• २३ कात्तिक २०८२, आइतबार

‘आन्दोलनलाई अपराधीकरण गर्न खोजियो’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २३ गते । जेनजी युवा पुस्ताले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको सहभागीहरुले बताएका छन् । विवेकशील साझा पार्टीले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जेनजी स्वतन्त्र वैकल्पिक शक्ति गोलमेच’ अन्तरक्रिया कार्यक्रममा वैकल्पिक पार्टीका नेता र जेनजी नेताहरुले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने मत राख्नुभएको हो । 

विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा  बास्कोटाले जेनजीहरु सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध आन्दोलन गरेपछि बदनाम गर्ने प्रयास भएको बताउनुभयो । जेनजी आन्दोलनपछि वैकिल्पक शक्ति निर्माण गर्न रातदिन बहस गरे पनि निष्कर्षमा नपुगेको उहाँले स्वीकार गर्नुभयो । 

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका संयोजक धनेज थापाले अहिलेको पस्थितिमा युवाको भावनाको कदर गर्नुको विकल्प छैन भन्ने बताउनुभयो । 

विवेकशील साझा पार्टीका नेता रञ्जु दर्शनाले जेनजी आन्दोलनमा भौतिक संरचना जलेकोमा धेरैको मन पोले पनि भदौ २३ गते विद्यार्थी खरानी भएको कसैले नदेखेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले जेनजी आन्दोलनले उठाएको मुद्दालाई संस्थागत गरेर वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

रास्वपाका नेता पवन देवकोटाले जेनजी आन्दोलनमा लुटिएका हतियार र कैदी जेलमा नफर्किदासम्म चुनाव नहुने भएकाले त्यसमा जेनजीले दबाब दिनुपर्ने  बताउनुभयो । विवेकशील पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले पुराना दलले युवा खाडी पठाएर राज्यको दोहन गरेको आरोप लगाउनुभयो । नेपाल समाजवादी पार्टीका संयोजक दुर्गा शोभले जेनजी आन्दोलनले राजनीतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा उथलपुथल ल्याएकाले संस्थागत गरेर बैकिल्पक शक्ति निर्माण गर्नुपर्ने बताउनुभयो । 

वैकल्पिक पार्टी मिल्न जेनजीको सुझाव  

जेनजी फन्टका नेता अमृता वनले व्यक्तिगत इच्छा आकाङ्क्षा, इगो सबै त्यागेर वैकल्पिक शक्ति एक हुनुपर्ने सुझाव दिनुभयो । जेनजी नेता रिजन रानामगरले आफूहरुले हिम्मत र साहस गरेर सुशासनको माग राखेर भ्रष्टाचार विरुद्ध एतिहासिक विद्रोेह गरेकाले आन्दोलनलाई संस्थागत गर्नुपर्ने बताउनुभयो । 

हाम्रो नेपाली पार्टीका नेता सैलेन्दमान बज्रजार्यले जेनजी सहित वैकल्पिक शक्ति पार्टीहरु एक भएर १६५ निर्वाचन क्षेत्रमा जेनजी उठाएर निर्वाचित गर्ने वातावरण बनाउनुपर्ने मत राख्नुभयो । नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरीले वैकल्पिक शक्ति निर्माण निर्वाचनमा जाँदा निर्वाचन आयोग बाधक बन्ने गरेकाले संशोधन हुनुपर्ने माग राख्नुभयो । मौलिक जरोकिलो पार्टीका अध्यक्ष अरुण पौडेलले नेपाली माटो सहुँदो वैकल्पिक पार्टी बनाउनुपर्ने सुुझाव दिनुभयो ।