• २४ कात्तिक २०८२, सोमबार

आश्रमलाई सिगानाबासीको १६ लाख बढी सहयोग

blog

सहयोगदाता सिगानाबासीलाई प्रमाणपत्र प्रदान गरिदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक २४ गते । मानवसेवा आश्रमको भवन निर्माण र अक्षय कोषका लागि आयोजित श्रीमद भागत ज्ञानविज्ञान महायज्ञमा बागलुङ नगरपालिका –८ सिगानाबासीले संस्थागत रुपमा सहयोग गरेका छन् । 

उनीहरुले वडा कार्यालय, वडाभित्रका सामाजिक संस्था र व्यक्ति समेत एकै पटक आएर दान गरेका हुन् । सोमबार आयोजित कार्यक्रममा सिगानाबासीले पञ्चेबाजासहित आएर महायज्ञमा आकर्षण समेत बढाएका थिए । वडा अध्यक्ष छमबहादुर कार्कीको नेतृत्वमा आएका स्थानीयले महायज्ञमा भजनकृतनसहित आम नागरिकको ध्यान खिचेका छन् । 

उनीहरुको सहयोगलाई एकीकृत गरेर सोमबार १६ लाख बढी सहयोग जुटेको सिगानास्थित भगवती आधारभूत विद्यालयका अध्यक्ष गोबिन्दप्रसाद गौतमले बताउनुभयो ।

वडा कार्यालयको तर्फबाट ५ लाख ११ हजार रुपियाँ सहयोग भएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले उक्त रकमलाई आश्रमको एक कोठा निर्माणमा योगदान गर्ने प्रयोजनस्वरुप सहयोग भएको जानकारी दिउनुभयो । 

त्यसबाहेक बानपा –८ का सिगाना मावि र बौंडेचौर मावि गरी दुई माध्यमिक विद्यालय र तीन प्राविगरी ५ विद्यालय, दुई सामुदायिक वन उपभोक्ता समिति, सिगानास्थित मातृभूमि सिकाइ केन्द्र र सिगानामा क्रियाशील १८ वटा आमा समूहले समेत सहयोग गरेका हुन् । आमा समूहले मासिक रुपमा संकलन गर्ने बचतबाट आश्रमलाई सहयोग गरेका हुन् । 

आश्रममा सडकमा अलपत्र भेटिने तथा आश्रयविहीन नागरिक राख्ने भएकाले सहयोगको हात बढाएको स्थानीयबासीले जानकारी दिएका छन् । महायज्ञमा १० करोड रकम संकलन गर्ने लक्ष्य छ । महायज्ञ सुरु भएको दुई दिनमै १ करोड रुपियाँ संकलन भएको छ । पछिल्लो दिनको हिसाब आउन बाँकी रहेको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिनुभयो । 

महायज्ञ कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा नियमित कथा प्रवचनसहित भजनकृतन, योग शिविर, विद्यार्थीका लागि उत्प्रेरणात्मक कार्यक्रम समेत सञ्चालनमा छ ।