सचिन पोख्रेल
विराटनगर, भदौ २८ गते । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला विराटनगरकै बासिन्दा हुनुहुन्थ्यो । त्यसपछि मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले यस सहरलाई राजनीतिज्ञको उर्वर भूमिका रूपमा स्थापित गर्दै प्रधानमन्त्री भएर देशलाई नेतृत्व दिनुभएको थियो । आजदेखि मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रूपमा यही विराटनगर महानगरपालिका वडा नम्बर ११ निवासी सुशीला कार्कीले प्रधानमन्त्री पद समाल्नुभएको छ ।
विराटनगरकी स्थायी निवासी कार्की लामो समयसम्म धरान र विराटनगरमा वकालत पेसामा संलग्न भई न्यायको पक्षमा सङ्घर्षरत हुनुहुन्थ्यो । इमानदार, निडर र हक्की स्वभावकी कानुन व्यवसायी कार्कीले कार्की एन्ड घिमिरे ल फर्मबाट कानुन व्यवसायको यात्रा सुरु गर्नुभएको थियो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीसँग कार्की एन्ड घिमिरे नामको एउटै ल फर्ममा रहेर सँगै वकालत गर्नुभएका विराटनगर निवासी अधिवक्ता शान्तिराम भण्डारीका अनुसार जीविकोपार्जनका लागि वकालत पेसामा आबद्ध रहने सुनसरी र मोरङ जिल्लाकी उहाँ पहिलो महिला वकिलका रूपमा स्थापित हुनुभएको थियो । धरानमा रहेर वकालत गर्दै गर्दा उहाँले महेन्द्र बहुमुखी क्याम्पसमा २०४२ देखि ०४६ सालसम्म प्राध्यापनसमेत गर्नुभएको थियो । पञ्चायतकालीन समयमा उहाँले जिल्ला अदालतका अतिरिक्त अञ्चल र क्षेत्रीय अदालतमा समेत वकालत गर्नुभएको थियो ।
ऐतिहासिक जनआन्दोलनपछि अञ्चल र क्षेत्रीय अदालत खारेज गरिएर विराटनगरमा पुनरावेदन अदालत स्थापना भएसँगै उहाँले विराटनगरमा आएर जिल्ला अदालत मोरङ र पुनरावेदन अदातलमा वकालत गर्नुभएको अधिवक्ता भण्डारीको भनाइ छ ।
त्यही वकालत पेसाको कर्मशीलताको जगमा उहाँले वरिष्ठ अधिवक्ताको हैसियत प्राप्त गर्नुभयो र सर्वोच्च अदालतमा इतिहास रच्दै मुलुककै पहिलो महिला प्रधान न्यायाधीश बन्ने अवसर पाउनुभयो ।
आफ्नो पेसागत जीवनको सुरुवात धरान र विराटनगरमा वकालतबाट गर्दै गर्दा पूर्वी नेपालको कानुनी क्षेत्रमा दृढता, इमानदारी र न्यायप्रतिको लगावले उहाँलाई छिट्टै नै विशिष्ट परिचय दिलाएको विराटनगरका सामाजिक अभियन्ता रामकृष्ण आचार्य बताउनुहुन्छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीको परिवार जननायक बिपी कोइरालाको परिवारसँग नजिक रहेको थियो । त्यस क्रममा उहाँको विवाह नेपाली कांग्रेसका नेता विराटनगर निवासी दुर्गाप्रसाद सुवेदीसँग भएको थियो ।
पूर्वी नेपालमा वकालत गर्दै हुर्केकी कार्की प्रधानमन्त्री बन्नुभएको खबरले विराटनगर, धरान र कोशी प्रदेशका सर्वसाधारणलाई गर्वित बनाएको छ । स्थानीयवासीले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरण, विराटनगरको मात्र नभएर समग्र कोशी प्रदेशकै गौरव र मुलुकको सुशासन यात्राको नयाँ ढोका खुलेका रूपमा लिएका छन् ।
“विराटनगर नेपाली राजनीतिक इतिहासमा कहिल्यै छुटाउन नहुने अध्याय हो । यहाँबाट पटक पटक प्रधानमन्त्री हुनु यो सहरको योगदान र पहिचान हो,” विराटनगरका बुद्धिजीवी तुलसीप्रसाद भट्टराईको भनाइ छ ।