• ८ मंसिर २०८१, शनिबार

मृत्युको प्रतीक्षा

blog

आज.... 

धेरै दिनपछि आज कागज पाएको छु । कलम केही दिन पहिले नै पाएको थिएँ । कलम मात्रले तर केही गर्न सक्तोरहेनछ । कलमसित कागज नभइनहुने रहेछ । यो सबैलाई थाहा भएकै कुरा हो । तर कलम मात्र भएर कागज नभएको स्थितिलाई धेरै दिनसम्म झेलिरहनुपरेकाले यसलाई मैले बेग्लै रूपमा महसुस गरेँ ।

कलम र कागज यी दुवैको निमित्त मैले ती... प्रति कृतज्ञ हुनुपर्छ । ती... तिनको नाउँ मलाई थाहा छैन । तर उनको अनुहार, जिउ–डाल, लवाइ, हिँडाइ आदि कुनैलाई पनि म कदापि बिर्सन सक्तिनँ । यहाँ गोलघरमा राखिएपछि मैले देखेको मान्छे केवल उनी मात्र हुन् । हरेक दिन सधैँ उनी मेरो ढोकामा लगाइएको ठूलो ताल्चा खोल्न आउँछन् । ताल्चा खोल्दा सायद उनलाई केही समय लाग्छ । त्यसैले ढोकामा केही समयसम्म एउटा आवाज आइरहन्छ । त्यो आवाजसँगै मलाई लाग्छ, अब केहीबेरमै ढोका खोलि नै लागेको छ ।

ढोका खुलेपछि अलि–अलि नमीठो र अलि–अलि मीठो जस्तो मिसिएको वासनासँगै एउटा थालमा दाल–भात, अलिकति तरकारी र गिलासमा पानी लिएर उनी मेरो अगाडि आउँछन् । हातमा हत्कडी र खुट्टामा नेल भएकाले त्यो थाल समात्न केही समय लाग्छ मलाई । त्यसबेलासम्म एक हातमा थाल र अर्को हातमा गिलास लिएर उनी मेरो अगाडि, नजिकै उभिरहेका हुन्छन् । त्यही बेला म उनलाई कहिले के, कहिले के सोध्छु । कहिले केही माग्छु तर उनी मसित केही बोल्दैनन् । सधैँ चुपचाप उभिरहन्छन् र चुपचाप निस्कन्छन् । अनि पूर्ववत् ढोका बन्द हुन्छ र केही छिन म पहिलेकै जस्तो आवाज फेरि सुन्छु । त्यो अब उनले ढोकामा त्यो ठूलो ताल्चा लगाउँदा आएको आवाज हो । 

मैले सोधेको अति सामान्य कुराको पनि उनी केही जवाफ दिँदैनन् । सायद उनलाई त्यही आदेश होला– मसित एक शब्द पनि नबोल्नु– केवल बिहान र बेलुका दाल–भात र पानी मात्र पु¥याउनु भन्ने । जेलमा धेरैलाई यस्तै कडा आदेश दिइन्छ ।

‘भित्ताको पनि कान हुन्छ’ भन्नेमा सायद उनलाई विश्वास होला । त्यसैले आफूलाई दिइएको आदेशलाई अलिकति पनि उनी यताउता हुन दिँदैनन् । तर मैले मागेको केही कुरा उनले मलाई दिने गरेका छन् । मैले उनीसित कलम र कागज मागेको धेरै भएको थियो । अनेक पटक मैले उनीसित मागिरहेँ । निकै दिन पहिले एउटा पेन्सिल ल्याएर दिए । कागजको निमित्त मैले धेरै चोटि उनलाई भनेँ । बल्ल आज दिए ।

केही दिन पहिले मैले एक कप चिया मागेको थिएँ । तर चिया एक पटक मात्र होइन तीन–चार पटक उनले मलाई दिए । मैले एक पटक दही मागेँ । भोलिपल्टै दही पनि दिए उनले । मैले केही किताबहरू पनि मागेको थिएँ उनीसित । तर उनले अहिलेसम्म दिएका छैनन् । दिन्छन् कि दिँदैनन्, थाहा छैन । किनकि शब्दले मात्र होइन, उनको शरीरको कुनै अङ्गले पनि कतै मेरो भनाइका प्रति कुनै प्रतिक्रिया जनाएको म कहिल्यै पाउँदिनँ ।

आज.... 

