• २८ भदौ २०८२, शनिबार

विधिपूर्वक स्थापना गरियो बुद्धको मूर्ति

blog

सुनसरीको प्रकाशपुरमा पेमा छोइखोरलिङ बौद्ध गुम्बामा बुद्धमूर्ति प्राणप्रतिष्ठा गर्दै लामागुरु । तस्बिरः बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, भदौ २८ गते । सुनसरीको उत्तरीक्षेत्र प्रकाशपुरमा रहेको पेमा छोइखोरलिङ बौद्ध गुम्बामा बुद्ध मूर्तिको विधिपूर्वक स्थापना गरिएको छ । गुम्बा बनेको लामो समयपछि बुद्धको मूर्ति बौद्ध परम्पराअनुसार स्थापना गरिएको हो । 

प्रकाशपुरका बौद्धमार्गीहरूले पेमा छोइखोरलिङ बौद्ध गुम्बा निर्माण गरी आफ्नै परम्परा अनुसार जन्म, मृत्युको कर्म र संस्कार गर्दैआएका छन् । २०६८ सालबाट बौद्ध गुम्बाको निर्माण भए पनि गुम्बामा बुद्धको मूर्ति स्थापना गरिएको थिएन । 

स्थानीय कालिमाया गुरुङले आफ्ना दिवङ्गत आमा बाबुको नाममा दुई वटा बौद्धको मूर्ति गुम्बालाई दिएपछि गुम्बामा मूर्तिको प्राणप्रतिष्ठा गरिएको छोइखोरलिङ बौद्ध गुम्बाका सचिव किरण गुरुङले बताउनुभयो । उहाँका अनुसार मूर्तिको स्थापना भएपछि अब दैनिक गुम्बामा पूजा सुरु हुने छ । 

गुम्बामा भदौ २७ गतेबाट सुरु गरिएको मूर्तिको प्रतिष्ठा तीन दिनको विशेष पूजा लामा गुरुहरूद्वारा हुँदै आएको छ । दमङ्ग पूजा, घ्यातुङबा पूजा र अन्तिम दिन शान्तिपूजा गरी मूर्तिको प्रतिष्ठा गरिने छ । 

बेलायतमा बस्दै आएका प्रकाशपुर मङ्गलबारेका नारदमणि गुरुङले मङ्गलबारेमा रहेको एक कट्ठा जग्गा बौद्ध गुम्बालाई दान गरेपछि २०६८ सालबाट बौद्ध गुम्बाको निर्माण कार्य थालिएको थियो ।