आए भाष्कर जो प्रिया नयनकी भेटौँ म सन्ध्या भनी
चिम्ली लोचन ती प्रदीप्त रविले यो ज्योति गुम्ला भनी
बुझ्दैनन् रविले छ रोष ननिको सन्ध्या परी श्रापमा
जन्म्यो हा यमराज सो बखतमा मान्छे पुग्यो घाटमा ।
खोली आत्मकथा फिराद दिनुहोस् भन्दै झुकी पाउमा
आशीर्वाद मिल्यो पवित्र यमुना जन्मी उहीँ गर्भमा
पापाचार हुँदा सदा मनुजमा खोज्दै पखाल्छे यमी
मान्छे आयु निली बस्यो यमपुरी त्यो धर्मराजै पनि ।
कौवा दूत बनी गयो यमपुरी सञ्चार भन्दै थियो
बैनी याद दिलाउँदा समयले सम्झेर धेरै रुयो
छुट्टी माग्छ निशुम्भ शुम्भसँग ऊ जाँदैछु एकै दिन
मेरो कर्म तिमी समाल अहिले हुन्छौ र दुःखी किन ।
भैँसीमाथि चढी प्रसन्न मनले आएछ दाज्यै भनी
रम्दै स्वागतमा खुलेर यमुना गर्दै छ अभ्यर्चना
बैनी पर्छ म जान कर्म थलमा देऊ मलाई बिदा
भन्छे स्वान पठाउँदा यमपुरी सञ्चार पुग्ला नि त ।
आइन् गौ घरमा रमाहृदयको सन्देश बोकी त्यहाँ
लक्ष्मीकान्त दीपावली हुन गयो जाज्वल्य धर्ती जहाँ
गौमातासँगमा थियो बयल जो चारौँ नराम्रो भन्यो
त्यो अर्ती मनमा गमेर यमले पाँचौँ दिनैमा गयो ।
कौवा, स्वान र गौ तथा बयलको पूजा यमीले गरी
फोर्दै ओखरमा र विघ्न जति छन् दाज्यै हटाएँ भनी
फुल्छन् फूलहरू अनेक थरका हाम्रा बगैँचा सधैँ
बालौँ दीप यहाँ नराख पटका सल्किन्छ आगो कतै ।
धर्ती कञ्चन यो शरद् छ हँसिलो झुल्दै छ मोती धरा
फाल्दै कल्मष ती र स्वान्त सुखमा बग्दै छ त्यो निर्झरा
बज्दा मादल तालले छमछमी नाचेर द्यौसी भनूँ
बैनी, भाइ, दिदी र दाजुसँगमा टीका लगाई बसूँ ।