रुँदा रुँदा थाकेको आँखा लोलाएर चमेली कुर्सीमा झोक्राइरहेकी थिई । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । पसिनाले निथ्रुक्क भिजेर बसेकी आमालाई घरमा देखेर फराज र समिन खुसी भए । बिहान सबैरै र बेलुका रातपरेपछि मात्र उनीहरू आमालाई कोठामा देख्न पाउँथे ।
आज आमा आफू आउनुपूर्व देखेर समिनले सोधी, “आमा आज हजुर यति छिटै घरमा हुनुहुन्छ किन नि” । फराजले भन्यो, “बाटामा त डोजरले बाटो छेउका पसल भत्काउँदै थियो । हाम्रो पसल त केही गरेनन् नि आमा ?”
“सबैको हटाएपछि हाम्रो चाहिँ कसरी राख्थे बाबु ! हाम्रो पनि भत्काए”, चमेलीले भनी ।
“पैँतीस दिनको म्याद दिएका थिए रे त । आमा ! हजुरलाई केही थाहा थिएन ? हाम्रा सामानहरू कहाँ छन् त ?” समिनले सोधी ।
चमेली दुवै छोराछोरीलाई अँगालो हालेर एकछिन भक्कानिई । केही बोलिन ।
“अघि मैले बाटामा मान्छेहरू कुरा गर्दै हिँडेको सुनेको थिएँ । पैँतीस दिनको म्याद कसैले मानेनन्, अब समय सकियो, भत्काउनै पर्छ भन्दै थिए”, फराजले भन्यो ।
झलमल्ल घाम लागेको थियो तर चमेलीका लागि सबैतिर अँध्यारो छाएको थियो । मन अँध्यारो, तन अँध्यारो, आज अँध्यारो र भोलिको भविष्य नै अन्धकार भएको थियो । उज्याला सपनाहरूमा ओझेल परेको थियो ।
श्रीमान्लाई साउदी पठाउँदाको ऋण अझै सकिएको थिएन । सर्लाहीको उधुम गर्मी, त्यहाँको टन्टलापुर घाम छल्न अंशमा परेको छ धुर जग्गा अर्कैको जिम्मा लगाएर जे गरेर भए पनि जीविका चलाउँछु भन्दै काठमाडौँ पसेकी थिई चमेली ।
दुःखले सानो टहरो जोरजाम गरेको थिई । त्यसका लागि पनि कति धेरै पैसा खर्च गरी । अब त्यो पनि गयो । अब काठमाडौँ बस्ने दिन पनि सकिए । कति फुर्ती लगाएर अब काठमाडौँमै व्यापार गरेर छोराछोरी पाल्छु भन्ने सोचेकी थिई तर सोचेजस्तो जिन्दगी कहाँ हुने रैछ र !
सधैँ भोक लाग्यो भनेर पिरोल्ने छोराछोरी आज चुपचाप थिए । निराश थिए । उदास थिए । उनीहरूले भोक लाग्यो नभनेकोमा सुन्तलीको मन झन् कुँडियो ।
चमेली कोठाभित्र पसी ।
उसले आफ्नो गाउँ सम्झी । दिनभरि ज्याला मजदुरी गरेर पेट पाल्नुपरेको अवस्था ! पुख्र्याैली छ धुर जमिनमा खासै उब्जनी हुन्नथ्यो । गाउँका केही साथीहरू, छिमेकीहरू काठमाडौँ व्यापार गर्न जाने, कमाइ राम्रो हुन्छ भनेर हिँडेका थिए । उनीहरूमध्ये कोही बेलाबेलामा गाउँ फर्कन्थे । फर्कांदा उनीहरूको लवाइ, खुवाइ, बोलाइ सबथोक बदलिएको हुन्थ्यो । चमेली उनीहरूमा आएको परिवर्तनले छक्क पर्थी ।
एक दिन उसले पनि दुवै छोराछोरीलाई साथ लिएर काठमाडौँ प्रस्थान गरेकी थिई । नयाँ ठाउँ, नयाँ सहर, नयाँ परिवेश, नयाँ मौसम । चमेली र बच्चाबच्चीलाई काठमाडौँमा बानी पर्न केही समय लागेको थियो ।
सुरुमा चमेली राधादेवीको डेरामा आश्रय लिएर बसेकी थिई । राधाले नै उसलाई साथमा लिएर आएकी थिई । आश्रय पनि उसैले दिई । पछि डेरा खोजिदिई । काममा पनि लिएर गई, व्यापार गर्ने काममा । सुरुसुरुमा त उसलाई निकै गाह्रो भयो । नगर प्रहरीलाई छल्दै, तिनबाट बच्दै, भाग्दै फुटपाथमा व्यापार गर्नुपर्ने । तर छिटै नै उसले बाठी हुन सिकी । मोलमोलाई गर्न सिकी । भाउ राख्न सिकी । थोकमा किन्न सिकी । खुद्रामा बेच्न सिकी । नाफा राख्न सिकी ।
