• ८ मंसिर २०८१, शनिबार

कथा

उकुचको जलप

इन्दिरा प्रसाईं

 जलपमा उकुच :

यसलाई कथा भन्ने वा नभन्ने ? कथा भनौँ यो कथाजस्तो पनि छैन । कथा नभनौँ यसमा कथैकथा छन् । जताततै छरपष्ट हुने, यत्रतत्र सर्वत्र हुने तर देखिन चाहिँ कतै नदेखिने कथा ! त्यसैले यसको विधाकरणमा मलाई नि सकस भएको हो । खोइ यो कथा अरूले देख्छन् कि देख्तैनन् ? म भने जुनसुकै चलायमान व्यक्तिको निधारमा पनि यो कथाको कुनै न कुनै अंश टाँस्सिएको नै देख्छु । तर यो कथा सबैका आँखाले नदेखिने खालको छ । यो कथा नदेखिएर पनि के भो र ? हरेकको कता हो कता भित्रभित्र पसेर दुखिरहने कथा त यो पक्कै पनि हो । त्यसै हुनाले यसलाई मैले टिप्ने जमर्को गरेँ । बिझेको काँढा झिक्ने हो भने काँढै चाहिन्छ भनेझैँ थिलथिलाउँदो भएर भित्रभित्रै पाकेको यस घाउको पिपभित्र डुबेको काँढा झिक्न यतिबेला म आफैँ काँढा भएकी छु । 


 भूमिकामा उकुच :

छोराछोरी र सासूससुराका साथमा रहेर गृह व्यवस्थापनमा नै गहिरिएरै रम्ने मेरो इच्छा अधुरै रहेको थियो । किनभने जोसँग म जीवनसाथीका रूपमा गाँसिएँ उनले आय आर्जनको बाटो समाएनन् । त्यसैले गृह व्यवस्थापनका साथै घर बाहिरको जागीर समेत  मेरो रहर होइन वाध्यता बनेको थियो । ‘पढेलेखेकी बुहारीले नै पनि त जागीर खाइदिए घर चलाउन सजिलो हुने थियो ।’ ससुराको पेन्सनको पैसाले मात्र घरखर्च चलाउन गाह्रो भएपछि सासूले टिप्पणी गर्न थालेकी थिइन् । त्यसैले पनि मैले जागिर त खानु नै पर्ने भएको थियो । 

तर जागिर खान्छु नै भनेर भेटिने कुरा पनि त थिएन । दौडधुप, भनसुन, लिखित मौखिक अन्तर्वार्ता जति दिए पनि आफूले भनेजस्तो जागिर नभेटेपछि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा म जागिर खान थालेकी थिएँ । यस्ता  संस्थाहरू हाम्रो धर्म संस्कृति नास पार्न उद्यत छन् भन्ने थाहा पाउँदा पाउँदै पनि म त्यही संस्थासँग आबद्ध भएकी थिएँ । किनभने चौतर्फी महँगीका कारण घरव्यवहार सञ्चालन गर्न अथवा लोग्नेलगायत परिवारका सबैलाई खुसी पार्न मलाई निकै मोटो रकमको खाँचो थियो । अनि यति मोटो रकम अन्य स्वदेशी जागिरमा भ्रष्टाचार गर्न पाउँदा मात्र आर्जन गर्न सकिन्थ्यो । त्यसैले गतिलो तलब दिने यस गैरसरकारी संस्थामै मैले जागिर खानु पनि मेरो रहरभन्दा बढी बाध्यता नै थियो । 

पचास हजार जनसङ्ख्या भएको त्यस भेगमा त्यस दिन ‘पितृसत्तात्मक व्यवस्थामा आइमाईले बेहोर्नु परेको सौता प्रकरण र त्यसबाट आइमाई जातिले बेहोर्नु परेको दुःख र कष्ट’ विषयमा  अन्तक्र्रिया गरिँदै थियो । यी गैरसरकारी संस्थाहरू बाहिर देखिँदा स्त्रीमैत्री झैँ देखिन्थे तर यिनीहरूको भित्री लक्ष्य वा उद्देश्य जसरी भए पनि व्यक्ति, घर, परिवार, समाज गर्दै मुलुकै कमजोर पार्ने हो भन्ने कुरा अब मलाई पनि प्रष्ट हुँदै गएको थियो । स्त्री शक्तिलाई नै भाँडिदिएपछि पुरुष कमजोर हुन्छ र पुरुष कमजोर हुनासाथ परिवारमा विखण्डन हुन्छ । विखण्डित परिवारले बनेको समाज र राष्ट्र बलियो हुन सक्तैन । त्यस्तो कमजोर राष्ट्रका विविध खाले कमजोरीको फाइदा उठाएर त्यस्ता राष्ट्रलाई शक्ति राष्ट्रहरूले आफ्नो गुलाम बनाएको परिदृश्य पनि मैले विश्वको इतिहासमा पढ्दै आएको कुरा थियो । 