आज कुन महिना हो, कुन दिन वा कुन बार ? मलाई केही थाहा छैन । जाडो निकै छ । नेल र हत्कडीको चिसो फलामसँग मिसिएर अझ कठ्याङ्ग्रिने चिसोको स्पर्शले मेरो अङ्गप्रत्यङ्ग सबैलाई कपाइरहेको छ । त्यसैले आज जाडो ऋतुको कुनै महिना होला । सायद पुस वा माघ... । भाद्र महिनाको १९ गते हो, मलाई ‘ज्यान सजाय’ सुनाएको । त्यसैको भोलिपल्ट मलाई पहिलेदेखि लगाएको नेल र हत्कडी कतै खुकुलो भएको छ कि भनेर हेरियो र निकै दुख्ने गरेर कसियो । मैले त्यसको कुनै प्रतिकार गरिनँ । दुःखेको आभास पनि दिइनँ । ज्यान सजाय दिइने शरीरले त्यति दुःखाइमा विरोध गर्दा ज्यान सजायलाई वहन गर्न असक्षम रहेको प्रदर्शन हुने थियो । त्यो म कदापि हुन दिन चाहन्नथेँ । त्यसैले मैले ती सबै चुपचाप सहँे, जडवत् । त्यसैदिनदेखि मलाई यो गोलघरमा राखिएको हो । ‘गोलघर’ यसलाई किन भनिएको हो, मलाई थाहा छैन । यो जेलभित्रको अर्को सानो र कठोर जेल हो । सेन्ट्रल जेलको मध्यभागमा एउटा अन्धकार गुफा जस्तो चिसो, कतै–कतैबाट अलि–अलि उज्यालो छिर्ने साना–साना ओसिला कोठाहरूको एउटा अस्वस्थकर घर– यही गोलघर हो । यही गोलघरको एउटा कोठा, त्यसैमा मलाई राखिएको छ ।

जुन दिन मलाई यहाँ ल्याइयो, त्यो बेला यो कोठा, यो गोलघर दुर्गन्धमय थियो । त्यो केको गन्ध थियो, मलाई थाहा छैन । तर त्यो यति असहनीय थियो, हत्केलाले सधैँ नाकलाई छोपिरहन पथ्र्यो । अब त्यो गन्ध हराएको हो कि मैले त्यसलाई आफ्नो बनाइसकेको हुँ, मलाई थाहा छैन ।

आज.... 

आजको यो दिनलाई मैले के भन्नुपर्ने हो, थाहा छैन । मलाई यति थाहा छ, अहिले उज्यालो भइसकेको छ । बाहिरको उज्यालो अलि अलि छिरेर यो गोलघरभित्र पनि पसिरहेको छ । त्यही अलिकति उज्यालोमा म केही लेख्न थालेको छु । तर आज धेरै चिसो छ । चिसोमा हत्कडी बाँधिएको हातले केही लेख्दा प्रत्येक अक्षर सङ्घर्षबाट निस्केजस्तो लाग्छ । केही समय पहिले मैले उनीसित कलम र कागज माग्दा मलाई लागेको थियो– मैले लेख्नुपर्ने धेरै कुरा छन् । तिनीहरू उकुसमुकुस गरेर मभित्र लछारपछार गरिरहेका छन् । त्यो लछारपछारबाट उन्मुक्ति पाउन पनि मैले लेख्नैपर्छ । हत्कडी... सायद त्यतिबेला मैले त्यसलाई बिर्सिएको थिएँ । अहिले हत्कडीसँगै चिसो पनि मिसिएर आएको छ । त्यसैकारण लेख्न मलाई निकै जटिल भएको छ र यससित एकैचोटि थुप्रै व्यवधानहरूलाई मैले बेहोरिरहन परेको छ । मलाई कसैको अरू कुनै डर छैन । ज्यान सजायले सबै किसिमका डर र अरू सबै कुराबाट उन्मुक्ति दिँदोरहेछ । तर लेखेको कसैले देख्यो भने... । लेख्दा यो डर मसितै एकाकार हुन आइपुग्छ । कसैले देखे यो लेखेको खोसिन सक्छ... ।