राधादेवीको डेरा र उसको डेरा सँगै थियो । उसका छोराछोरीलाई पनि राधाकै छोराछोरीसँगै स्कुल भर्ना गरिदिई । सबथोक व्यवस्थित हुँदै गयो । चमेलीलाई लाग्यो, काठमाडौँ आएर उसले बुद्धि पु¥याएकी हो ।
उता श्रीमान्ले पनि साउदीमा गएपछि आफ्नो कमाइ पठाउन थालेको थियो । ऋण गरेर गएको थियो । त्यो ऋणको सावाँ ब्याज हरेक महिना बुझाउनुपथ्र्याे फाइनान्स कम्पनीलाई । श्रीमान्ले पठाएको पैसा कहिले आफ्नो व्यापारमा हाल्थी कहिले आफ्नो व्यापारको रकमले किस्ता बुझाउँथी । छोराछोरीहरू ज्ञानी भएर स्कुल जान्थे । स्कुलबाट फर्केपछि होमवर्क गर्थे । अब आफैँ खाजा बनाएर खाने भइसकेका थिए ।
उसलाई काठमाडौँकै घाम प्यारो लाग्न थालेको थियो ।
तर आज अचानक सबथोक भताभुङ्ग भयो । चमेलीलाई एकाएक रिँगटा लागेजस्तो भयो । अब के गर्ने भन्ने चिन्ताले उसलाई भाउन्न हुन थाल्यो ।
हुन त केही दिनयता सपिङ कम्प्लेक्सलाई महानगरले भत्काउँदै छ रे भन्ने उसले गाइँगुइँ सुनेकी थिई । कोही भन्थे, महानगरले भत्काउँछ । कोही भन्थे, महानगरको के तागत । चानचुने पावरवाला छन् र सपिङ कम्प्लेक्सका मालिक । तिनको रौँ पनि हल्लाउन सक्दैनन् । चमेली यी दुवैथरिका कुरा सुनेर अलमलमा थिई र अलमल अलमलमै व्यापार पनि गरिरहेकी थिई । अरू पनि व्यापार नै गरिरहेका थिए ।
फुटपाथको व्यापारको कमाइबाट खाई नखाई जोगाएको नाफामा श्रीमान्ले साउदीबाट पठाएको पैसा हालेर उसले सपिङ कम्प्लेक्सअगाडि बनेको टहरामा पसल राखेकी थिई । पसल सजाउन र मालमत्ता किन्न उसले भएभरको रकम खर्चेकी थिई ।
पसल राम्ररी चल्न थालेपछि राम्रै उन्नति हुनेमा ऊ ढुक्क हुँदै गएकी थिई । पसलको आम्दानीले घरबार राम्रै चल्ने लक्षण देखाइरहेको थियो । यो पसल राम्रै चलेपछि श्रीमान्लाई पनि साउदीबाट छिटो बोलाउँछु । अनि दुवै मिलेर मज्जाले व्यापार गर्ने हो, उसले यस्तै यस्तै सपना देखिरहेकी थिई ।
तर यता नयाँ पसलको चटारो चलिरहँदा उता लोग्नेले सधैँ गरिराख्ने फोन आएको थिएन । केही प¥यो होला भन्दै उसले मन बुझाएकी थिई । एकाधपल्ट मेसेन्जरमा रिङ गरेकी पनि हो तर उता लोग्नेले उठाएको थिएन ।
छोराछोरीलाई खाना ख्वाएर स्कुल पठाएपछि ऊ पनि हतारहतार चार गाँस टिपेर पसलतिर लागी । पसल खोली । सबैका पसल खुले । आज उतिसारो ग्राहक देखिएनन् ।
चमेली यसो छेउछाउका दोकानतिर लागी । सबैका दोकानको हाल उस्तै थियो । सँगैको दोकानवाल विष्णु दाइले भने, “चमेली भाउजू ! खै आजको दिन राम्रो छैन जस्तो छ । हामी बसेको टहराको नक्सा पास रहेनछ । महानगरले आज डोजर लगाएर भत्काउँछ भन्छन् ।”
“साँच्चै हो र !” चमेली काली नीली भएकी थिई ।
चमेलीले भनेकी थिई, “साँच्चै भत्काउन आए भने के गर्ने होला ?”
विष्णु दाइले भने, “म पनि त्यही सोचिरा’को छु भाउजू ! भएको कमाइ यही दोकानमा हालियो । चाडवाडको मुखमा बर्बादै हुन्छ भत्कइदिए भने ।”
ठीक त्यति नै बेला घर भाडामा लगाउने ठेकेदार र घर मालिक त्यहाँ देखा परे । घरवाला पाखुरा सुर्कंदै थिए, “लौ कसको तागत मेरो घर कम्पाउन्ड छुने ? सानो पावरले टिकेको छु म ? कम्ता नेता कार्यकर्ता पालेको छु यति गर्न ?”
ठेकेदार भन्दै थियो, “हजुर, केही मान्छे ल्याउनुपर्छ कि ? मेरा पनि छन् नि मान्छे त !”