अहिले यो मेरो संस्थाद्वारा आयोजना गरिएको यस अन्तक्र्रियाको निष्कर्ष पनि पितृसत्ताको दोष देखाउनु नै थियो । पितृसत्ताबाट पीडित स्त्री जातिबाट विष बमन गराउने लक्ष्यले यो कार्यक्रमको आयोजना हुँदै थियो । जे होस् यस कार्यक्रमको उद्देश्य नै पितृसत्तात्मक व्यवस्थालाई चारैतिरबाट घेरेर खराब प्रमाणित गराउनुपर्ने थियो ।

हाम्रा पूर्वजले वर्षौं लगाएर स्थापना गरेको पितृसत्तात्मक सामाजिक ढाँचाको म विरोधी थिइनँ । मेरो जन्मका पूर्वाधार मेरा पुरुष पूर्वजहरू, शिशु अवस्थादेखि मेरो संरक्षण र मेरो व्यक्तित्व विकासका आधार मेरा पिता, मेरो बाल्यकालदेखिकै मेरो प्रथम मित्र र सहयोगी बनेको मेरो भाइ, पाठशाला, कलेज र विश्वविद्यालयमा मलाई ज्ञान दिने मेरा गुरुहरू र मलाई अप्ठ्यारो पर्दा  सहयोग गर्ने पुरुष मित्रहरू पनि थिए । मभित्र दाम्पत्य प्रेमको अनुभूत गराउने मेरा प्रेमी पति, मैले प्राणको बाजी थापेर  जन्माएको ममा वात्सल्यको अपरिमित कोसी बगाउने मेरो छोरो लगायत सबै पुरुषहरू रिक्त हुने हो भने मैले भोगिरहेको जीवन रङ्गमञ्चको मेरा लागि कुनै अर्थ थिएन । त्यसैले म पितृसत्ता भनेर एकोहोरो विरोध गर्नुपर्ने कुनै  औचित्यै देख्तिनथेँ । किनभने संहार गर्न त  सजिलो हुन्छ तर निर्माण गर्न कठिन हुन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेकी थिएँ । संसारको सबैभन्दा पुरानो र पुरानो भईकन पनि महìवपूर्ण संस्था परिवार हो र परिवार नारी र पुरुषको सहअस्तित्वको सम्मानले जोगिने, बलियो बन्ने र विकसित हुने कुरामा पनि म विश्वस्त थिएँ । परिवारका उत्पादन नयाँ पुस्ता पनि नारी र पुरुष दुवैको माया, प्रेम र सदभावले नै संवद्र्धित हुन्छन् भन्ने पनि मेरो मान्यता हो । अर्को कुरा नयाँ घर बनाउने सामथ्र्य नबटुली हुँदाछँदाको घर भत्काएर पाटीको वास हुनु पनि मलाई बुद्धिमानी लागेको थिएन । त्यसैले मलाई पितृसत्तात्मक व्यवस्थामै पनि पतिपत्नीको सहअस्तित्व हार्दिकतापूर्वक स्वीकार थियो । जसले गर्दा पितृसत्ता भनेर एकोहोरो पुरुषको विरोध गरिने परिपाटी मलाई कहिल्यै रुचिकर लाग्दैन थियो । त्यसैले अन्तक्र्रियापछि यस विषयमा लेख्नुपर्ने निष्कर्षप्रति मेरो मन आन्दोलित थियो । 