त्यो डरबाट तैपनि म उन्मुक्त भइसकेको रहेनछु । यसलाई किमार्थ खोस्न दिनुहुन्न । खोसियो भने... उनी... जसले मलाई पेन्सिल र कागज दिए, त्यो पनि थाहा हुनेछ । त्यसको निमित्त उनले पनि सजाय पाउने छन् । लेख्न लाग्दा यी कुरा पनि प्रत्येक शब्दसित जेलिएर आइरहन्छन् । त्यसैले म निर्धक्क वा धक फुकाएर लेख्नै सक्तिनँ ।

‘ज्यान सजाय’ सुनेकै दिन मलाई सबै कुराबाट हलुङ्गो अनुभव भएको थियो– मैले धेरैतिरका थुप्रै झन्झटहरूबाट फट्को मारेर अघि जान पाएको थिएँ । ज्यान सजायले कमसेकम स्वतन्त्रता दिँदो रहेछ– मानसिक स्वतन्त्रता– अब मेरो अरू केही दायित्व रहेन भन्ने स्वतन्त्रता । जीवनसँगै अन्योन्याश्रित भएर रहेका कति घातप्रतिघात, समस्या, चाहना, डर र अप्ठ्यारा– यी यावत् कुरा जीवन मृत्युमा समाहित हुन थालेपछि स्वतः हटेर जाँदा रहेछन् ।

आज...

उनी खाना पु-याउन आउँदा मैले सोधेँ– आज कुन महिना, कति गते, कुन दिन... ? उनको हातबाट मैले खाना लिँदा तीन चार मिनेट जति लाग्छ । त्यो समयभित्र उनले त्यो भनिदिन्छन् कि... मैले दोहो-याई, तेह-याई फेरि पनि सोधेँ । अहँ, तर उनले केही भनेनन्, त्यसै निस्के ।

आज... 

प्रत्येक दिन मेरो निमित्त आज हुन्छ र बितेका दिन सबै हिजो, अस्ति... अस्ति... । बस, त्यसबाहेक तिनीहरूको अरू सम्बन्ध मसित छैन । जुन दिन मलाई यस गोलघरमा ल्याइयो, त्यसको सात आठ दिनपछि नै म अलमलिन थालेँ । दिनको गणनाको आधार मसित केही रहेन । त्यस दिन मलाई यहाँ ल्याइएको आठ दिन भएको जस्तो मलाई लागेको थियो । आठ दिनको यो  भित्तामा आठवटा धर्का कोरेँ मैले– हातमा कसिएको हत्कडीको फलामले । त्यस दिनदेखि यहाँ मेरो एक मात्र काम प्रत्येक बिहान एक धर्का थप्नुरह्यो । हरेक दिन बिहान एक धर्का थपेर म तिनीहरूलाई गन्थेँ । तर पैँतीस–चालीसवटा धर्काहरू पुगेपछि यो ओसिलो भित्तामा पहिले कोरिएको धर्काहरू मेटिँदै जान थाले । तिनीहरूलाई जोगाउन अरू केही दिन म लागिरहेँ । तर केहीपछि मैले देखेँ, तिनीहरूलाई अब यसरी जोगाइराख्न सम्भव छैन । हरेक दिन एउटा अर्को धर्को थप्ने र तिनीहरूलाई गन्ने मेरो दिनचर्याको त्यो क्रम त्यसरी निरर्थक भएर सकियो । त्यसपछि प्रत्येक दिन मेरो आज र बितेका दिन हिजो अनि अस्ति... अस्ति... बस ।

आज... 

