भक्तिविलास पोखरेल
गाईघाट, कात्तिक २४ गते । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरू घाइते भएका छन् ।
गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना. १ ज. ८३९१ नम्बरको विङ्गर आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइतेहरूलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र बिरामीहरूको अवस्थाअनुसार कसैलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।
कतिपयलाई सामान्य उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो । प्रनाउ दोङका अनुसार चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका–३, मोतिगडामा अस्थाई रूपमा बस्दैआएका वर्ष २६ को उपेन्द्र साह समेत घाइते भई जिल्ला अस्पतालमा उपचाररत रहेको र अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ ।
त्रियुगा नगरपालिका–११, सङ्गमटोल बस्ने वर्ष ६० की रामकुमारी राई, त्रियुगा नपा १२ बस्ने वर्ष ४४ को ज्ञानेन्द्र विक, वडा ७ चुहाडे बस्ने वर्ष २२ को केवल ठकुरी, वडा २ खैजनपुर बस्ने वर्ष ७७ को कमलबहादुर खड्का, वर्ष ५७ को नरबहादुर खत्रीको विराटनगरस्थित विभिन्न अस्पतालमा थप उपचारका लागि पठाइएको छ ।
घाइतेहरूमध्ये त्रियुगा नपा वडा ११ सङ्गमटोल बस्ने वर्ष ७४ को पूर्णबहादुर राई, वडा नं. १२ बस्ने वर्ष १७ का प्रजिता विक, जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका वडा २ बस्ने वर्ष ४५ को तीर्थ घिमिरे, जिल्ला सप्तरी सुरुङ्गा नपा वडा–१ बस्ने वर्ष २७ की चन्द्रमाया चौधरी र निजकै छोरी वर्ष ४ की एरिना चौधरी तथा जिल्ला काठमाडौँ गोकर्णेश्वर नपा –२ बस्ने वर्ष ४४ को शम्भुराज पोखरेल उपचार पश्चात डिस्चार्ज हुनुभएको छ ।