लोग्नेले सौता हालिदिनाले पीडित बनेका पाका र युवा गरी बीस जना जति आइमाईलाई त्यस दिन त्यहाँ भेला पारिएको थियो । मैले यी सबैको कथाको टिपोट गरेर आफ्नो निष्कर्ष ‘पितृसत्ता ः महिलाको व्यक्तित्व विकासको अवरोधक हो’ भनेर पुष्ट्याइँ गर्ने गरी एउटा कार्यपत्र लेख्नु पर्ने थियो । 

अरू आफ्ना मनका विचार वा सिद्धान्त आफ्नै निजी खोपीमा राखेर आफ्नो जागिरे धर्म निर्वाह गर्नु नै यति बेलाको मेरो कर्म थियो । 

त्यसैले मैले पालैसँग उपस्थित पात्रहरूसँग प्रश्न गर्न लागेँ र उनीहरू क्रमशः  आआफ्ना कथा भन्न थालेका थिए  । अनि मैले आफ्नो ल्यापटपमा कथा टिप्न पनि थालेँ । 

उकुचका लस्कर :

उकुच : १

मर्नै लागे । ‘त्यसलाई जसरी नि फकाइदे । नत्र हेर बूढी, म त बाँच्तिनँ होला’ पो भने । म नि रोएँ । उनी नि रोए । 

‘बाबै यी मरिगए सेता धरा लाएर म कसरी बाँचुली !’ यस्तै भएर आयो मुन पनि त्यतिबेला । साख्खै भदैनी केटी । अधबैँसे खसमका लागि तरुणी भिœयाइदिएकी हुँ ।’ त्यसले पनि केही दिन त राम्रै पनि गरी । बिस्तारै खसमै मेरो विपरीत भई गए ।’ 

उकुच : २ 

के कोट्याउनु र बितेको कुरा पनि । फेरि आलो हुन्छ घाऊ ! 

‘मुहुनी लाग्यो क्यारे ! म त जता पनि त्यसैलाई मात्रै देख्छु । हेर ठूलेकी आमा म बौलाउँछु कि के हो ? मलाई त्यो नभई भएन के गर्छेस् ल भन ? म उतै लगुँ कि यतै भिœयाउँछेस् ?’ उनले हाक्का हाक्की भने । म त अलमल्ल परेँ । लोग्नेले छोडेर हिँड्नु त इज्जतको पसारो ! त्योभन्दा बरु ल्याउन न त यतै ! ऊ बेला मैले सरक्कै खाट छोडिदिएँ । यी अहिले आफैँले घर छोड्नुप¥यो ।’ 

उकुच : ३

‘हो त्यस बाहुनीले मेरै पेट बोकेकी हो । तँलाई के लुकाउनु र कुरो ! तँ नछुनी भएका बेला खप्न सकिन । मुर्दाले बोकिहालिछे । अब मेरो बेइजत गर्छेस् कि सुटुक्कै सिँदुरपोते ?’ के गर्नु ? के भन्नू ?  भिजेको बिरालोजस्तो भएर पसेकी बाहुनीले लोग्नेका काखमा बस्नासाथ यामाकी साँढे भएर मैलाई लखेटी ।’ 

उकुच : ४

‘हेर बूढीमान्छे, छोरा छोरी पाएपछि तेरो आङले तैँलाई धोका दिएको तँलाई नै थाहा छँदैछ । मेरो तिर्खा मेटिन सकेको छैन । त्यो पनि तँलाई नै थाहा छँदैछ । तँलाई सुत्केरी स्याहार्न तीन महिनाअघि आएकी तेरी फुपूकी छोरीसँग मेरो त्यति बेलै लसपस भएको थियो । गर्भ बसेछ । के गर्ने ? तैँ भन् ? हल्ला गरेर पनि काम छैन । आफ्नै भागमा घिउ पोख्दा खराबी नै के हुन्छ र ? बिचरी गरिब दुखी रैछे । मलाई पनि सजिलो, तँलाई पनि अह्राउ पराऊ भैहाल्छ ।’ हो जस्तै लाग्यो तर अलिबेर रैछ नि । ऊभित्र म बाहिर हुन कति बेर लाग्यो र ? 