आज मृत्यु मेरो नितान्त नजिकै छ र त्यो कुन बेला ढोका खोलेर मेरो अगाडि आइपुग्ने हो.. ? यता केही दिनदेखि अझ तीव्र रूपमा यस्तो आभासले मलाई स्पर्श गरिरहन लागेको छ । सायद यो असहनीय जाडो र यो एक्लो तथा पट्यारलाग्दो दयनीय स्थितिबाट थाकेर वा हारेर मृत्युमा विलीन हुने मेरो अन्तर आकाङ्क्षा वा समर्पणबाट यस्तो लाग्न लागेको हो वा मृत्युको भयावहबाट मेरो अन्तरमन तर्सन थालेर यस्तो हुन थालेको हो ? ढोकाको ताल्चा खोलेको आवाजमा पनि, ती... र तिनको हातको दाल–भात र पानीको सट्टा मृत्यु आइरहेको– ‘तिमी ज्यान सजायलाई तयार हौ’ भन्ने आदेशसितै केही व्यक्तिहरू आइरहेका हुन् कि भन्ने लाग्न थालेको छ । यसबाट मैले सधैँ, हरेक क्षण मृत्युको नजिकै उभिइरहन परेको छ ।

‘ज्यान सजाय’– यसका पनि भिन्दाभिन्दै रूपहरू, तिनीहरू कहिले कुन र कहिले कुन आकृतिमा मेरो अगाडि आइरहन्छन् । एउटा अग्लो रुखको फेदमा, जमिनभन्दा केहीमाथि मेचजस्तो एउटा सानो फल्याकमाथि मलाई उभ्याइएको छ र त्यो रुखमा झुन्डिरहेको डोरी मेरो घाँटीमा राखिन्छ । नजिकै उभिइरहेका सैनिहरूले त्यो फल्याक हुत्याइदिन्छन् । अनि त्यो डोरी मेरो घाँटीमा कसिन्छ । अर्को मेरो हात–खुट्टाहरू बाँधेर मलाई उभ्याइएको छ । केही मात्र पर मतिर सोझ्याइएको बन्दुक बोक्ने हातबाट गोली छुट्नै लागेको छ । पहिलो गोली सिधै मेरो छातीमा लाग्नेछ । त्यसपछि मुखमा, टाउकामा जताततै... । म यसरी ज्यान सजायको आकृतिसित लुटुपुटु गरिरहन्छु । ज्यान सजाय– त्यसले यता केही दिनदेखि मलाई पच्छ्याइरहेको छ ।  हरेक क्षण त्यसले मलाई आफ्नो चिसो हातले छोइरहेको छ ।

आज...

आज मलाई बाहिर बोलाइयो । मलाई लाग्यो, मेरो यो धरतीसितको सम्बन्ध अब यति नै हो । यो धरती, जसमा विगत बीस–एक्काइस वर्षदेखि म लडिबुडी गर्दै हुर्किएँ । यसको शीतल स्पर्श भोगेँ, न्यानो माया पाएँ । ती सबैको अन्त्य अब आजै... अहिल्यै... । मैले धरतीसित बिदा माग्दै भनेँ– मलाई अर्को जन्ममा विश्वास छैन । यदि अर्को जन्म हुन्छ भने म यही जन्मौँ । तर त्यसबेला देश र जनताको हितमा केही गर्दा कसैले यसरी ज्यान सजाय, बेहोर्न नपरोस्... । साथी–भाइ सबैसित त्यसैगरी मनमनै बिदा मागेँ । अनि ती... जसले मलाई यतिका दिनसम्म खाना दिए, पानी दिए, पेन्सिल र कागज दिए... । तीसित पनि बिदा मागेँ । 

ढोकाबाट बाहिर निस्कनै लाग्दा मलाई लाग्यो, मैले अरू केही कुरा लेख्नुपर्ने थियो, हिजो, अस्ति, अझ अस्ति । मैले त्यसै अल्छी गरेँ । मलाई निद्रा लाग्ला जस्तो भयो, टाउको दुःखिरह्यो र म सुतेँ । आखिर मेरो शरीर आजसम्मका लागि मात्रै त हो... । मैले यसलाई आराम दिन के आवश्यक ? यो शरीर... मैले अहिले यसलाई केही समयको निमित्त मात्र उपयोग गरेर फाल्ने बेला भएको कपडा जस्तै न हो । गीताको– वासांसी जीर्णानि यथा विहाय... तर यो भनाइ र मेरो सोचाइ एउटै होइन । मेरा त केवल केही समयका लागि मात्र बाँच्ने शरीरलाई आराम, सुख र सुगमताको के आवश्यक... भन्ने मात्र हो ।

