तिज सुन्नासाथ आँखाले आफ्नो अगाडि दृश्यवान बनाएर उभ्याइदिन्छ, आँगन र पिँढीका कुनामा आफ्नो बिरह पोखिरहेका दिदी फुपुहरूको अनुहार । कानले सुन्न थाल्छ भदौरे झरी झैँ घन्किरहेको एक किसिमको धुन । भुलेको छैन नाकले भान्सामा आमोईले पकाएका दरका अनेकन परिकारको वासना र जिब्रोले तिनैको स्वाद तैपनि तिजभन्दा बित्तिकै स्वादलाई पर धकेलेर घन्कन्छ हृदयभरि तिनै स्वर तिनै भाका ।
बर्खे झरीले बिगारेको अप्ठ्यारो बाटो पार गरेर आइपुग्थे चेलीबेटी माइत । साँझ झमक्क पर्दा पिँढीको एक कुनामा गोलो घेरा बनाएर बस्थे उनीहरू । उनीहरूको अनुहारमा देखिन्थ्यो थकान, तर त्यो थकानको आवरणभित्र लुकेका हुन्थे बिरहका कथाहरू, चपाइएका सपनाहरू अनि गुम्सिएका आँसुहरू । ती आँसु गीत बनेर गुन्जिन्थे सिङ्गो गहिरागाउँभरि । बालापनमै तिनै गीतले रोपेका हुन मेरो हृदयमा विद्रोहको आवाज ।
‘घाँस काट्न जान्छु, आमा रत्नेचौरको भिरमा खुट्टा लर्के मेरी आमा काली तिरैमा
गीत गाउँदा गाउँदै दिदीको स्वर भक्कानिन्थ्यो ।
फुपूले थप्थिन्–
‘स्वामी मुख हेरूँ भने खुन खाएको बाघ झैँ,
सासु मुख हेरूँ भने बल्ने आगो झैँ ।
मलाई असह्य हुन्थ्यो । मनले प्रश्न गथ्र्याे कसरी बाँचेका होलान् है, यी फुपू दिदीहरू ?
ऐना काइयो बोकेर प्लास्टिकको झोलामा
बिचरीले हाम फालिन काली खोलामा
तिजका गीतमा त्यो समयमा महिलाले भोगेका दुर्दसा पनि उनिन्थे ।
स्वामीज्यूले भन्नुभयो स्याउलाई एप्पल
नबुझेर दिएँ मैले लाउनी चप्पल
यी पङ्क्तिहरू केवल लयमा बाँधिएका शब्द थिएनन्, ती आवाज थिए । महिलाले नबोलेका
तर भोगेका कुरा । माइतीको आँगन एउटा खुला डायरी हुन्थ्यो, जहाँ आँसु, पीडा र भोगाइहरू
लेखिन्थे गीतमार्फत् ।
तर अचेल ती स्वरहरू हराउँदै छन् । ‘बाबाजीको आँगनीमा ठुलो रुख बडहर’ भन्ने गीतको सट्टा अहिले ‘सेल्फी खिचौँला’ भन्ने रमाइला गीतहरू गाइएका छन् । धेरै मानिस भन्छन्, ‘तिज विकृत भयो, पुराना भाका हराए ।’ तर गहिरिएर हेर्दा ती भाका हराएका होइनन्– फेरिएका हुन् । जसरी फेरिएका छन् महिलाका भोगाई ।
पहिले तिज दुःख बिसाउने थलो मात्र थियो । अहिले दुःख बिसाउने थलो मात्र होइन, यो नारी सशक्तीकरणको उत्सव पनि बन्दै गएको छ । अब तिजमा नारीहरू रोएर हैन, बोलेर, नाचेर गाएर आफ्नो कथा बताउँछन् । महिलालाई अब पिर पोख्न रातभर जाग्राम बस्नुपर्ने छैन । कानुन, शिक्षा र आत्मविश्वासले हामी महिलाहरूलाई नयाँ गीत गाउन सिकाएको छ । जुन गीतमा आत्मबल छ, चेतना छ, परिवर्तनको झलक ।
त्यसैले तिज फेरिएको छ । साडीको रङ्ग, दरको स्वाद मात्र होइन, सोच, स्वर र सन्देश पनि फेरिएको छ । अबका गीतहरू आँसु मात्र होइन, हाँसो गाउँछन् र उज्यालो नृत्य गर्न प्रेरित गर्छन् । मधुपर्क