घरधनीले भने, “पर्दैन ! म एक्लै काफी छु । मेरो पछि सिङ्गो पार्टी पङ्क्ति छ । नेता कार्यकर्ता सारा छन् ।”
चमेलीका कानमा उनीहरूका कुरा झम्झमाउन थाले । अब के हुने हो । ऊ आत्तिन थाली । विस्तारै त्यहाँ मानिसहरूको भीड बढ्न थाल्यो । पसलमा ग्राहक कोही देखा परेनन् । पसल वरपर मानिसहरू थपिँदै गए ।
अचानक त्यहाँ डोजरसहित नगरपालिकाका प्रमुख, कर्मचारी र प्रहरीहरू देखा परे । घरबेटी उनीहरूसँग विवाद गर्न थाले । होहल्ला हुन थाल्यो । पत्रकारहरू त्यस दृश्यलाई क्यामेरामा कैद गर्न थाले । कोही मोबाइलबाट लाइभ गर्न थाले । मानिसहरू दोहोरो कड्केको, भनाभन भएको, चर्काचर्की भएको आवाज चमेलीको कानसम्म आइपुग्यो ।
एकैछिनमा प्रहरीहरू आएर चमेलीलाई भने, “यो अनधिकृत संरचनामा डोजर लाग्छ । तपाईंको सामान हटाउनुस् । हामी मद्दत गर्छाैं ।”
चमेली ज्ञानशून्य भई । लाटिई । अब कहाँ लाने यो सामान । केमा पोको पार्ने ? कसो गर्ने । उसले केही सोच्नै सकिन । पसलमा सामानहरू केही बेरमा घरबेटीको छिँडीको एक कुनामा थुप्रो लाग्यो । कति सामान टुटफुट भए, भाँचिए, च्यातिए, लत्रिए, फाटे, केके भए, उसले केही पत्तो पाइन ।
केहीबेरमै उसको पसल रित्तिएको थियो । डोजरले भताभुङ्ग पारेको थियो । केही मानिसले नगरपालिका र मेयरको नाम लिँदै नारा पनि लगाए । तर अलिबेरमा डोजर फर्केको थियो । हुल तितरवितर भएको थियो । त्यहाँ सन्नाटा छाएको थियो । चमेलीसहित पसलवालाहरू झर्न नसकेका आँसु लिएर किंकर्तव्यविमूढ एकअर्कालाई हेर्दै थिए ।
चमेली झसङ्ग भई । छोराछोरी भोकै छन् ।
उसले चाउचाउ उमाल्न पानी बसाली ।
लोग्ने सँगै भएको भए पनि यो दुःखमा एकअर्काको भरोसा हुन्थ्यो । पध्र दिन भयो कुरा भएको छैन । ऊ पनि विचरा साउदीको गर्मीमा कति दुःख गर्छ । कस्तो भाग्य रहेछ हाम्रो । चमेलीको मन अमिलो भयो ।
अचानक बाहिरबाट “चमेली दिदी ! चमेली दिदी !” भनेर कराएको आवाज उसको कानमा प¥यो । चमेली कोठाबाट बाहिर निस्किई । समिन र फराज पनि निस्किए ।
बाहिर मसली थिई । छिमेकी । ऊ हातमा मोबाइल बोकेर उभिएकी थिई । उसले भक्कानिँदै भनी, “यो तपाईंको श्रीमान् होइन ?”
मसलीको हातको मोबाइलमा कोही बोल्दै थियो, “साउदी अरबको अलकासिम सहरमा रहेको सुल्तान भन्ने कम्पनीमा काम गर्ने सर्लाहीका चित्रबहादुर नेपाली काम गर्ने ठाउँबाट झरेर घाइते भएका छन् । बेलाबेलामा बेहोस हुन्छन् । काम गर्ने कम्पनीले पनि उनलाई विकट स्थानमा लगेर राखेको छ, बाहिर निस्कन दिएको छैन । उनको उद्धार र उपचारका लागि त्यहाँ पठाउने म्यानपावर कम्पनीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन । वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयमा पनि पहल भइरहेको छ । राजदूतावासमा पनि कुरो पु¥याइएको छ । उनको सक्दो छिटो उपचार गर्नुपर्ने अवस्था रहेको छ । ल सुन्नुहोस् उनकै स्वरमा उनको अनुरोध... काम गर्दा गर्दै दुर्घटना भो । म अशक्त भएको छु । घरमा पनि सम्पर्क गर्न सकेको छैन । मेरो उपचार गरेर ज्यान जोगाइदिन म सबैमा बिन्ती गर्छु...।”
चमेलीलाई भाउन्न भयो । आफ्नो लोग्नेको त्यो अवस्था देखेर उसका हातगोडा लल्याकलुलुक भए । उभिएकै ठाउँमा ऊ थुचुक्क बसी । उसको सर्वत्र अँध्यारो छायो । बसेकै ठाउँमा ऊ ढली ।
“चमेली दिदी ! चमेली दिदी !” भन्दै मसलीले घच्घच्याउन थाली । फराज र समिन पनि आमा आमा भन्दै नजिक आए । तर चमेली हल न चल भएकी थिई ।
यतिबेला घाम पश्चिमतिर ओरालो लागिरहेको थियो ।