• २८ भदौ २०८२, शनिबार

दाङमा सय बढी सवारी साधन जले, करोडौं नोक्सान

blog

आगजनीबाट पूर्णरूपमा जलेको जिल्ला समन्वय अगाडिका सवारी साधन । तस्बिरः सन्ताेष दहित

सन्तोष दहित

दाङ, भदौ २८ गते । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा दाङमा सयौँ सवारी साधनमा आगजनी गरिएको छ। हालसम्म एक सयभन्दा बढी सवारी साधन जलेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समितिका १८ वटा मोटरसाइकल र तीन वटा चार पाङ्ग्रे सवारी साधन जलेको जिल्ला समन्वय अधिकारी सावित्री श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, भूमि सुधार तथा मालपोत कार्यालयका चार वटा गाडीमा आगजनी गरिएको छ। सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टका अनुसार हुलाक कार्यालयको एक वटा गाडी र सडक डिभिजन कार्यालयका दुई वटा मोटरसाइकल जलेका छन् । 

त्यस्तै, कार्यालयनजिक रहेको यान्त्रिक कार्यालयको एउटा टिप्पर, एउटा पानी ट्याङ्कर र एउटा मोटरसाइकलमा समेत आगजनी गरिएको छ । सोही कार्यालयमा रहेका टेलर, एक्साभेटर, लोडर र टाटा पिकअप भ्यानमा समेत तोडफोड भएको छ ।

घोराही उपमहानगरपालिकाका नौवटा सवारी साधनमा आगजनी भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नगर प्रहरीको दुई वटा भ्यानसहित तीन वटा गाडी, छ वटा मोटरसाइकल र एउटा स्कुटर जलेका छन् । नापी कार्यालयका दुईवटा गाडी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका २८ वटा सवारी साधनमा पनि आगजनी भएको छ । जलेका सवारी साधनमध्ये दुई वटा चार पाङ्ग्रे र ट्राफिक प्रहरीका छ वटा निजी मोटरसाइकल रहेका छन् ।

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयका नौ वटा सवारी साधनमा आगजनी भएको छ । तीमध्ये दुईवटा निजी मोटरसाइकल, एउटा चार पाङ्ग्रे गाडी, पाँच वटा मोटरसाइकल र आर्थिक मामिला मन्त्रालयको एक मोटरसाइकल रहेका छन् । प्रदेश निर्वाचन कार्यालयको एउटा गाडी तोडफोडमा परेको छ । सडक पूर्वाधार विकास कार्यालयका छ वटा गाडी र अन्य दुई गरी आठ वटा सवारी साधनमा क्षति पुगेको छ।

जिल्ला सरकारी वकिल कार्यालयको एउटा चार पाङ्ग्रे र एउटा मोटरसाइकलमा आगजनी भएको छ । दाङ जिल्ला अदालतका चार वटा गाडी तोडफोडमा परेका छन् भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अदालतका श्रेस्तेदार भूपाल भण्डारीले जानकारी दिनुभयो । यस्तै, तुलसीपुर र लमहीमा पनि दर्जनौँ गाडी जलेको पाइएको छ ।