जेलको बाहिर, मूल ढोकानिर पु-याइएपछि मैले देखेँ– मेरो बाबा, आमा, श्रीमती र सानी छोरी, उनीहरू सबै केही व्यग्र अवस्थामा एक बेग्लै प्रकारले उभिइरहेका थिए । उनीहरूलाई यहाँ झिकाइएको रहेछ, मसित भेट गराउन । ‘ज्यान सजाय’ दिनुभन्दा अगाडि यसरी परिवारका केही सदस्यहरूसित भेटाउने र ज्यानको सजाय दिनै लाग्दा, अन्तिम इच्छा के छ भनेर सोध्ने– धेरै पहिलेदेखिको परम्परा हो क्यार । सायद यो त्यही परम्पराको निरन्तरता होला । त्यसैले... अब मलाई सायद भरे वा भोलि ज्यान सजाय दिइएला । 

अहो कस्तो पहेँलो... चिन्न पनि नसिकने भइसकेका रहेछौ... ! बाबाले मलाई देख्नेबित्तिकै भन्नुभएको थियो । त्यसपछि त्यहाँ सबै रुन थाले । भक्कानो फुटेको रुवाइ सायद त्यस्तैलाई भनिन्छ क्यार । म किमार्थ रुन्नँ... । मैले निकै बेरसम्म यो अठोट पालन गर्न सङ्घर्ष गरिरहेँ ।

बाबा र आमाले मलाई माफी माग, तिमीले बाँच्नुपर्छ, बाँचे धेरै गर्न सकिन्छ, मरेर के गर्न सकिन्छ र भन्नुभयो । आमाले त्यसलाई अझ मुखबाट आवाज निस्कन नसक्ता–नसक्तै पनि आँशुलाई एकैछिन रोकेर पनि यही कुरा दोहो-याउनु भयो । ठिकै हो, बाँचे धेरै गर्न सकिन्छ । तर माफी मागेर बाँचे केही गर्न सकिन्न । तर मैले बाबा र आमालाई यो भनिनँ । उहाँहरूलाई अझ चोट पु¥याउन म चाहन्नथेँ । मैले यसबाट पन्छिन घरको हालखबर सोधेँ, वरपरका, छिमेकीहरूका बारेमा सोधेँ । उहाँहरूले त्यसको के जवाफ दिनुभयो, मलाई थाहा छैन । किनकि मैले यो सोधेको जान्नका निमित्त थिएन । माफीको विषयलाई त्यतातिर अलमल्याउन मात्र सोधेको थिएँ ।

श्रीमती केही बोलिनन् । बोल्न खोजेकी थिइन् । तर उनको गला अवरुद्ध थियो । त्यसबाट शब्द प्रस्फुटित हुन सकेन । फगत रोइ मात्र रहिन् । सानी छोरी सायद उसलाई ज्यान सजाय,  मृत्यु यी केही पनि थाहा थिएन । तर यहाँ सबै रोएको एक भिन्दैै वातावरणले उसलाई पनि स्तब्ध पारेको थियो । आठ–दस मिनेटपछि मसँगै उभिएका सैनिकहरूले भने– समय सकियो हिँड, उनीहरू मलाई तान्न थाले । त्यसबेला आमाको मुखबाट केही अस्पष्ट रूपमा निस्केका शब्दहरू मैले बुझेँ– अब तिमीलाई यो जुनीमा देख्नु यति नै हो । तिमीलाई जिउँदै बिदा गर्न प¥यो... । दुई वर्ष पहिले त्यत्रो बिरामी परेर पनि बाँच्यौ... । अनि सबैको एकै पटक फुटेको रुवाइको भक्कानोमा म पनि झन्डै मिस्सिएँ । गोलघरभित्र आएपछि कति वर्षदेखिका अनेक स्मरणहरूले मलाई नरमाइलोसित घेरिरहे । 

आज.... 

