• १७ कात्तिक २०८२, सोमबार

मनको बह (कथा)

blog

‘ममी ! बाक्लो कलायो । घाँत हाल्नु न ।’ भर्खर बोली फुट्दै गरेकी छोरी जेनिसाले भनी । ‘कति हाल्नु छोरी घाँस ! जति हाले नि कराउन छाड्दैनन् ।’ मैले छोरीको प्रश्नको उत्तर दिएँ ।

‘बाक्लालाई घाँत हाल्नुहुन्च, यी मनेलाई के हाल्नुहुन्च ममी ?’ छोरीले अर्को जिज्ञासा राखी ।

‘मनेले उसको ममीको दुध खान्छ । ठुलो भएपछि उसले पनि घाँस खान्छ नि छोरी  ।’ मैले छोरीको जिज्ञासा मेट्न खोजेँ । 

मेरो घरमा सानो एउटा पाठोसमेत छ वटा बाख्रा थिए । ती छ वटा बाख्रा छ वटै स्वरमा कराउँथे । मानौँ, कराउनु तिनको दैनिक रुटिन थियो । तिनका स्वरमा वैयक्तिक भिन्नता थियो । एउटाको स्वर अर्कोसित विल्कुल फरक । बिहानको घाँसखोले गरेपछि ती केही घण्टा मौन बस्थे । घडी नै हेरे भैmँ बाह्र बजेपछाडि ती एक तमासले कराउन थाल्थे । कुनै बिरालोभैmँ ‘म्याँऽऽऽ आँ’ गर्थे । कुनै भेडा भैmँ ‘भ्याऽऽऽआ’ । कुनै त सहनाईमा स्वर घुमाएको जस्तो गरी कराउँथे । छोरीलाई खुवाइपियाई र स्याहारसुसार गर्दा मेरो ध्यान उसो बाख्रा कराएतिर जाँदैनथ्यो । कामतिर एकोहोरो मन जान्थ्यो । फेरि कराएर दिक्क वाक्कै पार्थे । सिर्कानु लिएर म गोठमा जान्थेँ । मुखैमुखमा दुईचार सिर्कना बजाउँथेँ । म अगाडि बसुन्जेल बाख्रा चुप लाग्थे । म गोठबाट हिँडेपछि उही कर्कश आवाज सुरु हुन्थ्यो ।

चैत महिनाको उराँठिलो समय थियो । जमिनमा खासै हरियो घाँस थिएन । डाले घाँस पनि आपूmले सक्ने जति झारिसकेकी थिएँ । बाख्रा सुकेको घाँसपट्टि आँखै लगाउँदैनथे । गाउँमा घाँस झारिदिने कोही थिएनन् । बेला बेला आएर सहयोग गर्ने उत्तम केही दिनदेखि आएको थिएन । उत्तम आउला र घाँस झारिदेला भन्दाभन्दै हप्ता बिते, उत्तम आएन । मैले फोन गरेँ तर उत्तमको मोबाइल अफ गरिएको थियो ।

एक दिन बिहानै म उत्तमको घर गएँ । उसकी आमाले उत्तम लेकतिर बोका खोज्न गएको तर सम्पर्क नभएको बताइन् । मैले भनेँ, ‘यत्रो दिनसम्म बाहिर बस्ने मान्छे नै होइन उत्तम दाइ । खोज्न पठाउनु है आमा !’ 

आमाले भनिन्, ‘मलाई पनि डर लागिराछ नानी । दुई दिनभन्दा बढी घरबाहिर बस्दैनथ्यो । यो पालि अचम्मै ग¥यो । खोज्न कसलाई पठाउनु ! गाउँमा यसो गरौँ भन्ने मान्छे नै छैनन् ।’ उत्तमकी आमासित लामै कुराकानी गरेर आएँ म त्यो दिन । उत्तम मेरो घरकै मान्छे जस्तो थियो । तरकारी रोप्न बारी खन्ने उत्तम, दाउरा काट्न उत्तम, छोरीलाई सन्चो नहुँदा स्वास्थ्यचौकीसम्म छोरी बोकिदिने उत्तम । उत्तम नहुँदा मेरो हातै भाँच्चिएको थियो । 

