आमाका पछि लागेर मामाघर दौडिए जस्तै पर्वहरूको हुरुरु आगमन सुरु ! हरेक साउन महिना बुढो काँधमा रमझम बोकेर आउँछ तिजको रगताम्य धुन । मेरा लालायित आँखाहरू चाहन्छन् देख्न आमाका घर आँगनका पीडाले भरिएका सङ्गिनी नृत्य, सम्धिनी आमाका देउडा, सानिमाका गौरा, समाज परिवर्तनका भजन र कविताका लय । मेरो संस्कारले झन्डा उठाउन्जेल म मनाइरने छु संस्कृतिको उत्सव । प्रकृतिको सौन्दर्यमा मगमग बासनादार रहरहरू फुलाएर नाचिरहन्थ्यो किशोरी तिज । मैले वयको रहर उमारिरहेका बेला मौसमी धुन बजाउँदै आउँछ द्वितीया तिथिका दिन खाएको मिठो दर बोकेर । उमेरको रेखालाई भूमध्यरेखाले छोपेर आइदिन्छ तिज टुप्लुक्क तिउरी र साउन बोकेर हरेक घरको जस्केलो नाघ्दै भदौरे हरितालिकामा । हरियाली छ चारैतिर धानबाली भर्खर पाजो सार्दै छ आफू उभिएको ठाउँमा जरा टेकेर । अचेल फेरि धूमिल भएको छ सङ्गिनीको धुन ! यतिका वर्षसम्म मनमा सजाएर राखेको परम्पराको चिनो थियो मसँग तिज । आमा हुनुहुन्थ्यो सम्झनामा । मेरा आँखाले हैन हृदयले सधैँ देख्ने आमाको त्यो स्वप्निल रूप । अझै आमालाई भेटिरहने मनको अतृप्त महìवाकाङ्क्षा बाँकी छ । छर्लङ्ग छन् मनले हरेक पल मनाइरहेका संस्कृति, परम्परा, संस्कार र रिवाजहरू ।
एउटा तिखो बाँडले छेडे झैँ गहिरो पीडासँगैको द्वन्द्व । आडम्बरको हुरीले धिपधिपिएको दियालो जोगाउने उत्कण्ठा । बिस्तारै बढ्दै गएको बोझिलो भारी बिसाउन खोजिरहेको सामूहिक चौतारी । दम्भ र अहङ्कारमा चुर्लुम्म पौडिरहेको अज्ञानताको पाइलो औपनिवेशिक जालबाट जोगाउन अभ्यस्त रहेको एक चुड्की चिन्तन मभित्र सलबलाउँछ ।झस्किन्छ मन, “प्रति व्यक्ति २००० पर्ने भयो दिदी ! साउनको १५ गते छ है तिजको दर यसपालि । अब अरू दिन चाहिँ अरूतिर मिलाउनु होला । कता कता खाने तिज ?” कति रुपिया खर्च गर्ने ? तिजको खर्चले कति दिन घर चल्छ होला ? परिवार छोडेर एक्लै दिन दिन पार्टी प्यालेस धाउनु कतिको युक्तिसङ्गत विचार
हो ? प्रश्नको झटारोले मर्ने गरी मेरो ढाड सेकाउँछ ।
ओहो ! यस पटक त सङ्घर्षको बीज छर्नै पर्ने भयो ।