मृत्यु सम्पूर्ण कुराको समाप्ति हो । मृत्युपछि कतै अर्को संसार पनि छ भन्ने कुरामा मलाई विश्वास छैन । तर किन, केही अरू कुरा थाहा पाउनुपर्ने थियो, जान्नुपर्ने थियो भन्ने धोको ममा आइरहन्छ ? के मृत्युपछि मेरा आजका ती अनुभूतिहरू कतै पुगेर सँगालिएर रहन्छन् र ? के त्यसरी रहने ठाउँ कतै छ र ? छैन भने किन मलाई बाबा र आमासित अरू केही कुरा सोध्नु थियो । अरू केही कुरा जान्नुपर्ने थियो, बुझ्नुपर्ने थियो भन्ने लागिरहन्छ ?

हिजो बाबा आमाहरू भेट्न आउँदा मैले हरिहरको विषयमा सोध्न बिर्सें । ऊ मेरो पहिलेदेखिको साथी । उसैले हो, हामीलाई देशको निमित्त केही गर्नुपर्छ भनेर प्रेरणा दिएको । उसैले हो, हामीलाई जयनगर क्याम्पमा पु-याएर पिस्तोल चलाउने, राइफल चलाउने र ग्रिनेड हान्ने जस्ता केही ट्रेनिङ दिलाएको । तर हामी कसैले पनि अनेक यातना सहेर पनि ती कुराहरू खोलेनौँ । ऊ भन्थ्यो, अहिले देशको निमित्त, प्रजातन्त्रको निमित्त केही गर्दागर्दै म¥यौँ भने सहिद हुनेछौँ । के सधैँ यस्तो अवसर आइरहन्छ ? ऊ अहिले कहाँ छ ? के उसले पनि उसैले भने जस्तो अवसर पाइसक्यो... ?

त्यस्तै मेरी श्रीमतीको छातीमा केही पीडा हुने गथ्र्यो, आमालाई पनि विभिन्न रोगहरू थिए । अहिले कस्तो छ ? अब बिसेक भयो कि अझ बढ्यो ? त्यो सोध्नुपर्ने थियो । तर... त्यो सोधेर, त्यो थाहा पाएर यो केही क्षण वा केही घण्टालाई मात्र त हो । त्यो सोध्नु र नसोध्नु, त्यो थाहा पाउनु र नपाउनुको के अर्थ ? तर सोध्न बिर्सेकोमा किन, मलाई त्यसले घोचिरहन्छ ?

यो रातभर मलाई मृत्युको नजिकै, मृत्युको प्रतीक्षामा पर्खिरहे जस्तो लागिरह्यो । मैले सुनेको थिएँ– ज्यान सजाय दिउँसो वा बिहान नदिएर मध्यरातमा दिइन्छ । तर उज्यालो पनि भयो । मलाई नरमाइलो लाग्यो, ज्यान सजाय दिइएन । फेरि दिनभरि त्यसलाई मैले पर्खिरहनुपर्ने हुन्छ । मृत्यु त्यसलाई मैले सम्पूर्ण रूपमा वरण गरिसकेपछि पनि बाँचिरहनुपर्ने यो बाध्यता ! अनि त्यो कुरा जुन ममा सधैँ छालजस्तै भएर छचल्किरहन्छ– त्यो लेख्ने कि नलेख्ने ? आज पनि मैले त्यसको निर्णय लिन सकिनँ । लेखेँ भने, त्यो कतै पुलिसहरूले नै पढ्न पाए भने... ! यो उनीहरूलाई थाहा दिने मूर्खता मात्र हुनेछ । यो लेख्नु हुन्न– मेरो एउटा निर्णयले भनिरह्यो । यसलाई त्यसै अब मसितै एउटा अन्धकारभित्रै हराउन दिने ? अर्को निर्णयले भन्यो । म ती दुईको बीचमा किंकर्तव्यविमूढ उभिइरहेँ, उभिइरहेँ ।

आज...