उकुच : ५ 

‘जेठी पनि छिन् भन्ने मलाई माइतीले थाहा दिएनन् । माइतीमा पनि म भातैको काल ठानिएकी थिएँ त होला नि ? माइतीलाई बिहान बेलुकीको छाक टार्न पनि अलि दुःखै थियो ।’ धानको भात नि खान पाउली, छोरा नि पाइदेली र मालिक्नी होली’ भनेर यसो गणेश पुजेर माइतीले उनका पछि लाइदिएका हुन् । मेरा नि छोरा जन्मेनन् । मैले के गर्नु र ? मैले पनि पाँचवटी छोरी जन्माएपछि फेरि छोरै पाउन अर्की ल्याएका हुन् । धानको भातबाट मकैको खोलेमा पुगियो । यी यस्तै भो जिन्दगी ।’ 

उकुच : ६

‘घराँ सासूससुरा, देवर, नन्द, हली, गोठाला गरेर सत्र जनाको परिवार धान्न मलाई बिहे ग¥या रैछ । उनी त बेहुली भिœयाएको भोलिपल्टै पढ्न भनेर सहर गइगएँ । वर्षमा एक पटक दसैँ बेलामा आउँदै थिए । मसँग सिधामुख कहिल्यै बोलेनन् । लोग्ने घर आ’बेला पनि रातिको धन्ना सकेर बिछ्यौनामा पुग्थेँ । अँध्यारोमा छामछाम छुमछुम एक दुई पल्ट लोग्ने स्वास्नी सम्बन्ध पनि नभएको होइन । तर पनि गर्भ त रहिगो । चार सन्तान लोग्नेको अनुहारै राम्रोसँग नहेरी जन्मे । पछि उनी त घर आउनै छोडे । सासूससुरा नै छोरो भेट्न सहर जान थाले । उतै कान्छी ल्याए रे ।

‘लोग्ने रिझाउन सकिनस् अभागी ! हाल्यो नि सौता !’  सासूले भन्दा पो म झल्याँस्स भएँ । सासूससुरा यिनै हातले बिदा गरेँ । सक्किगो  जिन्दगी । 

उकुच : ७

सासूका माइती र मेरा माइतीका बीचमा के कुराँ हो टसल परेछ । उता मेरी सासूले हारिछन् । ‘तिमेरकी छोरीलाई सौता हाल्दिन्छु, के ठान्या छौ मलाई !’ मेरा माइतीलाई तुजुक देखाउँदै मेरी सासूले घरमा आएर जुँगाको रेखी बस्तै गरेको मेरो लोग्ने लिएर गइन् । नभन्दै कुन गाउँकी एउटी निर्धी केटी घराँ भित्र्याइन्  पनि । आमाका अघि नहारेका लोग्नेले मेरा अघि लत्रेर नाटक रचे । मैले नि पत्याएँ । मलाई फकाउँथे र यताउता दुवैतिर चाख्तै हिँड्थे । बर्सेनि सौता र मेरा छोराछोरी हानाथापमा जन्मन्थे । परिवारका सबै ‘हाहा क्या बात’ भन्दै रमाउँथे । सुत्केरीमा कहिले पेटभरि खान नपाए पनि बच्चा जन्मिन छोडेनन् । राति ओछ्यानमा आएपछि लोग्नेको उधुम माया हुन्थ्यो । मरोस् है अब झगडै गरेर पनि के पो गर्नु र ? हार्नु हार हारी त सकिहालेँ, भयो मलाई पनि । माइतीले पनि ‘सहनु, जे पनि सहनु’ भन्थे त्यसैले मैले पनि सही दिएँ । सहन त गाह्रो थियो तर सहेपछि सजिलो हुँदै गयो । अब त के र ? सबै कथै भो नि ! सौता र पति दुवै बिते वैकुण्ठै बास गर भनेर तर्पण त दिन्छु नै । के थाहा र ? कताकताको बास छ कुन्नि ?’ 

