• २४ कात्तिक २०८२, सोमबार

मालपोत कार्यालय बाँकेले थाल्यो आंशिक सेवा

blog

मालपोत कार्यालय बाँके ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, कात्तिक २४ गते । गत जेनजी आन्दोलनका क्रममा गम्भीर क्षति व्यहोरेको बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले पुनः आंशिक सेवा थालेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, तोडफोड र लुटपात हुँदा भौतिक संरचना र महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएको थियो ।

हाल कार्यालयले नेपालगञ्ज –९ स्थित विद्युत प्राधिकरण नजिकैको नयाँ भवनबाट आंशिक सेवा सुचारु गरेको हो । आगजनीमा अभिलेखहरू नष्ट भएकाले कार्यालयले ती विवरणहरू पुनः संकलन गर्न थालेको छ । यसै क्रममा, कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गरेको छ ।

उक्त सूचनामार्फत, विभिन्न निकायहरूले घरजग्गा रोक्का राखेको भए त्यसको विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । अदालत, बैंक, वित्तीय संस्था, सहकारी, अख्तियार, प्रहरी, आन्तरिक राजस्व, स्थानीय तह, ऋण असुली न्यायधिकरण, बीमा, सञ्चय कोष, नागरिक लगानी कोष लगायत अन्य संघ–संस्थालाई आफ्नो रोक्का सम्बन्धी अभिलेख बुझाउन भनिएको छ ।

कार्यालयले धितो बन्धक वा अन्य कुनै कारणले रोक्का गरिएका घरजग्गाको विवरण उपलब्ध गराएर अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।