उत्तम अरूभन्दा भिन्नै मानिस थियो । सारा गाउँलेका पिरमर्का बुझ्दथ्यो ऊ । गाउँमा पर्ने अनेक सामाजिक काममा ऊ अगि नसरी सुरु नै हुँदैनथे । गाउँमा कमजोर मान्छेको घरमा दिनकै पुगेको हुन्थ्यो । बिनापैसा, बिनाआशाअपेक्षा ऊ सबैको काम गरिदिन्थ्यो । अहिले उत्तम घरमा नहुँदा सबैलाई मर्का परेको थियो । 

त्यो दिन छोरी अलि छिट्टै सुती । बाख्रा कराउन थालिसकेका थिए । हरियोपरियो केही घाँस भेटिन्छ कि भनेर म बारीतिर लागेँ । सुकेको खरभन्दा केही थिएन । पट्मेरोको रूखनेर गएँ । माथितिर हेरेँ । एकछिन निश्चल भएर उभिएँ । मध्याह्नको सिरसिर बतासले मेरो कपाल अनुहारतिर ल्यायो । मैले कपाल पन्छाएर जुरो बाँँधेँ । रूख चढ्न सक्छु कि जस्तो लाग्यो । खुकुरीले रूखमा खुट्किला काटेँ । काटेको खुट्किलामा चढ्दै मास्तिर अर्को खुटिकला काट्दै म रूख चढ्न थालेँ । म यत्ति डराएकी थिएँ कि कहालिएर तल बजारिन सक्थेँ । रूखसँगको निकैबेर रस्साकस्सीपछि मैले रूखलाई जितेँ ।

माथि पुगेर भुईंतिर हेरेँ । भुईं निकै तल थियो । मलाई अचम्मैसित कहाली लाग्यो । बेर्थै चढेछु जस्तो पनि भयो । घाँस झारेर बाख्रालाई हाल्नु नै थियो, त्यसैले म घाँस झार्न लागेँ । थोरै घाँस झारेकी थिएँ, खुकुरी हाँगातिर अड्याएर पाइला सार्न खोज्दा खुकुरी भुईंमा झरिहाल्यो । खुकुरीको टुप्पो सिधै भुईंमा रोपिएर बिँडपट्टि ठाडो भएर उभियो ।  तलतिर हेरेर मैले लामो गरी सास फेरेँ । खस्छु कि खस्छु कि जस्तो लाग्न थाल्यो । शान्त हुने कोशिस गरेँ । कोही छन् क भिनेर चारैतिर हेरेँ । तलको खुकुरी माथि समात्न दिन कोही थिएन । एक त म बडो धरमरमा रूख चढेकी थिएँ । अर्को, झरेर फेरि चढ्न मेरा लागि हिमाल चढ्नु जस्तै कठिन थियो । तल झर्न पनि आँट गर्न सकिनँ । त्यसै त्यसै खुट्टा कामेका थिए । मुटु हल्लिएको थियो । पारिपट्टि हेरेर रूखमै उभिइरहेँ । 

‘निर्जला ! तिमी किन रूख चढेकी ? रूख चढ्न डर लाग्ने मान्छे, रूख चढ्ने हो त !’ परिचित पुरुष आवाजले म झसङ्ग भएँ । मुन्टो फर्काएर भुईंतिर हेरेँ । त्यो आवाज उही उत्तमको थियो । उत्तमलाई देखेपछि डर र कहालीले चाउरिएको मेरो अनुहार सायद उज्यालियो । मैले भनेँ, ‘दाइ, तपाईं हराउनुभैहाल्यो । कोही मान्छे नभेटेपछि खसे खस्छु भनेर आँट गरेँ । यी डाम्नाले मेरो मासु खाए । किन्ने मान्छे खोजिदिनु न ।’ ‘यी बाख्रा पनि बेचेपछि तिमी घरमा के गरेर बस्छ्यौ ?’ ‘हैन दाइ, कराएर मेरो गिदी नै हल्लाइसके । यिनलाई बेच्छु अनि सुतेर बस्छु ।’

‘हो हो, पराईको त पैसा कमाएर पठाइदिने मान्छे छँदै छन् नि ! सुतेर बसे पनि हुन्छ ।’

उत्तमको कुरा सुनेर म अलिकति हाँसेँ । 

उसले भन्यो, ‘ल, तिमी झर । म घाँस झार्दिन्छु ।’