उकुच : ८

मेरा कोखबाट जायजन्म भएनन् । कति धामी कति झाँक्री तर पनि पारै लागेन । तबै पनि लोग्नेले उस्तो केही ग¥या थेनन् बरा । सासूले दिनरात ‘मेरो छोराको यस कुलङ्घारका कारण वंशै नामेट हुने भो’ भनेर दिन रात मलाई अर्घेलो देख्न थालिन् । बिहान उठेदेखि राति ननिदाउन्जेल उनको रामनामी भनेकै मलाई सराप्नु हुन थाल्यो । मैले कति सुन्नु ? मै आजित भएँ । लोग्नेलाई बिहे गर्न फकाएँ । पहिले त लोग्नेले मेरा कुरै सुनेका होइनन् । तर मैले आकाश पाताल, धर्म र पिण्डपानीका कुरा गरेर सौता ल्याउन सहमत गराएँ । त्यसपछि मैले मुटु बलियो पारेँ र आफैँ अघि सरेर सौता भित्र्याएँ । 

सन्तान त्यसै हुने कुरो भएन । पहिलो रात लोग्नेलाई फकाएरै सौतासँग सुत्न पठाएँ । मैले रूँदै लोग्नेलाई सौतासँग सुत्न पठाउँदा लोग्ने पनि मैसँगसँगै रोएका थिए । त्यसपछि त के थियो र ! सौताले लोग्ने रिझाइहाली छे, उनले मसँग माया पिरतीका कुरा त परै जाओस् सिधा मुखले कुरा गर्न पनि पो गाह्रो मान्न थाले । अनि सौताले बर्सेनिका छोरा जन्माइदिएपछि त म नै अर्घेली पो भएँ । त्यस्तै हो, के कुरा पो गर्नु र ? आफ्नै भाग्य उस्तो हो । घरबाट निकालेनन् । सकुञ्जेल घाँस दाउरा गरौँला नाइ, दुई छाक खान दिएकै छन् । उसैका भए नि छोरा छन्, मरेपछि कसो नपोलिदेलान् र ? 

उकुच : ९ 

म बाह्र पुगेर तेह्र लागेकी थिएँ । भरखरै नछुनीको टाटो देखिएपछि लुकेर फर्केकी थिएँ । गाउँकै एउटा अर्धोसँग बाले मेरो बिहेको कुरा चलाएछन् । अर्कै महिना बिहे छिनी गए । उनी चालिसे लाग्ने बेलाका रहेछन् । भर्खरै मरेकी स्वास्नीको ताप पनि चढेको थियो होला । बिहे गरेकै रात मलाई गर्नु नगर्नु गरे । म दुखेर चिच्याएछु, उनले मुखै थुनेर धीत मारेछन्, नाइँ । बेहोसै भएँ कि के हो ! बिहान बिम्झेँ । रगतको अहालै जस्तो थियो । त्यसपछि लोग्ने त राक्षसजस्तै लाग्थ्यो । उनलाई देख्यो कि त्यही पहिलो रातको डरले छोपिहाल्थ्यो । उनी फकाउन खोज्थे, म भाग्थेँ । लुकामरीमै फेरि पनि त्यस्तै केके भयो । एउटी मरेकै छोरी जन्मी । अहँ मैले त लोग्नेको मुखै ठाडो गरी हेर्नै सकिनँ । उनलाई म अजङ्गको राक्षस मात्रै देख्थेँ । उनलाई के थियो र ? खेत छँदै थियो । गाँस दिन गाह्रो थेन । अनि फेरि अर्की ल्याए । अर्कैकी स्वास्नी, जारी तिरेरै मभन्दा निकै उमेर छिप्पेकी ल्याए । 

त्यसपछि त मैले उनीहरूको नौटङ्की हेर्दै जिन्दगी बिताएँ । लोग्ने मर्दा पनि पो रुनै आएन । त्यो राक्षसभन्दा त सेतै लुगा पनि निको लाग्यो मलाई त !

उकुच : १०

‘बिहे गरेर ल्याइएको घरमा पहिले नै बलियी सौता र उसका बर्गेल्ती छोराछोरी भएको कुरा पनि मलाई थाहै थिएन । कामको खाँचो टार्न पो मलाई बिहे गरेको रहेछ । अब बाआमाले कन्यादानै दिइसकेपछि लासै मात्र त फिर्ता जाने हो नि ! सहेँ सहनु बुहार्तन् । लोग्ने पनि मसँग सोझो मुखले कहिल्यै बोलेनन् । सौताकै खटनमा जिन्दगी बितिगो । सिँदुर पोते लाउन पाएँ, बिहे भनेको तेत्ति हो ।’

