उकुचको जलप
यसलाई कथा भन्ने वा नभन्ने ? कथा भनौँ यो कथाजस्तो पनि छैन । कथा नभनौँ यसमा कथैकथा छन् । जताततै छरपष्ट हुने, यत्रतत्र सर्वत्र हुने तर देखिन चाहिँ कतै नदेखिने कथा ! त्यसैले यसको विधाकरणमा मलाई नि सकस भएको हो । खोइ यो कथा अरूले देख्छन् कि देख्तैनन् ? म भने जुनसुकै चलायमान व्यक्तिको निधारमा पनि यो कथाको कुनै न कुनै अंश टाँस्सिएको नै देख्छु । तर यो कथा सबैका आँखाले नदेखिने खालको छ । यो कथा नदेखिएर पनि के भो र ? हरेकको कता हो कता भित्रभित्र पसेर दुखिरहने कथा त यो पक्कै पनि हो । त्यसै हुनाले यसलाई मैले टिप्ने जमर्को गरेँ । बिझेको काँढा झिक्ने हो भने काँढै चाहिन्छ भनेझैँ थिलथिलाउँदो भएर भित्रभित्रै पाकेको यस घाउको पिपभित्र डुबेको काँढा झिक्न यतिबेला म आफैँ काँढा भएकी छु ।