाँहरूलाई नेपाली साहित्यका पाठकहरूले चिनेका छन् । चिनेका मात्र होइनन् सम्मान गरेका छन् । यस सन्दर्भमा अमेरिकी चलचित्र नायक, निर्देशक तथा निर्माता डेन्जल वासिङ्टनले भन्नुभएको भनाइ स्मरण गर्न चाहन्छु– Man gives the award but God gives you the reward । सर्जकका लागि पाठक नै देवता हुने भएकाले भौतिक पुरस्कारभन्दा पाठकले गर्ने सम्मान महìवको विषय हुन्छ । यस भन्दर्भमा पनि यति नै भनौँ ।
परम्परालाई निरन्तरता दिँदै यस पटक वरिष्ठ इतिहासकार ज्ञानमणि नेपालले मधुपर्क सम्मान, २०७९ को औपचारिक समारोहको प्रमुख अतिथ्यता ग्रहण गर्नुभयो । अपवादबाहेक मधुपर्कले आफ्नो वार्षिकोत्सवमा राजनीतिकभन्दा साहित्यिक व्यक्तित्वलाई प्रमुख अतिथि बनाउँदै आएको छ तर राजनीतिमा आबद्ध कतिपय सर्जकलाई साहित्यकारका हैसियतमा सम्मान गर्दै आमन्त्रण गर्ने गरिन्छ । यस पटक पूर्वमन्त्रीद्वय बलदेव शर्मा मजगौया र दीनानाथ शर्माको विनयशील उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको अनुभव गरियो । उहाँहरूलाई नेपाली साहित्य फाँटले वरिष्ठ साहित्यकारका रूपमा अनुमोदन गरेको छ । राजनीतिमा विशिष्ट स्थान छँदैछ ।
सम्मान प्राविधिक पक्ष हो । साहित्यमा सम्मान के हो, यो आवश्यक छ, छैन सम्मानका तरिका, मापदण्ड, निरन्तरता, पात्र चयन यावत्बारेमा नेपाली साहित्यिक क्षेत्रमा पनि समय समयमा बहस भएका छन् । तिक्तता पोखिएका छन् । रहस्य उद्घाटित भएका छन् । नेपालका केही साहित्यकार छन् जसको नाम हटाउँदा नेपाली साहित्यको इतिहास खण्डित हुन्छ तर उनीहरू केहीले भौतिक पुरस्कार पाएका थिएनन् तर पाठकबाट स्नेह पाए । स्नेह मात्र पाएनन् अनुमोदित भए । नेपाली साहित्यमा विशिष्ट स्थान बनाए । स्वयम् पाठकबाट पुरस्कृत भएका सर्जकलाई भौतिक पुरस्कार दिनु एउटा औपचारिकता मात्र हुनसक्छ तर सम्मान/ पुरस्कारका दुई पाटालाई अवमूल्यन गर्न हुँदैन । एउटा, यो योगदानको कदर हो । अर्को, यो प्रेरणाको मार्ग हो । पुरस्कारले अग्रजलाई सम्मान मात्र गर्दैन, नयाँ पुस्तालाई पे्ररणा दिएको हुन्छ । मधुपर्कले सम्मान मात्र अर्पण गरेन पुरस्कृत व्यक्तित्वमार्फत् नवीन पुस्तालाई प्रेरणा पनि प्रदान गरेको छ ।