‘कसरी झर्नु दाइ ? खुट्टा लगलग कामेका छन् । मुटु ढुकढुक गरिराछ । म त झर्नै सक्दिनँ ।’

‘रुखमै बसिराख्छ्यौ त ? कसरी चढिथ्यौ, त्यसरी झर न ।’ मैले सिरानको खुट्किलामा एउटा खुट्टा राखेँ । अर्को खुट्टा तल्लो खुट्किलोमा झारेँ । त्यसभन्दा तल झर्न आँट गर्न सकिनँ । म निकै डराएको कुरा उत्तमले सायद थाह पायो । उत्तम तीनचार खुट्किला माथि चढ्यो । उत्तमले बडो अप्ठ्यारो मान्दै मेरो कम्मर देब्रे हातले च्याप्प समात्यो । म एक बलशाली पुरुषको बलिष्ट हातको फेरोमा थिएँ । मलाई भित्र कतै काउकुती लागे भैmँ भयो । पूरा शरीरमा एक किसिमको झन्झनाहट भयो ।

उसले जतनले मलाई भुईंमा ओराल्यो । मेरा हातखुट्टा लुगलुग कामेका थिए । केही बोलिनँ म । मलाई रिँगटा लागेको थियो । म भुईंमा थचक्कै बसेँ । उत्तम खुकुरी लिएर रूख चढ्यो । घाँस झार्न लाग्यो । म उसले घाँस झारेको हेरिबसेँ ।

गाउँमा उत्तम थियो र त गाह्रोसाँघुरो गाँठो फुकेको थियो । ऊ पनि नभए त के हालत हुँदो हो ! म उत्तमलाई मनको आँखाले हेर्न थालेँ । हेर्दा हेर्दै उत्तम मेरै मान्छेमा परिणत भयो । उसलाई मैले मेरो लोग्ने बसन्त देखेँ । अर्थात् मैले उत्तमलाई लोग्ने बनाएँ । म गहिरो सोचमा परेँ, ‘पुतली जस्ती छोरी र गुलाफ फुलेको मेरो यौवन छाडेर परदेसिने लोग्ने के लोग्ने ? लोग्ने होस् त उत्तम जस्तो होस् । सधैँ साथमा बसिरहने । काँधमा काँध मिलाउने । दुःखमा अनि सुखमा सँगै रहने ।’

सोच्दा सोच्दै म उत्तमको अँगालोमा बेरिएँ । उत्तमका हातहरू मेरा अङ्गप्रत्यङ्गमा डुल्न थाले । मैले उत्तमलाई अभैm अँगालोमा कसेँ । बसन्तसँगको सुहागरातको अनुभूति भयो मलाई । उनको तातो उच्छवासले मेरा ओठहरू सुस्तरी छोएर गयो । त्यसपछि मैले आँखा चिम्लिएँ । असीम आनन्दानुभूत गर्दै मैले तन र मन उत्तममै समर्पण गरिदिएँ ।

‘ममी ! ममी !! तपैँ काँ गाको ?’ भनेर छोरी चिच्च्याएको सुनेपछि म झल्याँस्स भएँ  । म अवचेतनबाट चेतनमा फर्किएँ । पसिनै पसिना भएकी थिएँ । उताउति हेरेँ, कोही थिएन । उत्तम रूखमा घाँस झार्दै थियो । मैले सम्हालिएर भनेँ, ‘दाइ, पुग्यो घाँस । छोरी बिउँझिछे, म घर जान्छु । अहिले घाँस समेलेर लान्छु । तपाईं खाजा खाएर जानु  है !’

