• २४ कात्तिक २०८२, सोमबार

एक वर्षमा तीन सय ९५ जनाको उद्धार

blog

कार्यक्रममा सहभागी । तस्बिरः लक्ष्मी तिमिल्सेना

लक्ष्मी तिमिल्सेना

जमुनाह, कात्तिक २४ गते । मानव बेचबिखन विरुद्ध सक्रिय संस्था शान्ति पुनस्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१–८२ मा ४० जिल्लाका ३९५ जनाको उद्धार गरेको छ । 

सोमबार नेपालगन्जमा आयोजित संस्थाको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो । गृहले सोही अवधिमा ९ हजार ३७९ जनालाई सीमा क्षेत्रमा सूचना तथा परामर्श दिएको र ४ जना भारतीय नागरिकको समेत उद्धार गरेको तथ्याङ्क प्रस्तुत गरेको थियो ।

‘हाम्रो आह्वान मानव बेचबिखनविरुद्धको अभियान’ नाराका साथ सञ्चालित संस्थाले लेखा परीक्षणमार्फत आफ्ना गतिविधिहरूको कार्यसम्पादन, पारदर्शिता र जवाफदेहितामाथि छलफल गरेको हो । कार्यक्रममा गत वर्ष हासिल उपलब्धि, चुनौती र आगामी वर्षका योजनाबारे प्रस्तुतीकरण गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीले मानव बेचबिखन नियन्त्रणमा संस्थाको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘सीमा क्षेत्रमा यस संस्थाको उपस्थिति र सक्रियताले धेरै चेलीबेटीहरू जोखिमबाट जोगिएका छन् । यद्यपि अझ धेरै सचेतनाको काम गर्न बाँकी छ ।’

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका कार्यकारी प्रमुख द्वारिका अधिकारीले संस्थासँगको सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता सापकोटाले सरोकारवाला निकायहरूको निरन्तर सहयोगले गर्दा नै जटिल परिस्थितिमा पनि उद्धार र पुनस्थापना सम्भव भएको बताउनुभयो । कार्यक्रममा संस्थाका अन्य पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।