उकुच : ११

‘सौताले नै मेलामा फकाएकी हुन् । मेरो जायजन्म भएन । खसम गतिला छन् । खान लाउनको दुःख छैन । दुई बैनी मिलेर बसौँला । तैँले पनि एउटासँग बिहे नगरी हुन्न । नदेखेको नचिनेको मान्छे पनि त गतिलो होला भन्न सकिँदैन । यता भनेको मेरै बहिनी भएर बस्ने होस् ।’ उसका कुरा सुन्दा होजस्तो लाग्यो । त्यसपछि भागेर पोइलै  गएँ । अर्कै वर्ष छोरो जन्मिगो । त्यसपछि त सौता किन दिदी हुन्थी र  ? मेरो छोरो चेपेपछि मलाई त काटुँ कि मारूँ गरेर लखेटी । मर्न पनि सकिनँ । माइतीले जसोतसो गोठको बास देका छन् ।’ 

उकुच : १२

‘पैसा नभई नहुने नै रहेछ । विदेश जानलाई मेरो योग्यता पुग्दैन । तँ जा, म छोरा छोरी र घर सम्हाल्छु । उता तँ गर्, यताको चिन्ता पटक्कै नगर्नु, म भएपछि ढुक्क हुनु ।’ लोग्नेकै सहमतीमा दुबई गएकी हुँ । पाँच वर्षसम्म मरुन्जेल काम गरेर पैसा पठाइरहेँ । हप्ताको छुट्टीका दिन भिडियो कल गर्थें । सबै राम्रो छ भन्थे । आफूसँगै नभए पनि हुर्किरहेका छोराछोरी भिडियोमा हेर्थें । छोराछोरी छुन नपाएर मायाको तिर्सनाले रुन्थेँ । पाँच वर्षपछि घर आउँदा त घरै बेग्लै पो भएछ । मैले पठाएकै पैसाले घर पनि जस्ताले छाएछन् । घरको ठाँटबाट नै बेग्लै भए छ । सुत्ने पलङ पनि गतिलो ल्याएछन् । आएको रात त त्यही नयाँ पलङमा लोग्नेसँग रुँदै हाँस्दै सुतेँ । पाँच वर्षको तिर्सना एकै रातमा मेट्ने गरी रमाइलो पनि गरियो । 

‘हेर् दुःख नमान, मैले एक्लै घर व्यवहार धान्न सकिन । आमाले दिनहुँ कचकच उत्तिकै गरिरहने ।  यी छोरा छोरी पढाउन, बढाउनका लागि तँ फेरि पनि त विदेश नगई भा’छैन । त्यसैले मैले तेरी बहिनी ल्याइदेको छु । काखमा हाम्रो एउटा अर्को छोरो पनि छ ।’ बिहानी पख पो लोग्नेले मलाई मायाले छातीमा टाँसेर भने । 

‘मैले कमाएको सम्पत्तिमा रजगज गर्न सौता हाल्ने तिमीहरू !’ लोग्नेले सौता हालेको कुरा सुनेपछि मेरो शरीरमा आगोको तातो भुत्भुते खन्याएझैँ भएको थियो । मैले रणचण्डी भएर विरोध गरेपछि सासू र लोग्नेले विदेशीसँग पोइल गइसकेकी आइमाई भनेर मलाई नै घरबाट निकाले । गाउँघर सबै उनीहरूकै मुखमा पट्टियो । अहिले मलाई मेरै छोराछोरी धरी भेट्न दिँदैनन् । अदालत धाउँदै छु । सम्पत्ति नपाए पनि छोराछोरी त पाउँछु होला नि !’

उकुच : १३ 

‘त्यो अब किन आउँथी र ? विदेशमा मज्जा गर्न पल्केका आइमाईलाई यता स्वादै आउँदैन, नाइँ’ उनले भनेका थिए । त्यसपछि उनकै कुरामा लागेँ । मन्दिरमा गएर सिँदुरपोते गरेर मलाई भिœयाएका हुन् । एक वर्षपछि एक दिन उनी सहर गएका थिए, साथैमा जेठीलाई पो लिएर आएछन् । उसँग पैसा, ऊ विदेशी सीप र खिपले टाठी । मसँग त केही थिएन । भात भान्सा पकाएर खुवाएँ । त्यस रात सौताले पनि खुसीझैँ देखाई । आधारातमा मरणासन्न भएर दुखेपछि बिउँझिएँ । 