उत्तमले भन्यो, ‘मलाई भोक लागेकोे छैन बैनी । घरमा देखा परेर मात्र आएको, अहिले आमा मलाई खोज्न हिँड्नुहुन्छ ।’ 

उत्तमका कुरा पूरा नसुन्दै म घर पुगेँ । म पुगेर छोरीलाई खाजा खुवाई नसक्दै ऊ आँगनमा आइपुग्यो । मैले खाजा खान अनुरोध गर्दा उसले इन्कार ग¥यो । घरपछाडिबाट उकालो लागेर उत्तम आफ्नो घरतिर गयो ।

उत्तम गाउँमै ‘उत्तम’ मानिस थियो । अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्थ्यो । गाउँभरिको असल मानिस, श्रीमतीका लागि भने खराब भइदियो । बिहे गरेको वर्ष दिन पनि नपुग्दै उसकी श्रीमती अनेक निउँ खोज्न थालिन् । उत्तमले सीमासम्मै भाउजूलाई स्वतन्त्रता दिएको थियो । राम्रैसँग स्वतन्त्रताको उपभोग गरेकी थिइन् भाउजूले । अर्कै केटासँग भाउजूको लसपस भएको थाह पाएपछि उत्तम हच्कियो । एक दिन उत्तमले भनेछ, ‘राधिका, सधैँ झगडा गरेर एउटै खाटमा सुत्नुभन्दा बेलैमा छुट्टिनु तिम्रा लागि कल्याण हुन्छ । तिमी तिम्रो सुर गर । म आफ्नो सुर गर्छु ।’

गुच्चा जस्ता आँखा पल्टाएर भाउजूले भनिछन्, ‘तिमीले मलाई बुझ्न सकेनौ उत्तम ! मेरा सारा चाहनाको तिमीले हत्या ग¥यौ । म पनि अब तिमीसित सँगै रहन सक्दिनँ ।’ यो खटपट परेको भोलिपल्टै भाउजू माइत गइन् । मोबाइलसोबाइल अफ गरेर बसिन् । माइतीतिरकै केटासँग राधिका हिँडेको कुरा अर्को हप्ता थाह भयो । त्यसपछिका दिनमा उत्तम एक्लो जस्तै भएको थियो । अर्धाङ्गिनी भनिएकी श्रीमतीले व्यवहार भत्काएर हिँड्दा कसको मन टुट्दैन होला र ! मन त दुख्यो होला नि ! तर उसको अनुहार कुनै एकाकी नीरसता देखिएन ।

दुई वर्षअघि सासूआमा बितेपछि म पनि एक्ली भएकी थिएँ । गाउँमा बस्नै मन थिएन । बाख्रा बिव्रmी नभएर बस्नुपरेको थियो । लोग्नेले पनि मन्थलीतिरै जान भनेका थिए । 

मैले छिट्टै बाख्रा बेचेँ । अब मलाई घरमा बाँधेर राख्ने केही थिएन । मैले गाउँ छाड्ने दिन, म हिँड्ने बेला उत्तम आइपुग्यो । मैले भनेँ, ‘दाइ, बाटोमा तलमाथि गर्दा यो घरतिर पनि आँखा लगाउनु होला है !’

उत्तमले टाउको हल्लाएर ‘हुन्छ’ भन्यो । उसको पनि अनुहार अँध्यारो भएको थियो । म रुन मात्र सकेकी थिइनँ । मैले ढोकामा ताल्चा मारेँ । छोरी बोकेँ । उत्तमले झोलाझ्याम्टा बोक्यो । माथि सडकमा पुगेपछि झोला राखेर उसले भन्यो, ‘मलाई अलि हतार छ । बस आएपछि चढेर जाऊ । म मन्थली आउँदा तिमीलाई भेट्छु नि !’ 

उत्तमले यसो भन्दा मेरा आँखा रसाए । ऊ घरतिर लाग्यो । म बस चढेर मन्थली झरेँ । मन्थली आएपछि बोर्डिङ स्कुलनजिकै कोठा खोजेँ ।  नामाडीमा जन्मेहुर्केकी, बिहेपछि फुलासीको अग्लो ठाउँमा बसेकी मान्छे, सुरुमा मलाई मन्थलीको गर्मीले बसिखान दिएन । खान रुचि भएन । गर्मीले आलसतालसै बनायो । छोरीलाई पनि घमौराले दुःख दियो । बिरामी परेको प¥यै भई । 

