गोरखापत्र अनलाइन
कोलोराडा (अमेरिका), बैशाख ६ गते। नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ।
आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ (जेठ ८–११) सम्म सञ्चालन हुने जानकारी दिनुभयो ।
अनेसास अध्यक्ष वाग्लेले नेपाली भाषा, साहित्यको सम्बर्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान गर्दैआएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दैआएको बताउनुभयो । अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि चिन्तन र विमर्श गर्न हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दैआएको छ । यो सम्मेलन त्यसैको निरन्तरता हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि (बीओटी) का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताउनुभयो। सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिनुभयो ।
नेपाली र अंग्रेजी साहित्यका लेखकहरुको जमघट रहने सम्मेलनमा दुबै भाषाका स्रष्टाहरुकाबिचमा साहित्यका विविध विषयमा छलफल हुने अनेसास बोर्ड अफ ट्रष्टिका सभापति विश्वकर्माले बताउनुभयो । बीओटी सभापति विश्वकर्माले सम्मेलनमा नेपालभित्र रहेका विभिन्न भेग र भाषाका स्रष्टाहरुको समेत सहभागिता रहने बताउनुभयो ।
नेपाली भाषा र साहित्यसँगै विभिन्न जाती र समुदायको मातृभाषाप्रति हाम्रो उच्च सम्मान छ, तिनको जगेर्ना र विश्वव्यापीकरणमा अनेसासले जोड दिदैआएको छ, उहाँले भन्नुभयो । भाषिक विविधता र त्यही विविधतामा हुर्किएको हाम्रो नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महशुस गर्न पाइने उहाँको भनाइ छ ।
उहाँले २००९ मा सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौं शृङ्खला अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको बताउनुभयो ।
दुई वर्षमा आयोजना गरिने सम्मेलनको आठौं शृङ्खला दुई वर्षअघि युरोपको पोर्चुगलमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको बताउनुभयो ।
सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारलाई आमन्त्रण गरिएको जानकारी दिदै थुप्रै साहित्यकारहरुलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले जानकारी दिनुभयो ।सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिनेछैन्, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिने उहाँले बताउनुभयो ।
अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ। अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसँगै विभिन्न नौवटा उपसमिति गठन गरिएको जानकारी दिनुभयो।
सम्मेलन आयोजनाका लागि आवश्यक बजेट विश्वका विभिन्न मुलुकका स्रष्टाहरुका साथै कोलाराडोस्थित नेपाली समुदायका विभिन्न संघ संस्था र सहयोगीहरुबाट जुट्ने विश्वास गर्नुभयो ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रकाशन समितिका संयोजक समेत रहेका अनेसास कोलोराडो च्याप्टरका महासचिव पुष्पराज पौडेलले सम्मेलनको अवसरमा अनेसासका गतिविधिका साथै विभिन्न स्रष्टाको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरिएको स्मारिका प्रकाशन गर्न लागिएको जानकारी दिनुभयो ।
अनेसास कोलोराडो च्याप्टरद्वारा आयोजित पत्रकार सम्मेलनलाई क्यालिफोर्नियामा रहेका केन्द्रीय समितिका अध्यक्ष वाग्लेले जुममार्फत सम्बोधन गर्नुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरुमा छलफल र बहस हुनेछ । आयोजकले अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरुलाई कोलोराडोका विभिन्न स्थानको पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम छ ।