• २८ भदौ २०८२, शनिबार

तिम्बुङ पोखरी ट्रेल रन रोकियो

blog

समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २८ गते । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ । 

सिदिङ्वा–१, कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा बिहीबारका लागि आयोजना गरिएको प्रतियोगिता रोकिएको अर्थात रद्द भएको हो । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको प्रचार–प्रसारसँगै प्रवर्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । 

सिदिङ्वा गाउँपालिकाको आर्थिक सहयोगमा तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता देशको विषम परिस्थितिका कारण रद्द गर्नुपरेको कार्यक्रम संयोजक अमिर राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको सबै तयारी पूरा गरी कार्यक्रम स्थलतर्फ आयोजकसहित अतिथि केन्द्रित भइसक्दा देशमा सुरु भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भई अवस्था असमान्य भएकाले प्रतियोगिता रद्द गरिएको राईले बताउनुभयो । उहाँका अनुसार देशको विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत गरी करिब ५० जना धावकले प्रतियोगितामा सहभागी हुनलाई नाम दर्ता गराएका थिए । 

प्रतियोगितामा नाम दर्ता गराएकामध्ये ३० जना जति धावक कार्यक्रम स्थल नै पुग्नुभएको उहाँले जानकारी दिनुभयो । जेनजी आन्दोलनका कारण मानवीय क्षतिसहित सिर्जना भएको विषम परिस्थितिले सबै धावक प्रतियोगीहरू सहभागी हुन साथै कार्यक्रम सञ्चालन गर्नलाई असहज भएपछि प्रतियोगिता रद्द गर्न बाध्य हुनुपरेको उहाँको भनाइ छ ।

तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताका विजेताका लागि खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको थियो । त्यस्तै, प्रतियोगितामा महिलातर्फ र स्थानीय विजेतालाई छुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वकै आकर्षक र स्थापित धार्मिक पर्यटकीय गन्तव्य हो ।