अमरराज नहर्की
तनहुँ, भदौ २८ गते । तनहुँ जिल्लामा चर्किएको जेनजी आन्दोलनकाले गर्दा ठुलो भौतिक क्षति भएको छ । आन्दोलनका क्रममा सरकारीदेखि निजी भवनसम्म, सामान्य पसलदेखि राजनीतिक दलका कार्यालयसम्म तोडफोड र आगजनी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार हालसम्म ३१ वटा संरचना र ७८ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन् । तीमध्ये सरकारी कार्यालयका चार भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने १७ भवन आंशिक रूपमा र अन्य केही सामान्य रूपमा क्षतिग्रस्त भएका छन् । व्यक्तिगत घरतर्फ नौवटा घरमा आंशिक क्षति पुगेको छ ।
सवारीसाधनमा आन्दोलनकारीको आक्रमण झन् व्यापक रह्यो । दुईपाङ्ग्रे मात्र ३८ वटा क्षतिग्रस्त भएका छन्, जसमा ३४ वटा सरकारी हुन् भने बाँकी निजी । यस्तै, चारपाङ्ग्रे सवारीसाधनमध्ये १७ पूर्णरूपमा नष्ट पारिएका छन् भने ११ आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यसपटक सरकारी सवारीसाधनमै ठूलो नोक्सानी भएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, ऊर्जा तथा जलस्रोत कार्यालय, डिभिजन वन कार्यालयलगायतका सेवामुखी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । कार्यालयभित्रका फाइल, अभिलेख र उपकरण जलेर नष्ट भएपछि ति कार्यालय बन्द हुँदा सेवाग्राही सेवाबाट बञ्चित हुनु परेको छ ।
निजी क्षेत्रमा पनि आन्दोलनको ठुलो असर परेको छ । व्यास नगरपालिका र दमौली बजार क्षेत्रमा रहेका पसल तथा प्रतिष्ठानमा ढुङ्गामुढा, लुटपाट र आगजनी भए । राष्ट्रपति रामचन्द्र पौडेलको दमौलीस्थित घरदेखि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितको निवाससम्म आक्रमण भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालय पनि आन्दोलनकारीको आक्रोशबाट जोगिन सकेनन् । जेनजी आन्दोलनले ल्याएको भौतिक नोक्सानीबिच पनि सर्वसाधारण र स्थानीय निकाय सेवा पुनः सञ्चालन गर्ने प्रयासमा जुट्न थालेका छन् ।