यो रात पनि त्यस्तै छट्पट र त्यस्तै मृत्युलाई पर्खंदा–पर्खंदै बित्यो । परिवारका सदस्यहरूलाई भेटेर फर्केपछि मलाई लागेको थियो– त्यसैदिन राति मलाई ‘ज्यान सजाय’ दिइनेछ । तर दिइएन । आजको यो रात... । यसको हरेक आवाज, हरेक गतिविधि र हरेक कुरामा मृत्युलाई देखिरहनुपर्दा पनि म केही लेख्न लागेको छु । केही पहिले लाग्थ्यो, मैले अझै कति दिन यसैगरी बाँच्नु छ, फेरि मैले पेन्सिल र कागज पाउन नसकुँला । त्यसैकारण मैले पेन्सिल र कागजको जतन गरेर, फारो गरेर लेख्नुपर्छ । तर हिजो र आज मलाई लागेको छ, अब फारो गरिरहन पर्दैन, लेख्नुपर्ने जति अब सबै लेख्नुपर्छ ।

आज...

आज पनि मलाई ‘ज्यान सजाय’ दिइएन । यो मृत्युको प्रतीक्षा... ! मलाई यसरी मृत्युको आमुन्ने–सामुन्ने राखेर, मृत्युको निर्मम प्रतीक्षामा राखेर असीम यातना दिइँदै छ । तीन–चार वर्ष पहिले मैले गडीमाईमा आफँैले देखेको थिएँ– मन्दिरको अगाडि एक हुल राँगाहरूलाई बाँधेर लाइनमा उभ्याइएको थियो र क्रमशः अगाडिबाट तिनीहरूको घाँटी रेटेर, रातो रगतको धारा बगाएर बलि दिइँदै थियो । पछिल्लो पङ्क्तिमा उभ्याइएको एउटा राँगो, त्योे दृश्यलाई टुलुटुलु हेरिरहेको थियो । हेर्दाहेर्दै आफ्नो पालो आउनभन्दा केही पहिले, त्यो उभिइरहन सकेन, जमिनमा पछारियो र तुरुन्तै म¥यो । आज त्यही राँगोलाई म सम्झिरहेछु । त्यसरी नै मृत्युको अगाडि उभ्याएर, त्यही राँगा जस्तै बनाउन खोजिँदै छ मलाई । मैले यसरी मर्न हुन्न, किमार्थ त्यसरी डराएर मर्न हुन्न । ज्यान सजायको अगाडि उभिएर मर्नुपर्छ ।

आज...

उनी, सधैँ जस्तै भात र पानी बोकेर मेरो अगाडि उभिए । त्यो लिनुभन्दा पहिले नै मैले उनीसित सोधेँ– “कहिले ज्यान सजाय दिइन्छ मलाई ?” उनको त्यो कहिल्यै प्रतिक्रिया नजनाउने अनुहार मेरो सोधाइले अलिकति झस्क्यो र उनको मुख एकाएक बिग्रियो, उनले आँशु झारे । त्यसले मलाई अझ नरमाइलो लाग्यो । मैले उनलाई किन सोधेँ...?

आज...

  अनायास आज एक बेग्लै भावना पनि ममा आयो । ज्यानको सजाय पर्खिरहन पर्ने यो यातना... । त्यसबाट छुट्कारा पाउन बरु किन मैले आफूले आफैँलाई समाप्त नपार्ने ? किन आत्महत्या नगर्ने ? आत्महत्या– त्यसको निमित्त यही हातको मोटो सिक्रीले टाउकामा जोड्ले हिर्काएँ भने पनि मर्न सकिन्छ । अथवा पल्लो छेउबाट जोडले त्यो फलामको ढोकामा टाउको बजारे पनि मर्न सकिन्छ । तर यो मेरो जित हो कि हार । उनीहरूको सजायलाई यो एक स्पष्ट अस्वीकार हो । त्यसैले यो मेरो जित हो । तर यसलाई जित मान्न म सर्वसम्मत रूपले तयार भइनँ । यो जित हुन सक्दैन, मैले ‘ज्यान सजाय’बाट भाग्नुहुन्न । ...पछिल्लो पङ्क्तिमा उभ्याइएको राँगोले जस्तै– मृत्युको भयावहदेखि डराउनु हुन्न ।

