दशैँ, लुम्बिनी र बुद्ध

२०६७ सालको दशैँ पनि उति उत्साहजनक थिएन । तैपनि अघिल्ला वर्षहरूको जस्तै सबै किसिमले रमाइलो बनाउने कोसिस गरिएकै थियो । उत्साह नहुनुमा सीताजीको शारीरिक कमजोरी थियो । उहाँको शरीरमा त्यति घातक क्यान्सर रोग हुर्किरहेको थियो भन्ने हामीलाई थाहै थिएन । बरु पाठेघरको शल्यक्रियाकै कारण उहाँ यति कमजोर हुनुभएको हो र चाँडै नै ठीक हुनु हुनेछ भन्नेमा हामी निर्ढुक्क थियौँ । तर दशैँ सकिएको चार महिनापछि नै उहाँको शरीरमा चौथो स्टेजको क्यान्सर हुर्किसकेको र उपचारभन्दा धेरै पर पुगिसकेको थाहा पाइयो । हामीले टुलुटुलु हेर्दै अरू अढाइ महिना रुँगेर बिदा ग-यौँ ।