दिनेश अधिकारी
मेरो घर अघिल्तिर
वर्षौंंदेखि
ठिङ्ग उभिएको छ एउटा रुख
रुख हुनुको अर्थ हो–
मान्छे वा माटोलेभन्दा पहिले
चट्याङ व्यहोर्नु,
वर्षात् सहनु,
बटुलेर हावाको गति
फेदमा बस्नेहरूका लागि शीतलता हम्कनु,
टोड्कामा बचेराहरू हुर्काउनु,
र, चराहरूलाई
नाच्दै गीत गाउनका लागि
हाँगाको आँगन दिनु !
मसँगै हुर्किएको यो रुख !
कम्तीमा पनि
कपालले जनाउने
मेरो तिलचामले उमेर
यसले पनि बिताएको छ
पाको भएपछि
बाँच्न दिँदैन मान्छेले रुखलाई
अब निश्चित छ
आजभोलिमै यो कसैको हातबाट गिँडिनेछ
आँखाभरि
चित्राङ्कन गरिरहेछु म यसको भविष्य–
कुनै पनि बेला–
टुक्राटुक्रामा काटिएपछि
यो, कतै पुल र कतै दलिन बन्नेछ,
कतै झ्याल–ढोकाका खापा
र कतै दराज वा मेच–टेबुल भएर जन्मनेछ,
टुक्रिँदैर ताछिँदै
अन्यत्र काम नलाग्ने भएपछि
त्यही काम नलाग्ने अंश
पुसको ठिहीमा
आगो भएर
कुनै एक साँझ
केटाकेटी वा बूढाबूढीको निम्ति न्यानो छर्दै
मकल वा अँगेनामा बौरनेछ,
र, खरानी भएपछि
अर्को कुनै बिरुवाको फेदमा मल भएर
माटोसँग मिसिनेछ
अहा ! कति जाति हुन्थ्यो
म पनि रुख भएर हुर्कन पाएको भए
छ भने अर्को जन्म
मलाई रुखकै जीवन
र, रुखकै मरण भोग्न मन लागेको छ !
dhadhikari@ gmail.com