सम्झनामा एउटा चित्र जीवित हुन्छ, “आमा यसपालिको तिजमा म पनि रातो जामा लाउँछु नि !” रोपाइँका दिन प्याट्ट फुटेको रहर मैले रोपारहरूका माझमा बिस्कुन बनाएकी थिएँ । दुई दिनपछि आमाको चोरीऔँलो पक्डेर दर्जी काकाको आँगनमा पुगेको मेरो मुस्कान फेरि फव्रिmएको थियो काकाको जादुमयी कलाकारितामा । बर्सौंदेखि आमालाई सजाएर तिजमा नचाउने फरियाको एक टुव्रmो मलाई रङ्गीन बनाउन तयार थियो काकाको कुशलतामा । मेरा गुलाबी चाहहरू त्यही रातो झमझम परेको फरियाजामामा तिज नाच्यो बडो आनन्दले त्यस वर्ष । अखण्ड आस्थाभित्र कालो तुवाँलो ओडेर नौरङ्गी नृत्य देखाउँछ आमाको सङ्गिनीसँग प्रतिस्पर्धा गर्दै आडम्बरको जोइटिङ्ग्र्रे गीत अचेल । समय र समयको विकराल अन्तरालमा म तिरस्कारको एउटा औँलो उभ्याउँछु । एक्लै हुन्छु अनि लुरुक्क पर्छु अरूको टाउकोमाथि चढेकाहरूसँग । आयातित वस्त्र, आभूषणको हिसाबमा नाफा चढाएर बग्गी सवार गर्छ बजार । म उही फरियाजामामा गएर अड्किन्छु आमाको छेउमा । दिक्दारीको सुस्केरासँग हिसाबमा हराउँछ मेरो व्यवस्थापन । महँगाइको तोला तोलामा तह नापेर उक्लिएको छ उसले खुड्किलो । म भने आस्थामा उक्लिन्छु मन्दिरको ढोका । मेरो यो संस्कृतिको एउटा सिद्धान्त हो । तिज मनाउनकै लागि मनको पिरो, अमिलो र तितोको शल्यव्रिmया गराएर एउटा परिवर्तित संस्कार उक्लिन खोज्छ स्विकार्नु पर्छ मैले । स्विकार्छु पनि सहजै तर कतिसम्म स्विकार्ने ? सवालका भाकाहरू तिजका गीतका धुनसँग बोली खेल्छन् । आडम्बरलाई स्वीकार्य छैन मबाट । म, मेरो परिवार, देश र नेपाली जनताको सुस्वास्थ्य र समृद्धिको कामना गर्छु । हाटबजार, मेलाबजार, मल र फेस्टिभलहरू सुम्सुम्याइरहेछन् कुनै यौवनको कसिलो रहरलाई अँगालोमा बाँधेर । मुस्कुराउँछ कुटिलतामा बेसरम उभिएको बजारीकरण । त्यहीँ हुन्छ आफ्नोपनको बलिदान । म टुहुरोले हेरिरहन्छु । संस्कृतिमाथि आयातित विकृत मानसिकताको अल्लारे नृत्य । डिस्को र ¥यापलाई आधुनिक भनिरहने एउटा झुन्ड । भड्किलो फेसनमा सुन्दर लागिरहेका स्वायत्तताका व्यापारीहरू ।
सबै अग्रसर भागका प्रदर्शनकारीहरू हुन् । यो प्रचारबाजीमा म हराए झैँ ओझेलिन्छु ।
निर्जला, निराहार बस्दैमा मैलो पेट सफा बन्दैन भन्ने ज्ञान छ कि छैन मभित्र ? जाँच्नु पर्छ संस्कारकै कसीमा राखेर । कति पटक जाँच्नु ? के केमा जाँच्नु ?
वस्त्र, भूषण, आहार, पार्टी प्यालेस, रेस्टुरेन्टको हुस्की पार्टी अथवा हलभित्र आयोजित अनायोजनको
चौरासी भोजन । अनेक रङमा रङ्गिएका देवीका रूप । केमा सहज होला हिसाबको फाइल मिलाउन ? खोजिरहेको भिडभित्र एउटा व्रmान्तिकारी संस्कारको विचार । दिग्विजय मानिसको हुल अब कता जाला ? यो विकृतिको रथ कुन सडकबाट गुड्ला ? सङ्केतमा उभिएका व्यापार, मेला, उत्सव, विज्ञापन र पोस्टर डिजाइनको अस्तित्व !
