क्याउक्ताव, राखाइन, भदौ २८ गते । म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले ज्यान गुमाएका छन् ।
घटनाबारे जानकारी दिँदै सशस्त्र समूह अराकान आर्मी (एए) ले उक्त आक्रमण क्याउक्ताव नगरपालिकामा रहेका दुई निजी विद्यालयमा भएको जनाएको छ । उक्त समूहले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आक्रमण मध्यरातपछिको समयमा भएको हो, जसमा १५ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीको मृत्यु भएको र थप २२ जना घाइते भएका छन् ।
एएले आक्रमणका लागि म्यानमाको सैनिक सरकारलाई जिम्मेवार ठहर गरेको छ । “निर्दोष विद्यार्थीको निधनले हामीलाई पीडित परिवारसरह अत्यन्तै दुःखी तुल्याएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय सञ्चारमाध्यम म्यानमार नाउले जनाएको विवरणअनुसार, सैनिक सरकारको युद्धक विमानले दुईवटा पाँच सय पाउन्डका विस्फोटक सामग्री विद्यालय भवनमाथि खसालेको थियो, जब विद्यार्थी निद्रामा थिए ।
घटनापछि बाल अधिकारको संरक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था युनिसेफले वक्तव्य जारी गर्दै यस आक्रमणप्रति गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ । युनिसेफले भन्यो, “यो आक्रमण राखाइन राज्यमा पछिल्लो समय हुँदै आएको हिंसात्मक घटनाको भयावह नमूना हो, जसको सबैभन्दा पीडादायक मूल्य बालबालिका र निर्दोष परिवारले चुकाइरहेका छन् ।”
सञ्चार संस्था एएफपीले घटनास्थल वरपरको जानकारी लिन खोज्दा इन्टरनेट र फोन सेवा अत्यन्तै कमजोर भएकाले प्रत्यक्ष विवरण प्राप्त गर्न नसकेको उल्लेख गरेको छ । सन् २०२१ मा म्यानमारको प्रजातान्त्रिक सरकारलाई सैनिकले हटाएपछि देशमा विभिन्न सशस्त्र समूहद्वारा प्रतिरोध तीव्र बन्दै गएको छ । यसबिच, सैनिक सरकारमाथि बारम्बार सर्वसाधारण क्षेत्रमा हवाई तथा तोप आक्रमण गर्ने गम्भीर आरोप लाग्दै आएका छन् । रासस/एएफपी