वासिङ्टन, भदौ २८ गते । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्त्वपूर्ण भेटवार्ता गर्नुभएको छ । यो भेटले अमेरिका, कतार र इजरायलबिचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानुहुने छ, जहाँ उहाँले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्ध सम्बन्धी वर्तमान अवस्था तथा बन्धक मुक्तिका सम्भावनाबारे छलफल गर्नु हुने छ ।
ट्रम्प प्रशासनको संवेदनशील सन्तुलन प्रयास
हालै इजरायलले कतारको राजधानी दोहामा हमासका नेतालाई लक्षित गरी गरेको कारबाहीका कारण कतार, साउदी अरेबिया र युएईजस्ता खाडी मुलुकमा असन्तुष्टि देखिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीले अमेरिका वा इजरायलको दीर्घकालीन हितमा योगदान नपुर्याउने टिप्पणी गर्नु भएको छ ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले समेत उक्त आक्रमणको आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ । कतारका प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा बोल्दै गाजामा रहेका बन्धकको सुरक्षाप्रति चासो व्यक्त गर्नु भएको छ र कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
इजरायली नेतासँग गाजाबारे छलफल
विदेश मन्त्रालयका अनुसार, रुबियोको इजरायल भ्रमणका क्रममा उहाँले गाजामा इजरायलको रणनीतिक लक्ष्य, बन्धक मुक्ति प्रयास तथा प्यालेस्टाइनी राज्यका सम्बन्धमा युरोपेली मुलुकको सम्भावित मान्यताबारे अमेरिकी धारणा स्पष्ट पार्ने छन् ।
उहाँले हमासद्वारा अपहरणमा परेका व्यक्तिका परिवारसँग पनि भेट गर्नु हुने छ, जसले बन्धकको सुरक्षित फिर्ती अमेरिका र इजरायल दुवैका लागि उच्च प्राथमिकता भएको सन्देश दिन मद्दत गर्ने छ । रुबियो यरुशलेमस्थित ऐतिहासिक स्थल ‘सिटी अफ डेविड’को भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ, जुन इजरायल र प्यालेस्टाइनबिचको विवादास्पद क्षेत्र मानिन्छ । रासस/एपी