भिडभित्र हराएका म र आत्माहरू । भिडबाट नाघेर फुत्त उफ्रिँदै खुल्ला आकाशमुनि निर्वाध नाचिरहेका गौरा, सङ्गिनी, देउडा अनेक धुनको पहिचान खोज्छ मन ।
संरक्षण त गर्नै पर्छ धर्म, संस्कार र संस्कृतिका पारिला घामहरूलाई । उभिनु पर्छ पङ्क्तिबद्ध भएर पुरुष महिलाको पङ्क्तिमा, महिला पुरुषको पङ्क्तिमा । समानता र समताले दुई पल्ला लगाउँछ तराजुमा र उभ्याउने छ मलाई तुला दानका लागि । तयार हुन सक्ने सामथ्र्य राख्नु छ भित्रबाट बटुलेर मदानीको घिउ बटुले जस्तै जतनले । गाउँ थियो, देश थियो, माटो थियो सिङ्गा सिङ्गै । नभत्केको मन्दिरको दिवार । आस्थाको एउटा सिंहासनमा विराज थियो विराटता । निराकार कोलाजमा सजिएका तस्बिर । आकार खोजिरहेको संस्कारको आँखीझ्याल । पूजा, व्रतमा आनन्द र सादगी जीवनको प्रतिछाया जोगाएर उभिएको समृद्ध मानवताको एउटा मूर्ति । आवाज भरिएको जीवित आस्थाको हिँड्न मिल्ने गोरेटो पनि ।
परिवर्तित छ सत्य ! गोरेटोको चौडाइ बढेपछि सडक बन्दै गरेको जीवन दर्शन । सबै सबै बजार र विज्ञापनका होर्डिङबोर्ड अगाडि उभिएर निःस्वार्थ एउटा गुन्जित आवाज अग्लिनु पर्छ । समयलाई दोषी मानेर पछ्याइरहेको विकृतिको एउटा मुस्लो धुनलाई एकै पटक निभाउन त मुस्किल हुन्छ । व्रmमको हरेक धर्काले एउटा एउटा गीत गुन्जाउँदै जानु पर्छ । पुरानो तिजको गुल्जारमा नवीन संस्कृतिको आवाज ध्वनित हुँदै जाने छ । गीतका शब्द र भाकाले वस्त्र खोलेर नाङ्गिँदै गर्दा हरेक नयाँ धरो कपडा रगताम्य भेलहरूले बगाउँदै थियो । म उभिएर ताली बजाउन सकिरहेको थिइनँ तर बजाउनु थियो ढोल, दमाहा, नरसिंह र मजुरा ।
हरेक पर्वमा उमङ्गले गुन्जिने मङ्गलमा एउटा नयाँ तिज गीत आउने छ । पार्वतीले वर मागेको कथा मानवताको चरित्र चित्रण गर्न । पार्वती र पार्वतीको जन्म भएको जन्म जयन्ती । सत्यका प्रतीक शिवको शान्तिपूर्ण दृष्टि । दृष्टिभित्र सृष्टिको अनुपम सौन्दर्य । सहअस्तित्व र सहकार्य नै जीवनको अन्तिम पथ ।
मेरो सम्झना, “बागमती किनारै के फूलै फुल्योयोयोयोयो......बागमती किनारै के फूलै फुल्यो...
सयपत्री फूलै र फुल्यो...
सङ्गिनीमा आमाका पाइलामा उभिएर मेरो मन फनफन घुम्छ ।
मेरी छोरीले कुन गीत सम्झिएली खै !
मैले फनफनी नाचेको तिज सङ्गिनी गीत कि सामाजिक सञ्जालको बजारमा धमाधम बिव्रmी भइरहेको–
“राँगाले भैँसीलाई
गोरुले गाईलाई
गरे झैँ माया
गर न मलाई”
नाङ्गो नाच हेरिसकेपछि म, म जस्तै म तपाईं, तपाईं जस्तै तपाईं र तपाईंहरूले आँखीझ्याल, दैलो, बार्दलीबाट स्विकार्नु पर्छ । उही गुल्जार बोकेर आओस् हाम्रो नसा नसामा नाचिरहेको बुढो तिज । मनाइरहन पाऔँ आफ्नो सन्ततिसँग उही गुल्जार भरेर आफ्नै शैलीमा संस्कृति । मधुपर्क