अब मसित कागज अलिकति बाँकी छ । तर पेन्सिल... । यसले केही अक्षर लेख्न मात्र पुग्छ । केही अक्षर... त्यो लेख्नुको पनि के प्रयोजन...? यो एउटा निरर्थक अभ्यास । यी लेखिएका अक्षर त्यसै हराएर जानेछन् वा कतै फालिने छन् वा त्यो परको सानो प्वालबाट चिहाएर यदाकदा मेरो नजिकै छरिएका भातका सिता टिप्न आउने मुसाहरूले लगेर गुँड लगाउने छन् वा उनैले... यो मैले लेखेको कसैले थाहा पाए, कलम र कागज दिएकोमा आफूले सजाय पाउने डरले यिनीहरूलाई च्यातेर फालिदिने छन् । तर यी सबै अनिश्चित भविष्यको गर्भगृहभित्रका कुरा.. । जेहोस्, वर्तमान मसित छ । यसलाई मैले धेरै टाढा राखेर पन्छाइरहनु हुँदैन । ती सबै कुरा लेख्नैपर्छ । यो कागज र पेन्सिल... । यिनीहरूले भ्याएसम्म लेख्नैपर्छ । तर ती सबै लेख्ने र नलेख्ने ? द्विविधाको एउटा छेउबाट उठेर आएको ज्वारलाई निर्धक्क पन्छाएर म अर्को छेउमा पुग्नै सकिरहेको छैन । त्यसैले आजको यो रात... ।

उनलाई राखिएको गोलघरको ठूलो ताल्चा खोलेको आवाजले सहसा उनी ब्युँझिए । त्यो सुनसान मध्यरात । सबै सुतिसकेका थिए । ताल्चा खोलियो । अब उनलाई ‘ज्यान सजाय’ दिन लगिँदै छ । अब उनले मृत्युको प्रतीक्षा गरिरहन परेन । ज्यान सजाय दिने क्षण नजिकै आइसकेको छ । त्यसैले केही व्यग्रताकासाथ उनले आफूले लेखेका कागजका टुक्राहरूलाई लुकाउन खोजे । तर लुकाउने ठाउँ कहाँ थियो र ? ढोका खोलेर एकैचोटि चार–पाँच जना सैनिकहरू भित्र पसे । एउटा सैनिकले अलि भिन्न किसिमले कागजका ती टुक्राहरूलाई हतार–हतार टिप्यो र आफ्नो पकेटभित्र राख्यो । उनले केही भनेनन् । 

उनलाई गोलघरबाट निकालियो । उनले चारैतिर हेरे । दस–बाह्र जना बन्दुकधारी सैनिकहरू सतर्कताका साथ गोलघरको ढोकाकै छेउमा उभिइरहेका थिए । जेल सुनसान थियो । रातको प्रगाढ निद्रामा थियो । भित्रको पर्खाल वरिपरि रमन घुम्ने सैनिकहरूले र चौकीदारहरूको केही परबाट, केही अस्पष्ट स्वर आइरहेको थियो– खबरदार ! खबरदार ! त्यसैसित बाहिरी पर्खाल वरिपरि रमन घुम्ने सैनिकहरूको आवाज पनि एकाकार भइरहेको थियो ।

जेलको मूल ढोकाबाट उनलाई बाहिर निकालियो । बाहिर थप अरू दस–बाह्र जना सैनिकहरू उनलाई पर्खिरहेका थिए । हतार हतार उनको आँखामा कालो पट्टी बाँधियो र एउटा जिपमा राखियो । केही परको सुनसान ठाउँमा  पुगेपछि जिपबाट ओह्रालेर उनलाई उभ्याइयो । एकै छिन पट्टी खोलेर कसैले उनलाई सोध्यो– ‘अन्तिम इच्छा के छ ?’ त्यसको उत्तर दिनुभन्दा पहिले उनले देखे– उनले लेखेका कागजका टुक्राहरूलाई आफ्नो पकेटभित्र राख्ने त्यो सैनिक उनको नजिकै थियो । केही पर उनलाई गोली हान्न हतियारधारीहरू तैनाथ थिए । उनीहरूको बन्दुकको नालाबाट गोली छुट्नै लागेको थियो । 

(‘डायरीका केही पृष्ठ’ शीर्षकमा– मधुपर्क मासिकमा २०५० को मङ्सिरमा प्रकाशित ।)