त्यसअघि म एक दुई पटक मात्र मन्थली आएकी थिएँ । यत्तिको गर्मी हुन्छ भन्ने मलाई हेक्का थिएन । मन्थलीमा टिक्न सक्दिनँ कि जस्तो लाग्न थालेको थियो । बिहान १० बजे छोरीलाई स्कुल पु¥याएर फर्केपछि म एक्लै तामाकोसी किनारतिर डुल्थेँ । गाउँका अरूहरू पनि छोराछोरी पढाउन मन्थली झरेका थिए । मेरो न्यास्रो र छटपटी बिस्तारै कम हुँदै गयो । नजिक बसेका अरूलाई पनि साथी भए । साथीसँग हँसिमजाक र रमाइलो गर्दागर्दै मैले मन्थलीको गर्मी पचाएँ । म साथीसँग कहिले एयरपोर्ट छेउबाट पसेर तामाकोसी किनारैकिनार हाटेचौरतिर पुग्थेँ । देवकोटा चोकतिर आउजाउ हुन थालेपछि गाउँका मानिसहरू थुप्रै भेट्न थालेँ । मेरो न्यास्रो केही समयमै दूर भयो । तर मभित्र एउटा न्यास्रो स्थायी भएर बसेको थियो । त्यो न्यास्रोको खास कारण मैले अरूलाई बताउन हुन्थेन । 

एउटा अनुहार म पलपलमा खोजिरहेकी हुन्थेँ । त्यो अनुहारसँग मेरो लामै सयमदेखि साक्षात्कार भएको थिएन । पूर्णिमाको जून जस्ती उज्याली र भर्खरै जन्मिएकी पाठी जस्ती चुलबुले छोरी साथमै हुँदा पनि मभित्र एउटा अभाव खट्किरहेको थियो ।

मैले खोजिरहेको अनुहार उही उत्तमको हो । वास्तवमा ऊ मभित्र अभिन्न र एकाकार भएर उपस्थित थियो । उत्तम  किन मभित्र अमिट भएर बसेको थियो, त्यस्तो खास कारण मलाई नै थाह थिएन । उसले मसित न मायाप्रेमको कुरा गरेको थियो न टाढानजिकको कुरा गरेको थियो । उत्तमको विचारमा मानवता सबैभन्दा माथि थियो । सबै घटना र वस्तु स्थानजन्य छन्, क्षणिक छन् तर मानवता विश्वजनीन र स्थिर छ भनेर भेटे जति सबैलाई बुझाइरहन्थ्यो । मानिस मर्छ तर उसले गरेका राम्रानराम्रा कर्महरू कहिल्यै मर्दैनन् भनेर 

ऊ सम्झाइरहन्थ्यो । 

सदरमुकाममा गाउँका मान्छे भेट हुँदा मैले उत्तमको बारेमा सोधखोज गर्न नखोजेकी होइन । अन्य अर्थ लाग्ला भनेर म त्यसो गर्न हिच्किचाएकी थिएँ । नम्बर फेरिएर हुनसक्छ, उनको फोन अफ थियो । नयाँ नम्बर कसैसँग मागिहाल्न पनि अप्ठ्यारो लागेको थियो । 

असोज–कात्तिकमा गर्मी कम हुन थालेपछि त मलाई मन्थली निकै राम्रो लाग्न थाल्यो छोरी स्कुल पठाएपछि म फुर्सदिली हुन्थेँ । साथीसँग बसपार्क घुम्थेँ । मन्थली भञ्ज्याङतिर जान्थेँ । तर मेरा आँखा हरहमेसा मन्थलीका चोकचोकमा उत्तम खोजिरहेका हुन्थे ।

मन्थली हाटेचौरमा लाग्ने सोमबारे हाटबाट म हप्ता दिनलाई पुग्ने गरी तरकारी किनेर ल्याउँथेँ । त्यहाँ गडतिरको गेडागेडीदेखि लेकको आलुसमेत पाइन्छ । बाहिरबाट आएका कर्मचारी, विद्यार्थी, व्यापारी प्रायः सबैको रोजाइ हो त्यो दिनको हाट । 

म हाटेचौरको हाटमा तरकारी छान्दै थिएँ । म टहरामुनिको तरकारी हेर्न थाले । ‘निर्जला !’ कतै सुनेको परिचित जस्तै लाग्ने सम्बोधनले म झल्याँस्स भएँ । फरक्क फर्किएँ । उत्तमलाई सामुन्ने देख्दा म हतप्रभ जस्तै भएँ । मैले वर्ष दिनदेखि खोजिरहेको अनुहार थियो त्यो । 