‘ला खा, तेरो यसैमा हैन मेरो लोग्ने डुबाएकी ? ल अब पनि डुबा भनेर सौताले पुन्युको डाँडी आगोमा पोलेर मेरो योनीमा घुसारेकी रहिछे । 

लोग्ने निद्राबाट बिउँझेर टुलुटुलु हेरिरह्यो । पल्ला कोठामा सुतेका सासूससुराले चाल नपाएझैँ गरे । म रातैभरि अप्ठ्यारो ठाउँमा पोलेको डाहा र मनको घाउ समातेर कहालिएर चिच्याइरहेँ, रोइरहेँ । बिहान भएपछि त्यहाँबाट निकालिएँ । अहिले संस्थाको आडमा बसेर मुद्दा त लडेकी छु । तर निःशुल्क मुद्दाको फैसला नहुने रहेछ कि के हो ?    

त्यसपछि पनि कथा त आइरहे । उस्तै उस्तै कथा हुनाले मैले बाँकी कथा टिपिनँ पनि । कथा सुन्दासुन्दै आफैँ तिनै आइमाईको भुक्तानमा परेको अनुभूतिले म गलेकी थिएँ । यी कथामा डुबेपछि नकारात्मक नहुने अडानकी मैले पितृसत्ताबारे सकारात्मक टिप्पणी लेख्ने आधारै फेला पारेकी थिइनँ । 

भव्य कार्यालयको एसी जडित सभाकक्षबाट  वरन्डामा निस्कँदा बाहिर त ठूलो साँझले छोपिसकेको पो थाहा पाएँ । विविध प्रकृतिका उकुचमा डुबेपछि घडी हेर्न पनि बिर्सेंछु । घडीमा बल्ल आँखा परेको थियो । घडीले समय घड्केको सूचना दिँदा भने आफ्नो घर भान्सा सम्झेर म अत्यासिएँकी थिएँ । त्यसैले आफ्नो तर्फको टिप्पणी लेख्ने काम अहिलेलाई मैले बाँकी राखेँ । मैले ल्यापटपमा सेभ गरेर सुरक्षित गरिएका कथा बोकेँ । सहभागी महिलाहरूलाई खाजा खुवाउने, भत्ता दिने र उनीहरूको वासस्थानसम्म गाडीमा पु¥याउने व्यवस्थापन पनि मेरै जिम्मामा थियो । सहभागी महिलाहरूलाई कार्यालयकै मिनी बसमा राखेर घर पु¥याउने कार्य गरिएको थियो । हुन त कार्यालयमा मेरै लागि पनि पजेरो गाडी चढ्ने सुविधासमेत थियो । तर साँगुरा गल्ली भएर पुगिने मेरो घरसम्मको यात्राका लागि ती गाडी मेरा लागि आकाशे फलझैँ थिए । जसले गर्दा कार्यालयको जिम्मेवारी सकेपछि हतार हतार निजी स्कुटर स्टार्ट गरेर म घरतिर लागेकी थिएँ । 

फेरि उकुचको खाटामा जलप : 

अन्तक्र्रियात्मक कार्यक्रम भएका बेला घर फर्किन सधैँ नै अलि ढिलो त हुन्थ्यो नै ! फर्किन ढिलो हुने कुरा बिहान लोग्नेलाई जानकारी गराएर म अफिस आएकी थिएँ । त्यस दिन बेलुकीको भान्सा मैले गएर तयार गर्न ढिलो भइसकेको थियो । यस्तो परिस्थितिमा सासूले पकाउने गरेकी थिइन् । 

सानो छिँडीजस्तो चेपामा स्कुटर पार्किङ गरेपछि घरको सानो कौशीमा म पुगेकी थिएँ ।  

‘यो आइमाईलाई जागिर खाएपछि पुग्या छ, दुई पैसा कमाउने बुहारीको खटन खान त गाह्रो हुने रहेछ । यतिबेलासम्म पनि घर फर्किएकी छैन । जागिर खाने आइमाई त बाइफाले नै हुन्छन् । सासूससुरा त परै जाऊन्, यिनीहरूलाई त न लोग्ने र घरको मर्यादा हुँदो रहेछ, नत छोराछोरीकै माया हुने ?’ छिँडीतिर भान्साको सानो झ्याल खुलेको थियो । घरको ढोका लक्षित मेरा कानमा सासूको आवाजको सुइरो पसेको थियो । मेरा सामुमा सधैँ ‘लक्षिनकी पाइलो हौ तिमी’ भनेर फुक्र्याउनसम्म फुक्र्याउने सासूले मेरा पछिल्तिर भने मेरैविरुद्धमा ओकलेको विषले मलाई मरणासन्न पारेको थियो । 

‘एई लाछी मोरो ! बेलैमा होस पु¥या है । स्वास्नीका थाङ्नामा गुट्मुटिहाल्छस् । यो बूढो हड्डी कतिन्जेल घोट्ने हो खोई !’ 

