• २८ भदौ २०८२, शनिबार

दक्षिण सुडानमा बाढीबाट एक लाखभन्दा बढी विस्थापित, गाजामा मानवीय सहायता अझै अवरुद्ध

blog

संयुक्त राष्ट्रसङ्घ, भदौ २८ गते । संयुक्त राष्ट्रसङ्घले हालै दक्षिण सुडानमा बाढीका कारण एक लाखभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जानकारी दिँदै, प्रभावित जनताको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ । 

संयुक्त राष्ट्र शरणार्थी उच्च आयुक्त (युएनएचसिआर) का अनुसार, यदि मौसमको यस्तो अवस्था जारी रह्यो भने, वर्षको अन्त्यसम्म चार लाखभन्दा बढी व्यक्ति विस्थापित हुन सक्ने सम्भावना छ । दक्षिण सुडानमा बाढी र द्वन्द्वको दोहोरो सङ्कटले गर्दा खाद्य अभाव, स्वास्थ्य सङ्कट, सरसफाइको समस्या र बालबालिका तथा महिलाको सुरक्षा झन जटिल बन्दै गएको छ ।

युएनएचसिआरका अनुसार, बाढीले घर, विद्यालय, स्वास्थ्य केन्द्र नष्ट हुनुका साथै खेतीयोग्य जमिन र चरनभूमि डुबानमा परेका छन्, जसले पशुधनको समेत ठुलो नोक्सानी पुर्‍याएको छ । यसैबिच, गाजा क्षेत्रमा मानवतावादी सहयोगको पहुँच अझै अवरुद्ध रहेको संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए) ले जनाएको छ । 

इजरायली अधिकारीसँग सहमति जनाइएका २१ वटा मानवीय मिसन मध्ये मात्र १० मिसन सफल भएका छन् । दुई मिसन अस्वीकृत, छ अवरुद्ध र तीन मिसन अन्तिम समयमा रद्द गरिएका छन् । ओसिएचएले भनेको छ, “गाजा भरि मानवीय सहायता सहजरूपमा पुग्न सक्नु अत्यन्त महत्त्वपूर्ण छ ।” तर हाल गाजाको उत्तरदेखि मध्यसम्मका धेरै क्षेत्रमा राहत सामग्री पुर्‍याउन अझै गम्भीर अवरोध छन् ।

पश्चिम किनारमा पनि अवस्था उत्तिकै तनावपूर्ण रहेको ओसिएचएको प्रतिवेदनमा उल्लेख छ । इजरायली सेनाले तुलकर्म सहरमा व्यापक सैन्य अपरेसन चलाएको छ, जसका कारण कर्फ्यु लगाइएको छ । धेरैलाई सैन्य अड्डासम्म बलपूर्वक लैजानु परेको छ । यस वर्ष मात्रै, एक हजार ३०० भन्दा बढी प्यालेस्टाइनी संरचना ध्वस्त पारिएको ओसिएचएले जनाएको छ, जसले थप हजारौँ व्यक्तिलाई विस्थापित बनाएको छ । रासस/सिन्ह्वा