‘दाइ, तपाईंलाई नखेको एक वर्ष भयो । कता देखूँ भएको थियो ।’ मैले तरकारीको प्लास्टिक चौतारोमा राखेँ । तरकारीको पोकोलाई बिचमा पारेर हामी दुईतिर बस्यौँ । मलाई लामो समयपछि उत्तमसँग कुरा गर्ने मौका मिलेको थियो । सन्चोबिसन्चोको भलाकुसारी भयो । उसमा मसँग कुरा गर्न अनिच्छाभाव देखिएको थियो । मलाई भने ऊसँग मनको सबै बह पोख्न मन लागेको थियो । रूखबाट ओर्लन नसक्दा उसले मलाई च्याप्पै कम्मरमा समातेर तल झारेको थियो । मेरो शरीरले उसको स्पर्श पाएको क्षण म त्यसै त्यसै उत्तालिएको थिएँ । मलाई उत्तम मन पर्न लागेको थियो । उसको जिउडाल, हिँडाइ, हेराइ, बोलाइ सबै मन पर्न लागेको थियो । कता कता ऊ आफ्नो लाग्न थालेको थियो । सायद ऊ यस्ता कुरामा निष्पृह थियो । भाउजू हिँडेपछि मैले उसलाई अर्की भाउजू ल्याउन ढिपी गरेकी थिएँ । उसले भनेको थियो, ‘मलाई अर्को बिहे गर्न खासै मन छैन बैनी । गर्नै परे पछि सोचौँला । उमेर गएको छैन ।’

हाटमा मानिसहरू आपूmलाई आवश्यक सामान किनिरहेका थिए । तल्लो छेउतिर मझेनीहरू जाँड छानेर बेच्दै थिए । चौतारोमा बसेर हामी हटारुहरू व्रिmयाकलाप हेरिरहेका थियौँ । साँच्चै, त्यो हाटमा हरेक जीवनको फरक फरक लय थियो । 

उत्तम उठ्न लाग्यो । मैले भनेँ, ‘दाइ, आज यतै बसौँ ।’ उसले अप्ठेरो मान्दै भन्यो, ‘हुँदैन बैनी, आमा बाटो हेरेर बस्नुहुन्छ ।’

मैले जोड गरेँ, ‘तपाईं आज यतै बस्नु पर्छ ।’

उसले  सोध्यो, ‘किन बस्न परो बैनी ?’

मैले अन्तरहृदयको आवाज रोक्न सकिनँ । हृदयबाट आएको आवाज फुत्किहाल्यो, ‘कि तपाईं यतै बस्नुस्, कि मलाई तपाईंकोमा लैजानुस् ।’ मेरा कुरा सुनेर ऊ झस्कियो । भन्यो, ‘के भनेको तिमीले ?’मैले बह ओकलेँ, ‘उत्तम, उनले यताको माया मारिसके । फोन पनि उठाउँदैनन् । सम्पर्क नभएको छ महिना भयो । सँगै काम गर्ने नेपाली केटीसँग लिभिङ टुगेदरमा छन् रे । उनले आफ्नो बाटो बदलेपछि म आफ्नो बाटो बदल्न स्वतन्त्र छैन र उत्तम !’

ऊ अलि कडा भएर बोल्यो, ‘सुनेको भरमा विश्वास गर्नुहुन्न बैनी ।’मैले अर्को दलिल पेस गरेँ, ‘हेर्नुस्, यी उनीहरूले सँगै खिचेका फोटा ।’

उत्तम उठ्यो । मैले हात समातेर बसाउन खोजेँ । मेरो हात झड्काल्दै ऊ बोल्यो, ‘मसँग यस्ता कुरा नगर्नू ।’

यति भनेर उत्तम बाटो लाग्यो । उसले फर्केर हेरेन । म उभिएर ऊ ओझेल नपरुन्जेल हेरिरहेँ । ऊसँग मैले मनको बह पोख्नै पाइनँ । खल्तीबाट मोबाइल झिकेर घडी हेरेँ, ‘ओ हो ! छोरीलाई स्कुल पठाउन ढिलो भइसकेछ ।’ 

दिमाग शून्य शून्य भएको थियो । म छिटो छिटो कोठामा आएँ । कोठा आइपुग्दा जिउ पसिनैपसिना भएको थियो । गर्मीले हैन, अर्कै केले केले !