‘ए आमा किन फत्फताएकी ? ऊ छिटो आउँदा त उसैले पकाउँछे त ! बिहान जाने बेलामा नै उसले आज ढिलो फर्किन्छु भनेरै ऊ गएकी थिई ।’ भान्साको खुलेको झ्यालबाट सुनिएको लोग्नेको आवाजले सासूको विषले पोलेको मेरो मानसमा केही शीतलता पोतेको थियो ।   

त्यसपछि मैले आफूसँग भएको साँचोले घरको ढोका खोलेकी थिएँ ।  

‘होइन, यो त तेरो चालामाला निको भएन नि, यति अबेर घर आउने ? जागिर त अरूका घरका आइमाईले पनि खाएका छन् हो । आइमाई भएर पनि आधारातमा घर फर्किन्छन् ? अलिकति लोकलाजको पनि त ध्यान राख्नुपर्छ नि । म जागिर नखाने भनेर तैँले हेपेकी होस् ? पैसा कमाउँछु भनेर मलाई दास बनाउन खोजेकी होस् ?’ ल्यापटप ब्याग थन्क्याउन नपाउँदै लोग्नेले ममाथि आफ्नो रिस पोखेका थिए । सासू त्यति बेला केही बोलेकी थिइनन् । हाँडी घोप्टे अनुहारले उनले मलाई पुलुक्क हेरेकी थिइन् ।  मैले ठूलै अपराध गरेझैँ ठहर गरेको उनको अप्रिय दृष्टि ममाथि पोखिएको थियो ।  

त्यस रात सासूले पकाएको गाँस मेरा गलाबाट छिर्न पनि गाह्रो भएको थियो । मन र मस्तिष्क दुवै घाइते भएपछि थाकेको शरीर थप थाक्दो रहेछ । धन्धा सकेर ओछ्यानमा पुग्दा रात निकै बितिसकेको थियो । 

‘टिन, टिन, टिन; टिन्न टिनिनिनी ! 

दिनभरि अन्तक्र्रिया गरेर बटुलिएको कथामा आफ्नै कथासमेत खामिएर उकुच बन्ने तरखरमा थियो । निद्राको साटो तिनै कथा आउँदै जाँदै गरे । 

१–२–३–४–५ गरेर सबैसबै अनुहारहरू आफ्नै अनुहार भएर पो आइरहे । 

छटपटी, छटपटी, छटपटी ! म बिथोलिइरहेँ । निद्रा थिएन । टिन्न टिनिनिनि, टनन, टन्न, ट्याङ, मभित्र थरिथरि उकुचका परिपरि घण्टी अविरल बजिरह्यो । तर त्यसपछि आजको अन्तक्र्रियाको विषयको निष्कर्ष लेख्नका लागि अनिर्णयको बन्दी भने मैले बन्नुपरेन । 

म जुरुक्क उठेँ । ब्यागबाट मैले ल्यापटप झिकेँ र टाइप गर्न थालेँ । साँझमा टुङ्गिन नसकेको अन्तक्र्रियाको निष्कर्ष मैले फटाफट लेखेँ । लेखिसकेर युगिन लामो सास फेरेँ । 

यस निष्कर्षले मलाई जागिरको सुरक्षाको अनुभूति दिएझैँ पनि भयो होला कि ? र आफ्नै उकुच अलि सन्चो भएझैँ पनि भएछ क्यारे ! त्यसपछि म ढुक्कले निदाएकी थिएँ । 

हुन त भोलिपल्टै पनि उकुच उकुचै छ । यत्ति हो भित्र टनटनी भएर बाहिर खाटा  छ ‘जलप, जलप, झलल्ल जलप जताततै जलप ।’